Comments Add Comment

मोरङमा जनप्रतिनिधिबाटै प्राकृतिक स्रोतको दोहन

गाउँपालिका अध्यक्ष र वडाध्यक्ष नै क्रसरका मालिक

२ जेठ, विराटनगर । प्राकृतिक स्रोत उत्खनन् तथा अनुगमन गर्ने अधिकार पाएका स्थानीय तहका जनप्रतिनिधिहरुले नै स्रोतको दोहन गर्न थालेका छन् ।

नियमन गर्ने अधिकार पाएका मोरङका जनप्रतिनिधिहरु आफैले क्रसर उद्योग संचालन गरेर स्रोतको अबैधानिक उत्खनन् गरेको पाइएको हो ।

मोरङको केराबारी गाउँपालिका अध्यक्ष र बिभिन्न वडाका अध्यक्षहरुले नै क्रसर उद्योग सञ्चालन गरिरहेका छन् ।

जनप्रतिनिधिहरु आफै लगानीकर्ता भएपनि उनीहरुलउनीहरुले कार्यपालिकाबाट आफूहरुलाई नोक्सान नहुने गरी निर्णय गराएर स्रोतको दोहन गरेका हुन् ।

करोडौंको स्रोत चोरी तस्करी गर्ने कार्यमा जनप्रतिनिधि आफैं जुटेको भन्दै स्थानीयले गुनासो गरेका छन् । ठेकेदारबाट प्रभावित भएर जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले समेत सुनुवाइ नगरेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्की पुराना क्रसर व्यवसायी हुन । त्यस्तै वडा नम्बर ३ का अध्यक्ष भक्त श्रेष्ठ, ८ का मनोज खड्का र १० का जंग खवास जनप्रतिनिधिहरु पनि क्रसर व्यवसायी हुन् ।

गाउँपालिकाका अध्यक्ष कार्कीको कृष्ण क्रसर, श्रेष्ठको शिब र वडाध्यक्षद्धयको महादेव क्रसर उद्योग रहेको छ ।

जनप्रतिनिधि हुनु अगावै क्रसर व्यवसायीका रुपमा रहेका थिए । उनीहरुको सोही गाउँपालिका क्षेत्र भित्र पर्ने खदम खोलामा क्रसर उद्योग रहेको छ ।

जनप्रतिनिधिहरुको आफै क्रसर उद्योगले मापदण्ड विपरीत चुरे तथा खोला क्षेत्रबाट व्यापक रुपमा नदिजन्य पदार्थ उत्खनन् गरी बिक्री गरिरहेका छन् ।

जिल्ला समन्वय समितिले तोकेको परिमाण भन्दा धेरै उत्खनन् गरेपछि स्थानीयले नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ६ महिनाअघि उजुरी दिएका थिए ।

उजुरी दिएपछि आएको छानविन टोलीले तीन गुणा बढी उत्खनन् गरेको प्रतिवेदन दिएपनि उनीहरुलाई कार्वाही हुन सकेको छैन । जनप्रतिनिधि भएको आधारमा उनीहरुले उन्मुक्ति पाएको स्थानीयको गुनासो छ ।

स्थानीय चुरे खदम संरक्षण समितिका अध्यक्ष बलबहादुर भुजेलले क्रसर उद्योगले जथाभावी रुपमा ढुगा गिट्टी उत्खनन् गर्दा खदम खोलाको अवस्था भयावह भइसकेको बताए ।

गाउँपालिका अध्यक्षले संचालन गरेको क्रसर उद्योग (रातो घेराभित्र)

‘हाम्रा जनप्रतिनिधि नै खोलाको स्रोत व्यापक दुरुपयोग गरी आर्जनमा लागेको देखिन्छ,उनले भने, ‘व्यापक रुपमा उत्खननको कार्य रोकिन सकेको छैन, जसले गर्दा पर्यावरणमा प्रतिकुल प्रभाव मात्र परेको छैन खोला किनारका दुवै बस्ती खेतियोग्य जमिन सुख्खाग्रस्त भएको छ ।’

बढदो उत्खनन् कार्य हुँदा खोला गहिरिएपछि पानीको लेवल तल झरेको र खोला छेकेर खेलमा सिँचाई गर्ने किसानहरुले अब पम्पबाट पानी तान्नुपर्ने अबस्था सिर्जना भएको उनले बताए ।

स्थानीयले जनप्रतिनिधिहरु जिम्मेवार रहेको भन्दै खदम खोलामा झिक्न मिल्ने ढुंगागिटि्ट नरहेको भन्दै तीन वटै क्रसर उद्योग बन्द गर्न माग समेत गर्दै आएका छन् ।

केराबारी गाउँपालिकाकी उपप्रमुख शान्तिकुमारी लिम्बुले क्रसर उद्योगहरुलाई नियन्त्रण गर्न पहल गरेपनि नसकेको बताइन् ।

उनले गाउँपालिकाका जनप्रतिनिधि उद्योग सञ्चालनमा संलग्न भएको अबस्थाले गर्दा मापदण्ड बिपरीत गरिएको ढुंगा गिट्टीको उत्खनन् नियन्त्रण गर्न आफूहरुलाई कठिन भएको जानकारी दिइन् ।

केराबारी गाउँपालिका अध्यक्ष रोहित कार्कीले भने केराबारी गाउँपालिकाले विकास निर्माणका लागि बाटो घाटोका लागि छुटाएको बजेट फि्रज हुने अबस्था पुगेकाले सडक ग्राभेल गर्नका लागि सदम खोलाबाट १६ हजार घनमिटिर ढुगां गिट्टी निकाल्ने काम गरेको बताए ।

उनले गाउँपालिकाको निर्णय अनुसार सो कार्य अघि बढाइएको दाबी गरे । जिल्ला विकास समितिले ठेक्का लगाएको ढुंगा, गिट्टी निकाल्ने काम पनि भइरहेकाले खोलाबाट धेरै परिणाममा निकालिएको जस्तो मात्र देखिएको उनको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment