Comments Add Comment

‘ओलीले मोदीलाई स्वागत नगरेर ढुंगा हान्नुपर्ने हो ?’

'चीन र भारतसँग सन्तुलित सम्बन्ध बनाउने ओलीको स्टेप सकारात्मक छ'

२७ वैशाख, जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर आगमनले जनकपुरधामलाई वर्षौंपछि चलायमान बनाइदिएको छ । रातारात जनकपुरमा विकासका नमूना देखिन थालेका छन् । विमानस्थलदेखि शुरु हुने मुख्य सडक तीन दिनका बीचमा कायापलट भएका छन् । मधेसवादी गठबन्धनको प्रदेश सरकार र राजपा नेतृत्वको जनकपुर उपमहानगरपालिकाका पदाधिकारीको सक्रियताले परराष्ट्र मन्त्रालय वा केन्द्र सरकारलाई यहाँ छायाँमा पारेको छ ।

मधेसवादी दलका शीर्ष नेता पनि अहिले जनकपुरमा छन् । केही दिनअघि यहि क्षेत्रबाट निर्वाचित सांसद तथा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो झाडू लिएर जानकी मन्दिर सफाइ अभियानमा निस्केको फोटो सार्वजनिक भयो । उनको त्यो फोटो र जनकपुरमा मोदीको स्वागतमा टाँगिएका गेट र फ्लेक्स बोर्डहरुमा लेखिएको शब्दलाई लिएर बिभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

एकातिर नाकाबन्दी बिर्सेर नेपाल सरकारले मोदीको नागरिक अभिन्दन गर्न लागेकोमा विशेष गरी काठमाडौं लगायत शहरी जमातले सामाजिक सन्जालमा केपी ओलीको ‘राष्ट्रवाद’को हुर्मत लिइरहेको छ । अर्कोतिर जनकपुरमा त्यसको कुनै चर्चा छैन ।

काठमाडौंमा मोदीको नागरिक अभिनन्दनको विपक्षमा सामाजिक सन्जालबाट ट्रेन्डिङ चलिरहेका बेला जनकपुरमा भने बाह्रबिघा मैदानमा नागरिक अभिनन्दनको भव्य तयारी चलिहरेको छ । अनौपचारिक स्रोतहरुका अनुसार धनुषा र महोत्तरी बाहेकका यो प्रदेशका अन्य ६ जिल्लाका प्रत्येक स्थानीय तहलाई २ गाडी मान्छे ल्याउने जिम्मा दिइएको छ । धनुषा र महोत्तरीबाट २ सयभन्दा बढी गाडीमा एउटा स्थानीय तहले मान्छे उतार्नेछ ।

यी सबै तयारीले के देखिन्छ भने, सीधै जनकपुरबाट शुरु हुने मोदीको नेपाल भ्रमणलाई मधेसवादी दलहरुले प्रतिष्ठाको विषय बनाएका छन् । मोदीको स्वागतमा कुनै कमी हुन नदिन यहाँ प्रदेश सरकार र स्थानीय सरकारमात्र होइन मधेसवादी दलका नेता कार्यकर्ता पनि खटिएका छन् ।

मोदीको अभिनन्दन हुने बाह्रबिघा मैदानसँगै संकटमोचन मन्दिरको आडमा डेरा जमाएर बसेका छन् राजेन्द्र महतो । बुधवार साँझ अनलाइखबर टिम महतो निवास पुग्दा उनी मोदीको स्वागतको तयारीबारे प्रदेश मन्त्रीहरुसँग बि्रफिङ लिएर अन्य सरोकारवालासँग कुरा गर्दै थिए । भारत र नेपालका प्रधानमन्त्रीको स्वागत सत्कारमा कुनै कमि हुन नदिन उनले निर्देशन पनि दिए ।

अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘जनकपुरको लागि र समग्र मधेसका लागि यो ठूलो अवसर हो । खोखला राष्ट्रवादीहरु सामाजिक सन्जालमा भुक्दै गर्छन्, हामीले यसलाई अन्यथा लिएका छैनौं । ओलीजीले पनि बल्ल बुझे होलान्, तिनीहरु मुठ्ठीभर गलत नियतका झुण्ड हुन् भन्ने कुरा ।’

प्रस्तुत छ, मोदी भ्रमणको सन्दर्भमा अनलाइनखबरकर्मी मात्रिका पौडेल र श्रवण देवले जनकपुरमा राजेन्द्र महतोसँग गरेको कुराकानी ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण जनकपुरबाट शुरु भएको छ, सम्भवतः विदेशी सरकार प्रमुखको काठमाडौं बाहिरबाट नेपाल भ्रमण शुरु भएको यो पहिलो पटक हो, तपाईहरुले मोदीको सीधै जनकपुर आगमनलाई कसरी लिनुभएको छ ?

यो भ्रमण एकदम ठीक छ । केन्द्रिकृत एकात्मक शासन गइसक्यो । संघीयतामा गइसक्यो मुलुक भन्ने सन्देश पनि हो । पहिले पो एउटामात्र राजधानी थियो । अहिले त जताबाट आए पनि नेपालमै आउने हो । जुनै प्रदेशको राजधानीबाट पनि आउन सक्नुहुन्छ । अहिले २ नम्बर प्रदेशको राजधानीबाट उहाँले भ्रमण शुरु गर्नुभयो । यसले हामीलाई धेरै खुसी बनाएको छ ।

मुलुकको हितलाई अस्वाभाविक ठान्नेहरु केही छन् मुठि्ठभर । त्यस्ता तत्वहरु सामाजिक सन्जालमा बेलगामका घोडा जस्ता भएका छन् । जे मन लाग्यो त्यहि लेख्ने, बोल्नेहरुलाई धेरै महत्व दिनु हुँदैन

अर्को कुरा उहाँ बिहानै पूजामा जानुपर्ने भएकाले पनि यो ठाउँ छनौट भइसकेको हुनुपर्छ । किनकी पूजाआजा त बिहानै न हुन्छ । उहाँको उद्देश्य त जानकी मन्दिरमा पूजा गर्ने पनि हो । यसले हाम्रो सम्बन्धको पनि निर्धारण गरेको छ । कुनै पनि भारतीय काठमाडौं भएर जनकपुर आउँदैन, सीधै जनकपुर आउँछ भने त्यहाँको प्रधानमन्त्री किन काठमाडौं भएर आउने ? यो अर्थमा पनि हेर्न सकिन्छ ।

तर सीधै जनकपुर आउने कुरालाई पनि बिभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ नि ?

यो मुलुकमा त यस्ता तत्वहरु छन्, उनीहरुकेा कामै हरेक कुरामा नकारात्मक देख्नु हो । मुलुकको हितलाई अस्वाभाविक ठान्नेहरु केही छन् मुठि्ठभर । त्यस्ता तत्वहरु सामाजिक सन्जालमा बेलगामका घोडा जस्ता भएका छन् । जे मन लाग्यो त्यहि लेख्ने, बोल्नेहरुलाई धेरै महत्व दिनु हुँदैन । ती सामाजिक सन्जालमा विष बमन गर्छन्, आफ्ना कुण्ठा पोख्छन् छाड्दिनुपर्छ तिनीहरुलाई ।

तपाईंले जनकपुरलाई आधार बनाएर चुनाव लड्दै गर्दा जनकपुरको विकासमा भारतको सहयोग जुटाउँछु भन्नुभएको थियो, अहिले भारतीय प्रधानमन्त्रीको भम्रमण नै यहिँबाट हुँदैछ यो संयोगमात्र हो कि…?

मोदीजीको जनकपुर भ्रमण धेरै लामो समयदेखि प्रतिक्षामा थियो । दुईपटक रद्द भएको हो । उहाँले तेस्रो पटक जसरी पनि जनकपुर आउँछु भन्नुभएको थियो । यसबीचमा हामीले पनि आग्रह गरेका थियौं र उहाँले पनि सीधै जनकपुरबाट शुरु गर्नुभयो । यो निकै सुखद पक्ष हो ।

यो भ्रमणका क्रममा दुई देशका सरकारहरुबीच वार्ता र सम्झौता हुने नै छन् । रामायण सर्किटको शिलान्यास दुवै देशका प्रधानमन्त्रीले गर्ने कुरा आएको छ । रामायण सर्किटमा जनकपुर जोडिने कुरा नेपालको लागि ठूलो महत्व छ । राष्ट्रियमात्र होइन जनकपुर अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको केन्द्र बन्ने भयो । मोदीजीको भ्रमणले जनकपुरले अन्तर्राष्ट्रिय प्रचार पाउँदैछ । करोडौं खर्च गरेर पनि नहुने प्रचार भइरहेको छ ।

जनकपुरबाट अयोध्यामा सीधा बस सेवा सन्चालन हुँदा धार्मिक पर्यटनको लागि थप टेवा पुग्नेछ । यो भ्रमणले आर्थिक क्षेत्रमासमेत विकासको लागि सहयोग पुग्ने अपेक्षा मैले लिएको छु ।

होइन मैले बुझ्न खोजेको चाहिँ यो भ्रमण राजनीतिक उद्देश्यबाट पनि प्रेरित छ कि ?

त्यो के हो ? कस्तो राजनीतिक उद्देश्य ? के भनेको ?

त्यो भनेको मधेसलाई मोदीले अलग्गै व्यवहार गरेको अथवा काठमाडौंसँगै मधेससँग पनि दिल्ली समानान्तर सम्बन्ध राख्न खोजिरहेको छ भन्ने हो कि ?

छिमेकी देशको प्रधानमन्त्री मोदीजी नेपाल भ्रमणमा आउादै हुनुहुन्छ । हाम्रो प्रधानमन्त्रीले स्वागत नै गर्न नहुने ? के ढुंगा हानेर पठाउन भनेको हो उनीहरुले ?

राजनीतिक मान्यता छ । किनकी एकात्मक शासन हुँदा नेपालको एउटैमात्र राजधानी थियो । अहिले प्रदेशको राजधानीबाट भएको छ । नेपाल संघीय अभ्यासमा गएको हो भनेर उहाँले यहाँबाट भ्रमण थाल्न तत्पर हुनु आफैंमा राजनीतिक अर्थ हो ।

जहाँसम्म मधेसलाई अलग्गै सम्बोधन गर्न खोजेको भन्ने छ, यो त हामीबीच बेटी-रोटीको सम्बन्ध हो । यो सम्बन्ध दिल्ली दरबार र सिंहदरबारले बनाएको होइन । मधेसको त घर-घरको बेटी-रोटीको सम्बन्ध हो । दुई देशका जनताबीचको सम्बन्धलाई मोदीजीले स्वीकार गर्नुभएको हो । सरकार प्रमुख पनि जनताकै भावनाअनुसार, व्यवहार गर्न बाध्य हुनुभएको छ ।

अर्को कुरा मोदीजीको भ्रमण जनकपुरमा मात्र होइन, मुक्तिनाथमा पनि हुँदैछ । किन मुक्तिनाथको दर्शनमा गयो भनेर कसैले यहाँ बिरोध गरेको छ ? यो त मधेसप्रति दुराग्रह राख्ने केही मानसिक दिवालियापन भएका खोक्रो राष्ट्रवादीहरुको रोदन हो ।

तपाईं त्यसो भन्नुहुन्छ, उता केपी ओलीको राष्ट्रवादको भाँडो पोखियो भनेर तीव्र बिरोध भइरहेको देख्नुभएको छैन ?

हा हा हा… त्यो त केपी ओलीजीलाई नै सोध्नुस् । गलत राष्ट्रवाद पोखिनेमात्र होइन समाप्त हुनुपर्छ । खोक्रो राष्ट्रवादले नेपाल बिगि्रएको हो । यो मुलुकमा राष्ट्रवादको परिभाषा गलत भयो । अरुलाई गाली गरेर राष्ट्रवादी हुने कुरा नै गलत हो ।

छिमेकी देशको प्रधानमन्त्री मोदीजी नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । हाम्रो प्रधानमन्त्रीले स्वागत नै गर्न नहुने ? के ढुंगा हानेर पठाउन भनेको हो उनीहरुले ? यस्ता खोखला राष्ट्रवादीहरु सामाजिक सन्जालमा भुक्ने हुन् । उनीहरुलाई वास्तै गर्नु हुँदैन । यो देश बिग्रिएकै यस्तै दरिद्र चिन्तन भएकाहरुले गर्दा हो ।

हाम्रो आन्दोलनलाई सहयोग भारतले मात्र होइन दुनियामै भएको थियो । पहाडमा पनि समर्थन भएको थियो । तर नाकाबन्दी हामीले गरेको हो, यसमा मोदीले किन माफी माग्ने ?

तर बिरोध ओलीको मात्र होइन मधेसमा यहाँको सरकार, नगरपालिका र तपाईंहरुले गरेको स्वागतको तयारी पनि अति चाकडी भयो भनेर तीव्र आलोचना भइरहेको छ नि ? नाकाबन्दी लगाउनेलाई माफी नमागी किन नागरिक अभिनन्दन भन्ने प्रश्न प्रवुद्ध वर्गबाट पनि उठेको छ ।

यो त के छ भने हिजो मधेस आन्दोलन जुन भयो, त्यो आन्दोलनको स्वरुप नाका अवरोध पनि थियो । नाका अवरोध हामीले निर्णय गरेर गरेको हो । डंकेका चोटमा घोषणा गरेर नाका अवरोध गरेको हो । त्यसैगरी घोषणा गरेरै नाका अवरोध फिर्ता लिएको हो ।

दुनियामा लोकतन्त्रमा बिरोधका यस्ता प्रक्रियाहरु भइरहन्छन् । यसलाई अनावश्यक रुपमा भारतसँग जोडेर, मोदीसँग जोडेर केही अर्थ छैन । हाम्रो आन्दोलनलाई सहयोग भारतले मात्र होइन दुनियामै भएको थियो । पहाडमा पनि समर्थन भएको थियो । तर नाकाबन्दी हामीले गरेको हो, यसमा मोदीले किन माफी माग्ने ?

तर मोदीलाई यो तामझामका साथ अभिनन्दन जरुरी नै हो ? जस्तो कि तपाईं झाडु लिएरै निस्कनुभयो होइन ?

यो त सब फाल्तु कुरा हो । वाहियात कुरा हो । यी कुरा भन्नेहरु राष्ट्रघाती हुन्, राष्ट्रलाई नोक्सान गर्ने काम भइरहेको छ । बाहिरका पाहुना आउँदा यस्तो बिरोध गर्नेहरु नेपाल बिरोधी हुन् ।

पाहुना आउँदा स्वागत सत्कार गर्नु हाम्रो संस्कार संस्कृति हो । अतिथी आउँदैछ भने सरसफाइमा ध्यान पुगोस् भनेर सांकेतिक रुपमा जनप्रतिनिधिको नाताले जनतालाई जागरुक बनाउन खोजेको हो । अतिथी आउँदा स्वागत सत्कार गर्ने र सफा सुघ्घर राख्ने मिथिला संस्कृति हो ।

अनि प्रदेश सरकारले जनतालाई उर्दी नै जारी गरेर अभिनन्दन समारोहमा बोलाएको चाहिँ किन त ?

नागरिक नआई नागरिक अभिनन्दन कसरी हुन्छ ? यसलाई उर्दी होइन आमन्त्रण गरेको हो भनेर बुझ्नुपर्छ । यहि हो समस्या, आमन्त्रणलाई उर्दी बुझ्ने, राष्ट्रवादलाई राष्ट्रघात बुझ्ने, स्वागतलाई लम्पसारवाद बुझ्ने । बडो उल्टो छ के यहाँ ।

पछिल्लो तपाईंहरुको आन्दोलनपछि ओली जनकपुर आएका थिएनन्, यसपटक मोदीसँगै ओलीलाई पनि जनकपुरमा स्वागत गर्ने हुनुभयो होइन ?

हाम्रो प्रधानमन्त्री केपी ओलीजी भारतीय प्रधानमन्त्रीको स्वागतका लागि जनकपुर आउँदै हुनुहुन्छ । उहाँको कार्यक्रम अर्कै हो । उहाँ अलग्गै कार्यक्रम लिएर आउनु भएको होइन । उहाँ जानकी मन्दिरमा आउँदै हुनुहुन्छ । भारतीय प्रधानमन्त्रीसँग उहाँको कार्यक्रम छ । त्यसको लागि आउनुभएको हो ।

उहाँले अरु कार्यक्रम लिएर कार्यक्रममा आउँदा नागरिकले उहाँसँग सोध्नुपर्ने कुरा अहिले पनि सोध्न सक्छन् । उहाँले हाम्रा मधेसका माग सम्बोधन गर्छु भन्नुभएको छ, उहाँलाई नागरिकले कहिले गर्नुहुन्छ भनेर प्रश्न सोध्न पनि सक्छन् । तर यसपटक त उहाँ त्यसरी नागरिकसँग संवादको लागि आउने होइन नि । उहाँ त आफूले बोलाएका अतिथीलाई स्वागत गर्न आउने हो ।

त्यहि प्रश्न सोध्छन् भनेर उहाँ बाह्रबिघा मैदानमा नजाने हो ?

बाह्रबिघामा त मोदीजीको अभिनन्दन हो । यहाँ नगरपालिकाले आयोजना गरेको अभिनन्दनमा भारतीय प्रधानमन्त्री जाने हो । ओलीजी र मोदीजीको कार्यक्रम त जानकी मन्दिरमा छ । ओलीजीको अभिनन्दनको कार्यक्रम पनि हुन्छ । जब उहाँ मधेसी जनताको माग पूरा गर्नहुन्छ त्यो दिन उहाँलाई बोलाएर बाह्रबिघामा अभिनन्दन गर्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment