शनिबार, २ भदौ, २०७५
Ruslan
OnlineKhabar.com
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

मोदी मोहनीदेखि तीर्थाटनसम्म

एकराज पाठक


प्रधानमन्त्रीका रुपमा सन् २०१४ को अगष्टमा पहिलो पटक नेपाल आउँदा काठमाडौंलाई नरेन्द्र मोदीको मोहनी लागेको थियो । मोदीमय थियो काठमाडौं । सरकारभन्दा पनि जनस्तरमा समस्या देखिने नेपाल–भारत सम्बन्धमा त्यस्तो कुनै गुनासो थिएन जनताको । हृदयदेखि नै मोदीको स्वागत गरेका थिए नेपालीले । सामाजिक सञ्जालमा उनको स्वागतमात्र देखिन्थ्यो । आफ्नो वर्षदिन लामो निर्वाचन अभियानमा भारतलाई मात्र नभएर आफ्ना छिमेकी र दक्षिण एसियालाई नै समृद्ध र समुन्नत बनाउने एजेण्डा अघि सारेका मोदीको ‘क्यारिस्म्याटिक’ बाह्य स्वरुपको बाछिटाले हामीजस्ता छिमेकीलाई पनि धेरथोर छ्यापेको थियो ।

उनका आकर्षक ‘गफ’ सँग घ्युको लड्डु हामीले पनि मनभित्रै पकाएका थियौँ । सधैँको अस्थिरता, वर्षेनीका सरकार र भारतको दश वर्ष लामो पट्यारलाग्दो कांग्रेस सरकारको हेपाइमा परेका हामीले चित्ताकर्षक भाषणले प्रचण्ड बहुमत हासिल गरेर पाँच वर्षे शासनको सुरुआत गरेका मोदीलाई नयाँ नेपाल निर्माणको एक सहयोगीका रुपमा नेपालीले न्यानो स्वागत गरेका थिए ।

फेरि उनले आफू भारतीय प्रधानमन्त्रीका रुपमा पहिलो भ्रमणमा नेपाल जान चाहेको कुरा भुटान पुगेरसमेत भनेकाले पनि मोदी नेपाल नआउँदै उनको मोहनीले छोइसकेको थियो । त्यसमा पनि मोदीले नेपालको संसदलाई गरेको सम्बोधनले त झन सबै नेपालीलाई नछुने कुरै भएन । नेपाली भाषामा केही शब्द बोलेर सुरु गरेका उनले यसरी घोषणा गरे कि भारतले जितेको कुनै यस्तो युद्ध छैन जहाँ नेपालीले नलडेको होस् । उनले थपे अहिले पनि म यहाँ बोलिरहेको छु मेरो देशको सीमा क्षेत्रको रक्षार्थ नेपाली दाजुभाइहरु खटिरहनुभएको छ ।

सडक, सदन सबैतिर मोदीमयमात्र माहोल मात्र देखिन्थ्यो । विना कुनै छलकपट सबै निर्दाेष नेपालीहरुले पाहुनाको निःस्वार्थ सम्मान र स्वागत गरे । राजा महाराजाको सवारीजस्तो सडक किनारामा उभिएर मोदीलाई हेरे, देखे, हात हल्लाए र अभिवादन गरे । मोदी पनि ओतप्रोत नभएका होइनन् । नेपाली जनताको यो आतिथ्यता र न्यानो माया मोदीले सवारीभित्रबाट मात्रै थेग्न सकेनन्, सडकमै ओर्लिए, सडक किनाराका नागरिकसँग हात मिलाए, अंकमाल गरे, अभिवादन गरे र मानौं कि ठूलो सुरक्षा चुनौती देख्ने गरेको नेपाली सुरक्षा प्रणालीलाई पनि नेपाली भूमिमा आफू सुरक्षित रहेको सन्देश पनि दिए ।

शब्द र व्यवहारमा धेरै फरक छ भन्ने कुरा खुलस्त देखाउन मोदीले वर्षदिनभन्दा बढी कुर्नु परेन । ‘बुद्धभूमिबाट समस्त नेपाली दाजुभाइहरुलाई म सतत् नमन् गर्दछु’ भनेर संसदको रोस्टमबाट हात जोडेरै नमस्कारको सत्कार टक्र्याएका तिनै मोदी त्यसको तेह्र महिनापछि (सन् २०१५ को सेप्टेम्बर २३) मा त औषधि रोक्नेसम्मको नाकाबन्दीका लागि समेत तयार भए । त्यसको न कुनै कारण थियो र नत प्रष्टिकरण नै । यस्तो हर्कत तिनै मोदीबाट भएको होला भनेर पत्याउन सुरुमा कठिन मानेका नेपालीले बडो कष्टपूर्ण रुपमा १३५ दिन गुजार्नुपर्‍याे ।

हामीले हाम्रो लागि निर्माण गरेको संविधानमा असहमति व्यक्त गरेका उनले अन्ततः नाकाबन्दी नै गरिदिए । हामीले यस्तो अवस्थामा छिमेकीको नाकाबन्दीको सामना गर्नुपर्‍याे कि त्यस समयमा हामीहरु छाप्रोमा बास थियो । महाभूकम्पले छाप्रोमा बस्नुपरेका नेपालीलाई नेपालीकै साथ लिएको अभिनय गरेर भारतले आपतमा विपद थपिदिएको थियो । इन्धन राकियो, त्यस समय नेपालमा १६ घन्टा लोडसेडिङ थियो । एक्काइसौँ शताब्दिको सहरले इन्धन र बिजुलीबिना कसरी गुजारा ग¥योहोला भन्ने कुरा व्याख्या गरिरहनै पर्दैन ।

धनी र गरिबबीचको ठूलो खाडल रही आएको नेपाली समाजमा यसले खाडलको अन्तर झन् ठूलो बनाइदियो । इन्धनमा पहुँच हुनेले सन्ततिलाई सम्पत्ति थुपार्न भ्याए भने पहुँच नहुने सरकारले आर्यघाटमा बाँडेको दाउरा ल्याएर पकाएर खान सक्ने अवस्थासम्म पनि उक्लिन सकेनन् । तराईमा प्राय यातायात नै बन्द भयो । इन्धन अभावको कारण देखाएर एम्बुलेन्ससमेत चलेनन्, खाद्यान्न त के औषधिकै अभाव भयो ।

यसले समाजमा कृत्रिम अभाव सिर्जना गर्ने तरिका मात्र सिकाएन एम्बुलेन्स नपाएर विरामी छट्पटिनुपरेको दृष्टान्तले समाजमा क्रुरता र निष्ठुरता बढायो । युद्ध र द्वन्द्वको समयमा समेत खाँचो गर्न नहुने अत्यावश्यकीय वस्तुको अभावै अभाव भयो । कालाबजारियाहरु झनै संस्थागत भए भने मोदीले नाकावन्दीभरि नै मुख खोलेनन् । मात्र उनले हाम्रो संविधानप्रति असन्तुष्टि नै राखे ।

भारतमा मात्र होइन, युरोपेली युनियनको कार्यक्रममा युरोपमासमेत पुगेर विरोध गरिरहे । उनको स्वरको पछि हाम्रो देशको तराई भूभाग लाग्यो मानौँ कि उनीहरुको आवाज मोदीले मात्र बोलिदिएका छन् । यता नेपालको संविधानले समावेशीताको नमूनाका रुपमा संसारमै प्रशंसा पाइरहँदा उता मोदीलाई भने हाम्रो संविधान आजका मितिसम्म पनि मन परेको छैन । नेपालको संविधानलाई समावेसिताको एक उत्कृष्ट संविधानका रुपमा संसारमै अध्ययन गरिएको छ । तर मोदीले मन पराएनन् अनि नाकाबन्दी गरेको पनि भनेनन् । यसले उनीहरुको कूटनीतिक कुशलता राम्ररी झल्कायो, आफ्नो व्यवहारले छिमेकीलाई राम्ररी नै पर्गेल्यो ।

त्यसैले मोदीको यो भ्रमण वास्तवमा भ्रमण बन्न सकिरहेको छैन । विदेशी सरकार प्रमुखका रुपमा दिनुपर्ने श्रद्धा जनताको मन मस्तिष्कले दिन मानिरहेको छैन । त्यसैले यो भ्रमणले औपचारिकता वा ‘स्टेट भिजिट’को स्वरुप धारण गर्न मानेको छैन । भ्रमण सरकारी बन्दैछ, राजकीय बन्न सकिरहेको छैन । परराष्ट्रका अधिकारीहरु पनि अनौपचारिक कुराकानीमा भन्ने गर्छन्— मुक्तिनाथ हिँडेका मोदीलाई काठमाडौं ल्याइएको हो, यहाँ आएपछि त भ्रमण स्टेट नै हुन्छ नि । यसरी तिर्थाटनमा मात्र सीमित छ यो भ्रमण ।

मोदीजस्तो ठूलो देशका शासकले छिमेकी मुलुकका नागरिकको मन छाम्न नसक्ने कुरै भएन । नेपाली मन दुःखेको कुरा थाहा पाउन उनलाई गाह्रो छैन । त्यसैले उनैले आफू जानकी र मुक्तिनाथको दर्शन गर्न मात्र आउन खोजेका थिए । तर त्यसलाई काठमाडौंसम्म ल्याएर औपचारिकता दिने काममा सरकारले आंशिक सफलता पाएको छ । उ समय हृदयदेखि स्वागत गरेका नेपाली नागरिकले यतिखेर मोदीलाई स्वागत गर्न सकेका छैनन् । सामाजिक सञ्जालमा पोखिएको उनीप्रतिको आक्रोश यहाँ पोख्न सकिँदैन । ती आक्राश तर्कपूर्ण छन् र नाकाबन्दीको पानी कलरमा पोखिएका छन् ।

मोदीले युवापुस्तालाई खुब सम्बोधन गर्छन् । आफ्ना हरेक भाषणमा मोदीले पहिला युवा पुस्तालाई सम्बोधन गर्छन् । उनका अनुसार भारतको ६५ प्रतिशत जनसंख्या युवा छ । युवा विद्यार्थीका नाममा उनले हालै एउटा पुस्तक नै लेखेका छन्— इक्जाम वारियर नामको । मोदीको तर्क छ भारतको भविश्य तिनै युवाका नाममा छ । त्यस्तै तागतको नेपाली युवा पुस्तामा भने मोदी विरोधी भावना जागृत छ । किनभने यहाँको युवाले सन् १९९० को नाकाबन्दी सुनेको मात्र थियो तर दुई वर्षअघिको भने देखेको र भोगेकै छ । नाकाबन्दीकै कारण बसमा झुण्डिएर, थिचिएर, पेलिएर स्कुल कलेज जानुपर्ने बाध्यतालाई गाडीवालाहरुले अहिलेसम्मै संस्थागत गरेका छन् । सास्ती त्यहीँबाट थपिएको ठम्याइ छ उसको । त्यतिबेलै होटलहरुले बढाएको उनीहरुको खाजा, खाना खर्च पछि नाकाबन्दी फिर्ता हुँदा पनि फिर्ता भएन । आफ्नो गाँस काटेको दक्षिणकै कुचक्रले हो भन्ने अहिलेका युवाको ठम्याइ छ । हामीले हाम्रो लागि संविधान निर्माण गर्दा मोदीले नेपालमा नाकाबन्दी गर्नुपर्नाको कारण के हो भनी यहाँको हरेक युवाले सोध्ने साझा प्रश्न हो यो । त्यतिबेला र अहिलेसम्म पनि उसले यसको चित्तबुझ्दो जवाफ पाएको छैन । त्यसैले यो पुस्तामा मोदी विरोधी भावना बढ्दो छ । उनीहरु कति आक्रोशित छन् भन्ने कुरा त योभन्दा बढी भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका समयमा सामाजिक सञ्जालमा परावर्तन भएको थियो । उनको भ्रमणमा दुई दिन दिएको बिदा यो आक्रोश थेग्न नसकेर सरकारले फर्किने दिनको विदा फिर्ता लिनु परेको थियो । अहिले पनि त्योभन्दा कम त छैन तर घरमा आएका तीर्थयात्री पाहुनाको सत्कार गर्ने हामी नेपालीको संस्कारअनुसार अहिले भने उनीहरु धेरै संयमित छन् ।

अब नरेन्द्र मोदीले सोच्नुपर्ने देखिन्छ । उहाँ नेपालमा आइरहेका बेला उता कर्नाटकमा विधान सभाको लागि मतदान हुँदैछ । त्यहाँ पनि प्रचारका क्रममा मोदीले अघिल्लो चुनावमा उठाएको छिमेक नीति कहाँ पुग्यो भनेर सोधिएको थियो । त्यो छिमेक नीतिलाई अब मोदीले पुनः सोच्नुपर्ने भएको छ कुन छिमेकलाई कस्तो व्यवहार गरें भनेर । नेपाल र भारतको सीमा नै खुला छ भने अरु धेरै कुरामा झन् धेरै खुलापन छ, त्यो स्वाभाविकै हो । यसको मतलव सरकार वा जनस्तरका मन पनि आपसमा जति खुला हुन्छ त्यति दुवै पक्षलाई राम्रो हुन्छ । मन खुला हुँदामात्र विश्वासको विकास हुन्छ ।

मोदीले जसरी भारतका युवालाई आफ्नो पक्षमा लिन समय समयमा दुरदर्शनबाट सम्बोधन समेत गर्ने गरेका छन् त्यस्तो विश्वास नेपाली युवाको पनि जित्नु आवश्यक छ । युवामा भरिएको अहिलेको भारत विरोधी भावनाले दुई देशको सम्बन्धलाई विश्वको आधारमा विकास गर्न कहिल्यै सघाउँदैन । यो नकारात्मकतालाई पहिला निकालेर फाल्नु जरुरी छ ।

नाकाबन्दीमा समयमा रोपिएको भारत विरोधी भावना झनै झाँगिएको छ, कम भएको छैन । यस्तो नकारात्मकतालाई हटाउन मोदीको शब्द र व्यवहारमा तादाम्यता जरुरी छ । पहिलेजस्तो भारतले जे वा जो चाह्यो नेपालमा त्यही हुने अवस्था यहाँ सधैं कायम नरहन सक्छ । यो कुराको हेक्का भारत र नेपाल दुवै देशका शासकले राख्न जरुरी छ ।

हुनत नेपालका लागि पूर्व भारतीय राजदूत राकेश सुदले अप्रिल १३ मा भारतको एक दैनिक पत्रिकामा लेखेका थिए– ‘नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतमा हुने लामो समयदेखिको परम्परा छ । यसको अपवाद सन् २००८ मा माओवादी नेता पुष्पकमल दाहालमात्र भएका थिए । उनले पहिलो विदेश भ्रमण चीनमा गरे र त्यसको केही महिनापछि उनको गठबन्धन टुट्न पुग्यो, जसले गर्दा उनी राजिनामा दिन बाध्य भए । हालै भारतको भ्रमण गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले भने परम्परा कायम राखे ।’ छोटो भाषामा यसको आसय भारतको पक्षमा नहुने नेपालको सरकार टिक्न सक्दैन भन्ने नै हो ।

यो पुरानो मान्यता र अबको नेपाली युवा पुस्ताको भारतप्रतिको सोचाइबीच कुनै पनि हिसाबले मेल छैन । त्यसो त भारतमै पनि सार्वभौम राष्ट्रका रुपमा नेपालको सम्मान गर्नुपर्छ भन्ने मान्यता नयाँ पुस्ताले राख्ने नै गर्दछ । नाकाबन्दीका समयमा भारतले नेपालमाथि अन्याय गरेको भनी आएका भारतीय अभिव्यक्तिले यो तथ्यको प्रतिनिधित्व गरेको थियो । त्यसैले, वास्तविकतामा पुगेर प्रधानमन्त्री मोदीले यो भावनाको व्यवस्थापन गरुन्, नकारात्मकता हटाउन् र आफ्नो भ्रमणलाई तिर्थाटनमा मात्र सीमित नराखी राजकीय बनाउन सकुन् । नत्र, राकेश सुदलेजस्तै सोचाइ राख्ने हो भने मोदीले नेपालमाजस्तो असफलता अरु छिमेकमा पनि हात पार्नुपर्नेछ ।

(पाठक राससका कार्यकारी सम्पादक हुन् ।)

२०७५ वैशाख २७ गते ११:१० मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this