Comments Add Comment

छापामा आजः भारतीयको मुठ्ठीमा ५० देखि ९ सय मेगावाटसम्मका आयोजना


२९ वैशाख, काठमाडौं । राजधानीबाट आज प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमय बनेका छन् । पत्रपत्रिकाहरुले शुक्रबार नेपालको २ दिने राजकीय भ्रमणका लागि नेपाल आएका मोदीबारे विभिन्न शीर्षकमा आज खबर लेखेका छन् । प्रकाशित अखबारहरुमध्ये केहीले यो विषयलाई ब्यानर समाचार नै बनाएका छन् ।

नागरिक दैनिकले आज ‘नेपाल–भारत सम्बन्धःसङ्लिन नसकेको समय’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । कान्तिपुर मोदीले नेपाल–भारतबीच कुनै असमझदारी छैन’ भनेर व्यक्त गरेको भनाइलाई समेट्दै व्यानर समाचार छापेको छ । कान्तिपुरकै समाचारमा जनकपुरका लागि मोदीले १ अर्ब सहयोग घोषणा गरेको समाचार पनि छ ।

अन्नपूर्ण पोस्ट दैनिकले अखण्ड नेपालको पक्षमा भारत रहेको भनेर मोदीले व्यक्त गरेको भनाइलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ भने सरकारी मुखपत्र गोरखापत्रले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको निष्कर्ष निकालेको छ ।

हेलिकोप्टरमा किन आएनन् मोदी ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पटनाबाट हेलिकोप्टर चढेर जनकपुर आउने तालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको थियो । त्यसैअनुसार निर्धारित समय बिहान सवा १० बजे जनकपुर विमानस्थलमा हेलिकोप्टरको प्रतीक्षा भइरहेको थियो । तर उक्त समयभन्दा १० मिनेटपछि जनकपुरको आकाशमा एटीआर विमान देखियो । जसमा थिए, मोदी ।

कान्तिपुर दैनिकका अनुसार उनी पटनाबाट नभई दिल्लीबाट एयर इन्डियाको विमानमा जनकपुर ओर्लिए । उनी चढेको एटीआर विशेष विमान नभई एयर इन्डियाको भारतका विभिन्न शहरमा उडान भर्ने कमर्सियल विमान थियो ।

स्रोतका हवाला दिँदै कान्तिपुरले लेखेको छ– सुरक्षाका कारकण मोदीको उडान विशेष विमानमार्फत गराइएको थियो । हेलिकोप्टर उपकरणमार्फत नभई जहाजको तुलनामा धेरै तलबाट उडान गर्ने भएकाले विमानबाट गरिएको हुनसक्ने कान्तिपुरको अनुमान छ ।

मोदीको स्वागतमा एउटै जिल्लाबाट ४१ वटा बस

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा स्वागत, अभिनन्दन कार्यक्रममा भाग लिन शुक्रबार सप्तरीबाट ५१ वटा बस जनकपुर गएको राजधानी दैनिकमा खबर छ ।

समाचार अनुसार सयौंको संख्यामा मोटरसाइकल, ट्याक्टर, कार, जीप, माइक्रोलगायतका सवारी साधन गरी करिब १० हजारभन्दा बढी सप्तरीवासी जनकपुर पुगेका छन् ।

प्रदेश सरकारले जनकपुर जान इच्छुकका लागि २० वटा बसको व्यवस्था गरेको भने त्यसबाहेक नगर र गाउँपालिकाले समेत इच्छुकका लागि थप सवारीसाधनको व्यवस्था मिलाएको थियो ।

भारतीयको मुठ्ठीमा ५० देखि ९ सय मेगावाटसम्मका आयोजना

भारतका सरकारी र निजी कम्पनीले नेपालमा लाइसेन्स लिएका जलविद्युत्त आयोजनाको क्षमता ५० देखि ९ सय मेगावाटसम्म रहेको समाचार नागरिक दैनिकले छापेको छ । केही निजी कम्पनीले नेपाली कम्पनीसँगको संयुक्त उपक्रम (जेभी) समेत गरी ठूला जलविद्युत्त आयोजनाको लाइसेन्स लिएका छन् ।

भारतीय कम्पनीले नेपालका अधिकांश ठूला, मझौला र साना जलविद्युत्त आयोजनाको लाइसेन्स लिएका छन् । विद्युत्त विकास विभागका अनुसार नेपालका जलविद्युत्त आयोजनाहरु निर्माण गर्न २५ भारतीय कम्पनीले सर्भेलाइसेन्स लिएका थिए । तर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत फागुनमा तीनवटा आयोजनाको इजाजतपत्र खारेज गरिदिएपछि २५ वटामा सीमित भएका छन् ।

नागरिकका अनुसार ती आयोजनाबाट कुल ७ हजार ५ सय १ मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ ।

सेप्टेम्बर १९ भित्र द्विपक्षीय समस्या सम्बोधनः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीच रहेका सबै समस्यालाई आगामी सेप्टेम्बर १९ भित्र सम्बोधन गर्ने सहमति भारतसँग भएको बताएका छन् ।

समस्या समाधानका लागि छिट्टै दुई देशका परराष्ट्र सचिवले कार्य प्रारम्भ गर्नेसमेत उनले बताएको नागरिक दैनिकमा खबर छ ।

शुक्रबारको बैठक तथा भेटवार्तामा भारतीय समकक्षीसँग नेपाल–भारत सम्बन्धका विषयमा खुला रुपमा कुराकानी भएको उनले बताए ।

९ महिनामा व्यापार घाटा ८ अर्ब नाघ्यो


न्यून उत्पादन र बढ्दो मागका कारण मुलुकको व्यापार घाटा बढ्ने क्रम तीव्र भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ९ महिनामा व्यापार घाटा ८ खर्ब नाघेको छ ।

यस अवधिमा ८ अर्ब ७४ अर्ब ८८ करोड रुपैयाँको आयात भएको कान्तिपुर दैनिकमा खबर छ । समाचार अनुसार ५९ अर्ब ६२ करोड रुपैयाँको मात्रै निर्यात भएको छ ।

८ पटक ताकेता गर्दा पनि बनेनन् ४१ कानुन


संविधान जारी भएको तीन वर्षभित्र मौलिक हकसम्बन्धी कानुनले पूर्णता पाइसक्नुपर्ने भए पनि अझै ४१ वटा कानुन निर्माणकै चरणमा रहेको नयाँ पत्रिका दैनिकमा खबर छ ।

समाचार अनुसार कानुन न्याय तथाम संसदीय मामिला मन्त्रालयले सम्बन्धित मन्त्रालयहरुलाई आठपटक ताकेता गरिसक्दा पनि अझै मस्यौदा बन्न कसेको छैन ।

उपनिर्देशक र प्रबन्धकसहित १७ जनालाई जेल सजाय

चार वर्षअघि भारतबाट रुपन्देहीसम्म पेट्रोलियम पदार्थ ढुवानीमा भएको घोटालाका १७ आरोपीलाई विशेष अदालतले शुक्रबार दोषी ठहर गरेको छ ।

अख्तियार दुरुपयोेग अनुसन्धान आयोगले ९८ जनाविरुद्ध दायर गरेको मुद्दामा अदालतले नेपाल आयल निगमका पश्चिमाञ्चल क्षेत्रीय कार्यलयका उपनिर्देशक नागेन्द्रकुमार कुर्मीसहित १७ जनालाई भ्रष्टाचारी ठहर गरेको नयाँ पत्रिका दैनिकमा खबर छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment