Comments Add Comment

रुन नपाइने होइन, अब जनता रुनै पर्दैनः प्रचण्ड

२७ वैशाख, बर्दिवास । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली जनताले रुन नपाउने नभइ रुनै नपर्ने बनाउन चाहेको बताएका छन् ।

महोत्तरीको बर्दिवासमा आयोजित निर्मल लामाको १८ औं स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने,’हामीले जुनदिनदेखि पार्टी एकता गर्ने भन्यौ, त्यही दिनदेखि अर्को पक्षलाई राम्रो लागेको छैन । उनीहरुले रुन पनि नपाउने भनेर प्रचार गरे । हामीले नेपाली जनताले रुनै नपर्ने बनाउने भनेका छौं ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले शक्तिशाली कम्युनिष्ट केन्द्र मार्फत देशमा स्थिरता, विकास, समृद्धि र समाजवादको आधार निर्माण गर्ने एउटा महान् उद्देश्यसहित अगाडि बढेको बताए ।

उनले पार्टी एकताबाट दायाँबायाँ गर्ने भन्ने हुनै नसक्ने बताउँदै आफू र प्रधानमन्त्री ओलीका कारणले एकता प्रक्रिया नलम्बिएको स्पष्ट पारे । आफूहरु छलफलमा रहेको भन्दै उनले परिपक्व एकताको पक्षमा भएको बताए ।

अध्यक्ष प्रचण्डले चुनावसम्म वाम गठबन्धन सजिलैसँग गएपनि एमाले र माओवादी नेतृत्वलाई केहीले एम्बुसमा पार्ने कोसिस गरिरहेको बताए ।

‘अरुले पार्टी एकतामा जेजस्तो षडयन्त्र गरेपनि निर्णायक हामी नै हौं,’ उनले भने, ‘हाम्रो काम गर्ने कार्यशैलीमा हुने कमजोरीलाई सच्चाउन जरुरी छ । यसमा सबैको सहयोग चाहिन्छ । हामी यो पार्टी एकतालाई निश्कर्षमा पुर्‍याउने ठाउँ तिर लैजाँदै छौं । हामीले एउटा सही विचारको आधारमा शक्तिशाली कम्युनिष्ट निर्माण गर्ने अवसर पाएका छौं । यो अवसर गुम्न नदिन हामी सबै एकजुट हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment