Comments Add Comment

छापामा आजः नेपाली भूमिमा भारतीयका घरटहरा

स्वरुप बिग्रेको झण्डा प्रदेश सरकारले नभएर भारतीय दूतावासले राखेको खुलासा


३ जेठ, काठमाडौं । लामो समयदेखि एकता प्रक्रियामा रहेका एमाले–माओवादीबीच आज हुन लागेको एकतालाई राजधानीबाट प्रकाशित सबै राष्ट्रिय दैनिक पत्रिकाहरुले लेखेका छन् । दुई पार्टीबीच दूरी बढिरहेको भनिएका बेला बुधबार एमाले–माओवादीले पार्टी एकताको अन्तिम टुंगो लगाएका थिए । एकता प्रक्रियामा भएको ऐतिहासिक प्रगतिलाई पत्रिकाहरुले विभिन्न शीर्षक दिएर छापेका छन् ।

मकालु एयरको कार्गो विमान दुर्घटनालाई पनि आजका पत्रपत्रिकाहरुले ‘कभरेज’ गरेका छन् । सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको मकालु एयरको कार्गो विमान बुधबार बिहान हुम्लामा  दुर्घटना हुँदा चालक दलका दुई सदस्यको ज्यान गएको थियो ।

नेपाली युवा क्रिकेट स्पिनर सन्दीप लामिछाने विश्व–११ बाट लर्डसमा खेल्न छानिएका छन् । यो विषयलाई पनि आजका पत्रपत्रिकाहरुले महत्त्वका साथ छापेका छन् ।

यसका अतिरिक्त सर्वोच्च शिखर सगरमाथा चुचुरोमा २२ औं पटक पाइला टेक्दै कामीरिता शेर्पाले नयाँ विश्व कीर्तिमान कायम गरेको, चर्चित फिल्म निर्मातालगायत व्यक्तिहरु नक्कली नोट कारोबारको आरोपमा पक्राउलगायतका समाचारहरुले पनि आजको पत्रपत्रिकामा उत्तिकै स्थान र महत्त्व पाएका छन् ।

भारतीय दूताबासले राखेको थियो स्वरुप बिग्रिएको झण्डा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा जानकी मन्दिर परिसरको मञ्चमा स्वरुप बिग्रेको नेपालको झण्डा नेपाल प्रदेश सरकारले नभएर भारतीय राजदूतावासले राखेको खुलेको छ ।

नयाँ पत्रिका दैनिकका अनुसार भारतीय सुरक्षाकर्मीले मञ्चको दायाँ–बायाँ दुई देशका झण्डा राखेका थिए । जानकी मन्दिर प्रांगणमा रामायण सर्किटको शिलान्यास कार्यक्रमका लागि बनाइएको मञ्चको दक्षिणपट्टी भारतको र उत्तरपट्टी नेपालको झण्डा राखिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकी मन्दिर पुग्नु आघा घन्टाअघि दूतावासको कमान्डमा रहेका भारतीय सुरक्षाकर्मीले ती झण्डा राखेको नयाँ पत्रिका दैनिकमा खबर छ ।

नेपाली भूमिमा भारतीयका घरटहरा

भारतीय नागरिकले नेपाली भूमि कब्जा गरी घरटहरा बनाउन थालेका छन् । उनीहरुले आफूखुसी सार्वजनिक जगा घेरा हालेर सप्तरीमा खेती गरिरहेको कान्तिपुर दैनिकमा समाचार छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाअन्तर्गत कोसीको बीचमा रहेको गोबरगाढा टापुमा भारतीयले थुप्रै घरटहरा बनाएका छन् । केही वर्षयता बाढीको त्रासले स्थानीय विस्थापित भएको मौका छोपी भारतीय नागरिक नेपाली भूमिममा आएको समाचारमा उल्लेख छ ।

समाचार अनुसार गोबरगाढा बस्तीदेखि उत्तर र कोसी ब्यारेजको पश्चिमदेखि दक्षिणतर्फको टापु अतिक्रमणमा परेको छ ।

कामचोर ठेकेदार अब प्रहरी खोरमा


गृहमन्त्री रामबहादुर थापाले सडक, पुललगायत निर्माण ठेक्का लिएर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम गर्ने ठेकेदारलाई पक्राउ गर्न निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा बुधबार सरोकारवाला निकायसँग छलफल गरेपछि गृहमन्त्री थापाले समयमा काम सम्पन्न गर्न आलटाल गर्ने ठेकेदारलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रियामा ल्याउन निर्देशन दिएको नागरिक दैनिकमा खबर छ ।

समाचार अनुसार गृहमन्त्री थापाले प्रहरीलाई त्यस्ता ठकेदारको सूची तयार गर्नसमेत निर्देशन दिएका छन् ।

ओखरपौवाको ल्यान्डफिल्ड साइट भरियो, फोहोरको चपेटामा उपत्यका पर्न सक्ने


उपत्यकाको फोहोर विसर्जन गर्ने एउटै स्थल नुवाकोटको ओखरपौवा ल्यान्डफिल्ड साइट फोहोरले भरिएको छ ।

त्यस क्षेत्रमा अब फोहोर विसर्जन गर्न झण्डै नसकिने अवस्था सिर्जना भएको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले वैकल्पिक व्यवस्थाका लागि ओखरपौवाभन्दा दुई किलोमिचर नजिकैको बञ्चरेडाँडा चयन भए पनि सडक, ड्याम, रसायनलगायतका भौतिक व्यवस्थापन नहुँदा दुई महिनापछि काठमाडौं र ललितपुरको फोहोर नउठ्ने पक्कापक्की भएको बताए ।

ओलीको चीन भ्रमण तयारी, कम्तीमा ६ सम्झौता हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महिना गर्ने चीन भ्रमणका बेला दुई देशबीच कम्तीमा ६ वटा महत्त्वपूर्ण सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।

सम्झौता तथा समझदारीपत्रलाई अन्तिम रुप दिन परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति, उर्जा मन्त्रालयलगायतले काम गरिरहेका छन् ।

परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणक्रममा कम्तीमा ६ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ ।

पारवहन यातायात सम्झौताको प्रोटोकल, नेपाल–चीन खुला व्यापार सम्झौताका लागि संयुक्त सम्भाव्यता अध्ययनसम्बन्धी समझदारीपत्र, संयुक्त समन्वय तथा कार्यान्वयन संयन्त्रसम्बन्धी समझदारीपत्र, लगानी तथा उत्पादन क्षमतासम्बन्धी समझदारीपत्र, तेल भण्डारण सुविधा निर्माण गर्ने सम्बन्धी समझदारीपत्र र ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुन लागेको नागरिक दैनिकमा खबर छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment