Comments Add Comment

मोदीका लागि रातारात फेरियो जनकपुर (तस्वीरसहित)


२५ वैशाख, जनकपुरधाम । जनकपुरका सर्वसाधारण बिहान उठ्दा कुनै न कुनै परिर्वतन पाउँछन् । पछिल्लो केही दिनयता जनकपुरलाई यसरी सिंगारिँदैछ कि हेर्दा त्यो कुनै जादु जस्तै लाग्छ ।

फोहोर र दुर्गन्धले अस्तव्यस्त बनेको जनकपुर पहिलेको जस्तो पटक्कै छैन । केसरिया रंग र मिथिला चित्रकलाले झकिझकाउ जनकपुर अन्माउन सिंगारिएकी दलही झै छ ।

यो सबै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि गरिएको तयारी हो । यहाँ तयारी युद्ध स्तरमा हुँदैछ । सडक कालोपत्रे, सरसफाइ, रंगरोगन, स्टेज बनाउनेदेखि नाला सफा गर्नेसम्मका भइरहेका छन् ।

झन्डै दुईसय मानिस स्टेज बनाउने, माटो ओसार्ने, सम्याउने, भत्किएको पर्खाल मर्मत गर्ने लगाएतका काममा खटिएका छन् ।

प्रधानमन्त्री मोदी सवारी हुने रुटका सडकहरु रातारात कालोपत्रे गरिएको छ । रामानन्द चोकदेखि जानकी मन्दिरसम्म र जनकपुर विमानस्थलदेखि जानकी मन्दिरसम्मको बाटोलाई एकरातमै पिच गरिएको छ भने बाँकी काम आज रातमा गर्ने तयारी भैरहेको कामदारहरुले बताएका छन् ।

भारतीय प्रधानमन्त्री मोदी २८ गते विहान १० बजे जनकपुर विमानस्थलमा अवतरण गरेर यही बाटोबाट जानकी मन्दिर र बाह्रविघा मैदान जाने भएकाले जनकपुर उपमहानगरले एकै रातमा सडक कालोपत्रे गरेको हो ।

रंगभूमि मैदान निकै लामो समयदेखि खुल्ला शौच, खाल्डाखुल्डी, फोहर, प्लास्टिकका टुक्रा, पर्चापोष्टर र पेन्टिङले फोहोर फ्याक्ने डम्पिङ जस्तै बनेको थियो । तर,अहिले बाह्रविघा (रंगभूमि) मैदानको बाहिरी र भित्री भाग केसरीया रंग र मिथिला चित्रकलाको बिभिन्न चित्रहरुले भरिएको छ ।

बाह्रविघा मैदानमा सर्वसाधरणलाई प्रवेश निषेध गरी मञ्च बनाइदैँछ, जहाँ २८ गते एक लाख उतार्ने प्रदेश सरकारको योजना छ ।

मोदी आए के हुन्छ ?

व्यापारीदेखि जनकपुरको सडकमा हिड्ने सायदै कोही मानिस छनै, जसलाई जनकपुरमा मोदी आउने कुरा जानकारी नहोस् । तर, मोदी आएपछि जनकपुरबासीलाई के हुन्छ ? जवाफ छैन ।

जनकपुर उपमहानगरपालिका २३ बेलाका अनिल कुमार साहलाई मोदीको नेपाल भ्रमणले आफूहरुको दैनिकीमा परिवर्तन आउँछ भन्ने लागेको छैन ।

साइकलमा आइसक्रिम बेच्दै गरेका भरत यादवलाई छिमेकी देशका सरकार प्रमुखको यस्ता भ्रमणका बेला आफूजस्ता कामदारहरुले रोजगार पाउने गरी केही सहमति भइदिए हुन्थ्यो भन्ने लागेको छ ।

जानकी मन्दिर नजिकै श्रृङ्गार सानो पसल राख्ने ६० वर्षीया आरती देवीलाई भने भ्रमणका बेला पसल बन्द गर्नुपर्ने कुराले चिन्ता थपिएको छ । यही पसलको आन्दानी घरखर्च टरेको छ तर, उनीसंगै मन्दिर परिसरमा पसल थाप्ने धेरैलाई अन्यत्र सर्न भनिएको छ ।

मिथिला चित्रकलाले मनमोहक

रामायणकालीन चित्रकलाहरुको कारण जनकपुर मनमोहक देखिएको छ । बाह्रबिघाह मैदान वरीपरी र रामजानकी विवाह मण्डपको पर्खालको भित्ता मिथिला चित्रकला र रामजानकी तस्वीर कोरिएको छ ।

सीताको जन्मदेखि रामसीताको विवाहसम्मका चित्रकला त्यहाँ उतारिएको छ । तर, स्थानीयबासी भन्छन्, मोदीको भ्रमणका बेला जस्तै नियमित सरसफाइ र विकास भइदिए कस्तो हुन्थ्यो !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment