Comments Add Comment

भारतले नाकाबन्दी नलगाउने र चित्त नदुखाउने अवस्था बन्योः प्रधानमन्त्री

संसदलाई प्रधानमन्त्रीको सम्बोधन

३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमण उपलब्धीपूर्ण र नेपालको पक्षमा भएको बताएका छन् ।

तीन वर्षअघि तनावपूर्ण रहेको नेपाल भारत सम्वन्ध नयाँ स्तरमा प्रवेश गरेको र बराबरीको हैसियतमा अगाडि लैजाने वातावरण बनेको उनले बताए ।

आफ्नो निम्तोमा आएका भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणबारे संसदलाई जानकारी दिँदै ओलीले राष्ट्रियताप्रति देखाएको सजगताका लागि जनतालाई धन्यवाद दिए ।

आफू पहिलो पटक प्रधानमन्त्री हुँदा नाकाबन्दी लागेको स्मरण गर्दै ओलीले नाकाबन्दी नहुने मात्र होइन, नेपाल आफ्नो आवश्यकता र प्राथमिकताका आधारमा अघि बढ्दा भारतले चित्त नदुखाउने बरु सघाउने अवस्था आएको बताए ।

‘हामीले लगातार भन्दै आयौं, सम्बन्ध दुई सार्वभौमसत्ता सम्पन्न राष्ट्रको हैसियतमा हुन्छ, हाम्रो आवश्यकता र प्राथमिकताका आधारमा सम्वन्ध र व्यवहार गर्छौं’ उनले भने, ‘मलाई खुसी लागेको छ, यसपल्ट प्रधानमन्त्री मोदीका अभिव्यक्तिहरुमा हाम्रा अखण्डता र सार्वभौमसत्ताको प्रश्न, हाम्रा आवश्यकता र प्राथमिकता अनुसार हामी अगाडि बढेकोमा आफ्नो चित्त नदुख्ने र त्यसमा सहयोग गर्ने खुलस्त प्रकट भएको छ ।’

यो सम्वन्धलाई बराबरीका आधारमा अघि बढाउने प्रस्थान विन्दु भएको प्रधानमन्त्री ओलीले बताए ।

कतिपयले मोदीलाई स्वागत नै गर्नु हुँदैन्थ्यो, सम्बन्ध सुधार नै गर्नु हुँदैन भनेजसरी धारणा राखेको भन्दै उनले विगतका त्रुटी भए,  विगतमा मात्र अल्झिएर बस्ने कि अघि बढ्ने ? भन्ने प्रश्न गरे ।

दुई उत्तर कोरियाका नेताको भेट, ट्रम र किमको आगामी वार्ता तथा शी जिनपिङ र मोदी वार्ता उल्लेख गर्दै ओलीले भने, ‘सम्बन्धहरु बिग्रिनु नराम्रो हो तर, दुर्भाग्य विभिन्न कारणले कहिले बाँकी तलमाथि पर्छ । चिसोपनमा खुसी हुने होइन, हटाउने कोसिस गर्नुपर्छ ।’

नेपाल भारत सम्वन्ध बिगि्रएको बेलामा पनि आफूले ‘हामी सम्वन्ध विगि्रएर खुसी छैनौं । दुखी छौं । विगि्रएको हाम्रो कारणले होइन । हामी विगि्रने कारणहरु हटाउन चाहन्छौं र सम्वन्ध सुधार गर्ने बाटोमा फर्काउन चाहन्छौं’ भनेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले यदि त्यसमा सफल भए खुसी हुनु पर्ने बताए ।

स्वाभिमानपूर्ण ढंगले विगि्रएको सम्वन्ध सुसम्वन्धमा ल्याएको भन्दै उनले भने, ‘हैस्तक्षेप शिरोधार्य गर्ने होइन, अ-हस्तक्षेप, पारस्परिक लाभ र सम्मानका आधारमा अगाडि बढाएर लैजान सकिने वातावरण निर्माण भएको छ ।’

नेपाल आएर मित्रता अभिबृद्धिमा योगदान गरेको भन्दै उनले भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिए । ‘उहाँले सिमानामा बाँध बाधेर डुवाउँछु भन्नु भएन, बाँध बाँधिएर डुवान भएकोमा खोल्छु भन्नु भएको छ । नबनिएको कुरा नबनाएरै छोड्नु भन्नु भएको छैन, बनाउने भन्नु भएको छ,’ ओलीले भने, ‘म अपेक्षा गर्छु ति कुराहरुको कार्यान्वयनमा हामी रुची साथ अघि बढौं र भारत त्यही रुचीका साथ अघि बढ्नेछ ।’

प्रधानमन्त्री ओलीले राष्ट्रिय हित, स्वाभिमानमा कुनै तलमाथि नभएको भन्दै ढुक्क रहन आग्रह गरे । उनले भने, ‘अध्ययन गर्नु भएहुन्छ, वक्तव्यहरु सार्वजनिक छन् । कुनै शब्दमा पनि तलमाथि परेको छ भने म जिम्मा लिन्छु ।’ राष्ट्रहितललाई शिरोधार्य गरिएको छ, मनमा राखिएको छ, कहिल्यै पनि छोडिएको छैन ।’

उनले भारतीय समकक्षी मोदीको नेपाल भ्रमण उपलब्धीपूर्ण र नेपालको पक्षमा भएको बताए । ‘यसको अर्थ भारतको विपक्षीमा छ भन्ने होइन, दुई देशको लाभको पक्षमा भएको छ, हाम्रो स्वाभिमानको पक्षमा भएको छ’ ओलीले भनेका छन् ।

प्रधानमन्त्री ओलीले सरकार दुबै छिमेकीसँग सुमधुर र सुदृढ, पारम्परिक विश्वास र भरपर्दो सम्वन्धको पक्षमा रहेको भन्दै आफू छिट्टै चीन भ्रमणमा जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment