Comments Add Comment

एमाले संसदीय दलमा तीन शीर्ष नेतापछि सुवास नेम्वाङको वरियता

१ जेठ, काठमाडौं । नेकपा एमालेले पार्टी संगठन र संसदीय फाँटमा नेताहरुको बरियताक्रमको अलग अलग अभ्यास थालेको छ ।

पार्टी स्थायी कमिटीमा १६ औं नम्बरको बरियतामा रहेका सुवास नेम्वाङ संसदीय दलमा भने चौथो नम्बरमा रहेका छन् ।

एमाले संसदीय दलको बैठकको माइन्युटमा उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलभन्दा नेम्वाङ माथिल्लो बरियतामा छन् । पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली र बरिष्ठ नेताद्धय झलनाथ खनाल तथा माधव नेपालपछि सुवास नेम्वाङको बरियता कायम भएको छ ।

पार्टी र संसदीय फाँटको बरियता अलग अलग हुने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए । संसदीय फाँटमा दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक पदाधिकारी मानिने भएकाले पार्टी र दलको बरियताक्रम फरक फरक हुनसक्ने उनले प्रष्ट पारे ।

एमाले संसदीय दलको बरियतामा उपनेता नेम्वाङपछि उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव बिष्णु पौडेल, घनश्याम भुसाल, सचिवहरु प्रदिप ज्ञवाली, गोकर्ण विष्ट र योगेश भट्टराई छन् ।

त्यसपछि स्थायी कमिटी सदस्यहरु मुकुन्द न्यौपाने,सुरेन्द्र पाण्डे र छबिलाल विश्वकर्माको बरियता कायम गरिएको छ ।

स्थायी कमिटी सदस्यहरुपछि प्रमुख सचेतक खगराज अधिकारी र सचेतक शान्ता चौधरी १५ औं र १६ औं नम्बर बरियतामा छन् ।

बाँकी सांसदहरुको बरियताक्रम भने वर्णानुक्रम अनुसार राखिएको छ । एमालेका प्रतिनिधिसभामा १२१ र राष्ट्रियसभामा २७ सांसद छन् ।

एमाले संसदीय दलले नेताहरुको वरियताक्रम निर्धारण भएको औपचारिक रुपमा केही बोलेको छैन । तर, संसदीय दलको नेता र पूर्व प्रधानमन्त्रीहरुपछि दलको उपनेता तथा पूर्व सभामुखको हैसियतमा नेम्वाङको बरियता स्वतः निर्धारण हुने एक पदाधिकारीले बताए ।

एमालेले प्रतिनिधिसभाको सिट निर्धारण गर्दा पनि सोही अनुसार मिलाएको छ । पहिलो लहरमा क्रमशः झलनाथ खनाल, माधव नेपाल, बिष्णु पौडेल र सुवास नेम्वाङ बस्ने गरेका छन् । यसअघि ओली प्रधानमन्त्री हुनुपूर्व ओली,खनाल,नेपाल,ईश्वर पोखरेल र सुवास नेम्वाङ पहिलो लहरमा बस्ने गरेका थिए ।

संसद सचिवालयले नै पूर्वसभामुखलाई अघिल्लो लहरमा बस्ने व्यवस्था मिलाएको छ । माओवादीको पनि प्रचण्ड, देव गुरुङ, टोपवहादुर रायमाझी, हरिबोल गजुरेल र ओनसरी घर्ती पहिलो लहरमा बस्ने गरेका छन् ।

एमाले पार्टीमा भने ओलीपछि क्रमशः झलनाथ खनाल, माधव नेपालको बरियता तोकिएको छ । उपाध्यक्षहरु बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावलको बरियता निर्धारण गरिएको छ भने महासचिव ईश्वर पोखरेलपछि उपमहासचिव बिष्णु पौडेल र घनश्याम भुसालको बरियता छ ।

सचिवहरुमा क्रमशः प्रदिप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, गोकर्ण बिष्ट र योगेश भट्टराईको बरियताक्रम निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment