Comments Add Comment

बर्दी लगाएर किन भिख माग्ने निधो गरे पुलिस हवल्दारले ?

सांकेतिक तस्वीर

जिउज्यान पाल्नका लागि जागिर वा काम नहुनेहरुले मात्र भिख माग्छन् भन्ने ठान्नुभएको छ भने तपाइँ गलत हुनुहुन्छ । यहाँ पुलिसको जागिर खानेहरु समेत भिख माग्दा रहेछन् । भारतको मुम्बर्इ पुलिसमा काम गर्ने एक पुलिस हवल्दारले भिख माग्ने अनुमतिका लागि आफ्नो हाकिमलाई गुहारे । हाकिमलाई मात्र होइन उनले त मुख्यमन्त्री समक्ष नै बिन्ती बिसाए । आखिर बर्दीमै भिख माग्नका लागि किन लाचार भए त ती पुलिस ? मामिला निकै गम्भीर रहेछ ।

मुम्बई पुलिसका हवलदार दन्यनेश्वर अहीररावले मुख्यमन्त्री तथा आफ्ना हाकिमलाई पत्र लेख्दै भिख माग्ने अनुमति माग गरेका छन् ।

हवलदार दन्यनेश्वर शिवसेना अध्यक्ष उद्धव ठाकरेको घरको सुरक्षामा तैनाथ रहेका छन् । उनले मुख्यमन्त्री देवेन्द्र फडनभिस र पुलिस आयुक्त दत्तात्रय पडसलगीरकरलाई भिख माग्ने अनुमति माग्दै पत्र लेखे । आफूले दुई महिनादेखि तलब नपाएको भन्दै उनले यस्तो समस्याको घडीमा भिख माग्न पाउँ भनी उनले पत्रमा लेखेका छन् ।

बिरामी पत्नीको हेरचाह र घरायासी खर्च जुटाउनका लागि आफूसँग भिख माग्नुको विकल्प नरहेको उनले पत्रमा लेखेका छन् ।

ती हवलदार २० देखि २२ मार्चसम्म जागिरमा छुट्टी लिएर आफ्नो घर गएका थिए । घर गएको बेला उनकी पत्नीको खुट्टा फ्याक्चर भएको रहेछ । जसका कारण उनी समयमा ड्युटीमा फर्किन सकेनन् । उनले थप पाँच दिनको आपतकालीन विदा मागे र २८ तारेखमा मात्र ड्युटीमा फिर्ता भए ।

विदापछि ड्युटी ज्वाइन गरेका हवलदारको त्यसपछिको तलब अहिलेसम्म रोकिएको छ । विनाकारण आफ्नो तलब रोकिएपछि उनी समस्यामा परेका छन् । दुई महिनासम्म तलब रोकिएपछि उनलाई घरको गर्जो टार्न पनि समस्या परेको छ ।

उनले पत्रमा लेखेका छन्, ‘मलाई मेरी बिरामी पत्नीको उपचार तथा आमाबुवा र छोरीको समेत खर्च जुटाउनु पर्दछ । साथै मैले लिएको ऋणको मासिक किस्ता पनि तिर्नुपर्दछ । तर दुई महिनादेखि तलब नपाएका कारण मेरो हालत निकै खराब भएको छ । त्यसैले मलाई बर्दीमै भिख माग्ने अनुमति दिनुहोस् ।’

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment