Comments Add Comment

मलेसियाका सुधारवादी नेता अनवर माफी पाएर छुटे

२ जेठ, काठमाडौं । यौन उत्पीडनको आरोपमा जेलमा रहेका सुधारवादी मलेसियाली नेता अनवर इब्राहिम राजाबाट माफी पाएपछि बुधबार रिहा भएका छन् ।

गत हप्ता भएको निर्वाचनबाट पुरानो सरकार अपदस्त भई नयाँ सरकार बनेको अवस्थामा उनी क्वालालम्पुरस्थित अस्पतालबाट बाहरिएका हुन् ।

मलेसियामा अब अनवर उनका पहिलेका राजनीतिक दुश्मन र अहिलेका मित्र प्रधानमन्त्री महाथिरसँगै मिलेर कसरी अगाडि बढ्छन् र उनले सरकारमा कस्तो भूमिका निर्वाह गर्छन् भन्ने प्रश्न उब्जिएको छ ।

७० वर्षका अनवरले हस्पिटलबाट बाहिरिएपछि आफ्नो समर्थकलाई हात हल्लाएर अभिवादन गरे । कालो सुट र टाइमा सजिएका उनको कपाल राम्रोसँग कोरिएको थियो ।

राजदरबारमा राजा सुल्तान मुहम्मद पाचौंको दर्शनभेटको लागि जाने क्रममा उनी परिवारका सदस्य, कानू्न व्यवसायी र जेलका सुरक्षाकर्मीबाट घेरिएका थिए ।
समर्थकहरुले उनले दुई दशकअघि मलेसियाको विभिन्न जाति र संरक्षणमा आधारित राजनीतिलाई चुनौती दिन सुरु गरेको सुधारवादी आन्दोलनलाई ‘रिफर्मासी’ नाम लिँदै सडकमा नारा लगाएका थिए ।

अनवरले अप्राकृतिक यौन उत्पीडनको आरोपमा सुनाइएको ५ वर्षको सजायमध्ये तीन वर्ष जेलमा बिताइसकेका छन् । पूर्वप्रधानमन्त्री नजिब रज्जाकले उनलाई फसाउन यो आरोप लगाएको उनले दावी गर्दै आएका थिए ।

‘राजाले क्वालालाम्पुर, लाबुआन र पुर्तजायाको संघीय क्षेत्रको माफी बोर्डको सल्लाहअनुसार पूर्ण रुपमा माफी दिनुभएको छ र अनवर बिन इब्राहिमलाई तत्काल रिहाइ गर्न आदेश दिनुभएको छ’ दरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अनवर अस्पतालमा सुरक्षा घेराभित्र काँधको चोटको उपचार गराइरहेका थिए । ९० को दशकमा महाथिरको सहायकको रुपमा काम गरेका उनले पछि एसियाली वित्तिय संकटको समयमा मनमुटाव भएपछि महाथिरको साथ छोडेका थिए ।

उनलाई महाथिरको सत्ताधारी पार्टीले बर्खास्त गरेको थियो र त्यसपछि उनले महाथिरको सरकारलाई चुनौती दिँदै ‘रिफर्मासी’ आन्दोलन सुरु गरेका थिए । पछि, उनलाई अप्राकृतिक यौन उत्पीडन र भष्टाचारको आरोपमा पक्राउ गरेर जेल चलान गरिएको थियो ।

अनवरको सुनुवाइ सार्वजनिक तमासा भएको थियो, जहाँ एक मञ्चमा उनले दुई पुरुष सहयोगीसँग यौन सम्बन्ध राख्दा प्रयोग गरेको विर्य लतपतिएको म्याट्रेस भन्दै देखाइएको थियो ।

जेलबाट छुटिसकेपछि अनवरलाई सन् २०१५ फेरि यौन उत्पीडनको आरोपमै दोस्रोपटक पनि जेलमा राखिएको थियो । उनी र उनका समर्थकहरुले दुवै पटक उनीमाथिको आरोप राजनीतिक प्रतिशोधको कारणले लगाइएको बताएका थिए ।

‘धेरैले मलाई हाम्रो सुधारवादी आन्दोलनले पहिलेको त्यही तानाशाह महाथिर जसले मेरो पितालाई १९९८ मा बर्खास्त गर्‍यो र उनी पक्राउ परेको, उनीमाथि अत्याचार भएको हेरिरहृयो उसँग किन साँठगाँठ गरेको भनेर प्र्रश्न गर्ने गरेका छन्’ अनवरकी छोरी नुरुल इज्जाहले गार्डियन अखबारको एक लेखमा उल्लेख गरेकी छिन् ।

‘मेरो उत्तर सामान्य छ, हामी सबैले हाम्रो देशलाई फेरि पनि पहिलेजस्तै डुब्न दिनुहुँदैन र प्रधानमन्त्री मोहम्मदले अहिले सबै कुराहरु सुधार्नको लागि दुर्लभ मौका पाउनुभएको छ’ उनले लेखेकी छिन् ।

अनवरलाई ‘न्यायमा हुन सक्ने भूल’को आधारमा माफी दिइएको छ जसले उनलाई तत्कालै राजनीतिमा प्रवेश गर्ने बाटो मिलेको छ ।

एसियावान डटकमको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment