Comments Add Comment

उत्तर कोरियाद्वारा दक्षिणसँगको उच्चस्तरीय वार्ता रद्द

२ जेठ, काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरियासँगको उच्चस्तरीय वार्ता रद्द गरेको छ । दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासप्रति असन्तुष्टि जनाउँदै उत्तर कोरियाले वार्ता रद्द गरेको हो ।

उत्तर र दक्षिण कोरियाबीच पनमुनजोनमा आज वार्ता हुने तयारी थियो । उत्तर कोरियाको समाचार एजेन्सी केसीएनका अनुसार १२ जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच सिंगापुरमा तय भएको वार्ताको भविष्यमा पनि प्रश्न उठेको छ ।

केसीएनका अनुसार अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास ‘उक्साहट’ हो ।

अमेरिका र दक्षिण कोरियाले शुक्रबारबाट ‘मेक्स थन्डर’ नामक संयुक्त युद्ध अभ्यास सुरु गरेका थिए । बी–५२ बम वर्षक विमान र एफ–१५ जेट विमानसमेत करिब १ सय लडानु विमान अभ्यासमा छन् ।

सन् १९५३ मा भएको द्वीपक्षीय सम्झौताअनुसार अमेरिका र दक्षिण कोरियाले यस प्रकारको युद्ध अभ्यास गर्दै आएका छन् । तर उत्तर कोरियाले भने त्यसको विरोध गर्दै आएको छ ।

उत्तर कोरियाली नेता किम जोङ्ग उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनबीच हालै दक्षिण कोरियामा ऐतिहासिक वार्ता भएको थियो । वार्तामा कोरियाली प्रायद्वीपलाई परमाणु हतियार मुक्त गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार उत्तर कोरियाले आफ्नो परमाणु परीक्षणस्थल बन्द गरेको घोषणा गरिसकेको छ ।

उत्तर र दक्षिण कोरियाका नेताबीच सन् १९५३ मा भएको युद्धविरामलाई औपचारिक रुपमा यसै वर्ष शान्ति सन्धिको रुपमा बदल्ने तयारी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment