Comments Add Comment

निर्माताले सेयर पाउन १ वर्षसम्म कुर्नुपर्ने स्थिति अन्त्य

नयाँ सहमतिबाट निर्माता कति फाइदामा ?

नेपाल चलचित्र निर्माता संघ र चलचित्र संघविच सोमबार १७ बुँदे सहमती भयो । झट्ट हेर्दा निर्माताहरु आफूले राखेको मागबाट पछाडि हटेजस्तो लाग्छ । सामाजिक संजालमा केही निर्माताको विरोधको आवाज सुनिएका छन् । तर, सम्पूर्ण बुँदाहरुलाई केलाउने हो भने निर्माता र हलवाला दुबै विन-विनको अवस्थामा देखिएका छन् ।

सहमतीमा मुख्यतया शेयर बाँडफाँडको बिषयलाई प्राथमिकतामा राखिएको छ । सहमतीको बुँदा नम्बर २ मा भनिएको छ-‘मल्टिप्लेक्स चलचित्र घरको शेयरको रकम प्रत्येक हप्तामा चलचित्र प्रदर्शन पश्चात वितरकले भ्याट बिल जारी गरेको दुई हप्ताभित्र अनिवार्य रुपमा भुक्तानी गर्नुपर्नेछ । सिंगल स्टेशनको हकमा चलचित्र उत्रेको दुई हप्ताभित्र भुक्तानी गर्नुपर्नेछ । यो अवधिभित्र भुक्तानी नभएमा संयुक्त कार्यदलले गरेको निर्णयअनुसार हर्जानासहित कारवाही गर्ने गराइनेछ ।’

यो बुँदा यदि पालना भएमा अब निर्माताले अब पैसाका लागि वितरकको पछि कुदिरहनु पर्दैन । चलचित्र ‘नाई नभन्नु ल’का निर्माता तथा निर्देशक विकासराज आचार्यले आफ्नो अनुभव सुनाउँदै भने-‘मैले मेरो चलचित्रको ४ वटै सिक्वेलको पैसा १ बर्षभन्दा अगाडि पाइनँ । काठमाडौंका मल्टिप्लेक्सबाट चलचित्र उत्रेको १ देखि २ महिनापछि पाएको छु । काठमाडौं बाहिर त ६ महिना देखि १ बर्ष नै लाग्यो ।’ विकासका अनुसार काठमाडौका गंगा र अष्टनारायण हलमा भने चलचित्र उत्रेको २ दिनमै उनले शेयर पाएका छन् ।

चलचित्रको कारोबार नगदमा हुन्छ । कारोबार नगदमा हुँदा पनि निर्माताले वितरकबाट आफ्नो शेयर पाउन ६ महिना देखि १ बर्षसम्म धाउनु पथ्र्यो । धाउँदा धाउँदा कति निर्माता त थकित नै हुने गरेका छन् । कतिपयले पैसाको माया मारिसकेका छन् । । यसैले विकास यो नयाँ सहमतीबाट खुशी छन् । उनले भने-‘यो दुबै संस्थाको हितमा छ ।’

निर्माता रोज राणाको अनुभव पनि यस्तै छ । चलचित्र निर्माता संघका महासचिवसमेत रहेका रोज भन्छन्-‘मैले त चाडै लिन्थेँ । तर, हाम्रो संघमा थुप्रै यस्ता निर्माताका उजुरी आएका छन् । निर्माताले चलचित्र उत्रेको १ बर्षसम्म पनि पैसा नपाएर रुनु परेको छ ।’ रोजले एकपटक त पैसा नपाएपछि गोपिकृष्ण हलमा पुगेर हंगामा नै गरेका थिए ।

रोजका अनुसार काठमाडौंको गोपिकृष्ण मुभिजको गोपि, गुण सिनेमाको क हलमा चलचित्र लगाउँदा सुरुमै निर्मातासँग ४०-६० को बार्गेनिङ हुन्थ्यो । अब यी हलले ५० प्रतिशत नदिई सुखै छैन ।

निर्देशक आकाश अधिकारीको अनुभव पनि यो बिषयमा तितो छ । उनले निर्देशन गरेको चलचित्र ‘कोहिनुर’को कतिपय हलबाट अझै पनि उनका निर्माताले शेयर पाएका छैनन् । आकाशले भने-‘चलचित्र ‘काठमाडौ’ को म आफै वितरक थिए । तर, यो चलचित्रको शेयर उठाउन मलाई ६ देखि ९ महिना लाग्यो ।’

अब, नयाँ सहमती भएसँगै निर्माताले रकमका लागि वितरकसँग हात जोड्नुपर्ने अवस्था आउने छैन । यसैले, अधिकांश निर्माताहरु यो सहमतीबाट खुशी देखिएका छन् । ३६ प्रतिशत ब्याजमा ऋण लिएर चलचित्र बनाउने धेरै निर्माता वितरकबाट पैसा नपाएर धाउँदा धाउँदै ऋणमा डुब्ने गरेका थिए । अब, चाडै नै रकम पाएर उनीहरुले ऋण तिर्न समेत पाउनेछन् ।

यस्तै, चलचित्र हलहरुले साना-साना खर्चको पनि रकम निर्माताबाट नै उठाउँदै आएका थिए । अब, त्यो रकम पनि निर्माताले तिर्नुपर्ने छैन । अर्कोतिर, हलमा ट्रेलर बजाएको, पोष्टर राखेको, स्ट्यान्डी राखेको पैसा समेत हलहरुले निर्माताबाट असुल्दै आएका थिए । अब, त्यो पनि रोकिएको छ । यो सहमतिपश्चात निर्माताले आफ्नो टिकटको रकम वृद्धि गर्न चाहे हलसँग सहमति गरेर बढाउन पनि सक्ने भएका छन् ।
यसरी हेर्दा, शेयर बाँडफाँडमा निर्माताहरु केही पछि परेको देखिएतापनि समष्टिगत रुपमा उनीहरुलाई फाइदा भएको छ ।

 

शेयर बाँडफाँडको बिषयमा निर्माता संघ पछि हटेको हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment