Comments Add Comment

द्रुतमार्गमा काटिएका रुख वन समूहलाई

१ जेठ, हेटौंडा । नेपाली सेनाले काठमाडौं-तराई मधेश द्रुतमार्गको ट्रयाक खोल्ने क्रममा कटान गरेको काठ तथा दाउरा समुदायमै हस्तान्तरण गर्न थालेको छ ।

सेनाले मार्गको क्षेत्राधिकारभित्र परेर कटान गरेको रुख तथा दाउरा सामुदायिक वनलाई हस्तान्तरण गर्न थालेको हो । फास्ट ट्रयाकको ट्रयाक निर्माणको जिम्मेवारी पाएको सेनाले मकवानपुर क्षेत्रमा रुख कटान र व्यवस्थापनको काम गरिरहेको छ ।

कटान र व्यवस्थापन सँगै सेनाले मकवानपुरको सामुदायिक वन क्षेत्रमा कटान भएका काठ तथा दाउरा सामुदायिक वनलाई हस्तान्तरण गरेको हो ।

सेनाले मकवानपुरगढी गाउँपालिका १-रानीवन सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा गरिएको कटान काठ र दाउरा सम्बन्धित वन उपभोक्ता समितिलाई हस्तान्तरण गरेको हो ।

मकवानपुरगढी १ लेनडाँडास्थित आयोजना सडक निर्माण कार्यदल वेसक्याम्प-३ का गणपति सुशिलकुमार कार्कीले सामुदायिक वन अध्यक्ष तथा पदाधिकारीहरुलाई काठ र दाउरा हस्तान्तरण गरे ।

सेनाले द्रुतमार्गमा पर्ने रानी सामुदायिक वनको रुखहरु तीन महिना लगाएर छपान, कटान गरेर जातेडाँडामा घादगद्दी गरेर राखेको थियो । सेनाले वन क्षेत्रमा एक हजार ६ सय २३ रुख कटान गरेको बताइएको छ ।

कटान गरिएको सालका ८ सय ८० गोलिया थानको ५ हजार ३ सय ११ क्युफिट, अन्य जातका १ सय ३७ गोलिया थानको १ हजार ४ सय ९० क्युफिट र दाउराको २० चट्टा रानी सामुदायिक वनका अध्यक्ष मानबहादुर भ्लोनलाई गणपति कार्कीले हस्तान्तरण गरेका हुन् ।

जिल्ला वन कार्यालय मकवानपुर जिल्ला वन अधिकृत प्रल्हाद धितालसहित स्थानीय जनप्रतिनिधीहरुको उपस्थितिमा सुरक्षित घाटगद्दी गरिएका काठ हस्तान्तरण गरिएको हो । हस्तान्तरणपछि वन अधिकृत धितालले नेपाली सेनाले द्रुतमार्गमा पर्ने रुख काटेर सुरक्षित साथ घादगद्दी गरेकोमा खुशी व्यक्त गरेका थिए ।

मार्ग निर्माणको क्रममा काटिएको एउटा रुखवापत २५ वटा रुख रोप्ने नीति रहेको बताए ।

जिल्ला वन कार्यालयका अनुसार द्रुतमार्ग मकवानपुरका १४ वटा सामुदायिक वन क्षेत्र भएर जाने छ । सामुदायिक वनले प्राप्त गर्ने आम्दानीको २५ प्रतिशत वन विकास, ३५ प्रतिशत गरिवीको रेखामुनी रहेका र बाँकी ४० प्रतिशत स्थानीय क्षेत्रको विकासमा खर्च गर्न पाउने प्रावधान रहेको छ ।

७६ किलोमिटर लामो द्रुतमार्ग ४ वर्षभित्र निर्माण सक्ने लक्ष्य सेनाले राखेको छ । सेनाले द्रुतमार्ग निर्माणलाई दश क्षेत्रमा विभाजन गरेर निर्माण गरिरहेको छ ।

ललितपुरको खोकना, चाल्नाखेल, मकवानपुरको इपा, गढी, छतिवन र लालगाउँ हुँदै बाराको निजगढ जोडिने द्रुतमार्ग काठमाडौंबाट एक घण्टामा पुग्न सकिने बताइएको छ ।


४ लेनको द्रुतमागको २३ किलोमिटर भाग पहाड र बाँकी तराईमा पर्छ । मार्गमा विभिन्न ९९ पुल र ६ वटा आकासे पुल हुनेछन् । मकवानपुरको एक खण्डमा डेढ किलोमिटरको सुरुङमार्ग समेत बन्नेछ ।

फाष्टट्रयाकमा पर्ने साना ठूला गरेर करिब १ लाख १४ हजार रुख कटान गर्नु पर्ने बताइएको छ । सेनाले ६ दशकयता सानाठूला गरेर २८ वटा सडक वनाएर सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

फाष्ट ट्रयाकमा रहने हरेक शिविरले ७/८ किलोमिटर सडक हेर्ने गरी व्यवस्थापन गरिएको सेनाले जनाएको छ । सेनावाट हुने काम सेनाले गर्ने र नहुने निर्माण कार्य सेनाकै निगरानीमा अनुभवी निर्माण कम्पनीले काम गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

काठमाडांैमा ४ दशमल ९, ललितपुरमा ७ दशमलव ९, मकवानपुरमा ५६ दशमलब ७ र बारामा ७ दशमलब ६ किलोमिटर गरी कुल ७६ दशमलब २ किलोमिटर लामो फाष्टटयाकमा बत्ती जडानलगायत अन्य कार्यहरु भइरहेका छन् ।

फास्ट ट्रयाक निर्माण गर्न सरकारले सेनालाई ४ बर्षभित्र निर्माण गर्न जिम्म्मा दिएको थियो । आयोजना सम्पन्न भएपछि यस क्षेत्रको आर्थिक, सामाजिक र व्यापारमा वृद्धि हुन्छ भने बाषिर्क १० अर्बको इन्धन वचत हुने आँकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment