Comments Add Comment

रंग, कुची र क्यानभासले पालिएकाहरु

चित्र बेचेर काठमाडौंमा दुईवटा घर

३१ वैशाख, काठमाडौं ।

‘रातो, मात्रै रातो
देखिएको रातो, नदेखिएको रातो
लेखिएको रातो, नलेखिएको रातो…’

क्यानभासमा रातो रंगसँग खेलिरहँदा एरिना ताम्राकार टक्क अडिएर ‘रातो प्रतिविम्व’ शीर्षकमा कविता कोर्न थालिन् । चित्रमा जस्तै रंगहरु जोडेर उनले कवितामार्फत आफ्नो चित्र बोलिन् । चित्रमार्फत भावना बुझाउने उनले कवितामा चित्र बोल्दा पनि उस्तै सुन्दर लागे ।

४७ वर्षकी उनले बुझ्ने भएदेखि नै चित्र कोर्न थालेकी हुन् । स्कूलको पढाइ सकेपछि मज्जैले चित्रकलामा लागेकी उनलाई चित्र बनाइरहँदा बेला-बेला शब्दहरुले पिरोल्छन् र कविता बन्छन् ।

यसरी उनले कलाको सिर्जनाबाहेक अन्य काम गरेकी छैनन् । यसबाटै सम्मान र सन्तुष्टि मिलेको छ । यसैमा सुखी जीवन बाँच्ने आधार तयार भएको छ ।

एरिनाका श्रीमान आशा डंगोल पनि चित्रकार हुन् । उनीहरुले ललितकला क्याम्पसमा सँगै चित्रकला पढे । त्यसपछि उनीहरु दुवै काष्ठमण्डप आर्ट स्टुडियोमा संलग्न भए । त्यहाँ रहँदै राम्रो साथी बनेका उनीहरुले पछि बिहे गरे । अहिले १५ वर्षको छोरा छ । उनीहरु दुवैलाई लाग्छ, राम्ररी एउटै कुरामा ध्यान लगाएर मेहनत गर्ने हो भने परिवार चलाउन सकिन्छ ।

चित्रकलाबाट उनीहरुले गरेको पनि त्यही हो । अप्ठ्यारो आइपर्दा पनि निराश भएनन्, मेहनत गरिरहे । उनीहरुले चित्रकलामै स्नातकोत्तर पढेका छन् ।

एरिना र आशासँगै प्रमिला बज्राचार्य, भाइराज महर्जन, बिनोद प्रधान पनि चित्रकलामै रमाइरहेका छन् । जीवनको एक मात्र कर्म त्यसैलाई बनाएका छन् । उनीहरु सबै काष्ठमण्डप आर्ट स्टुडियोमा आबद्ध छन् ।

चित्रकलाकै विद्यार्थी उनीहरु त्यसमा लागेको लामो समय भयो । यसैले चित्रको सहज र गहन पक्षबारे राम्ररी बुझेका छन् । बीचमा केही समय देशको अवस्था, पारिवारिक र सामाजिक परिस्थितिसँग सामञ्जस्य गर्न अप्ठेरो पर्दा निराशा आए पनि त्यो लामो समय रहेन ।

स्वर्गीय कलाकार प्रशान्त श्रेष्ठको अगुवाइमा ०५० सालमा स्थापना भएको काष्ठमण्डप आर्ट स्टुडियोमा रहेर उनीहरुले देश विदेशमा कला प्रदर्शनीको यात्रा र प्रचार प्रसार गरिरहेका छन् ।

यसरी उनीहरुले समूहमै रहेर चित्रकलामा काम गरेको पनि २४ वर्ष बितिसक्यो । उनीहरुको अनुभवमा गएको २४ वर्षमा नेपाली चित्रकलाको बजार पनि बढ्दै गएको छ । त्यसले चित्रकलामै रहेर पनि राम्ररी जीवन बिताउन सकिन्छ भन्ने स्थापित भएको छ ।

हुन त सुखी रहन के-के चाहिन्छ भन्ने जवाफ आआफ्नै होलान् । तर, काठमाडौंमा बसेर चित्रकलामार्फत उनीहरुले सुख अनुभव गर्न पाएका छन् । उनीहरुको दैनिकी चित्रकै वरिपरी बित्छ । बिहान १० बजेदेखि बेलुका ७ बजेसम्मै उनीहरु चित्रकलामै लागेका हुन्छन् ।

अहिले मात्रै होइन पहिले पनि मेहनत गरेर लागिपर्दा चित्रकलामै बाँच्न सकिने अवस्था रहेको बताउँछन् चित्रकार, न्यू आर्ट सर्कलका उपाध्यक्ष तथा नेपाल कला परिषदका सदस्य नरेश सैंजू ।

पुराना पुस्ताका चित्रकार हुन् नरेश । लैनसिंह वाङ्देलका विद्यार्थी उनी अहिले ६० वर्षमा पनि चित्रकलामै छन् । कुहिरोले ढाकेको हिमाल र रातको समयमा पाटनमा देखिने दृश्यलाई अहिले क्यानभासमा उतार्दै छन् । पुरानो घर काभ्रे पनौती भएका उनमा बाल्यकालमै कलाको ज्ञानले प्रवेश पायो । माटोको मूर्ति बनाउने, चित्र बनाउने काम उनी सानो छँदादेखि नै गर्थे ।

यसैले एसएलसीपछि त्रिचन्द क्याम्पसमा पढ्दै गरेको विज्ञान विषय छाडेर उनी घरमा नभनि ललितकला क्याम्पसमा चित्रकला पढ्न गए । विज्ञान विषय छाडेर आफ्नो रोजाइँको चित्रकला पढेकोमा उनलाई अहिले खुशी लागेको छ ।

कृषि विकास बैंकमा रहेर काम गरेको अनुभव पनि उनीसँग छ । त्यहाँको जागिर पनि चित्रकलाले नै जुराइदिएको उनी बताउँछन् । उनी कृषि विकास बैंकबाट प्रकाशित हुने पत्रिका र अन्य सामग्रीका लागि चित्र बनाउने काम गर्थे ।

जागिरबाट आएको पैसाले दैनिकी चलाउन सजिलो भएको बताउने उनले त्यो सबैको जस चित्रकलालाई नै दिन्छन् । २ सय रुपैयाँमा चित्र बिक्री हुँदा करोडौं कमाएको खुशी मिल्ने समयदेखि अहिले डेढ लाख रुपैयाँसम्ममा चित्र बेच्ने उनले चित्र बेचेर काठमाडौं र भक्तपुरमा दुईवटा घर बनाउन सकेको उत्साहित हुँदै सुनाए ।

चित्रकला बिक्छ त ?

चित्रकारले एउटा चित्र बनाएपछि लाग्ने पहिलो कुरा हो, यो चित्र बेच्न नपरोस् । आफूले जन्माएको सन्तान पराइको हातमा दिएको जस्तो अनुभूति कलाकारलाई आफ्नो चित्र बेच्दा लाग्छ ।

कलालाई व्यवसायको रुपमा लगेपछि त्यसलाई नबेची के गर्ने त भन्ने उत्तर उनीहरुसँग रहँदैन । यसैले पेशाको रुपमा चित्रकारिता गर्नेहरु चित्र बेचेर दैनिकी चलाइरहेका हुन्छन् ।

चित्रकला प्रदर्शनीको समयमा धेरै बिकेको अनुभव आशासँग छ । केही मानिस उनीहरुको अफिसमा आएर चित्र लैजान्छन् । कसैले कुनै विषय दिएर यसमा बनाइदिनुस् भनेर पनि चित्र किन्ने गर्छन् ।

‘शहरका विभिन्न आर्ट ग्यालरीमा पनि सबै जनाले एक-दुई वटा चित्र छाडिराखेका हुन्छन् । त्यहाँबाट पनि बिक्री भइराखेको हुन्छ,’ एरिनाले भनिन् ।

चित्रमा कति समय खर्चिएको छ भन्ने आँकलन गरेर साथै चित्रको आकार हेरेर मूल्य राख्ने गरेको कलाकार बताउँछन् । यसैले आफूले बनाएको चित्र कतिमा बेच्ने भन्ने चित्रकारमै निर्भर रहने गर्दछ ।

काष्ठमण्डपबाटै उनीहरुले ५ हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्ममा चित्रहरु बेचेका छन् ।

काष्ठमण्डप स्थापना भएको १० वर्षपछि बल्ल आफ्नो पेन्टिङ पहिलोपटक बिकेको बताउँछन् आशा । ‘१० हजार रुपैयाँमा दुईवटा पेन्टिङ बिकेको थियो । त्यो बेलाको १० हजार मेरो लागि लाख भन्दा बढी थियो,’ उनले भने ।

एरिनाले कलेजमै हुँदा एक सय रुपैयाँमा दुईवटा चित्र बेचेकी थिइन् । घरमा पनि त्यो बेला टोलकै दिदीले एक सय रुपैयाँमै दुईवटा चित्र लगेको उनलाई याद छ । त्यो बेलाको उनको खुशी अहिले लाखौँमा बिकेको चित्रको भन्दा ठूलो थियो ।

उनले व्यवसायिक रुपमै पेन्टिङ बेचेको भने पछि हो । ‘त्यो अवार्ड जितेको पेन्टिङ अफ्रिका बस्ने एकजना भारतीयले लग्नुभयो । उहाँले त्यो बेला तीनवटा किन्नुभएको थियो । त्यो सबैको गरेर ७० हजार रुपैयाँ जति आएको थियो,’ उनले भनिन्, ‘त्यो नेशनल अवार्ड जितेको पेन्टिङ बेच्नुपर्दा दुःख लागेको थियो । तर, आफ्नो काम नै त्यही हो, यसबाटै फेरि अर्को बनाउँछु भन्ने सोचेर अलि हौसला मिल्यो ।’

नरेशसँग पनि ३३ सालतिर पहिलो चित्र बेचेको याद छ । पाटनको एउटा चित्रकला पसलमा नरेशले पानीघट्टबाट पानी निस्किरहेको चित्र दुई सय रुपैयाँमा बेचेका थिए । ‘त्यो चित्र बेच्दा लडाइँ जितेको जस्तो भएको थियो । त्यो समय एउटा कागजको २ रुपैयाँ थियो । त्यो पैसाले धेरै नै कागज आएको थियो,’ उनी सुनाउँछन्, ‘कसले किन्यो भन्ने मलाई याद छैन । कलाकारले आफ्नो चित्र कसले लग्यो भन्ने रेकर्ड राख्नुपर्ने रहेछ । आफूले बनाएको चित्रको याद पछिसम्म आइरहन्छ ।’

यहाँ रोपेको फर्सी उता गएर फल्छ । चित्रकारिता पनि त्यस्तै हो । आज गरेको कामले भोलि फाइदा हुन्छ । त्यही देशको गौरव बन्छ

उनले बनाएको चित्र डेढ लाख रुपैयाँसम्ममा बिकेको छ । उनी भन्छन्, ‘अहिले मलाई बनाएको चित्र बेच्न अप्ठ्यारो छैन । बनाएर सक्ने बित्तिकै बिक्री भइहाल्छ । धेरैजस्तो त विदेशीले नै लैजान्छन् । जर्मन, चाइनिज, कोरियन, जापनिजहरु तपाईंको पेन्टिङ छ ? फोटो पठाउनुस् त भनिरहेका हुन्छन् ।’

०४५ सालतिर जति जे चित्र बनाए पनि बिक्री भएको अनुभव छ, नेपाल कला परिषदका सदस्य चित्रकार हरि खड्कासँग । त्यसपछि आन्दोलन, अशान्तिले केही वर्ष अप्ठेरो भयो । ‘०६१ देखि ०६४ सालसम्म पनि हामी बाहिर निस्कन सकेनौँ । प्रकृतिको अध्ययन नगरी, स्थानीय रंग नटिपि त कसरी चित्र कोर्नु ? यसैले त्यो समय चित्र बिक्रीमा पनि कमि भएको थियो । अहिले फेरि प्रदर्शनी र बिक्री बढीरहेको छ ।’

मेहनत र धैर्यता चाहिन्छ

चित्रकला तत्कालै परिणाम आउने विषय होइन । जब राष्ट्र सम्पन्न हुन्छ, तब कला र साहित्यको महत्व बढ्दै जान्छ । अवस्था जस्तो आए पनि निरन्तर लागिरहने हो भने त्यसले भविष्य सुन्दर बनाइदिन्छ । सबै चित्रकारले भोगेको सत्य यही हो ।

चित्रकला तत्काल नाफा-नोक्सान हुने बजारको तरकारी जस्तो नभएको बताउँछन् नरेश । ‘यहाँ रोपेको फर्सी उता गएर फल्छ । चित्रकारिता पनि त्यस्तै हो । आज गरेको कामले भोलि फाइदा हुन्छ । त्यही देशको गौरव बन्छ ।’

आशा र एरिना पनि सफलता पाउन लगातार एउटै काममा एकोहोरिएर लाग्नुपर्ने बताउँछन् ।

‘दुई वर्ष त हामी सबैजना भूमिगत जस्तै पनि भयौँ । केही नगरी बिहानदेखि बेलुकासम्म कसैलाई नभेटी लगातार चित्रमा काम गर्‍यौँ । अरु विषयमा जस्तो छोटो समयमा राम्रो हुन यसमा कठीन छ,’ एरिनाले भनिन्, ‘यसमा धैर्यता र लामो समयसम्मको मेहनत चाहिन्छ । अहिले बल्ल सन्तुष्टि मिलेको छ । पैसा पनि आउन थाल्यो । कामको बारेमा मानिसहरुले थाहा पाउन थाले ।’

उनीहरुको उद्देश्य नै त्यही हुँदा भोलि के हुन्छ भन्ने थाहा थिएन । यसमा लागेर बाँच्न सकिन्छ भन्नेसम्म थाहा थिएन । अहिले व्यक्तिगत रुपमा सबैजना सक्षम भएका छन् । मानिसहरुले पनि ‘धेरै गरेका रहेछन् । गर्न सकिने रहेछ,’ भन्ने बुझ्न थालेका छन् । यसैमा उनीहरुलाई सन्तोष मिलेको छ ।

चित्र हेरेर जसरी त्यसबाट सुख र दुःखको अनुभूति हुन्छ । चित्रकारको जीवनको अनुभूति पनि उस्तै छ । कमाइ यति नै हुन्छ भन्ने छैन । आएको रकमलाई मिलाएर खर्च गर्नुपर्छ ।

‘कमाउनैको लागि त एउटै माच्छापुछ्रे्र दशौँ पटक बनाएर पनि बेच्न सकिन्छ । सुरुका दिनमा रोजिरोटीका लागि कलाकारले त्यस्तो पनि गर्छन् । यसैले जसरी भए पनि चित्रमै बाँच्ने अवस्थालाई बल पुर्‍याएको छ,’ नरेशले भने ।

फेरिँदै छ समय

सबै कलाकारको आफ्नै विशेषता हुन्छन् । एउटै विषयका चित्रमा पनि कलाकारले फरक फरक प्रस्तुति दिएका हुन्छन् । कार्यविधि फरक होलान् तर, चित्रमा देखिने सुन्दरता र मेहनत उस्तै लाग्छन् ।

कलाको ज्ञानले फरक बनाए पनि उनीहरु सामान्य मान्छे जस्तै नै छन् । समाजमा दैनिक आउने अप्ठ्याराहरुको सामना उनीहरुले पनि गरिरहेका हुन्छन् । यसैले त्यही अप्ठेरा चित्रको विषय बनेर पनि आइदिन्छन् ।

अहिले बजारको विस्तार र कलाको ज्ञानसँगै प्रदर्शनीहरुमा आएको वृद्धिले समय फेरिएको छ । चित्रकला राम्रो काम हो यसले आफ्नो माटोको कलालाई चिनाउन मद्दत गर्छ भन्ने मानिसहरुले बुझेका छन् ।

‘हामी भर्खर क्याम्पस जाँदा र अहिलेको अवस्था फरक छ । अहिले अभिभावकले छोराछोरीलाई राम्ररी बुझेर सहयोग गरिरहेका हुन्छन् । उनीहरुले चाहेको विषयमा काम गर्न दिनुपर्छ भन्ने उनीहरुले बुझेका छन्,’ आशाले भने, ‘अहिलेका नयाँ कलाकार पनि निकै मेहनति छन् । चित्रकला पढेर पनि धेरै विधामा जान सकिने भएकाले बाँच्न सकिन्छ भन्ने भएको छ ।’

सबै पेन्टिङ बेच्यौँ भने त हामी नाङ्गै हुन्छौँ । यसैले धेरै नै मन परेको केही पेन्टिङ भने बेच्दैनौँ । आगामी पुस्तालाई देखाउन पनि केही पेन्टिङ मैले नबेची राखेको छु

अहिलेको चित्रकारितामा केही विकृति आएको बताउँछन् नरेश । इन्टरनेटमा अरुको चित्र हेरेर जस्ताको तस्तै उतारेर चित्र बनाएँ भन्ने मानिसहरुले चित्रकलालाई बिगारेको उनी बताउँछन् ।

‘इन्टरनेटबाट चोरेर चित्र बनाउने अनि आफैले त्यसको ठूलो-ठूलो ब्याख्या गर्ने गर्छन् । पछि त्यही चित्र इन्टरनेटमा भेटिन्छ । यसले त कलाकारको सोचमा नै कमि देखिन्छ । मान्छेहरुले यसो हेर्दा राम्रो लागे पनि त्यसरी चोरेको विषय लामो समय टिक्न सक्दैन,’ उनले भने ।

अहिले आफूले बनाएको चित्र एक सेकेण्डमा सारा ठाउँमा देखाउन मिल्ने भएकाले इन्टरनेट सुविधा भने उनलाई राम्रो लाग्छ । त्यसरी मानिसहरु बाहिरबाट पनि चित्रकला हेर्न र किन्न आउने अवस्थाको विकास भएको छ ।

यस्तोमा पनि चित्रकार आफूले बनाएको सबै चित्र भने बेच्दैनन् । आफूलाई धेरै मन परेको केही चित्र आफूसँगै राख्छन् ।

‘सबै पेन्टिङ बेच्यौँ भने त हामी नाङ्गै हुन्छौँ । यसैले धेरै नै मन परेको केही पेन्टिङ भने बेच्दैनौँ । आगामी पुस्तालाई देखाउन पनि केही पेन्टिङ मैले नबेची राखेको छु,’ नरेशले भने, ‘काठमाडौंमा रहेको लहरे पिपलको एउटा चित्र बनाएको थिएँ । त्यो बेचेको छैन । अहिले त काठमाडौंमा लहरे पिपल पनि देखिँदैन । त्यो हेर्न पेन्टिङ नै हेर्नुपर्ने भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment