Comments Add Comment

प्रधानमन्त्रीलाई गगन थापाले भने : हिजो अरुलाई कुरीकुरी गर्नुभयो, आज नाङ्गै हिँड्नुभयो

३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीका विगतका अभिव्यक्तिहरु स्मरण गराउँदै गम्भीर प्रश्न उठाएका छन् ।

उनले हिजो अरुलाई लम्पसारवादी भन्ने केपी ओलीलाई आज सुपर लम्पसारवादी भन्न पाइने कि नपाउने भनेका छन् । साथै उनले विवेकशील साझा पार्टीको कार्यालयमा राखिएको ब्यानर बलपूर्वक हटाएकोमा पनि आपत्ति जनाएका छन् ।

गर्जिएका ओली, शब्द खोज्दै गरेका ओली

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भ्रमणबारे अनेक टिप्पणी भइरहेको तर, उनी स्वयंले तीर्थयात्रा भनेकाले त्यसप्रति आफ्नो कुनै चासो नरहेको सांसद थापाले बताए ।

तर, उनले प्रधानमन्त्री ओलीमाथि प्रश्न गरे । उनले भनेका छन्, ‘म सम्झन्छु, त्यो रोष्ट्रममा उभिएर विश्वासको मत माग्दै गर्दा गर्जनुभएको प्रधानमन्त्री । अनि मैले हिजो देखे, शब्द खोज्दै गरेको प्रधानमन्त्री, केही लुकाउन छोप्न खोज्दै गरेको प्रधानमन्त्री । प्रधानमन्त्री गर्जनुभएको त्यो दिन सम्झिएँ मैले ।’

तर, गर्जिने बादल बर्सदैन भन्ने आफूलाई राम्रोसँग थाहा भएकाले अचम्म नलागेको उनले सुनाए ।

मोदीको भ्रमणबारे जानकारी दिने क्रममा प्रधानमन्त्रीले ‘देशको हित विपरित कुन पनि काम गरेको छैन’ भनेको स्मरण गर्दै कांग्रेस सांसद थापाले भने, ‘न सडकमा कसैले भनेको थियो, न संसदमा । यो हिनताबोध किन ?’

ओलीअघिका दुई प्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवाले पनि मोदीलाई भेटेको र त्यसबेला कसैलाई सिंगडा बेच्न गएको त कसैलाई घुँडा टेक्न गएको भनेको भन्दै उनले प्रश्न गरे, आफूले गर्दा पूण्य, अरुले गर्दा पाप ?’

कालापानी दोहोर्‍याउन खोजिएको त होइन ?

एमालेका युवाहरुले भारतीय दूतावास अगाडि गएर प्रदर्शन गर्न पाउने तर, आज कसैले आफ्नो पार्टीको कार्यालयमा ब्यानर राख्न नपाउने ? कसैले शान्तिपूर्ण प्रदर्शन गर्न नपाउने ? यो कस्तो लम्पसारदवाद हो ? यो कस्तो चाकडी हो

भारतसँगको सम्बन्ध ‘न संघर्ष, न समर्पण’ भन्दा बीपी कोइरालालाई हटाउन राजा महेन्द्रले भारतलाई चिठ्ठी लेखेको र कालापानीमा भारतीय सेना राख्न मौन स्वीकृति दिएको स्मरण गर्दै उनले कालापानी दोहोर्‍याउन खोजिएको त होइन ? भन्ने प्रश्न गरे ।

सुशील कोइरालाको अडानले संविधान आएको र त्यही अडानले नाकाबन्दी लागेको तर, उनैलाई लम्पसारवादी भनेको दाबी गर्दै कांग्रेस सांसद थापाले भने, ‘आज नेपालभित्र भारतीय सेना किन आयो भन्दा सत्तासिन पार्टीका एक जना माननीय उठेर भन्दै हुनुहुन्छ, नेपालको सरकारले सुरक्षा दिन सकेन । मेयरको सुरक्षा दिन सकेन, यो सकेन, त्यो सकेन । त्यसकारण भारतको सेना नेपाल आएको भनेर कतै त्यही कालापानी दोहोर्‍याउन खोजिएको त होइन ?’

सांसद थापाले भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा ओलीले ‘भ्रमण ठीक छ, तर यो तामझाम हेर्दै गर्दा लम्पसारवादी भन्न मन लागेको छ’ भनेको स्मरण गरे । उनले अघि भने, ‘मेरो परिभाषा होइन, उहाँकै परिभाषामा सरकारको यो तामझाम हेर्दा मैले महा लम्पसारवादी भन्न पाउने कि नपाउने ?’

प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर ‘भारतले नेपालमा कहिल्यै नाकाबन्दी गर्दैन’ भनेर जिम्मा लिएको भन्दै उनले ‘हिजो भारतसँग कुराकानी गर्नुपर्छ भन्दै गर्दा सत्तामा बस्नेहरुले घुँडा टेक्दा घुँडामा घाउ भयो भन्नुभएको थियो । हिजो भारतको जिम्मा लिएर रोष्ट्रममा उभिएर प्रधानमन्त्रीलाई मैले तपाईको घुँडामा भ्वाङ पर्‍यो कि परेन भनेर सोध्न पाउने कि नपाउने ?’ भनी प्रश्न गरेका छन् ।

नेपालको आन्तरिक मामिला विदेशी पाहुनासामू राख्नु निन्दनीय र आपत्तिजक भएको उनले बताए । तर, प्रदेश २ को मुख्यमन्त्रीलाई तालिम दिनुपर्छ भन्नेहरुले परराष्ट्रमन्त्रीलाई तालिम दिनुपर्छ भन्ने कि नभन्ने उनको प्रश्न छ ।

हिजो अरुलाई कुरीकुरी गर्नुभयो, आज नाङ्गै हिँड्नुभयो

कांग्रेस सांसद थापाले ‘मोदीलाई स्वागत छ, तर नाकाबन्दी बिर्सिएको छैन’ भन्ने ब्यानर (विवेकशील साझा) पार्टी कार्यालयमा राख्न नदिएकोमा पनि आपत्ति जनाएका छन् ।

नाकाबन्दी पछाडिको अवस्थामा नेपाल भारत सम्बन्ध अगाडि बढ्नुपर्छ भन्ने आफ्नो मत रहेको भन्दै उनले भने, ‘तर, नाकाबन्दी बिर्सिएको छैन भन्न नपाउने ?’

थापाले अघि भने, ‘एमालेका युवाहरुले भारतीय दूतावास अगाडि गएर प्रदर्शन गर्न पाउने तर, आज कसैले आफ्नो पार्टीको कार्यालयमा ब्यानर राख्न नपाउने ? कसैले शान्तिपूर्ण प्रदर्शन गर्न नपाउने ? यो कस्तो लम्पसारदवाद हो ? यो कस्तो चाकडी हो ?’

चुनाव प्रचारका क्रममा एमाले अध्यक्ष ओलीले ‘राष्ट्रवादको जिम्मा मैले मात्र लिएको छु’ भन्दै हिँडेको स्मरण गराउँदै सांसद थापाले भने, ‘हिजो अरुलाई कुरीकुरी गर्नुभएको थियो । आज नाङ्गै हिड्नु भएको हामीले देखाउनुपरेको छ ।’

साझा दृष्टिकोण बनाऔं

सम्बोधनका क्रममा थापाले राष्ट्रियतालाई भोटको विषय नबनाउन आग्रह समेत गरेका छन् । नेपालको भारत र चीनसँगको सम्बन्धबारे साझा दृष्टिकोण बनाउने बेला आएको भन्दै उनले भने, ‘सरकारमा रहे पनि प्रतिपक्षमा रहे पनि एक ढिक्का बनौं, अनि बल्ल तीर्थयात्रा होला वा मित्रयात्रा होला, त्यसबाट नेपालले लाभ लिन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment