Comments Add Comment

मन्त्रीको निर्देशन : शिक्षक एक मिनेट ढिलो आए पनि घर फर्काइदिनू

२८ वैशाख, बुटवल । विद्यालयको प्रार्थनामा लामबद्ध बिद्यार्थीहरुले सरस्वती स्तुति र राष्ट्रिय गीत गाउँदै थिए । गेटबाट एक्कासी प्रवेश गरे प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल ।

बुटवलको सबैभन्दा जेठो विद्यालय बुटवल माबिमा बिनाखबर मन्त्री पुगेपछि शिक्षकहरु एक छिन अलमलमा परे । मन्त्रीको गाडि र सुरक्षा गार्ड देखिपछि बिद्यालयका प्रधानाध्यापक अकरामुल्लाह खांन हस्याङ फस्याङ गर्दै मन्त्रीनजिक पुगे ।

लामबद्ध विद्यार्थीहरु प्रार्थना सकेर आ-आफ्नो कक्षातर्फ लागे, मन्त्रीले आकस्मिक भ्रमण र अवलोकन गर्न आएको भन्ने विद्यालयका शिक्षकहरुले मेसो पाए ।

मन्त्रीले शौचालय,कक्षाकोठा,फर्निचर,वरीपरीको वातावरण,भौतिक संरचना हेरे र प्रधानाध्यापकको कार्यकक्षमा पुगे र पानी पिए ।

‘मैले सबै कुरा हेरें’ मन्त्रीले भने ‘सरले बिद्यालयका शिक्षक शिक्षिकालाई नियमित पोशाक लगाउन भन्नुपर्‍यो, बिहान ठीक १० बजे विद्यालयको गेट बन्द गर्नू,१ मिनेट पनि शिक्षक ढिलो आए घर फर्काउनू,विद्यार्थी ढिलो आए सम्झाएर कक्षाकोठामा पठाउनू ।’

‘सरकारले शिक्षकहरुलाई पोशाक भत्ता भनेर पनि दिन्छ, त्यसलाई कार्यान्वयन गराउनुस्, अति विपन्न कोही भए नाम टिपेर मन्त्रालय ल्याउनु सहकार्य गरौंला’ मन्त्रीले भने ।

मन्त्रीको निर्देशनपछि विद्यालयका प्रधानाध्यापक खाँले १९ जनाको दरबन्दी रहेको विद्यालयमा केही समस्या रहेको बताए । राजनीतिक दलका कारण विद्यालयको शैक्षिक अवस्था र विकासमा अप्ठ्यारो परेको गुनासो सुनाए ।

आर्थिक अभावका कारण विद्यालय सञ्चालनमा असहज भएकाले मन्त्रालयको ध्यानाकर्षण गराए ।

‘अहिलेसम्म जेनतेन चलेको छ, पंखा, खानेपानी, टेबुलहरु पनि सौजन्य खोजेर चलाएका छौं’ उनले भने । मन्त्रीले पत्थरकट्टाहरुका ४ जना बालबालिकाहरुलाई पनि भेटेर नियमित बिद्यालय आउनू है भनेर सम्झाए ।

मन्त्रीले करिब ४० मिनेट बिद्यालयको निरीक्षण अनुगमन गरेर मन्त्रालय फर्किए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment