Comments Add Comment

केपी ओलीलाई पत्र- आफूले गर्दा पूण्य, अरुले गर्दा पाप ?’

सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू, नमस्कार !

तपाईं प्रधानमन्त्री भएपछि तपाईंको नाममा यसअघि पनि एउटा पत्र लेखेकी थिएँ । बिषय थियो शेयर बजार सम्बन्धी । आज दोश्रो पत्र लेखेकी छु ।

छिमेकी देश भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बिषयलाई लिएर बिभिन्नस्तरमा बिभिन्नखाले क्रियाप्रतिक्रियाहरूको बाढी नै लागिरहेको छ । त्यही प्रसंगमा मैले पनि यस पत्रमार्फत तपाईं समक्ष आफ्नो विचार प्रेषित गरेकी छु ।

प्रधानमन्त्रीज्यू !

शक्तिशाली छिमेकी देशको शक्तिशाली प्रधानमन्त्रीको भ्रमणले तपाईंको लोकप्रियता शिखरतिर उकालो लाग्नु पर्ने हो । तर, तपाईं मान्नुस् नमान्नुस् मोदीको नेपाल भ्रमणले तपाईंको लोकप्रियता एकाएक ओह्रालो झरेको छ । देश दुनियाँलाई थाहा छ, तपाईं हिजो लोकप्रियताको शिखरमा मोदीजीकै कारणले पुग्नु भएको थियो । त्यतिमात्रै होइन, नेपाली इतिहासकै सर्वाधिक शक्तिशाली शासक पनि मोदीजीकै कारणले बन्नु भएको हो ।

भारतीय शासकहरूको ‘ठुल्दाइ प्रवृत्ति’को कारण नेपाली जनता भारतीय शासकहरूप्रति कहिल्यै सकारात्मक बन्न सकेका छैनन् । पछिल्लो पटक दुई वर्षअघि यिनै मोदीले मधेसलाई उचालेर नेपालमाथि नाकाबन्दी गरेपछि नेपाली जनता असन्तुष्ट मात्र होइन आक्रोशित बने । मोदीको अघोषित नाकाबन्दीविरूद्ध तपाईंले लिनुभएको अडान साँच्चै प्रसंशायोग्य थियो । नेपाली जनताले मुक्तकण्ठले तपाईंको प्रसंशा गरे । जनतामा नाकाबन्दीको कारण पैदा भएको आक्रोश तपाईंप्रति विश्वासमा रूपान्तर भयो । फलस्वरूप तपाईं इतिहासकै शक्तिशाली प्रधानमन्त्री बन्न पुग्नु भयो । मैले मोदीको कारण तपाईंको लोकप्रियता बढ्यो भन्नुको कारण यही हो ।

नाकाबन्दीको पीडा नेपाली जनताले बिर्सिसकेका थिएनन् । जनता चाहन्थे, मोदीले नेपाली जनतासामु माफी मागुन् । र, आइन्दा भूपरिवेष्ठित छिमेकीमाथि नाकाबन्दी नगर्ने बाचा गरुन् । भारतले हाम्रो आन्तरिक मामिलामा अनावश्यक चासो नदेखाओस्, हस्तक्षेप नगरोस् । सन् १९५० लगायत असमान सन्धिसम्झौताहरू खारेज गरोस् ।

यी सबै काम गराउन शक्तिशाली राष्ट्रवादी प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरुन् । तर, बिडम्बना, तपाईंले जनताले चाहेअनुसार एउटा पनि काम गर्न सक्नु भएन । बरू उल्टो कहिले चटके शैलीमा राजस्थानी पहिरन पहिरिएर जग हसाउनु भयो त कहिले हिजो आफ्नै पार्टीले राष्ट्रघात हुन्छ भनेर रोकेको अरूण-३ को छापामार शैलीमा संयुक्त शिलान्यास गरेर आफ्नै मन्त्रीपरिषदका मन्त्रीहरूलाई समेत चकित पार्नुभयो ।

प्रधानमन्त्रीज्यू !

अरूण-३ को शिलान्यास राष्ट्रघात हो भनेर म भन्दिनँ । तर, यति ठूलो र दीर्घकालीन महत्व राख्ने प्रोजेक्टको शिलान्यास गर्दा पर्याप्त गृहकार्य गर्नु पर्दैन ? यस्तो प्रोजेक्टको बारेमा जनतालाई सूचित गराउनु पर्दैन ? सुन्दैछु- ‘नेपाल सरकारले यो आयोजनाको लागि भारतीय कम्पनीलाई १० वर्षसम्म १०० प्रतिशत कर छुट दिने साथै, थप ५ वर्षसम्म भारतीय कम्पनीलाई ५० प्रतिशत कर छुट दिने । आयोजनामा काम गर्ने सबै जनशक्ति भारतीय कम्पनीले भारतबाटै ल्याउने, आयोजनाको लागि आवश्यक सम्पूर्ण सामाग्रीहरू भारतबाटै ल्याउने र त्यसको ५० प्रतिशत भन्सार छुट दिने ।’

के यो सत्य हो ? नेपाली जनता सत्य थाहा पाउन चाहन्छ । प्रधानमन्त्रीज्यू, यदि यो कुरा सत्य हो भने तपाईंले अरूण-३ शिलान्यास गरेर राष्ट्रघात नै गर्नु भएको हो । अन्यथा, यस्ता ‘बिग प्रोजेक्ट’ हरू राष्ट्रिय हितलाई शिरमा राखी निश्चित समयावधिको लागि उसैले सन्चालन गर्न पाउने गरी विदेशी कम्पनीहरूलाई बनाउन दिने प्रचलन छ ।

भूमण्डलीकृत विश्वमा एक्लो टापु बनेर बाँच्न नेपाललाई पनि सम्भव छैन । देश समृद्धिको यात्रामा बामे सर्न शुरू गरेको छ । समृद्धिको प्रथम पूर्वाधार भौतिक पूर्वाधारको निर्माण नै हो । जसको लागि विदेशी पुँजीको लगानी अपरिहार्य जस्तै छ । महादेशीय आकारका दुई शक्तिशाली छिमेकीहरू नेपालमा लगानी गर्न खुट्टा उचालेर बसेकै देखिन्छ । छिमेकीहरूको लगानी हामीले ल्याउनै पर्छ । तर आफ्नो राष्ट्रहितलाई शिरमा राखेर मात्र ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवाले मोदीलाई भेटेको र त्यसबेला घुँडा टेक्न गएको भनेको भन्दै प्रश्न गर्ने आज आफूले गर्दा पूण्य, अरुले गर्दा पाप ?

रिसानी माफ गर्नुहोला प्रधानमन्त्रीज्यू । प्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवाले मोदीलाई भेटेको र त्यसबेला घुँडा टेक्न गएको भनेको भन्दै प्रश्न गर्ने आज आफूले गर्दा पूण्य, अरुले गर्दा पाप ?

भारतसँगको सम्बन्ध ‘न संघर्ष, न समर्पण’ भन्दा बीपी कोइरालालाई हटाउन राजा महेन्द्रले भारतलाई चिठ्ठी लेखेका थिए, चाहे समृद्धिको सवालमा होस्, चाहे छिमेकीहरूसँग गरिने सम्बन्धको सवालमा । हिजो बाबुरामले बिप्पा गर्दै गर्दा बाह्र हात उफ्रेर बिरोध गर्नेको पंक्तिमा तपाईंको पार्टी पनि थियो । छिमेकीहरूसँग सन्तुलित र कुटनीतिक सम्बन्ध बनाउनु पर्छ भन्ने बाबुरामलाई र अन्य नेताहरुलाई राष्ट्रघाती भारतीय दलाल भन्दै नारा लगाउने तपाईंको पार्टी पनि थियो ।
आखिर आज प्रधानमन्त्रीको कुर्सीमा बसेर तपाईं पनि त त्यही गर्दै हुनुहुन्छ । त्यसैले प्रधानमन्त्रीज्यू, क्षणिक लोकप्रियताको लागि सत्यको गहिराइमा नपुगी सस्तो राजनीति नगर्दा नै राम्रो होला । तपाईं प्रष्ट हुनुहोला । कालोलाई कालो र सेतोलाई सेतो भन्ने एक सचेत नागरिक हुँ ।

प्रधानमन्त्रीज्यू ! मेरा थप केही असन्तुष्टि र आशंकाहरू पनि छन् । सायद यो मेरो मात्र होइन, अधिकांश नेपालीहरूको असन्तुष्टि र आशंका हो । नागरिक अभिनन्दनको क्रममा २ नम्बर प्रदेशको मुख्यमन्त्री लालबाबू राउतले नेपालको संविधान विभेदकारी भएकाले यसका बिरूद्धमा आफूहरू संघर्षमा रहेको कुरा गरेर खुलेआम हस्तक्षेपको लागि मोदीलाई गुहारे । के यो सैहृय कुरा हो ? त्यस्तै सम्बोधनको क्रममा राउतले ‘राज्यद्वारा मधेसीप्रति जारी विभेदकारी नीति र पूर्वाग्रह र विद्वेषपूर्ण मानसिकताका कारणले नै मधेसका मानिसहरू तुलनात्मक रूपमा अत्यधिक गरिबी, बेरोजगारी, अभावग्रस्त, शोषित एवं उत्पीडित जीवन जीउन विवश छन्,’ सम्म भन्न भ्याए ।

प्रधानमन्त्री ज्यू, सत्ता बाहिर हुँदा ‘भारतीय बिस्तारवाद’ सत्तामा गएपछि उसैको ‘चाकडी र आशिर्वाद’ भन्ने आरोपबाट तपाईं पनि अछुतो रहनुसक्नु भएन ।

यो कुन र कस्तो कुटनीति हो ? एउटा स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न देशको मुख्यमन्त्री जस्तो गरिमामय कुर्सीमा बसेको व्यक्तिले यस्तो अभिव्यक्ति दिन मिल्छ ? मुख्यमन्त्री कुनै व्यक्ति होइन, संस्था हो । लालबाबू राउतजी पनि कतै मधेस देशको नारा लगाउने बिखण्डनवादी सिके राउतकै लाइनमा त छैनन् ? गम्भीर शंका उब्जाएको छ । लालबाबूजी आबद्ध पार्टीले पनि अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । प्रधानमन्त्रीको हैसियतले केपी ओलीज्यूले पनि जनताले बुझ्ने भाषामा केही बोल्नु भएको छैन । के यसरी मौन रहनु मिल्छ ?

जनकपुरमा मोदीको अभिनन्दन चलिरहँदा मोदीको पार्टी भाजपाका सांसद कीर्ति आजादले जनकपुर भारतको थियो । अब भारतले फिर्ता लिनु पर्छ भनेर ट्वीट गर्नु, अभिनन्दन समारोहस्थलमा स्वतन्त्र मधेसको प्लेकार्ड प्रदर्शन र खुलेआम नारा घन्कदा सरकार बेखबर हुनुलाई के भनेर बुझ्ने जनताले ? के यो संयोग मात्र हो ? या मधेस बिखण्डनको गम्भीर षड्यन्त्र हो ?

प्रधानमन्त्रीज्यू ! निश्चय नै तपाईं पहिचानको मुद्दामा उदार हुनुहुन्न । तर तपाईंले चाहे पनि नचाहे पनि देश संघीयतामा गइसक्यो । सायद यही सत्यवोधका साथ तपाईं मधेस र मधेसीप्रति विगतमा बिगि्रएको सम्बन्धलाई सुधार्न मोदीजीको भ्रमण जनकपुरबाट गराउन तयार हुनु भयो । तपाईंको स्वागत मधेसी जनताहरूले दिल खोलेर नै गरे ।

केन्द्रीय राज्यसत्ता मधेसको मामलामा बिभेदकारी भएकै हो । यो सत्य स्वीकार गर्नै पर्छ । ढिलै भए पनि त्यो चेत तपाईंमा खुलेको देखिन्छ । हिमाल, पहाड, तराई-मधेस सबैलाई समान अधिकार, समान अवसर दिई साँच्चैको भावनात्मक एकता कायम गराउन स्वच्छ मनले लागि पर्नुस् प्रधानमन्त्रीज्यू । अवश्य तपाईंलाई सफलता मिल्ने छ ।

अन्तमा, सम्माननीय प्रधानमन्त्रीज्यू !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले तपाईंको राष्ट्रवादी छविमा प्रश्न उठाएको छ । सत्ता बाहिर हुँदा ‘भारतीय बिस्तारवाद’ सत्तामा गएपछि उसैको ‘चाकडी र आशिर्वाद’ भन्ने आरोपबाट तपाईं पनि अछुतो रहनुसक्नु भएन । पक्कै पनि झिनामसिना कामहरू धेरै भएका होलान् यस भ्रमणमा । तर इतिहास निर्माण झिनामसिना कामले हुँदैन । साहसिक निर्णयले मात्र हुन्छ । साहसिक निर्णय गर्ने अवसर अझै तपाईंसँग बाँकी छ । असमान सन्धिसम्झौताहरू खारेज गरी देशको हितानुकूल नयाँ सन्धिसम्झौताहरू गर्न सक्नुभयो भने साँच्चै तपाईं राष्ट्रवादी नेताको रूपमा युगौंयुग बाँच्नुहुने छ । अन्यथा तपाईंको पनि हालत उस्तै हुनेछ, जस्तो पहिलाका प्रधानमन्त्रीहरूको हुँदै आयो । रोजाई तपाईंको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
राधा पोखरेल

अनलाइनखबरमा नियमित स्तम्भ लेख्ने युवापुस्ताकी लेखिका राधा पाेखरेल सामाजिक-राजनीतिक विषयमा केन्द्रित रहेर विशेषतः नारी एवं बालबालिकाकाे पक्षमा कलम चलाउँछिन्

ट्रेन्डिङ

Advertisment