Comments Add Comment

छापामा आजः एमाले–माओवादी एकीकरण प्रक्रिया ‘स्थगन’

१३ वर्षमै आमा, छोरी जन्मिएपछि घर निकाला

१ जेठ, काठमाडौं । राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले सदाझैं आज पनि विविध विषयहरु समेटेका छन् । केहीले एमाले–माओवादी एकता प्रक्रियाबारे सोधखोज गरेका छन् भने कुनैले बजेट खर्चको प्रवृत्ति केलाएका छन् ।

संसद् बैठकमा भएको सवाल–जवाफको विषयलाई पनि आजका पत्रपत्रिकाहरुले नछुटाइकन छापेका छन् । मंगलबारको बैठकमा प्रतिपक्ष मात्रै नभएर सत्तापक्षकै सांसदहरुले सरकार र मन्त्रीको कार्यशैलीप्रति आलोचना गरेका थिए ।

फुटबलर मणिविक्रम शाहको मंगलबार निधन भएको छ । उनको निधनको खबरलाई पत्रपत्रिकाहरुले विभिन्न शीर्षकमा आज कभरेज गरेका छन् ।
यसका अतिरिक्त निजी मेडिकलजको सिन्डिकेटमा सरकार मौन बसेको, ६ ठाउँबाट स्मार्ट लाइसेन्स नवीकरण गर्ने तारतम्य मिलाइएकोलगायतका खबरले पनि आजका पत्रपत्रिकामा उत्तिकै स्थान र महत्त्व पाएका छन् ।

एमाले–माओवादी एकीकरण प्रक्रिया ‘स्थगन’

एकीकरण प्रक्रियामा रहेका एमाले–माओवादीबीच चुलिँदो अविश्वासले अघोषित रुपमा एकता प्रक्रिया स्थगन भएको नागरिक दैनिक र अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

नागरिकले एमाले र माओवादीबीचको असमझदारी झांगिँदै जाँदा दुवै पक्षबाट तिक्त अभिव्यक्ति सार्वजनिक हुन थालेको र दुई पार्टीका अध्यक्षबीचको बैठक पनि पातलिँदै गएको निष्कर्ष जनाएको छ ।

एमाले नेता रघुजी पन्तले माओवादी केन्द्रका नेता र मन्त्रीहरुका पछिल्ला अभिव्यक्तिले दुई दलबीच चिसोपना बढाएको स्वीकारेका छन् ।

अन्नपूर्णले सरकार सञ्चालनका विषयमा दुई पार्टीबीच मतभेद फराकिलो हुँदै गएको र यसले एकता प्रक्रियामा नै असर पार्न थालेको निष्कर्ष निकालेको छ ।

अस्वभाविक सुविधा बढाएपछि विधेयक फिर्ता

स्थानीय तहले थेग्न कठिन हुने सेवा सुविधा तोकिएपछि प्रदेश ५ सरकारले विधायन समितिबाट पारित स्थानीय तहको जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी विधेयक फिर्ता गरेको अन्नपूर्ण पोस्ट दैनिकमा आज समाचार छ ।

अघिल्लो अधिवेशनको अन्तिम बैठकमा विधायन समितिले तलबमान वृद्धिसहितको विधेयक संसदमा प्रस्तुत गरेको थियो । तर अस्वभाविक सुविधा बढाएको भन्दै सरकारले विधेयकलाई फिर्ता पठाएको छ ।

भारतले कच्चा पदार्थ नदिएपछि सेनाको ‘इमल्सन प्लान्ट’ बन्द

भारतले गोलीगठ्ठा तथा विस्फोटक पदार्थ उत्पादनका लागि चाहिने कच्चा पदार्थ नदिएपछि नेपाली सेनाको मकवानपुरस्थित ‘सुनाचरी इमल्सन प्लान्ट’ बन्द भएको छ ।

कच्चा पदार्थ आयात ठप्प भएपछि सरकारको अनुदान तथा सैनिक कल्याणकारी कोष र उद्योग मन्त्रालयको संयुक्त लगानीमा सञ्चालित प्लान्ट धरासायी बनेको कारोबार दैनिकमा खबर छ ।

काठमाडौं–तराई द्रुतमार्ग निर्माणको जिम्मेवारी भारतीय कम्पनीबाट खोसेपछि भारतले विस्फोटक पदार्थ उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ मागअनुसार नदिएको स्रोतको दावी छ ।

द्रुतमार्ग र अन्य सडक परियोजना निर्माणका लागि मात्रै वार्षिक सयौं टन विस्फोटक पदार्थ आवश्यक पर्छ ।

 

विद्यालय तहमा ‘समाजवादउन्मुख’ शिक्षा, ११–१२ मा यी ५ विषय अनिवार्य

पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा समाजवादउन्मुख शिक्षा दिनेगरी पाठ्यक्रम प्रारुप तयार गरेको छ ।

नयाँ पत्रिका दैनिकका अनुसार, कक्षा १–३ सम्म एकीकृत र ९–१२ सम्म एकल पथीय पाठ्यक्रम कार्यान्वयन हुने भएको छ ।

कक्षा ११ र १२ मा साधारण र संकृत धारमा पाँच विषय अनिवार्य हुने भएका छन् । नेपाली, अंग्रेजी, नेपाल अध्ययन, प्रायोगिक गणित, विज्ञान तथा प्रविधि विषयलाई अनिवार्य गर्न लागिएको समाचारमा उल्लेख छ । प्राविधिक तथा व्यवसायिक धारमा अंग्रेजी, नेपाली, नेपाल अध्ययन विषय अनिवार्य छन् । अरु पाठ्यघन्टाका आधारमा ऐच्छिक विषय राख्न सक्ने व्यवस्था गरिएको छ ।

मोदीको भ्रमणबारे भारतमै प्रश्न

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे भारतमै प्रश्न उठेको छ ।

कान्तिपुर दैनिक लेख्छ– उनको भ्रमणबारे नेपालमा चर्काचर्की चलिरहेका बेला भारतका प्रमुख राजनीतिक दलबीच पनि आरोप प्रत्यारोप शुरु भएको छ ।

नेपाल भ्रमणको क्रममा मोदीले प्रमुख हिन्दु तीर्थस्थल जनकपुरधाम, पशुपति र मुक्तिनाथ भ्रमण गरेको विषयमा सत्ताधारी दल भारतीय जनता पार्टी र प्रतिपक्ष भारतीय राष्ट्रिय कंग्रेसबीच आरोप–प्रत्यारोप चलेको हो ।

प्रतिपक्षी कंग्रेसले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा भएको हिन्दु धार्मिक तीर्थाटनप्रति आपत्ति जनाएको छ ।

उक्त भ्रमण नेपालसँगको सम्बन्ध सुधारका लागि भन्दा पनि कर्नाटकको चुनाव प्रभावित गर्न लक्षित रहेको आरोप कांग्रेसको छ ।

बहुविवाह गर्ने कर्मचारी अब बर्खास्त !


बहुविवाह गरेर पनि सरकारी जागिर खाइरहेका र कार्यालयमा मदिरापान गरेरै जाने आदत परेकाहरुका लागि दुःखद् खबर छ । अब यस्ता कर्मचारीलाई सेवाबाटै बर्खास्त गर्ने तयारी सरकारले गरेको छ ।
नागरिक दैनिकका अनुसार संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदामा यस्ता कर्मचारी बर्खास्त हुने प्रावधान सरकारले राखेको छ ।

शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले तयार पारेको सो ऐनको मस्यौदामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छलफल अघि बढाएको छ ।

र, यो पनि– १३ वर्षमै आमा, छोरी जन्माएपछि घर निकाला

१२ वर्षको उमेरमा बिहे गरेर १३ वर्षमा छोरी जन्माएकी एक किशोरीलाई परिवारका सदस्यले घर निकाला गरेको खबर आज नयाँ पत्रिका दैनिकले छापेको छ ।

सिरहा गोलबजारकी ममता मरिकलाई परिवारले यसरी घरबाट निकाल्दा उनको स्वास्थ्य अवस्था गम्भीर बनेको नयाँ पत्रिकामा प्रकाशित खबरको सार छ ।

समाचार अनुसार सप्तरीको गढीगाउँपालिका ७ का गुमन मरिककी छोरी ममताको एक वर्षअघि सिरहा गोलबजार घर भएका २७ वर्षीय प्रकाश मरिकसँग विवाह भएकोमा १ महिनाअघि छोरीलाई जन्म दिएकी थिइन् ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment