Comments Add Comment

‘फेकु’ मोदी मुर्दावाद ! ‘डा. ओली’ खबरदार !!

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा ‘लम्पसार’ पाराको तयारी र नागरिकको नाम बेचेर गरिने ‘नक्कली नागरिक अभिनन्दन’ को होडबाजी देख्दा ‘डा. केपी ओली’ नेतृत्वको सरकार र नाकाबन्दी बिर्सिन हतार गर्ने मान्यजनप्रति सादर अनुरोध छ : बहुमत नागरिकले चाहदै नचाहेको अभिनन्दनलाई नागरिक अभिनन्दन भनेर कम्युनिष्टको नाममा इतिहासमै नमेटिने कलंक नबन ।

नेपाली जनता मोदी अपराधी हो भन्छन्, कम्युनिष्ट नेपाल सरकार मोदी माइबाप हो भन्छ ! जनता खबरदार भन्छ, सरकार मसँग जनमत छ भन्छ ! जनता नेपाली सेना सीमानामा पठाऊ भन्छ, सरकार मोदीको पाउमा कडा बिझ्न हुन्न भनेर सेनालाई बाटो सफा गर्न पठाउछ !

कांग्रेसले नाकाबन्दी भन्न सकेन र नेपाली समाजले ब्याजसहित त्यसको हिसाब चुक्ता गर्‍यो । अब कुनै दिन सरकारी कम्युनिष्टको पनि हिसाब गर्नेनै छ।  अचम्म लाग्छ यस्तै स्वागत र अभिनन्दन कांग्रेसको सरकारले  वा राजाको सरकारले गर्थ्यो भने हामी के भन्थ्यौं होला ओली स्वयंले के भन्थे होलान् ?

कांग्रेस नेता प्रदीप गिरीले रुपान्तरित संसदमा उभिएर एउटा चाख लाग्दो कुरा राखेका थिए -‘कोतपर्व हुनुअघि राजा राजेन्द्रबिक्रम लैनचौरको तत्कालिन ब्रिटिस राजदूताबास गएका थिए तर ढोका खुलेन फलत राणा शासन स्थापित भयो, त्यसको १०४ वर्षपछि राजा त्रिभुवन लैनचौरको भारतीय दूताबासमा गएका थिए ढोका खुल्यो र सातसालको प्रजातन्त्र नेपालमा आयो ।’

त्यसपछिका हरेक राजनीतिक घटनाक्रममा (मुख्यतया ००७ साल, ४६ साल, जनयुद्ध र ६२-६३ साल) भारत र भारतका स्वार्थ लगभग प्रत्यक्ष जोडिएको छ । भारतीय राजदूत सिपीएन सिंहको नेपाली मन्त्रिपरिषदमा उपस्थितिदेखि दरबार हत्याकाण्डमा वीरेन्द्रको वंशनाथ हुँदै १२ बुँदे दिल्ली सम्झौतासम्म आइपुग्दा भारत लगभग नेपाली राजनीतिको केन्द्रकै रुपमा स्थापित भयो। यस दौरान नेपालले जित्यो कि हार्‍यो हामी सबैसामु प्रष्ट नै छ ।

तराईको आन्दोलनमा भारतीय भूमिका, भारतीय नाकाबन्दी र भारतले अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालविरुद्ध गरेको लबिङले युगौंसम्म भारतलाई नेपालको मित्रराष्ट्र भन्न पटकै सकिदैन ।

२००७ आसपासको नेपालको राजनीतिले अर्धऔपनिवेशिक अवस्थितिको चित्रण र समाजको सामन्तवादी चरित्रको ब्याख्यासहित त्यसको केन्द्र राजसंस्थालाई मान्यो । अर्थात मुनाफा आफूमा केन्द्रित गरेर उत्पादन सम्बन्धको प्रगतिशील विकास रोक्दै राष्ट्रिय पूँजीको विकास हुन नदिने प्रधान शत्रु ।

कालान्तरमा नेपाली समाजको सामन्ती चरित्र अर्धसामन्तीमा बदलियो तर अर्धऔपनिवेशिक अवस्थितिको कारक भने झनै उग्ररुपले आयो ।  नेपाली राजनीतिमा हाम्रो अर्धऔपनिवेशिक अवस्थितिको मूल कारण (भारत) विरुद्धको संघर्ष गौण हुनु र अर्धसामन्तवादको केन्द्र (राजतन्त्र)  विरुद्धको संघर्ष मात्रै प्रधान भएर आउनु दुर्भाग्यपूर्ण थियो भन्ने अब लगभग प्रमाणित भएको छ ।

परम्परागत राजतन्त्र र  जहानियाँ राणा शासनका वर्षहरु घटाउँदा आधुनिक राजत्रन्त्रको नेपाली राजनीतिमा प्रत्यक्ष भूमिका सालाखाला ४० बर्ष मात्र हुने रहेछ। हामीले हाम्रो उत्पादन सम्बन्धमा सबैभन्दा ठूलो अवरोध मानेको राजतन्त्र उखलेर फालेपछि आश्चर्यजनक रुपले उत्पादन सम्बन्ध झनै जर्जर र कमजोर भएर गए । समाजका एकमुखे भनिएका अन्तर्विरोधहरु बहुमुखी भएर आए, घट्नुको साटो बढेर गए ।

किन यस्तो भयो, कसरी यस्तो हुन्छ ? जानेर वा नजानेर भारतसँगको गठजोडले राजतन्त्र फालिएको थियो । तर त्यसपछि हामीले भारतसँग समयमै संघर्ष गर्न नसक्दा राजतन्त्र ढलेपछिको खाली ठाउँ पनि अन्तत भारतले लिन सफल भयो ।

अर्धऔपनिवेशसँगै पुँजीको एकाधिकार पनि जोडिएर आउदो रहेछ जुन आफ्नो स्वार्थ रक्षा हुने ग्यारेन्टी नहुँदासम्म चलायमान नहुने रहेछ । यसको पछिल्लो उदाहरण भारतीय लगानी नभएको जलविद्युत परियोजनाबाट भारतले बिजुली नकिन्ने भनाइले प्रष्ट पारेको छ । यति बुझ्न ‘दास क्यापिटल’ का भोल्युमहरु हेर्न पटक्कै पर्दैन हाम्रो वरपर घटेका र घट्दै गरेका घटनाबाट सजिलै बुझिन्छ ।

तसर्थ नारायणमान बिजुक्छेले भन्ने गरेजस्तै  प्रधान शत्रु भारत हो भनेर भन्न नसक्दासम्म, भारतसँगको प्रत्यक्ष घर्षणबिना नेपालमा राष्ट्रिय पुँजीको विकास नेपालमा हुनै सक्दैन भन्ने तथ्यको बोध हामीलाई नहुँदासम्म,  अर्थात भारतीय सत्तापक्षसँगको संघर्ष बिना नेपालमा प्रजातान्त्रिक समाजवाद ल्याउन सकिन्छ भनेर परिकल्पना गर्नु नै गलत हो।

प्रष्ट वाक्यमा भन्नुपर्दा – हाम्रो प्रधान सत्रु भारत हो तसर्थ भारतसँगको गठजोडमा वा भारतविरुद्दको संघर्ष बिना आउने नेपाली सत्ताको प्रवृत्ति रुपमा जस्तो भए पनि सारमा दलाली नै हुन्छ। अहिलेको ‘प्रभु चरण लम्पसार’ भ्रमण तयारी यसैको नतिजा हो। रुपमा देउवा, ओली वा प्रचण्ड फेरिदैमा यो सार तत्व फेरिने वाला छैन। अर्थात  नेपाली सेनाले झाडु लगाएको सडकमा मोदीहरु आउँछन्, मोदीका सेनाहरु आउँछन्, परेड खेल्छन्, थान एक हेलिकप्टर दिन्छन्, थान एक माटो परीक्षण गर्ने बस र केही  थान एम्बुलेन्स दिन्छन्, कारगिलको चिसोमा जाम भएर कामै नलाग्ने इन्सास आधी पैसामा बेच्छन्, थोत्रा रेलका डब्बाहरु दिन्छन् । अनि बदलामा अरुण लान्छन्, माथिल्लो कर्णाली लान्छन् र कोशी उच्च बाध लान्छन् ।

मोदीलाई ‘माइबाप’ मानेपछि मोदीलाई नै बोकेर हिँडेको भारतीय पुँजीको एकाधिकारको अन्त्यबारे काठमाडौंमा भएका कार्ल मार्क्स द्विसतवार्षिकी कार्यक्रमहरुमा बहस हुन कठिन हुने नै भयो, किनभने त्यसले तथाकथित विकासको बाटो रोकिदिन्छ जुन मोदी र अन्यको बुइ चढेर आउने डंका पिटिएको छ ।

यस्तो डंका पिट्नुअघि भारतको आफ्नै अवस्था कस्तो छ हामीले बुझ्ने प्रयास नै गर्दैनौं । भारत नेपालको राजनीतिमा निरन्तर दाँया, बाँया, माथि, तल सबैतिर देखिए पनि विश्व राजनीतिको फ्रेममा सिरिया, क्रिमियादेखि उत्तरकोरियासम्म लगभग कतै पनि देखिदैन, शून्य छ । रुस, अमेरिका र चीनको तुलनामा भारतको अवस्था चित्रण गर्न यो नै काफी छ । युरोपियन युनियन स्वयंमा एउटा कर्पोरेट जस्तो छ भने भारत अझै पनि सस्तो श्रम र ठूलो बजार मात्रै हो ।

खुला बजारमा सस्तो श्रम र अत्याधिक  जनसंख्या भएको क्षेत्रले विशेष महत्त्व पाउनु, बढ्नैपर्ने वर्तमान अर्थशास्त्रको सरल नियममा पर्ने नै भयो । फेरि यो कति अस्थिर हुन्छ भन्ने पनि हामीले केही वर्षअघि, भारतीय मुद्रा डलरको तुलनामा कमजोर हुँदा भएको विदेशी लगानी पलायनबाट पनि देख्यौं । अर्थात भारत अझै पनि बजार र सस्तो श्रम भन्दा धेरै विश्व राजनीतिमा केही विशेष होइन ।

वास्तवमा भारतको मस्कुलर प्रभाव भुटान, माल्दिभ्स,  नेपाल,  अफगानिस्थान, बंगलादेशजस्ता देशमा सीमित र निरन्तर घट्दो छ भने दक्षिण एसिया बाहिर लगभग छदै छैन । विश्व स्वास्थ्य संगठनका अनुसार ६०० मिलियन भन्दा धेरै जनता अझै पनि चर्पीबिना बाँच्नुपर्ने भारतमा एउटा महिलाले चर्पीको अभावमा औसत १३ घण्टा पिसाब रोकेर बस्नुपर्ने अवस्था रहँदासम्म विश्व राजनैतिक शक्ति हुने कुरा चर्पी भन्दा अलि परको विषय हो ।

सवा अर्ब भन्दा बढी जनसंख्या भएको भारतमा आज लगभग ४० प्रतिशतले दैनिक सरदर सवा डलर पनि कमाउदैनन्, तसर्थ ‘ISRO’ को सस्तो मंगलयानको अर्थ रहन्न ।

यस्तो मुलुकमा अहिले देखिएको आर्थिक वृद्धि कुनै आश्चर्य हुँदै होइन । यस्तो आर्थिक वृद्धि अझै पनि सीमित क्षेत्र र वर्गकेन्द्रित रहेको प्रमाण नै उपल्लो १-२ प्रतिशत  एलिट भारतीयको हातमा लगभग लगभग ६० प्रतिशत सम्पत्ति थुप्रिनु हो ।

प्रजातन्त्रका नाममा सामन्ती  व्यवस्था भएको भारतको सडकपेटीमा आज पनि संसारको एक तिहाइ संसारकै अत्यन्त गरीबहरु लडिरहेका छन् । भारतीय प्रजातन्त्र यस्तो नमुना हो जहाँको राजनीतिको नेतृत्वमा पुग्न या त ‘धार्मिक अतिवाद’ समात्नुपर्छ, हजारौं अल्पसंख्यकलाई मारेको हुनुपर्छ या त फेरि नेहरुको वीर्यले सिञ्चित भएकै हुनुपर्छ ।

अहिले मोदीलाई शाष्टांग दण्डवत टक्रयाउन ठीक्क परेका नेपाली हनुमानहरुले के बुझ्न जरुरी छ मोदीको ‘सबका साथ सबका विकास’ भन्ने नारा ‘किसका साथ किसका विकास ?’ भन्ने प्रश्नमा रुपान्तरण भएको छ । किसानको हित गर्छु भन्ने मोदीको कार्यकालमा अडानीजस्ता पुँजीपतिको हित हुन थालेपछि भारतीय किसानहरुको आत्महत्याको दर डरलाग्दो गरेर बढेको छ, जसको पहिलो स्थानमा मोदीकै गुजरात छ । अवस्था कस्तो छ भने २०१४ मा लगभग ११ सय र २०१५ मा तीन हजार किसानहरुले आत्महत्या गरेको भारतीय सरकारको तथ्यांकीय पृष्ठभूमिमा मोदी सरकारले भारतमा २०१६ पछि किसानले गरेको आत्महत्याको विवरणनै भिन्नै वर्गमा उल्लेख गरेर किसान आत्महत्याको नयाँ तथ्यांक लुकाएको देखिन्छ जुन औसत १२ हजार प्रति बर्ष रहेको आँकडा देखिन्छ।

यसै सन्दर्भमा महाराष्ट्रमा लगभग ३५ देखि ५० हजार किसानको सरकारविरोधी लङ मार्च सम्झनायोग्य छ । अब यस्तो अवस्थामा हामीले कृषिमा भारतबाट सहयोग लिएर मनग्य आम्दानी गरेर उन्नती गर्ने कुरा वीरबलको खिचडी पाकेजस्तै हो । गुजरातमा दलितले घोडापालेकै भरमा मारिएका छन्, मध्यप्रदेशमा दलित युवाले बिहेमा सजाएको कार लिएर जाँदा पिटिएका छन्, मध्यप्रदेशमै  दलितहरुको प्रदर्शनमा ८ जना दलितको हत्या भयो, विभिन्न स्थानमा अंबेडकरको मुर्ति ढालियो ।

समग्रमा २००७ देखि २०१७ को बीचमा ६६ प्रतिशतले भारतमा दलितमाथि हुने आक्रमण बढेको छ। मुस्लिमको हकमा अझै भयावाह स्थिति छ, आफ्नो धार्मिक मान्यता अनुसारको जीवनयापन गर्दा भीडद्वारा विभिन्न आरोपमा भारतीय मुस्लिमहरु मारिदै छन् जुन मुख्य गरी मुस्लिम समुदायले खाने गाईको मासुसँग सम्बन्धित छ जसको नेतृत्व मोदीको अतिवादी संगठन आरएसएसले गरेको छ ।

एक जना भारतीय लेखक बरुण ग्रोवरको शब्दमा – अहिले भारतमा कोही मारिँदा प्रहरीले मृतकको सनाखत भन्दा अघि उसको भान्छामा पाकेको तरकारीको सनाखत पहिले गर्छ । यसबाहेक हामीले सुनेकै छौ – २ वर्से बालिका दिल्लीमा बलात्कृत भएको, मनिपुरकी इरोम शर्मिलाले विश्वकै लामो अनशन बस्नुपरेको, क्रिकेट बोर्डको मिटिङ गर्न शिव सेनाको अनुमति लिनुपरेको, अराजकताको विरोध गर्दै नामी साहित्यकारले राष्ट्रिय पुरस्कार फिर्ता गरेको, भारतमा जन्मिएका आँखा चिम्सा हुने जति सबैले भारतीय नागरिकता नपाएको, काश्मिरमा हुने शान्तिपूर्ण आन्दोलनमा भारतीय सेनाले गोली चलाएर नरसंहार गरेको, झारखण्ड र छत्तिसगढका बस्तीहरु माओवादीले भरिएको ।

सँगै मोदीका मित्र तथा भारतीय जनता पार्टीका प्रमुख अमित शाह १ भन्दा धेरै हत्याका आरोपी पनि हुन् । अर्थात ‘इन्डियन डेमोक्रेसी इज सिरियस्ली फक्ड अप बाइ द रेसिज्म एन्ड द एक्स्ट्रिमिस्ट ।’ त्यसैले त हिजो आज भारतमा मोदीलाई ‘फेकु’ अर्थात धराने भाषामा ठूलो कुरा गर्ने ‘विटल्क’ र उनका अन्ध समर्थकलाई ‘भक्त’ भन्न थालिएको छ ।

यस्तोमा मिथिलानगरीमा  ‘हुने खाने प्रदेश शासक’हरुले ‘हुँदा मात्रै खाने जनता’ लाई कलश बोकाएर भक्त बन्न उर्दी जारी गरेको देख्दा आउँदै गरेको मनसुन सम्झिराखेका छौं जतिबेला सीमानाका भारतीय बाँधले निम्त्याउने प्रलयमा तिनै कलशहरु  डुबेका बस्ती र खेतहरुका पानी फाल्न प्रयोग हुनेछन्, मोदीलाई सम्झदै । बाँकी नेताहरुको त काठमाडौंमा घर घडेरी छदैछ ।

आफै नाङ्गो र दरिद्र भारतले अर्थात गुजरातमा हजारौं अल्पसंख्यक मुस्लिमहरुको रगतले हात रङ्गाएका मोदीले ‘सार्वभौम नेपाली जनता’ लाई दिन सक्ने केही छैन । बरु मोदीले नेपालका केही नेताका छोराछोरीलाई जेएनयू छात्रवृत्ति दिन सक्छन्, केही पिछलग्गुहरुलाई विवेकान्नद फाउन्डेसन र इण्डियन फाउण्डेसनका विभिन्न फेलोसीप दिन सक्छन्, उपचार र तीर्थाटन गराउन सक्छन् र बदलामा भारतले गर्दै आएको  नेपाली आन्तरिक मामिलामा माइक्रो म्यानेज्मेन्ट र भारतीय पुँजीको एकाधिकारलाई निरन्तरता दिने प्रयास गर्न सक्छन् जसको क्रमभंग गरिनु अब अनिवार्य भएको छ । यस्तो क्रम भंगविना प्रभु चरण लम्पसार आरती निरन्तर चलिरहनेछ र भारतीय भट्ट भएको पशुपतिनाथले अब हाम्रो रक्षा गर्न सक्ने छैनन् ।

यो क्रम भङ्ग यथास्थितिमा सम्भव छैन। प्रदीप गिरीले भने जस्तै – गिरोहको राजनीतिमा फसेर ‘उठावो बन्दुक और लगावो निसाना’ लाई मूल राजनैतिक मन्त्र मान्दै बीपीको समाजवादलाई डा. रामशरण महतको खुला अर्थतन्त्रले बेरेर ‘लुट्न त लुट्ने नै हो तर ढोका फोरेर लुट्ने कि झ्याल फोरेर लुट्ने’ भन्ने राजनैतिक बहसमा विकेन्द्रित कांग्रेसले यस्तो क्रमभंग सोच्नै सक्दैन ।

मदन भण्डारी मारिनुमा भारतको हात देख्ने तर मदनकै नानीहरु भारतमा पढ्ने, मुलुकनै मदनको श्रीमती र समकक्षी कमरेडहरुको गोजीमा हुने तर मदनको हत्या विषय खोजी नै नहुने अनि मदनकै नाममा स्थापित संघ संस्थाहरुमा भारतको ठूलो सहयोग हुने ‘चिची पनि पापा पनि’ अवस्थामा यो चुनौती पूर्ण भारी एमालेले बोक्दैन ।

४० बुँदे माग राखेर जययुद्ध सुरु गर्ने तर त्यो त सांकेतिक थियो भन्दै दिल्लीको १२ बुँदेमा लगेर क्रान्तिकारी दिल्लगी गर्ने अनि एक महिनाअघि निहथ्था ४० भारतीय माओवादीको भारतीय सरकारले बर्बर नरसंहार गर्दा पनि मौन बस्ने माओवादी आन्दोलनको वर्ग उत्थान भइसकेको छ जसले पार्टी एकताबाहेक दायाँ बायाँ गर्दैन। नयाँ आउने एलिटहरुका राजनैतिक शक्तिले सीमाना मिचिदा निकालेका सन्तुलित र संयमपूर्ण वक्तब्यहरुले उनीहरुको अप्ठेरो उजागर गरेको छ,  गाह्रो छ उनीहरुलाई ।

के गर्ने त ? इरानबाट सिक्ने । इरानको आन्तरिक मामिलामा निरन्तर हस्तक्षेप गर्ने अमेरिकाले सन् १९७९ मा भएको इरानी इस्लामिक क्रान्तिपछि पनि हस्तक्षेप जारी राखेपछि इरानी विद्यार्थीहरुले तेहरानस्थित अमेरिकी दूतावास, त्यसका कुतनीतिज्ञ, सुरक्षाकर्मी र कर्मचारीसहित ४४४ दिनसम्म कब्जा गरेका थिए । उपल्लो तहका इस्लामिक क्रान्तिका नेतालाई ठ्याक्कै जानकारी नदिएरै युवा विद्यार्थीद्वारा चालिएको त्यो कदमलाई अत्यधिक जनताले रुचाएका पनि थिए।

इरानमा हुने गरेका तत्कालीन अधिकांश षड्यन्त्रको गुड अमेरिकी दूतावास कब्जाको सुरुवाती उद्देश्य अमेरिकामा स्वास्थ्य उपचारका नाममा निर्वासित इरानी इस्लामिक क्रान्तिले फालेका राजाको सुपर्दगी भएता पनि इरानको आन्तरिक मामिलामा हुने गरेको अमेरिकी हस्तक्षेपबाट आजित युवाहरुको उग्र प्रयासले अन्तत अमेरिकी दादागिरीलाई घुडा टेकाइ छाडेको सफल इतिहास हो त्यो । आज हामीले देखेकै छौं इरानको हैसियत र विश्व राजनीतिमा उसको प्रभाव ।

नेपाल विरोधी दादागिरी, उट्पट्याङे हर्कत र हस्तक्षेप नेपालमा यही अनुपातमा जारी रहने हो भने सायद नेपाली युवाहरुले पनि यो ‘पर्सियन विकल्प’ बारे सोच्ने नै छन् होला । हुनत यो उत्कृष्ट उपाय त हैन तर यस्तै केही जोड्दार धमाकाविना भारत लगायत भारतको बुइ चढेर आउने सबै नेपालप्रतिको हेपाहा प्रवृत्ति सुध्रिन्छन् भन्नेमा अब निकै थोरैलाई मात्रै विश्वास हुँदै गएको छ ।

इरानमा जस्तै यहाँ यसले कम्तीमा पनि दुईवटा महत्त्वपूर्ण सन्देश हाम्रा नजिक र परका मित्रलाई दिन्छ । पहिलो, तिमीहरुको नेपाल नीति गलत छ यसलाई पुनरावलोकन गर, अनि दोस्रो झनै महत्त्वको छ – मालिकमाथिनै प्रहार भएपछि तिनै मालिकको डर हामी जनतालाई देखाएर, तिनै मालिकको हुन्डी थाप्ने राजनीतिज्ञहरु, तपोवनका गुरुजीहरु, गफाडी जनरलहरु, मिडियाहाउस र भजन गाउने सम्पादकहरु धेरैको दालाली गर्ने धरातल भासिने छ र अन्तत सबै खाले एकाधिकार तोडिने छ ।

यसको सुरुवात सार्वभौम नेपाली जनतामाथि नाकाबन्दी गर्ने हैकमवादी भारतीय शासक मोदीलाई फूल र अक्षताले स्वागत अनि अभिनन्दन हैन जहाँ देखिन्छ त्यही छि छि र दूर दूर गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment