Comments Add Comment

हातमा कुचो र बाल्टिमा पानी लिएर सफा गर्न निस्किए मन्थलीवासी

 २ जेठ, रामेछाप । गत सोमबार राति परेको वर्षाले थुपारेको लेदो माटोले कुरुप बनेर सकड आसपासमा बस्नै नसकिने अवस्था भएपछि मन्थलीवासीहरु हातमा कुचो र पानीको बाल्टी लिएर सडकमा निस्के । फटाफट उनीहरु सफाइ गर्न थाले ।

मन्थली बजार माथिबाट खनिएका कच्चि सकडको माटो बगाएर बजारामा बाढी पस्दा ठूलो क्षति भएको थियो । बाढीले बसपार्क क्षेत्रका अधिकाँस घरहरु पुरेको थियो भने घर, होटल तथा पसलहरुमा बाढीको लेदोसहितको माटो पसेर ठूलो क्षति गराएको छ ।

मन्थली बजारको मुख्य बजार क्षेत्रमा पनि माथिबाट आएका खहरेहरुले माटो थुपारेपछि सोही माटोमाथि यातायात साधन गुड्दा मन्थली बजारको सडक धुलाम्य बन्न पुग्यो ।

मन्थलीवासीले साप्ताहिक रुपमा बढारेर सफा पारेको मन्थली बजार एकाएक माटोमा रंगमगियो । सडकमा उडेको धुलोले मान्छे नै नदेखिने अवस्था भएपछि बजारवासीहरु आफै सरसफाइमा जुटेका छन् ।

सोमाबारको पानीले अबरुद्ध भएको मन्थली बजार क्षेत्रको सडक सोही दिन अपरान्हतिर खोलिएको थियो । सोमबार पातलो सावारी चलेका र हिलो पनि नसुकेका कारण खासै धुलो उडेको थिएन । तर, मंगलबार बिहानदेखि घाम लागेर यातायात साधनको चाप बढेपछि मन्थली बजारमा उडेको धुलुलो बजार क्षेत्र अस्तव्यस्त बनेको थियो ।

धुलोको कारण मानिसहरु बिरामी नै पर्ने अवस्था सिर्जना भएको मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले बताए । उनले भने,’बजार क्षेत्रमा यस्तो धुलो उड्योकि बाहिर निस्कन सक्ने अवस्था नै भएन । एकदिनमै मानिसहरु विरामी परे ।’

सडक किनामार मात्र हैन सुत्ने बस्ने कोठा तथा भान्सामा समेत धुलो पसेको स्थानीय सुरेन्द्र के.सी.ले बताए । ‘बाहिर पसलमा बस्न नसकिने, मास्क लगाउँदा पनि मसिनो धुलो मुखभित्र छिरेर केही घण्टामा नै घाँटि दुख्ने, टाउको दुख्ने तथा आँखा दुख्ने समस्या भयो,’ स्थानीय व्यवसायी रीता ढुँगेलले भनिन् ।

सडमा सर्वसाधारण निस्कनै नसक्ने अवस्था आएपछि स्थानीय मन्थली नगरपालिकालाई सहयोगको लागि अनुरोध गरे । मन्थली नगरपालिकाल दमकल लगाएर मंगलबार दिउँसो एक पटक बजार क्षेत्रमा पानि पनि हाल्यो । तर, पानी सुक्ने वित्तिकै धुलोले बजारमा बस्न नसक्ने अवस्था भएपछि स्थानीयहरु बजार सफाइमा निस्किएका हुन् ।

बजार सफाइको लागि स्वतस्फुर्त रुपमा निस्किएका स्थानीयलाई मन्थलीको देवकोटा चोक टोलसुधार समितिलेले मास्क वितरण गरेको थियो ।

टोल सुधार समितिका संयोजक सुरेश उदासले भने,’घमा बस्नै नसक्ने अवस्था भए पछि टोलबासीहरु सल्लाह गरेर सरसफाइमा निस्किएका हौँ ।’ उनले यस अघि पनि समितिको पहलमा साप्ताहीक रुपमा बजारको सडक सफाई गर्ने गरेको भए पनि यस पटका भने ठूलो विपत आएकोले सरसफाईमा अलि बढि खट्नु परेको बताए । उनले एकैदिन यो सफाई सम्भव नहुने बताउँदै केही दिन लगातार सडक बढार्नु पर्ने बताए ।

घरबेटी, पसल तथा होटल व्यवासायी मात्र हैन भाडामा बस्ने मानिसहरु समेत बजार सफाइको लागि सडकमा निस्किएका थिए । बजार सफाइ गर्दै गरेका ज्ञानदास श्रेष्ठले भने, ‘यस्तो धुलो त कच्चि सडक हुँदा पनि उढेको थिएन । अहिले पिच सडक छ । गाडी दोडन्छन्, धुलो माथि गाडी दौडदा त बस्नै नसकिने, अनि सफाई गर्न ननिस्किएर के गर्नु ।’

जिल्ला समन्वय समितिदेखि देवकोटा चोकसम्मको बजार क्षेत्रमा मंगलबार साँझ नै स्थानीयहरुले सडक बढार्नुका साथै पखाले र सफा बनाएका छन् । त्यस्तै बुधबार बिहान देबकोटा चोकदेखि तामाकोसी अस्पतालसम्मका स्थानीले सडक सफाई गरेका छन् । ‘घर अगाडी उभिनै नहुने अवस्था आएपछि सफाइ गर्नै पर्‍योनि ।’ देकोटा चोकी तारा थापाले भनिन् ।

बाढीले पुर्‍याएको क्षतिको कुनै परवाह नगरी मन्थली बासीहरु स्वतस्फूर्त रुपमा बजार सफाइमा निस्किएका थिए । मन्थलीवासीको यो कार्यको सबैले प्रशंसा गरेका छन् । तर, अझै पनि सडक पूर्ण रुपमा सफा भएको छैन । त्यसैले सफाइलाई निरन्तरता दिन अझै जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment