मंगलबार, २९ साउन, २०७५
OnlineKhabar.com
Suzuki

संकटको भुमरीमा बसाइँ सराइ गर्ने चराहरु

Suzuki
कृष्णप्रसाद भुसाल


आज मे १२, संसारभर विश्व बसाइँ सराइ चरा दिवस (World Migratory Bird Day) मनाइँदै छ । दिनानुदिन बढ्दो संकट झेल्दै गइरहेका बसाँइ सराइ गर्ने चराहरुको दिगो संरक्षण, तिनको आहार, बासस्थान र उडान मार्गको सुरक्षाका लागि आम समुदायसँग हातेमालो तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस प्रकारको दिवस मनाउने गरिएको हो । हालै यूएईको आबुधाबीमा सम्पन्न बसाँइ सराइ गर्ने चरा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत प्रतिवेदनअनुसार बसाँइ सराइ गर्ने चराहरुमध्ये करिब ४० प्रतिशत चराहरु संकटापन्न अथवा विश्वमै दुर्लभ अवस्थामा पुगेका छन् ।

बसाँइ सराइ गर्ने चराहरुको बासस्थान तथा चरन क्षेत्र विनास, बढ्दो चोरी शिकार, उडान मार्गमा हुने अवरोध र बदलिँदो तापमान तथा मौसम परिवर्तन जस्ता कारणहरुसँग जुध्न र न्युनीकरणका उपायहरु अवलम्बनकालागि करिब ७० देशका २ सय बढी चरा विज्ञ, सरकारी प्रतिनिधि, नीतिनिर्माता र संरक्षण संस्थाका प्रतिनिधिहरु आबुधाबीमा भेला भएका थिए । विश्वमा पाइने चराका ११ हजार १ सय २१ प्रजातीमध्ये करिब २२ सय २५ प्रजातीका चराहरु बसाँइ सराइ गर्ने गर्दछन् । बसाँइ सराइ गर्ने चराहरु अनकुल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा एक ठाउँबाट अर्को ठाउँ, एक देशबाट अर्को देश र एक महादेशबाट अर्को महादेशमा बसाइँ सरी आउने–जाने गर्दछन् ।

अतः बसाँइ सराइ गर्ने चराहरुको संरक्षणमा विश्वव्यापी जनचेतना अभिवृद्धि र संरक्षणमा सहकार्य तथा साझेदारी स्थापना गर्ने उद्देश्यले मनाइँदै गरिएको यस दिवसको यस वर्षको नारा ‘चरा संरक्षणमा एकीकृत आवाज बुलन्द गरौं’ (Unifying our Voices for Bird Conservation)  भन्ने तय गरिएको छ । सन् २०१८ लाई चरा संरक्षणमा केन्द्रित हुँदै चरा वर्ष (Year of the Bird) को रुपमा विश्वव्यापी चरा संरक्षणका बहुआयामिक पक्षहरुको समन्वयात्मक क्रियाशीलता, एकीकृत सोच, अवधारणा र कार्यक्रम विकाशमा बहसहरु भइरहेका छन् ।

नेपालमा पाइने ८ सय ८७ प्रजातीका चराहरु पनि वर्षभरी नै नेपालमा भेटिँदैनन् । नेपालमा हिउँदमा आउने हिउँदे आगन्तुक र बसन्त ऋतुको आगमनसँगै आउने ग्रीष्मकालीन आगन्तुक गरी पाहुना चराहरुको बसाँइ सराइ वर्षभरी नै निरन्तर चलिरहन्छ । उत्तरी ध्रुवमा हिमपातको सुरुवातसँगै हिउँदयामको बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भू—भाग तथा ताल, तलैया र नदी आसपासमा हजारौ पर्यटक चराहरु बसाँइ सरी आउने गर्दछन् । बर्सेनि करिब १ सय ५० प्रजातीका चराहरु उत्तरी मुलुकहरु रुस, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रहरुबाट नेपालमा आउने गर्दछन् ।

गन्तव्यसम्म पुग्ने दिशा तथा बाटो पहिचानका लागि चराहरु सूर्य तथा अन्य ताराहरु, नदी, भौगोलिक श्रृङ्खला, चुम्बकीय दिशा आदिको सहारा लिने गर्दछन् । यसरी चराहरुले बसाँइ सराइको बेला प्रयोग गर्ने बाटोलाई फ्लाई वे (Fly Way) भनिन्छ । विश्वमा ८ वोटा यस्ता बाटाहरु छन्  तीमध्ये नेपाल मध्यएशिया बाटोमा पर्दछ

यसैगरी करिब पचास प्रजातीका बटुवा चराहरु नेपालको बाटो हुँदै दक्षिणी मुलुक भारत, पाकिस्तान र श्रीलङ्कातिर जाने गर्दछन् । यसरी जाडो छल्न आउने हिउँदे आगन्तुक चराहरु नेपालका प्रमुख सिमसार क्षेत्रहरु कोसीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी ताल, जगदिशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका ताल क्षेत्र तथा कोसी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीहरुमा नै मूल रुपमा आफ्नो समय व्यतित गर्दछन् । यी हिउँदे पर्यटक चराहरु नेपाल आउने क्रम भदौ मध्यदेखि पुस मध्यसम्म जारी रहन्छ भने चैतसम्म प्रायःजसो आफ्नो स्थायी बसोबासमा फर्किइसकेका हुन्छन् । यसरी जाडो याममा नेपालमा बसाँइ सरेर आउने चराहरुको अधिकांस हिस्सा हाँस प्रजातिले ओगट्छन् भने अन्य प्रजातीहरुमा शिकारी तथा मांसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राई आदि पर्दछन् ।

जाडो सकिँदै गर्दा हिउँदे आगन्तुक चराहरु आ–आफ्नो स्थायी बासस्थान फिरीसकेका हुन्छन् भने दक्षिणी मुलुकहरु र अफ्रिकाबाट हजारौं ग्रिष्मकालीन आगन्तुक चराहरु बच्चा कोरल्न नेपाल आइसकेका हुन्छन् । यी चराहरु असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै बासस्थानमा फर्कन्छन् । यसरी आउने करिब साठी प्रजातीका चराहरुको अधिकांस हिस्सा कोइली प्रजातीको हुन्छ भने अन्य मुरली चरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रकपिट्टा, कटुस टाउके आदि रहन्छन् ।

ग्रीष्मकालीन आगन्तुक चराहरुको मुख्य बासस्थान भने वन र यस आसपासका घाँसे मैदान तथा कृषि भूमी हुन् । यी आगन्तुक चराहरु केही बीचबीचमा बास बस्दै र केही सीधै उडेर हजारौं माइलको यात्रा अनेकौ जोखिमहरु पार गर्दै नेपाल आउने गर्दछन् । गन्तव्यसम्म पुग्ने दिशा तथा बाटो पहिचानका लागि चराहरु सूर्य तथा अन्य ताराहरु, नदी, भौगोलिक श्रृङ्खला, चुम्बकीय दिशा आदिको सहारा लिने गर्दछन् । यसरी चराहरुले बसाँइ सराइको बेला प्रयोग गर्ने बाटोलाई फ्लाई वे (Fly Way) भनिन्छ । विश्वमा ८ वोटा यस्ता बाटाहरु छन् तिमध्ये नेपाल मध्यएशिया बाटोमा पर्दछ ।

बसाँइ सरेर आउने चराहरुमध्ये केही विशेष प्रजातीका चराहरु छन् । जस्तो खोया हाँस विश्वको सर्वोच्च शिखर सगरमाथाभन्दा माथि अर्थात् ९ हजार ३ सय ७५ मिटरबाट उडेर जाडोयाममा नेपाल आउने गर्दछन् । त्यस्तै ग्रीष्मआगन्तुक जुरे कोइली अफ्रिका महादेशबाट करिब ५ हजार किलोमिटर लामो दुरी पार गर्दै नेपाल भित्रिन्छ । नेपालमा पाइने १९ प्रजातीका कोइलीमध्ये १५ प्रजातीले त आफ्नो गुँड नै बनाउँदैनन् र अण्डा अरु चराको गुँडमा पार्दिन्छन् । उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ ।

नेपालमा बसाँइ सरेर आउने चराहरु खासगरी बासस्थान संकुचन तथा विनाश, कृषिमा रासायनिक मलको बढ्दो प्रयोग, जलस्रोतमा विषादीको प्रयोग, वन डढेलो, घाँसे मैदानको नाश, अवैध चरा शिकार तथा व्यापार जस्ता कारणहरुले संकटमा फस्दै गइरहेका छन् । पछिल्ला वर्षहरुमा यसरी बसाइँ सरेर आउने आगन्तुक चराहरुको संख्यामा कमी आएको विभिन्न अध्ययन प्रतिवेदन र चरा अवलोकनकर्ताहरुको अनुभूतिले बताउँछ । ई.स. १९८७ देखि बर्सेनि नियमितरुपमा गरिँदै आइएको सिमसारमा आश्रित चराहरुको गणनाले हिउँदे आगन्तुक पानी चराहरुको अवस्था खतराउन्मुख रहेको देखाएको छ ।

चरा संरक्षण कुनै क्षेत्र विशेष र विशुद्ध एकल अभियान हुन सक्दैन । यिनीहरुको संरक्षणमा जनसहभागिता र जनचासो अपरिहार्य छ । साथै दीर्घकालिन संरक्षणका लागि स्थानीय समुदाय र सरोकारवाला निकायको समन्वयात्मक क्रियाशिलताबाट सम्भव छ

हिउँदे आगन्तुक चराहरुको मुख्य आश्रयस्थल सिमसार भएकाले बिग्रदो र खिइदो सिमसारको स्वरुप, मिचाहा झारको प्रकोप र चोरी शिकारले यी चराहरु प्रभावित भइरहेका छन् । ग्रिष्मकालीन पाहुना चराहरु मुलत वनमा आश्रित हुनु र यसै समयमा हुने भिषण वन डढेलो तथा विनासले गंभिर संकट झेलिरहेका छन् । ग्रिष्मकालीन आगन्तुक चराहरुको बच्चा कोरल्ने समयमा हुने आगलागीले प्रजनन् र नवजात शिशु प्रभावित हुन्छन् ।

बसाँइ सराइ गरी आउने चराहरु लामो दुरीको यात्राले थकित हुने तथा आश्रयस्थल नयाँ स्थान हुने हुँदा प्राकृतिक तथा मानवीय शिकारको अत्याधिक जोखिम हुन्छ । विभिन्न सिमसार क्षेत्र र वन पर्यावरणको सूचकको रुपमा हेरिने यी आगन्तुक चराहरुको संख्यामा आएको उल्लेख्य गिरावटले नेपालको बिग्रदो वातावरणीय सन्तुलन र प्राकृतिक स्रोतहरुको ह्रासलाई जनाउँछ ।

चरा संरक्षण कुनै क्षेत्र विशेष र विशुद्ध एकल अभियान हुन सक्दैन । यिनीहरुको संरक्षणमा जनसहभागिता र जनचासो अपरिहार्य छ । साथै दीर्घकालिन संरक्षणका लागि स्थानीय समुदाय र सरोकारवाला निकायको समन्वयात्मक क्रियाशिलताबाट सम्भव छ । स्थानीय स्तरमा यसलाई सहभागितामुलक जैविक विविधताको संरक्षण तथा दिगो व्यवस्थापन एवम् पर्यटन उद्योग र विकास सँगसँगै लैजानु पर्दछ । बसाँइ सराई गर्ने प्रजातीको महासन्धि (Convensionof Migratory Species) अन्तर्गत नेपालमा पाइने ७४ प्रजातीका चराहरु परे पनि नेपालले यूएनको उक्त महासन्धिमा हस्ताक्षर गरेको छैन ।

अतः उक्त सन्धिको पक्ष राष्ट्र बनेर संरक्षणमा हातेमालो र जिम्मेवारीबोध गर्नुपर्ने देखिन्छ । विश्व भुमण्डलीकरणको आजको युगमा यी बसाँइ सराइ गर्ने चराहरुले मानिस, पारिस्थितिक प्रणाली र राष्ट्रहरुलाई जोडेका छन् र खास प्रकारको वातावरणीय सूचकको काम गरिरहेका छन् । तसर्थ चराहरुको दिगो संरक्षण, तिनको आहार, बासस्थान र उडान मार्गको सुरक्षाका लागि अन्तरदेशीय साझेदारीको आवश्यकता छ ।

(भुसाल नेपाल पन्छी संरक्षण संघका संरक्षण अधिकृत हुन् ।)

२०७५ वैशाख ३० गते ८:३६ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

३ प्रतिकृयाहरू प्राप्त
  • ramji लेख्नुहुन्छ    |   २०७५ वैशाख ३० गते १३:४८

    very good comrade. Tapain ka lekh haru aafno xetra ma mahattopurna n pariskrit hudai gayeko payeko xu.yo xetra ma tapain ka khoj anusandhan mulak articles le continuity pairakhun vanne suvkamana…….

    1
    1
    Share

  • ramji लेख्नुहुन्छ    |   २०७५ वैशाख ३० गते १३:५१

    very good comrade. Tapain ka article haru aafno xetra ma mahattopurna n pariskrit hudai gayeko payeko xu.yo xetra ma tapain ka khoj anusandhan mulak articles le continuity pairakhun vanne suvkamana…….

    0
    0
    Share

  • Sapana लेख्नुहुन्छ    |   २०७५ वैशाख ३० गते १६:४२

    Informative article let’s save them.

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this