Comments Add Comment

मिथिलानगरीमा मोदी भ्रमणको प्रचार हिन्दीमा

२५ वैशाख, जनकपुर । भारतमा भाजपाले दिएको एउटा जबरजस्त नारा होः हर हर मोदी, घर घर मोदी । मोदी जहाँ जान्छन्, भाजपा कार्यकर्ता यही नारा लगाउँछन् ।

अहिले प्रदेश २ को राजधानी जनकपुर पनि मोदीमय भएको छ । के रुख, के पर्खाल, के चोक, के घर हरेकतिर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो झुण्डयाइएको छ । प्रायः धेरै ठाउँमा तुल ब्यानर बनाएर झुण्डयाइएको छ । हरेक तुल-व्यानरमा भारतीय प्रधानमन्त्री मोदीको फोटो राखिएको छ ।

मोदी राजकीय भ्रमणका क्रममा २८ गते पटनाबाट सिधै जनकपुर अवतरण गर्नेछन् । उनलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नेछन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकी मन्दिरमा स्वागत गर्दै संयुक्त पूजा गर्ने कार्यक्रम छ ।

तर, मोदीको स्वागतका लागि राखिएका अपवाद बाहेकका तुल ब्यानरमा नेपालका प्रधानमन्त्रीको तस्वीर छैन ।

‘विश्वको सबैभन्दा बढी लोकतान्त्रिक देश भारतका माननीय प्रधानमन्त्री नरेन्द्र मोदी ज्यूसहित सम्पूर्ण अतिथिहरुलाई जगत जननी जानकीका क्रिडा भूमि जनकपुरमा हार्दिक स्वागत स्वागत स्वागत’ भनी तुल व्यानरमा लेखिएको छ ।

अर्को ब्यानर छ, ‘धन्यवाद तपाईंलाई आइदिनुभयो त्यसको लागि । धन्य भएको छ यो आँगन, स्वागत पुष्प स्वीकार गर्नुस् । धन्य भयो प्रदेशका जनताहरुको मन ।’

मोदीको ठूलो तस्वीरसहितका ब्यानरहरुमा उल्लेखित शब्दहरु हिन्दी भाषामै लेखिएका छन् । एकाध ठाउँमा भने प्रधानमन्त्री ओली, जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह र उपप्रमुख रिता झाको तस्वीर छ ।

मिथिलानगरीमा हिन्दी किन ?

हिन्दी भाषामा मात्रै प्रचार प्रसारलाई अगाडि बढाएपछि मिथिलाको नगरी जनकपुरमा मैथिलभाषीहरु रुष्ट छन् । प्रदेश तथा स्थानीय सरकारले हिन्दी भाषालाई मात्र आधार बनाएर भारतीय प्रधानमन्त्री भ्रमणको प्रचार प्रसार गर्नु ठीक होइन्, मैथिली भाषाका प्राध्यापक श्यामसुन्दर शशीले भने, ‘जनकपुर मैथिलभाषीहरुको ठाउँ हो । यहाँ मैथिली भाषाको प्रयोग गर्नुपर्थ्यो ।’

प्रदेशमा मैथिली, भोजपुरी र नेपाली भाषीहरु पनि भएकाले सबै भाषामा प्रचार गर्दा राम्रो हुने बताए ।

मुख्यमन्त्री लालबाबु राउतले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमै पनि हिन्दी भाषाको मात्रै किन प्रयोग ? भनेर प्रश्न आयो । जवाफमा उनले मैथिली भाषामा पनि प्रचार गर्न र प्रधानमन्त्री ओलीको पनि तस्वीर राख्न भनेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment