Comments Add Comment

कांग्रेस प्रवक्ताको प्रश्न : ओलीको राष्ट्रवाद धनुषटंकारवादमा बदलिएको हो ?

२६ वैशाख, काठमाडौं । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर ‘हाम्रा प्रमको राष्ट्रवाद कुन मञ्चमा सुकुला ?’ भनेर प्रश्न गरेका छन् ।

पछिल्लो समय केपी शर्मा ओलीलाई राष्ट्रवादको प्रतीक बनाइएको भन्दै उनले अहिले मोदीको भ्रमणका बेला त्यो राष्ट्रवाद कता सुत्यो भनेर प्रश्न गरेका हुन् । कांग्रेस प्रवक्ता शर्माले मोदीको भ्रमणलाई दिएर ६ प्रश्न उठाएका छन् ।

उनले भारतीय प्रधानमन्त्री काठमाडौं नआई सिधै जनकपुर जाँदा केन्द्र सरकार भन्दा प्रदेशलाई प्राथमिकता दिए जस्तो देखिएको बताए । साथै जनकपुर र काठमाडौं गरी दुई ठाउँमा नागरिक अभिनन्दन किन भन्ने प्रश्न पनि उठाएका छन् ।

जनकपुरमा नागरिक अभिनन्दन गर्ने तय भइसकेको अवस्थामा काठमाडौंमा आवश्यक नहुने उनको तर्क छ । ‘चाहे बुद्धिमतापूर्वक होस् वा असवधानीवश होस्, एउटा पहाडमा एउटा मधेसमा अभिनन्दन गरेको जस्तो देखियो’ उनले भने, ‘दुई नगरपालिकाको भ्रमण होइन यो, नेपालको राजकीय भ्रमणमा आउनुभएको हो ।’

उनले मोदीको भ्रमणका लागि भारतीय सैनिकको बाक्लो उपस्थितिमाथि पनि प्रश्न उठाएका छन् । एक हिसाबले हेर्ने हो भने यो अतिक्रमण हो, अर्को हिसाबले हेर्ने हो भने हाम्रो सुरक्षा निकायमाथि अविश्वास हो’ उनले भनेका छन् ।

शर्माले मोदीको भ्रमणका क्रममा नाकाबन्दी लगाउनु गलत थियो भन्ने भारतीय सन्देश आउँछ कि आउँदैन ? कि नेपालले भुलिसक्यो भन्ने प्रश्न गरेका छन् । ‘त्यो देशको नागरिक, जो नाकाबन्दीबाट प्रताडित भए, उनीहरुको नाममा अभिनन्दन गरिँदै गर्दा आत्मालोचित भएको भाषा भारतीय प्रधानमन्त्रीबाट आउँदैछ कि छैन ?’ उनले प्रश्न गरेका छन्, ‘कि हामी भुल्दैछौं ?

कांग्रेस प्रवक्ता शर्माको अन्तिम प्रश्न छ, ‘हाम्रा प्रमको राष्ट्रवाद कुन मञ्चमा सुकुला ?

शर्मा भन्छन्, प्रश्न उहाँ प्रधानमन्त्री हुनुहुन्छ कि हुनुहुन्न होइन । प्रश्न अहिलेको विषय जुन रुपमा प्रस्तुत छ । यदि देशभित्र हुनुहुन्थ्यो, सुकुला नभएर जागि्रत नै हुनुहुन्थ्यो र कांग्रेसको सरकार थियो भने केपी ओलीको अभिव्यक्ति के हुन्थ्यो ?’

कल्पना गरौं न भन्दै उनले भने, ‘सुपर लम्पसार भन्नुहुन्थ्यो । कांग्रेस लम्पसार परेको त पहिल्यै भनिसक्नु भएको थियो । हामीले त त्यसो भनेनौं, सारा घटनाप्रति हाम्रो प्रधानमन्त्री सुसूचित हुनुहुन्छ कि हुनुहुन्न भन्ने मात्र जान्न चाहेका छौं ।’

‘सुसूचित हुनुहुन्छ भने नागरिक तहमा उठेका प्रश्नहरुमा आश्वस्त पार्ने अभिव्यक्ति आउनु पर्दैन ?’

कांग्रेस प्रवक्ता शर्माको निश्कर्ष छ, प्रधानमन्त्री ओलीको राष्ट्रवाद धनुषटंकारवादमा परिणम भयो ।’

तर, नाकाबन्दी त भन्न नसक्ने कांग्रेसले हामीलाई राष्ट्रवाद सिकाउनु पर्दैन भन्ने एमालेको जवाफ हुनेछ । शर्मा भन्छन्, ‘कांग्रेसले नाकाबन्दी ढिलो भन्यो भनेर भारतीय नाकाबन्दी रेशमी ढंगले थियो । इन्द्रेणी जस्तो थियो भन्न त पाइएन नि ।’

‘प्रश्न अमुख दलको होइन । कुन दलले ढिलो नाकाबन्दी स्वीकार गर्‍यो भन्ने होइन’ उनले भने, ‘व्यक्तिगत रुपमा विश्वप्रकाशले ठूलो स्वरमा नाकाबन्दीको विरोध गरेको थियो । कांग्रेसले संस्थागत रुपमा नाकाबन्दी भन्न ढिलो गर्‍यो । त्यसको अर्थ नाकाबन्दीको वस्तुगत यथार्थ त बदलिँदैनन् ।’

शर्माले अगाडि भने, ‘उहाँहरुले ओठे जवाफ फर्काउनुको कुनै अर्थ छैन । फरक ढंगले जवाफ दिनुपर्छ, केपी ओलीको राष्ट्रवाद पनि धनुषटंकारवादमा बदलिएको हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment