Comments Add Comment

स्टिफन हकिन्स र गड पार्टिकल


‘पृथ्वी अन्तिम चरणमा प्रवेश गरेको छ । अतः मानिसलाई बस्नयोग्य अन्य ग्रह खोज्नुपर्ने’ धारणा राख्दथे वैज्ञानिक स्टिफन हकिन्स । ८ जनवरी १९४२ का दिन अक्सफोर्ड, इंग्लैण्डमा जन्मिएका यी वैज्ञानिकको अन्ततः १४ मार्च २०१८ का दिन देहान्त भएको छ । उनको भौतिक शरीरको अन्तसंगै विश्वले एउटा महत्त्वपूर्ण व्यक्तित्व गुमाएको छ ।

राजनैतिक स्वार्थका कारणले मानिसले थुप्रै आणविक हतियारहरु निर्माण गर्दै गैरहेका छन् । द्वन्द्व चर्किदै जाँदा कुनै पनि समयमा यसप्रकारका हतियारहरु पड्किन पनि सक्ने भयो । कार्बन उत्सर्गनको मात्रा बढ्दै गैरहेको छ । सूर्यको किरणलाई नियन्त्रण गर्ने ओजोन लेयर पातलो हुँदै गैरहेको छ । यस्ता थुप्रै कारणहरु छन् जसका कारण पृथ्वीको आयु लगभग एक हजार वर्षभन्दा बढी नभएको वैज्ञानिक हकिन्सको तर्क थियो ।

पृथ्वीमा आउनसक्ने यसप्रकारको संकटग्रस्त अवस्थाप्रति यी वैज्ञानिक चिन्तित थिए । र, यो संकट समाधान गर्न एकजना रुसी अर्बपति युरी मिलनरसित मिलेर ब्रेक थ्रू स्टार सर्ट नामक एउटा प्रोगाम चलाइरहेका थिए । यो प्रोगामअन्तरगत उनले स–साना स्पेस क्राफ्ट(नानो क्राफ्ट) हरु निर्माण गरिरहेका थिए ।

यी नानो क्राफ्टहरु प्रकाश गति भन्दा २० गुणा बढीको गतिमा चल्ने क्षमता राख्दछन् । यी क्राफ्टहरु अल्फा सेन्चुरी (पृथ्वीबाट सबैभन्दा नजिकको तारा) सम्म पुग्न २० बर्षको समय लाग्नेछ । त्यहाँ पुगिसकेपछि ती क्राफ्टहरुले विभिन्न ग्रहरुका बारेमा डाटाहरु पठाउनेछन् । त्यस आधारमा अन्य ग्रहहरुमा मानव बस्तीको सम्भावनाहरु बारे जानकारी हुनेछ । स्टिफन हकिन्सको तर्क थियो लगभग ६०० बर्षको अवधिमा यो कार्य पुरा हुनेछ ।

वैज्ञानिक पिटर हिग्सले सन् १९६०मा आफ्नो हिग्स सिद्धान्त अनुसार हिग्स बोसान नामक तत्वको बारेमा चर्चा गरेका थिए । जसलाई पछि लिओन लेडरमेनले यसको बारेमा पुस्तक लेख्दै गड पार्टिकलको नाम दिए । नामकै कारण यो तत्व निकै चर्चामा आएको थियो । कतिपय पक्षद्धारा के तर्क पनि गर्न थालीयो भने यो तत्वको सम्पर्क भगवानसित हुन्छ । तर वैज्ञानिकहरुले त्यो तर्कलाई अस्वीकार गरे ।

सन् १९८८ मा प्रकाशित भएको ए ब्रीफ हिस्टोरी अफ टाइम नामक पुस्तकमा स्टिफन हकिन्सले कुनै पनि भौतिक निर्माणमा भगवानको आवश्यकता नै नहुने बताए । प्रारम्भिक दिनहरुमा उनी भगवान प्रति अस्पष्ट भए पनि पछिका दिनहरुमा उनको स्पष्ट मत थियो कि भगवानको अस्तित्व नै हुँदैन । जस्तोकि उनले एउटा अन्तरवार्तामा भनेका थिए, ‘मानिसहरु आफ्नो अस्तित्वका कारण भगवानलाई मान्दछन् र त्यसैमा भ्रमित हुने गर्दछन् । वास्तवमा जीवन तथा त्यसको अस्तित्वको लागि भौतिक नियमहरु प्रति आभार प्रकट गर्नुपर्दछ । र, यसप्रकारको नियमहरुबाट नै समग्र भौतिक संरचनाको निर्माण भएको हो ।’

ब्रम्हाणमा विभिन्न क्षेत्रहरु हुन्छन् । जस्तै चुम्बकिय क्षेत्र, विद्युतीय क्षेत्र, गुरुत्वाकर्षण क्षेत्र आदि । वैज्ञानिक पिटर हिग्सले हिग्स क्षेत्र पनि हुने बताए । अन्य क्षेत्रहरुको ब्रम्हाणको सबै स्थानमा समान प्रभाव हुँदैन । तर हिग्स फिल्डको सबै स्थानमा समान प्रभाव हुने गर्दछ ।

हाइडोजन तत्वको केन्द्रमा न्यूटोन र प्रोटोन तथा बाहिरी कक्षमा इलेक्ट्रोन हुने गर्दछ । यही प्रोटोनलाई सबैभन्दा सानो कण मानिन्थ्यो । प्रोटोनभित्र दुईवटा अप क्वार्क तथा एउटा डाउन क्वार्क हुने गर्दछ । त्यहाँभित्रको बलियो शक्तिद्वारा ती क्वार्कहरु एकअर्कामा जोडिएका हुन्छन् । प्रोटोनमा रहेका क्वार्कहरुबीचको खाली ठाउलाई नै हिग्स फिल्ड भनिन्छ । त्यस्तै इलेक्टान र प्रोटोनबीचको खाली ठाउमा पनि हिग्स फिल्ड हुने बताइन्छ । र, त्यही फिल्डभित्र हिग्स बोसान अर्थात गड पार्टिकल रहेको हुन्छ । यो एकदमै छोटो अवधिको लागि मात्र अस्तित्वमा आउछ । वैज्ञानिकहरुले यही कणलाई नै अहिलेसम्मको सबैभन्दा सानो कण मानेका छन् । हिग्स फिल्डको महत्वपूर्ण भूमिका के हुन्छ भने यसले भाररहित चीजहरुलाई भार प्रदान गर्ने गर्दछ । हिग्स फिल्डकै कारण ब्रम्हाणका विभिन्न पिण्डहरुले भार प्राप्त गर्ने गर्दछन् ।

बिग बेंग सिद्धान्तका अनुसार पनि आज भन्दा १३.७ विलियन बर्ष पहिले बम्हाणमा ठूलो विष्फोट भयो । जसका कारण ठूलो उर्जा उत्पन्न भयो । त्यो उर्जा उत्पन्न भएको १ सेकेण्डको एउटा सानो हिस्साको अवधिमा त्यसका विकिरण उर्जाको केही हिस्सा हिग्स क्षेत्रमा जम्मा हुन थाले । र, एकदमै छोटो अवधिका लागि मात्र हिग्स बोसानको निर्माण भयो । जब हिग्स बोसानले भार प्राप्त ग¥यो, विभिन्न प्रकारका भौतिक वस्तुहरुको निर्माण हुँदै गयो । जति जति ब्रम्हाण चिसो हुँदै गयो, त्यहीरुपमा असंख्य कणहरुले हिग्स फिल्डबाट भार प्राप्त गर्दै गए । र, एउटा लामो कालखण्डपछि पृथ्वीको समेत निर्माण भयो ।

यसरी ब्रम्हाणको उत्पत्ति बिग बेंगको घटनापश्चात नै भयो । र, त्यसको कहिले पनि अस्तित्व समाप्त नहुने वैज्ञानिकहरुको तर्क छ । त्यसो भए त्यो घटनाभन्दा पहिले के थियो त ? यो प्रश्नको सन्दर्भमा स्टिफेन हकिन्स भन्छन्, ‘जसरी दक्षिणी ध्रुव पुगेपछि त्यो ध्रुव नै हराउछ त्यसरी नै बिग बेंगको घटनाभन्दा पहिले केही पनि थिएन । बिग बेंग नै ब्रम्हाणको शुरुवात हो ।’

यसरी स्पष्ट छ यदि गड पार्टिकल नभएको भए कुनै पनि कणमा द्रव्य भार नै हुने थिएन । गुरुत्वाकर्षण बल पनि हुने थिएन । मानव, ब्रम्हाण तथा ग्यालेक्सी, केही पनि अस्तित्वमा आउने थिएनन् ।

पिटर हिग्सले हिग्स तत्वको परिकल्पना गरे तर त्यसलाई प्रमाणित गर्न वैज्ञानिकहरुले यो तत्वका बारेमा विभिन्न प्रकारका अनुसन्धानहरु गर्दै आएका छन् ।

कुनै समयमा के पनि चर्चा गरिन्थ्यो भने सन् २०१२मा पृथ्वी ध्वस्त हुनेछ । मयन क्यालेण्डर(पृथ्वीको शुरु तथा त्यस्को अन्तसम्मको सबै रहस्य छ भनेर विश्वास गरिएको क्यालेण्डर, यद्यपि त्यसको बनावट तथा अक्षरहरुमा अस्पष्टता छ ) का आधारमा त्यस्तो तर्क गरिन्थ्यो । तर, त्यो एउटा विशुद्ध तर्क मात्र थियो ।

त्यस्तै अर्को सन स्टोन क्यालेण्डर थियो । बर्षभरिको क्यालेण्डर साइकल यसमा उल्लेख छ । जसलाई कम्युटरको सहयोगमा परिवर्तन गर्दै मेसिनको रुपमा परिवर्तन गरियो । जसलाई नै एलएचसी (लार्ज हाड्रोन कोलाइडर) भनिन्छ । यो मेसिनको निर्माण सीइआरएनले गरेको हो । फ्रान्सको सीमाना नजीकै स्वीटजरलेण्डको जेनेभामा जमिनभन्दा ६०० फिट गहिरो तथा २७ किमी लामो यो विश्वमै सबैभन्दा विशाल मेसिन हो । यो मेसिन चलाउन मात्र १२० मेगावाट बिजुलीको आवश्यकता पर्दछ । त्यस्तै यो मेसिनको निर्माणको सन्दर्भमा २ लाख ७० हजार कि.मी.लामो तारको प्रयोग गरिएको छ । सन् १९९८बाट यो मेसिनको निर्माण कार्य शुरु भएको थियो । जहाँ ८००० वटा वैज्ञानिकहरुले काम गर्दछन् ।

एलएचसी मेसिनमा सर्वप्रथम हाइडोजनबाट प्रोटोनहरुलाई अलग गराइन्छ । त्यसरी तयार भएका अरबौ प्रोटोनहरुलाई प्रकाश गतिको स्पीडमा दौडाउँदा तथा तिनीहरुको टकराव हुँदा शक्तिशाली उर्जा उत्पन्न हुन्छ । र, त्यही उर्जाको बीचबाट हिग्स बोसान अर्थात गड पार्टीकललाई सूपर डिटेक्टरबाट पहिचान गरियो ।

यो अध्ययनबाट अर्बौं बर्ष पहिले बिग बैंगको समयमा भएको बिष्फोटको बारेमा अध्ययन गर्न सहज हुने भयो । यसरी पिटर हिग्सले परिकल्पना गरेजस्तै ४ जुलाई २०१२ का दिन हिग्स बोसान (गड पार्टीकल) अस्तित्वमा आएको प्रमाणित भयो । जसका कारण २०१३ मा सनको वैज्ञानिक टीमलाई नोबेल पुरस्कार समेत प्रदान गरियो ।

स्टिफन हकिन्सले आफ्नो पुस्तक ए ब्रीफ हिस्टोरी अफ टाइममा के भनेका छन् भने जब पृथ्वीमा १०० बिलियन गीगा इलेक्ट्रान भोल्टभन्दा माथिको उर्जा उत्पन्न हुन्छ, त्यो अवस्थामा हिग्स बोसान अस्थिर हुन सक्छ । यदि त्यसो भयो भने ब्रम्हाणमा प्रकाशको गतिमा शून्य उत्पन्न हुन सक्छ । जसले अन्तरीक्ष र समयलाई नष्ट गर्न सक्छ । यसकारण पनि उनी अन्य ग्रहमा मानव बस्तीको निर्माणको तयारीमा लाग्नुपर्ने तर्क गर्दछन् ।

मानिसको भौतिक शरीर अपांग भए पनि यदि विचार तथा ईच्छाशक्ति दृढ तथा सशक्त छ भने जस्तोसुकै उपलब्धि पनि प्राप्त गर्न सकिन्छ भन्ने यथार्थ स्टीफन हकिन्सको संघर्षमय जीवनबाट पनि प्रष्ट हुन्छ । ‘म अझ पनि बाँच्न चाहन्छु ।’ ७० औं जन्मदिनमा भनेको उनको धारणाबाट पनि यी वैज्ञानिकलाई आफ्नो जीवनप्रति कति माया थियो, प्रष्ट हुन्छ ।

२१ बर्षकै उमेरमा यी वैज्ञानिकलाई न्यूरोन मोटर डिजीज नामक रोगले आक्रमण ग¥यो । यो रोगका कारण मांशपेशीलाई नियन्त्रण गर्ने तन्तुहरु कमजोर हुँदै गए । डाक्टरले २ बर्ष पनि बाँच्न नसक्ने भनेका थिए । तर, उनको त्यो दृढ ईच्छाशक्तिले अझ बाँकी ५० बर्ष बाँच्न सक्षम भए ।

एउटा अपरेशन गर्दा उनको श्वास नलीमा दुलो पार्नुपर्यो । जसले गर्दा उनी बोल्न नसक्ने भए । त्यो अवस्थामा एकप्रकारको यस्तो सफ्टवेयर बनाइयो कि उनले टाइप गर्दा आवाज उत्पन्न हुन्थ्यो । आैंलाले पनि काम गर्न छाडेपछि उनको चश्माको तलको गालाको कम्पनबाट आवाज निर्माण गरियो । र, अन्तमा त्यसले पनि काम गर्न छाडेपछि उनका भावनाहरुलाई शब्दमा परिवर्तन गरियो । यसरी जीवनको अन्तिम अवस्थासम्म पनि यो ब्रम्हाणको उन्नतिका लागि उनको केही न केही भूमिका रहिरह्यो ।

अन्त्यमा स्टिफेन हकिन्स भन्थे, भौतिक जगतका अझ थुप्रै रहस्यहरुको समाधान गर्न बाँकी नै छ । भौतिक विज्ञानको पूर्ण ज्ञान त सम्भव नै छैन । तर, पनि ज्ञान प्राप्ति, निरन्तररुपमा चलिरहने प्रक्रिया हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment