Comments Add Comment

छापामा आजः जेलभित्रै धर्म प्रचार, कैदीको ‘डाक्टर’ पास्टर !

इलाका प्रशासन कार्यालयका हाकिम कार्यालय सहयोगी, भारत जान नेपालीलाई भिसा !


२६ वैशाख, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले अलग–अलग विषयहरुलाई महत्त्व दिएर छापेका छन् । कुनैले प्री–बजेटबारेको छलफललाई बढी जोड दिएका छन् भने केहीले आज पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही वैशाख २८ गतेबाट गर्न लागेको भ्रमणबारे चर्चा गरेका छन् । बूढीगण्डकी नेपाली लगानीमै बन्न लागेकोलाई पनि पत्रपत्रिकाले लेखेका छन् ।

सरकारी प्रवेश पाउन र बढुवा हुन नक्कली प्रमाणपत्र पेश गर्ने प्रवृत्ति बढेकाे छ । अन्नपूर्ण पोस्ट दैनिकका अनुसार जागिरमा प्रवेश पाउन र बढुवा हुन नक्कली प्रमाणपत्र पेश गरेका १७ सय कर्मचारी अख्तियारको छानबिनमा तानिएका छन् ।

भारत जान नेपालीलाई भिसा

भारत जान नेपालीले प्रवेशाज्ञा (भिसा) लिइराख्नु पर्दैन । त्यसतर्फ जान इच्छुक नेपाली विना रोकटोक जान सक्छ । नयाँ पत्रिका दैनिकमा प्रकाशित खबर अनुसार भारतमा अब नेपालीलाई भिसा आवश्यक पर्ने भएको छ ।

‘भारतले चीन, हङकङ, मकाउ, पाकिस्तान र माल्दिभ्सबाट भारत जाने वा भारत भएर स्वदेश फर्किने नेपाली नागरिकलाई भिसा अनिवार्य गरेको छ’ नयाँ पत्रिकाले लेखेको छ, ‘राजनीतिक तहमा सम्बन्ध सुधार हुँदै गएको ठानिएका बेला भारतले अनपेक्षित व्यवहार गरेको छ ।’

तेस्रो देशबाट नेपाल आउन वा नेपाल हुँदै भारत फर्किन भारतीय नागरिकले नेपालको भिसा लिनु नपर्ने भए पनि भारतले पछिल्लो समय नेपाल र भुटानी नागरिकमाथि कडाइ गर्न थालेको छ ।

नयाँ पत्रिकाका अनुसार चीन र पाकिस्तानबाट हवाई माग भएर भारत वा भारत हुँदै स्वदेश फर्किंदा यसअघि पनि नेपाली र भुटानी नागरिकले भारतीय भिसाा दिनुपर्ने व्यवस्था गरेको थियो । तर यस वर्षदेखि माल्दिभ्स, हङकङ र मकाउ थपिएको छ ।

गगन थापाले रोकेको ८५ लाख जेएन फाउन्डेसनलाई निकासा

सर्पदंशको औषधि (एन्टी स्नेक भेनम) उत्पादन गर्ने क्षमता नभएको भन्दै तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले झलनाथ खनाल स्वास्थ्य विज्ञापन प्रतिष्ठान (जेएन फाउन्डेसन) लाई रोक्का गरेको रकम निकासा गरिएको छ ।

नयाँ पत्रिका दैनिकका अनुसार पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालको नाममा स्थापित संस्थालाई केही दिनअघि ८५ लाख रुपैयाँ दिइएको हो ।

१७ सय नक्कली प्रमाणपत्र छानबिनमा


अन्नपूर्ण पोस्ट दैनिकले आज सरकारी निकायमा पेश गरिएका १७ सय नक्कली प्रमाणपत्रमाथि छानबिन शुरु भएको समाचार छापेको छ ।

अन्नपूर्णका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धानले यतिबेला १७ सय कर्मचारीहरुको प्रमाणपत्र छानबिन गरिरहेको छ । बढी नक्कली प्रमाणपत्रधारी कर्मचारी संवेदनशील क्षेत्र शिक्षा र सुरक्षामा छ ।
बढी नक्कली शैक्षिक प्रमाणपत्र बिहार संस्कृत शिक्षा बोर्ड, माध्यमिक शिक्षा परिषद् उत्तरप्रदेश, एजुकेशनल काउन्सिल पटनालगायतको छ ।

४१ भारतीय सुरक्षाकर्मी काठमाडौंमा

अन्नपूर्ण पोस्ट दैनिकमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका खातिर ४१ सुरक्षाकर्मी काठमाडौं आएको अर्को खबर पनि छ ।

समाचार अनुसार भारतीय मन्त्रिपरिषद् सचिवालयअन्तर्गत स्पेशल प्रोटेक्सन ग्रुप (एसपीजी) अन्तर्गतका हतियारसहितका सुरक्षाकर्मी काठमाडौं आएका हुन् ।

मन्त्रिपरिषदको निर्णयविपरीत हेलिकोप्टर किन्दै सेना


आफैंले आह्वान गरेको बोलपत्र र निर्धारण गरेको स्पेसिफिकेशनभन्दा बाहिर गई खरिद हेलिकोपटरको प्री–डेलिभर इन्पेक्सनका लागि सेनाको एक टोली जेठ पहिलो साता पेरिस जान लागेको छ ।

नागरिक दैनिकका अनुसार फ्रान्समा बनेको इक्वेटर हेलिकप्टरको प्री डेलिभरी इन्सपेक्सनका लागि पाइलट र इन्जिनियरसहितको टोली जेठ १ गते पेरिस जान लागेका हुन् ।

मन्त्रिपरिषद्बाट भएको निर्णयविपरीत सेनाले फरक स्पेशसिफिकेसनको हेलिकोप्टर खरिद प्रक्रियामा महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा समेत प्रश्नचिह्न उठाइएको छ ।

कर्णालीमै लोप हुँदै खस भाषा

उदगमथलो कर्णालीमै खस भाषा लोप हुने अवस्थामा पुगेको छ ।

कान्तिपुर दैनिकका अनुार करिब १४ लाख जनसंख्या रहेको कर्णाली प्रदेशमा खस भाषा बोल्ने १८ जनाजति मात्रै छन् । जुम्लाको सिँजाबाट उत्पत्ति भएको खस भाषलाई नेपाली भाषाको जननी मानिन्छ ।

भाषा आयोगद्वारा प्रस्तुत एक प्रतिवेदनअनुसार कर्णाली प्रदेशमा ५५ भाषा बोलिन्छन् । तीमध्ये खस भाषा ३३ औं स्थानमा पर्छ । सबैभन्दा बढी बोलिने भाषा नेपाली हो ।

जेलभित्रै धर्म प्रचार, कैदीको डाक्टर पास्टर !

६ वर्षअघि वीरेन्द्रनगर १ स्थित अनुग्रह चर्चका केही विश्वासी सहयोगको हात फैलाउँदै जिल्ला कारागार पुगे । कैदी–बन्दीका लागि खाद्यान्न सहयोग गर्ने भन्दै पुगेका उनीहरु ६ वर्षयता कारागारलाई धर्म प्रचारको केन्द्र बनाउँदै आएको नागरिक दैनिकमा खबर छ ।

शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका सहयोग प्रदान गर्ने नाममा कारागारभित्रैबाट उनीहरुले सयौं अनुयायी जन्माएको समाचारमा उल्लेख छ ।

कतिसम्म भने कारागार प्रशासनले बिरामी कैदी बन्दीलाई अस्पताल पुर्याएर उपचार गराउनुको सट्टा पास्टरलाई बोलाएर प्रार्थना गर्न लगाउने गरेको छ ।

समाचार अनुसार कारागार प्रशासनले पुस्तकालय, सीपमूलक तालिम, खाद्यान्न सहयोग, भौतिक संरचना निर्माणलगायतका नाममा काठमाडौंदेखि पोखरासम्मका चर्चका पास्तर र अनुयायीलाई कारागारभित्र निर्वाध प्रवेश दिइरहेको छ ।

र, यो पनि- इलाका प्रशासन कार्यालयको हाकिम कार्यालय सहयोगी

लोमान्थाङमा रहेको इलाका प्रशासन कार्यालय कार्यालय सहयोगीको भरमा चलेको खबर अन्नपूर्ण पोस्ट दैनिकको भित्री पृष्ठमा छापिएको छ ।

राज्यको उपस्थिति देखाउन स्थानीय जनतालाई सेवा पुर्याउने लक्ष्यसहित कार्यालय स्थापना भए पनि यहाँ माथिल्लो तहका कर्मचारी भने शून्य छन् ।

समाचार अनुसार लोमान्थाङ गाउँपालिका–५ का कार्यालय सहयोगी आङ्गेल गुरुङ एक वर्षयता कार्यालय सहयोगीको मात्रै होइन, हाकिमको समेत भूमिका निर्वाह गरिरहेका छन् । भइपरी आउने सानातिना काम सबै उनी आफैं गर्छन् ।

हेर्नुहाेस् अाजका पत्रपत्रिकाकाे फ्रन्टपेज


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment