Comments Add Comment

कर्णाली र प्रदेश ५ जोड्ने दाङ–सुर्खेत सडकको २२ वर्षपछि स्तरोन्नति हुँदै

३० वैशाख, दाङ । २२ वर्षदेखि ओझेलमा परेको दाङ–सुर्खेत जोड्ने करिब ६२ किलोमिटर सडकको स्तरोन्नतिको काम चालु आर्थिक वर्षमा तीव्र गतिमा अगाडि बढ्को छ ।

अघिल्ला वर्षभन्दा यस वर्ष विशेष रुपमा बजेटसमेत वृद्धि भएपछि निर्माणको कामले गति लिँदा पक्की सडकको यात्राको प्रतीक्षामा रहेका पश्चिम दाङवासी आशावादी बनेका छन् । सो सडक पछिल्लो समयमा कर्णाली र  प्रदेश ५ लाई जोड्ने लिङ्करोडका रुपमा समेत मानिन्छ ।

दाङको समृद्धिका रुपमा लिइएको सो सडकको कालोपत्रेको काम तीव्र गतिमा भएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । विभिन्न चार तहमा काम शुरु भएको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिए ।

सडक स्तरोन्नतिको जिम्मा पाएको कालिका कन्स्ट्रक्सन प्रालिले चालु आवसम्म करिब १० किलोमिटर बाटो कालोपत्रे गरिसक्ने र डेढ वर्षभित्र दाङ, सल्यान र सुर्खेतसम्म जोड्ने बाटो निर्माण हुने बताएको छ ।

पोटलीदेखि वागर र रगैजादेखि बहुला खोलासम्मको छ किलोमिटर सडक पनि कालोपत्रे शुरु भएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चालु आवसम्म पुरन्धारासम्म सडक कालोपत्रे हुन छ ।

पुरन्धारादेखि दाङ र सल्यानको एक्लेवरसम्मको सडकमा सडक फराकिलो गर्ने काम चलिरहेको बताइएको छ । चार चरणमा हुने सडक कालोपत्रेको काम पोटलीदेखि हापुरेसम्म १४ करोड, हापुरेदेखि एकलेवरसम्म २० करोड र एकलेवरदेखि सल्यानको काल्चेसम्म साढे ४४ करोड गरी करिब ७५ करोडमा सडक स्तरोन्नतिको काम शुरु भएको सूचना अधिकारी गौतमले बताए ।

त्यसैगरी सल्यान–दाङको सिमाना एक्लेवरसम्म विभिन्न स्थानमा नाला निर्माण र साढे पाँच मिटरको बाटो चौडा गराउने काम शुरु भएको बताइएको छ ।

त्यसैगरी एक्लेवरदेखि सल्यानको काल्चेसम्मको सडकमा नालीसेतु निर्माण र पर्खाल लगाउने काम पनि तीव्र रुपमा अगाडि बढेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

कालिका कन्स्ट्रक्सनले आगामी २०७७ असारसम्ममा सडक कालोपत्रेको काम सम्पन्न गर्ने गरी सम्झौता गरेको सडकले जनाएको छ । ‘‘सडक निर्माणको काम तीव्र रुपले अगाडि बढेको छ तर विभिन्न सडकखण्डमा वनको जग्गा परेकाले अलि काममा अवरोध भएको छ’, गौतमले भने । वन कार्यालयले समयमै सडक वरपर क्षेत्रमा पर्ने रुख नहटाउँदा काममा बाधा पुग्ने देखिएको बताएको छ ।

‘सम्भवतः काममा कुनै अवरोध नभए एक, डेढ वर्षमा सबै काम सम्पन्न हुनेछ’, गौतमले भने । दाङ, सल्यान र सुर्खेत गरी प्रदेश नं ५ र ६ लाई जोड्ने यो करिब ६२ किलोमिटर बाटो कालोपत्रे भएमा सुर्खेतसम्म करिब चार घण्टामै पुग्न सकिने र सडक जोडिएसँगै दाङको समृद्धिको ढोका खोल्ने बताएको छ । यस बाटाको स्तरोन्नति भयो भने यहाँबाट सुर्खेत, कालीकोट, जुम्ला र मुगुको रारासम्म पुग्न सहज हुने बताइएको छ ।

सो सडकखण्डमा पहिले यात्रा गर्दा मानिस चिन्न नसक्ने गरी धुलो उड्ने र यात्रा जोखिम हुने गरेको यात्रु बताउँछन् । हाल बाटो सहज हुँदा भने उनीहरु खुशी व्यक्त गर्छन् । ‘यस्तो सडक बन्ला भनेर हामीहरुको कल्पना नै थिएन तर हाल सडक धेरै सुधार भएको छ, अब कालोपत्रे भयो भने दाङको पनि विकास हुन्छ, प्रदेश नं ५ र कर्णाली जोड्ने यो सडक बन्नु सबैका लागि राम्रो हो’, स्थानीयवासी जसराज विकले भने । । हाल दाङ–सुर्खेत सडकखण्डको निर्माण तीव्र गतिमा भएपछि पश्चिमवासी खुुशी भएका छन् ।

‘यसले दाङको समृद्धिको ढोका खोल्छ अबको एक दुई वर्षमै यस क्षेत्रको विकास हुनेछ’, सल्यान कालीमाटी निवासी चन्द्रिका घर्तीले भने ।

त्यसैगरी सो सडकखण्डमा सवारी साधन सञ्चालन गर्दै आएका निमाराम वलीले पनि पहिलेभन्दा सयौँ गुणा सडकको सुधार भएको बताए । ‘कति दिन गाडीको पट्टा भाँचिएर बाटोमा समस्या हुने गर्थ्यो, हिजोअाज गाडी सञ्चालन गर्न सहज छ, चार घण्टामै सुर्खेत पुग्न सकिन्छ, यस सडकखण्ड धेरै छोटो र राम्रो छ’, यातायात व्यवसायी भीमसेन लहरेले भने ।

कुनै समय दाङ–सुर्खेतको यात्राका लागि एक दिन समय खर्चनुपर्ने समस्या थियो । समयसँगै बाटाको अवस्था दयनीय हुँदा यात्रु तथा यातायात व्यवसायीले हैरानी व्यहोर्नुपर्ने समय थियो । ठाउँ ठाउँमा यात्रु ओराल्नुपर्ने र गाडीमा चढेका यात्रु धुलाम्मे हुने समस्या थियो तर हिजोआज भने सो सडकखण्डमा यात्रा गर्ने यात्रुलाई सहज भएको छ । साथै पश्चिम दाङ र पूर्वी सुर्खेतवासीबीच भएको रोटीबेटीको सम्बन्धलाई समेत सो सडकले थप सहज बनाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment