Comments Add Comment

मह गठबन्धनको इतिवृतान्तः मैले देखेको मदन दाइ


एकदिन अचम्म भयो ।

त्यसबेला हामी घट्टेकुलामा बस्थ्यौं । मेरै घरमा मदनदाइ र म स्क्रिप्ट तयार गर्दै थियौं । अलि शान्त ठाउँमा बसेर स्क्रिप्ट लेखौं भनेको, केही फुरे पो !

कहिलेकाहिँ त दिमाग पनि शून्य हुने क्या । सोच्दा-सोच्दै दिमाग रन्किसक्यो, एउटा अक्षर फुर्दैन । यता हिँड्छौं, उता हिँड्छौं । छटपटी भो । त्यहीबेला मेरी श्रीमती मीरा चाहि ‘माता’कहाँ जानका लागि तयार हुँदै थिइन् ।

नजिकै ‘माता’ बसेकी थिइन् । मातालाई भेट्नेको भिड लाग्ने रहेछ । मेरी श्रीमतीलाई पनि त्यती सञ्चो नहुने । उनी मातालाई भेट्न फूल-अक्षता लिएर जान लागेकी रहिछन् ।

‘हामीलाई केही कुरा आएन, यो कुरा मातालाई भनिदेऊ है । केही फुर्छ कि !’, हामीले ठट्टा गर्दै भन्यौं ।

उनी गइन् । हामीले धूप बाल्यौं । त्यसपछि त खररर फुरिहाल्यो नि । धमाधम स्क्रिप्ट लेख्न थाल्यौं । दुवैको मनमा कुराहरु यसरी तँछाड-मछाड गर्दै आयो कि, हामी लेख्नमै मग्न भयौं । अघिल्तिर कोही आएजस्तो, हिँडेजस्तो लाग्यो । वास्तै गरिएन । लागेथ्यो, मीरा आइछन् । के पनि लाग्यो भने, उनैले मातालाई भनिदिएकाले हामीलाई यसरी कुरा फुरेको हो ।

तर, मीरा आएकी रहिनछन् । को आयो त ?

हामीले उनलाई हिँड्नेबेला बाहिरबाट ढोका लक गरिदिनु भनेका थियौं, अरुले डिस्टर्व गर्ला कि भनेर । अब बाहिरबाट लक गरेको घरमा कोही आउने कुरै भएन । हामीले ठान्यौं, पक्कै पनि माता आइन् । माता आएकाले नै हामीलाई फुरेको हो ।

अर्को राउन्ड धूप बालियो । हामी लेख्न थाल्यौं ।

कहिलेकाहिँ यस्तो कुरामा पनि विश्वास हुने । हामी माताप्रति कृतज्ञ भयौं । उनकै कृपाले लेख्ने शक्ति मिलेको भनेर मख्ख परियो ।

केही समयपछि राजाराम पौडेल आइपुगे । हामीले उनलाई आफूहरुमाथि माताको कृपा वर्सिएको कुरा सुनायौं ।

‘हत्तेरी, अघि आउने माता होइन, म हुँ । दुवैजना लेख्न मस्त भएकाले डिस्टर्व हुन्छ कि भनेर सुटुक्कै अर्कोतिर गएर बसेको थिएँ । त्यस्तो पनि हुन्छ काहिँ ?’, उनले आफ्नै शैलीमा ठट्यौली हाँसो हाँस्दै भने ।

कहिलेकाहिँ लेख्न बस्दा केही फुर्दैन । जति बल गरेपनि दिमागबाट कुरा निस्कदैन । एकछिन ब्रेक लिनुपर्छ, फेरि कुराहरु फुरिहाल्छ ।

एकपटक ओखलढुंगा गइएको थियो । त्यहाँको एउटा खोला किनारमा बसेर स्क्रिप्ट तयार गर्दै थियौं । कुरा फुरेन । अब बसेर जति ठसठस कने पनि कुरा आउने होइन । दुबैजना उठ्यौं र नजिकै रहेको एउटा ढुंगा पल्टाउन थाल्यौं ।

स्क्रिप्ट नफुरेको बेला यसरी अन्यत्र ध्यान लगाइयो भने दिमाग फेरि ताजा हुन्छ भन्ने लागेथ्यो । त्यसैले खोलाको ढुंगा पल्टाउने जुक्ति लगाइयो । दुबै मिलेर ढुंगा ठेल्न थाल्यौं । ठेल्दा-ठेल्दै ढुंगा पनि पल्टियो । कुराहरु पनि फुर्न थाल्यो । हामी लेख्न बस्यौैं ।

ठीक त्यसैबेला एक अधवैंशे महिला आइन् र हामीलाई गाली गर्न थालिन् । ‘किन ढुंगा पल्टाएको’ भनेर । त्यो ढुंगामा लुगा धुने गरिएको रहेछ ।

मदन दाइसँग बिताएका यस्ता अनगिन्ती क्षणहरु छन्, जो आफैमा कमेडी फिल्मको प्लटजस्ता लाग्छन् । उहाँसँग मिसिएर ‘मह’ भएको ३६ वर्ष पुगिसक्यो । यो दौरानमा हामीबीच आत्मिय सम्बन्ध रह्यो, नङ र मासुजस्तै । ढुंगा र माटोजस्तै । भात र तरकारीजस्तै । एउटा नभइ अर्को पूर्ण नहुने ।

‘तँ त साह्रै बिगि्रस नि बद्री’ फिल्म बनाउने बेला भने हामीबीच केही असमझदारी भयो । मनमुटाव भयो ।

स्वार्थ कन्ट्रोल गर्ने स्टेपलाइजर

कुनैपनि सम्बन्ध स्वार्थरहित हुँँदैन । हरेकको आ-आफ्नै स्वार्थ हुन्छ । म अपवाद हुने कुरै भएन । मभित्र पनि स्वार्थ छ । मदन दाइसँग जोडिनुमा पनि मेरो आफ्नै स्वार्थ छन् । तर, यस्ता स्वार्थलाई कुन हदसम्म निकाल्ने भन्ने कुरा महत्वपूर्ण हो । यसलाई कति निकाल्ने भनेर मनभित्रै ‘स्टेपलाइजर’ फिट गर्नुपर्छ । त्यही स्टेपलाइजरले स्वार्थ कन्ट्रोल गर्नुपर्छ । यसलाई ‘हाई भोल्टेज’मा छाडियो भने दुर्घटना हुन्छ ।

मदनदाइ र मैले त्यो ‘स्टेपलाइजर’लाई सन्तुलित राख्यौं । नियन्त्रणमा राख्यौं । उहाँ गिटी हुनुभयो, म बालुवा भइदिएँ । म सिमेन्ट भएँ, उहाँ छड भइदिनुभयो । सिमेन्ट, बालुवा, छड र पानीको गठबन्धन पनि क्रमशः बलियो हुँदै जान्छ नि । त्यसैगरी दिनहरु जति-जति बित्दै गयो, हाम्रो सम्बन्ध पनि बलियो र परिपक्व हुँदै गयो ।

समयले हरेक कुरालाई परिपक्व बनाउँदै लान्छ । पूर्वार्द्धका दिनहरुमा एक्ला-एक्लै कुनै काम गरेरको त्यति चित्त बुझ्दैनथ्यो । तर, पछि हरेकलाई आ-आफ्नै स्वतन्त्रता पनि चाहिन्छ भन्ने वोध भयो । उहाँले गरेका र गर्ने कतिपय काममा मैले आफ्नो भाग खोजिनँ । मैले गरेको काममा पनि उहाँले हस्तक्षेप गर्नुभएन ।

प्रकृतिले हरेक मान्छेलाई फरक-फरक ढंगले निर्माण गरेको हुन्छ । आमाको कोखमा भू्रण बन्ने क्रममै मानिसको प्रवृत्ति पनि विकास हुन्छ । एउटै कोखबाट जन्मिएका जुम्ल्याहा सन्तानको पनि रहर, इच्छा, बानी दुरुस्तै नमिल्न सक्छ । तर, आपसमा नमिल्ने त्यही प्रवृत्ति, स्वभावलाई जोड्ने मिलनविन्दु पनि हुन्छन् । हाम्रो सम्बन्ध त्यही मिलनविन्दुमा जोडिएको छ ।

गणितको नियमअनुसार बक्र रेखाहरु आपसमा ठोकिन्छन्, जुध्छन्, मिल्छन् । समानान्तर दुई रेखाबीच एउटा दुरी हुन्छ, जुन पुरिँदैन ।

मदन दाइ र मबीच कतिपय कुराहरु मिल्दैनन् । त्यही भएर हामी मिल्छौं । अर्थात हामीबीच कतिपय एन्टि-नेचर छ ।

कुनै काम गर्नुपर्‍यो भने म अलि हतार गर्छु । छिटै फत्ते गर्नु पाए हुन्थ्यो भन्ने हुटहुटी हुन्छ । उहाँलाई त्यस्तो हतार हुँदैन । हतार गर्ने काममा पनि हडबडाउनु हुन्न । पहिले-पहिले कुनै छलफल गर्नु, भेटघाट गर्नु परेमा, उहाँ ढिलो आइपुग्ने । म दुई वा तीन घण्टासम्म कुर्थें । उहाँ आफ्नै पाराले विस्तारै आउनुहुन्थ्यो ।

वास्तवमा यी दुवै भिन्न प्रवृत्ति मिलेर नै हामी परिपक्व भएका छौं । दुवै हतार गर्ने वा दुवै सुस्त भइदिएको भए, काम चल्दैनथ्यो ।

बाहिरबाट हेर्दा मदनदाइ सोझो हुनुहुन्छ । तर, भित्रभित्र बाठो हुनुहुन्छ । म चाहिँ बाहिरबाट हेर्दा निकै बाठोजस्तो देखिन्छु । तर, देखिएजस्तो बाठो छैन । त्यति लाटो पनि छैन कि ?

मह गठबन्धन

गाईजात्रे कार्यक्रममा मदनकृष्ठ श्रेष्ठ एउटा गीत लिएर मञ्चमा प्रकट हुनुभयो । गीत यस्तो थियो, ‘जागिरदारलाई यहाँ झन्-झन् बाँच्नै कठिन भो ।’

मैलें पहिलो पटक मदनदाइलाई देखेको त्यही हो । त्यसबेला म दर्शक बनेर बसेको थिएँ । टिकट काटेर गाईजात्रा हेर्न पुगेको मान्छे ।

पछि उनै मदनदाईसँग एउटै मञ्चमा कार्यक्रम गर्नुपर्ने भयो । राष्ट्र बैंकको रजत जयन्तीमा कार्यक्रम गर्ने मेलोमेसो मिलाइएछ । त्यसबेला रुबी जोशी राष्ट्र बैंकको विशिष्ठ श्रेणीका अधिकृत, जो प्रख्यात गायक पनि हुन् । उनले नै मदन दाइ र मलाई अलग-अलग प्रहसनको लागि बोलाउने निधो गरेछन् ।

कार्यक्रममा राजारानी आउने भएकाले कार्यक्रमको समयसीमा पनि निर्धारण भएछ । सबै कार्यक्रम ९० मिनेटभित्रमा सक्नुपर्ने । अब दुई वटा प्रहसनका लागि समय नपुग्ने भयो । त्यसलाई मर्ज गर्नुपर्ने भयो । रुबी जोशीले नै यस्तो सुझाव दिए ।

यसरी समय र परिस्थितिले मदन दाइ र मलाई एउटै ठाउँमा ल्याएर उभ्याइदियो । हामीले ‘बैंकेश्वर’ नामक प्रहसन देखायौं ।

यो प्रहसनको स्क्रिप्ट लेख्ने क्रममा हामीबीच सहकार्य भयो, सल्लाह भयो । कहिले उहाँ मेरो डेरा नक्सालमा आउने, कहिले म उहाँको डेरा भोटेबहालमा जाने । दाइकहाँ जाँदा भाउजू यशोदाले मिठो मसिनो पकाएर ख्वाउने । यसरी निरन्तरको घर्षणले मदन दाइ र म जोडियौं ।

मदनदाइसँग जोडिनुअघि म एक्लै प्रहसन गरिरहेको थिएँ । त्यसबेला प्रज्ञा प्रतिष्ठानले गाईजात्रा आयोजना गर्थ्यो । राजा-रानी एवं राजपरिवारका सदस्यले पनि हेर्थे । ०३४ सालको गाईजात्रामा मैले पनि एउटा प्रहसन तयार गरें र आवेदन दिएँ । मलाई बोलाइयो । मैलें लेखेको ‘आधुनिक श्रद्धा’ भन्ने प्रहसन छनौट भयो र विशेष प्रदर्शनीमा राखियो ।

त्यसबेला विशेष प्रदर्शनीमा राजारानीको सामुन्ने प्रहसन गर्नुपर्ने । सुरुमा त नर्भस भइयो । पछि राम्रो गरियो । रानी खुब हाँसिन् । मेरो अभिनयका बारेमा दुर्गानाथ शर्माले टिप्पणी लेख्नुभयो र गोरखापत्रमा छाप्नुभयो । आफ्नो नाम पहिलो पटक पत्रिकामा देख्दा म कम्ता दंग भइनँ । मैले लगातार तीन वर्ष प्रज्ञा प्रतिष्ठानबाट गोल्ड मेडल प्राप्त गरें ।

मदनदाइ अलग हिँडिरहनुभएको थियो । म अलग थिएँ । हामी अलग-अलग कार्यक्रम गर्थ्यौं । खासमा भन्ने हो भने, एकअर्काको प्रतिद्वन्द्वी थियौं । संयोगले हामीलाई एउटै ठाउँमा ल्याइपुर्‍यायो ।

त्यसपछि हामीले ‘यमलोक’ भन्ने प्रहसन तयार गरेर देखायौं । यो प्रहसन पनि राजा-रानी, प्रधानमन्त्री लगायत विशिष्ठ पाहुनाहरुले हेरेका थिए । त्यसबेलाका प्रधानमन्त्री सूर्यबहादुर थापा । उनलाई लक्षित गरेर हामीले व्यङ्ग्य गरेका थियौं । तर, व्यङ्ग्य सुनेर, देखेर उनी पनि मस्त हाँसेका थिए ।

‘यमलोक’बाट द्रव्यलाभ

‘यमलोक’ प्रहसन देखाएपछि पनि हाम्रो धीत मरेको थिएन । त्यसबेला प्रहसन गर्न जुन किसिमको प्रविधि, लाइट, साउन्ड र अरु व्यवस्था हुनुपर्ने, काठमाडौं बाहिरको मञ्चमा त्यो अनुकुलता मिल्दैनथ्यो । अब के गर्ने त ? हामी त ‘यमलोक’बाट अघाएकै थिएनौं ।

एउटा जुक्ति फुर्‍यो, त्यही यमलोकको अडियो क्यासेट बनाउने । त्यसबेला रिल भएको अडियो क्यासेट बिक्री हुन्थ्यो । तर, गीतको । यमलोकको अडियो मञ्चमै रेकर्ड भएको थियो । यद्यपि त्यो ३० मिनेटको थियो । अब अर्को ३० मिनेटको सामाग्री चाहियो । हामीले ‘प्यारालाइसिस’ भन्ने प्रहसन बनायौं । दुबैलाई ए र बी साइडमा राखेर क्यासेट निकाल्यौं । त्यसबेला हामीसँग पैसा हुँदैनथ्यो । धेरैजसो काम त उधारोमै चलाइएको थियो ।

संयोगबस् हामीले गजबको मान्छे भेटेका थियौं, कमलेस अग्रवाल । उनी सिंगापुरबाट खाली क्यासेट ल्याउने र त्यसमा हिन्दी गाना रेकर्ड गरेर बेच्ने काम गर्थे । यो सबै काम उनको कोठाभित्रै हुने । हामीले उनलाई प्रहसनको अडियो भर्ने जिम्मा दियौं ।

अमृत शाक्य दाइले कभर प्रिन्ट गराइदिए । कान्छा कर्माचार्यले कभर डिजाइन गरेका थिए । क्यासेट तयार भएपछि झोलामा हालेर इन्द्रचोक, भेडासिंह चोकतिर बेच्न गयौं । क्यासेट पसलेलाई दियौं । तर, उनीहरुले राख्नै आनाकानी गर्ने । ‘लोकगीत हो ?’ भनेर सोध्थे । ‘प्रहसनको क्यासेट’ भनेपछि करैले चार-पाँच पिस लिन्थे ।

तर, चार-पाँच पिस क्यासेट लिन हच्किने उनै बिक्रेताले दोस्रो पटक भने ७०-८० थान क्यासेट माग गरे । भएछ के भने, उनीहरुले हाम्रो गाईजात्रे अडियो स्पिकरमा राखेर सुनाइदिएछन् । त्यो सुन्नका लागि मान्छेको झुन्ड-झुन्ड तयार भएछ । यसरी हाम्रो क्यासेटले पब्लिसिटी पाएछ । हामीले थाहै नपाई ।

अब क्यासेटको डिमान्ड यसरी बढ्यो कि, धान्नै गाह्रो भयो । कमलेस अग्रवालले बहुत सहयोग गरे । उनले चाहिएजति खाली क्यासेट उपलब्ध गराए । त्यो बेला ६ लाख रुपैयाँ बराबरको उधारो सामान दिए ।


एक पटकमा तीन वटा चक्का रेकर्ड हुने । मदन दाइ र म स्वयम् बसेर रातभर चक्का रेकर्ड गर्थ्यौं । सेलोफिन पेपरले र्‍याप गर्थ्यौं ।

अब झोलामा क्यासेट अटाउँदैनथ्यो । सानो रिक्सा रिजर्भ गरेर त्यसैमा क्यासेट पुर्‍याउन थाल्यौं । त्यसबेला ‘यमलोक’ डेढ लाख प्रति बिक्री भएको थियो । हामीलाई एउटा क्यासेटबाट ९ रुपैयाँको दरले पैसा आउँथ्यो । यसरी ‘यमलोक’ले राम्रै द्रव्यलाभ भएपछि हामी अर्को प्रहसनको अडियो निकाल्ने तयारीमा पुग्यौं ।

अंशबन्डाको भागबन्डा

‘यमलोक’ले फलिफाप भएपछि हामीले अर्को त्यस्तै क्यासेट निकाल्यौं, अंशबन्डा । तर, अंशबन्डामा अरुले पनि भागबन्डा खोजेछन्, हामी हेरेको हेर्‍यै भयौं ।

कुरो के भएछ भने, अंशबन्डा निकालेपछि त्यो क्यासेट अरुले रेकर्ड गर्दै आफ्नो झोला भर्न थालेछन् । यसरी अरुले अंशबन्डाको भागबन्डा खोजेपछि हाम्रो भागमा ५० हजार पिस पनि मुस्किलले परेछ ।

हाम्रो ‘अंशबन्डा’ले अपेक्षा गरेजस्तो आम्दानी दिएन । हामीले ५० हजार पिसभन्दा बढी बिक्री गर्न सकेनौं । किनभने, हाम्रो क्यासेट अरुले रेकर्ड गरेर भित्रभित्रै बेच्ने धन्दा सुरु भइसकेको रहेछ ।

एकपटक दार्जिलिङ हुँदै सिलगुढी गएका थियौं । एउटा सानो गल्ली हुँदै हामी हिँडिरहेका थियौं । अचम्म भयो । त्यस गल्लीका सटरहरु एकाएक बन्द हुन थाले । हेर्दाहेर्दै सबैजसो सटर बन्द गरिए । हामीलाई देखेपछि उनीहरुले सटर तानेका थिए । त्यही सटरबाट हाम्रो प्रहसनको अडियोको डुब्लिकेट बनाएर बिक्री गरिंदो रहेछ । सिलगुढीमा तयार गरिएको अडियो क्यासेटले हाम्रो बजारमा कब्जा जमाइरहेको रहेछ ।

यसरी हाम्रो ‘अंशबन्डा’मा भाग खोज्नेहरुले हामीलाई देखेपछि ठानेछन्, ‘छापा मार्न आए । यिनीहरुको पछाडि पुलिस पनि हुनुपर्छ ।’ त्यही डरले उनीहरुले सटर तानेका रहेछन् ।

महको न्वरान

जगजाहेर नै छ, मदनकृष्ण दाइ र हरिवंश अर्थात मेरो नामको अघिल्लो अक्षर झिकेर त्यसलाई एक ठाउँमा मिसाएपछि ‘मह’ भएको हो ।

हामीलाई सबैले ‘मह जोडी’ भनेर चिन्छन् । मह भनेको मौरीको चाकाबाट निस्कने एक तरल पदार्थ पनि हो, जो निकै गुनिलो हुन्छ । रसिलो हुन्छ । राजाराम पौडेलले ख्यालख्यालैमा हामीलाई यस्तै विशेषणले सम्बोधन गर्दै न्वारान गरिदिएका थिए, ‘मह जोडी ।’

त्यसबेला हामी ‘विज्ञापन’ नामको नाटक देखाउँदै थियौं, मदनकृष्ण दाइ र मैले तयार गरेको । स्थान, राष्ट्रिय सभागृह ।

कार्यक्रम राजाराम पौडेलले सञ्चालन गरिरहेका थिए । उनले हामीलाई लक्षित गर्दै भने, ‘अब आउँदैछ, मह जोडी । मह जस्तै गुलियो …।’ त्यसपछि नै हो हामी, मह जोडीको रुपमा थप एकाकार भएको । त्यसयता मदनकृष्ण दाइसँग मैले साढे तीन दशकको समय बिताइसकेको छु ।

भर्खरै मात्र उहाँलाई पत्नी वियोगको चोट थपिएको छ । त्यसपछिको क्षण कति पीडादायी हुन्छ भन्ने कुरा मैले भोगिसकेको छु । त्यसैले अक्सर म उहाँसँगै हुन्छु । दिनमा एकपटक भेट हुन्छ । भेट नभएको बेला फोन हुन्छ । फोनमा दिनभरको हालखबर सोधपुछ हुन्छ ।

अब हामी नयाँ फिल्मको लागि तयारी गर्दैछौं । त्यसको स्क्रिप्ट लगभग तयार भइसकेको छ । अब छिटै छायांकन थाल्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment