Comments Add Comment

प्रदेश सांसदको माग : गाडी किन्छौं, भन्सार छुट देऊ

२५ वैशाख, बुटवल । प्रदेश ५ का सांसदहरुले आफ्ना लागि गाडी किन्न भन्सार छुट दिनुपर्ने माग गरेका छन् ।

प्रदेशसभा पहिलो अधिवेशनको अन्तिम बैठकमा प्रदेशसभा सदस्य तथा पदाधिकारीहरुको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो ।

छलफलमा सांसदहरुले सेवा सुविधामा असन्तुष्टि जनाउँदै गाडीमा भन्सार छुटे माग गरेका हुन् ।

माओवादी सांसद तुलाराम घर्तीमगरले पारिश्रमिक तथा सेवा सुविधा विभेदपूर्ण भएको बताए । उनले बैठक भत्ता ७५०, फर्निचर खर्च १५ हजार, गाडी भाडा बापत ५०० र घरभाडा १५ हजार निकै कम र अव्यवहारिक भएको टिप्पणी गरे ।

उनले थोरै दिनभन्दा बरु नदिन आग्रह गरे ।

प्रदेशसभा सदस्य रामजी घिमिरेले प्रदेशसभा सदस्यको स्वकीय सचिवको विषय साझा माग भएको बताए । अर्का सदस्य उत्तरकुमार ओलीले जनताप्रति उत्तरदायी भई काम गर्न पारिश्रमिक तथा सुविधा अपुग भएको टिप्पणी गरे ।

सांसद रमा अर्यालले प्रदेशसभा सदस्यको मर्यादाक्रम नमिलेको उल्लेख गर्दै कर्मचारीले सरकार चलाउने नभएको बताइन् ।

प्रदेशसभा सदस्य अष्टभूजा पाठकले मर्यादाक्रमका आधारमा सुविधा नआएको आरोप लगाउँदै छलफल गरेर मात्रै अघि विधेयक बढाउन अनुरोध गरे । इन्द्रजीत थारुले चाडपर्वमा मन्त्रीले मात्रै थप सुविधा लिनु गणतान्त्रिक संस्कृतिअनुसार नमिल्ने बताए ।

सांसद विजय यादवले नीजि सचिव, गाडी र १ जना ड्राइभर दिनुपर्ने माग गरे । ‘नभए गाडी हामी आफैं किन्छौं, सबै माननीयलाई भन्सार छुट गर्नुपर्यो’ उनले भने ।

मुख्यमन्त्रीको कूटनीतिक जवाफ

छलफलमा उठेका प्रश्नहको जवाफ दिँदै मुख्यमन्त्री शंकर पोखरेललेे प्रदेश सरकार बलियो भए सेवा सुविधा थप्दै जाने आश्वासन दिए । ‘मेरो विमती छैन तर, हामीले धेरै सुेवा सुविधा लिएर अन्य प्रदेशलाई के सन्देश दिने ? उनले भने ।

प्रदेशमन्त्रीलाई समेत भनेजस्तो सवारी साधन उपलब्ध गराउन नसेकेको र प्रदेशसभाका पदाधिकारीलाई सवारी साधन दिन नसकेको भन्दै उनले गाडीको माग टारे । तर, प्रदेशसभा सदस्यहरुको मर्यादाक्रम सच्चाउन पहल गर्ने उनले बताए ।

बैठकले सांसदहरुसँग स्थानीय जनप्रतिनिाधिको सेवा सुविधासम्वन्धी विधेयकलाई विधायन समितिमा पठाइएको छ । साथै प्रदेशसभा अधिवेशन अन्त्य भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment