Comments Add Comment

‘यसपाली मैदान बाहिर खेल्नेछु’

विश्वकपकै मुखमा घाइते ब्राजिलियन खेलाडीको कथा

जब मेरो घुँडामा दुखाइ महसुश भयो, मेरो आत्मा शरीरदेखि बाहिर निस्किए जस्तै लाग्यो । त्यही क्षण मैले बुझेको थिएँ, रसिया जाने विश्वकपको प्लेनमा मेरा लागि ठाउँ हुने छैन ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) का डाक्टरहरुले मलाई के भएको हो भन्ने थाहा पाउन केही परीक्षणको नतिजा पर्खनुपर्ने बताएका थिए । तर, त्यसैबेला मलाई मनमा लागेको थियो, सबै कुरा सकियो ।

सबैजना ट्रफीसँगै खुशीयाली मनाइरहेका थिए । यसैले मनमा लागे पनि कुनै नकारात्मक भावना साथीहरुको अगाडि देखिएला भनेर सचेत भएँ । यदि तपाइँ डानी अल्भेसलाई चिन्नुहुन्छ भने, ऊ सधैँ मस्त तालमा खुशी रहने मान्छे हो । त्यसैले त्यहाँ पनि म खुशी देखिन रमाइलो गर्न खोजिरहेको थिएँ । तर, सबैजनाले मेरो आँखामा हेरेर केही अप्ठ्यारो परेको छ भन्ने बुझेका थिए ।

त्यो बेला म एक्लै हुँदा एकपटक मात्र रोएँ । अनि एउटा कुरा तपाइँलाई भनिहालुँ, मेरो दुःखमा अरुले दुःख मानिदिउन्, रोइदिउन्, साथ दिउन् भन्ने कहिले पनि लाग्दैन ।

म आफ्नो सपना बाँचेको छु । डानी अल्भेस यो पटक विश्वकपमा जाने छैन । तर पनि, उही आफ्नै पुरानो पारामा खुशी रहने छ ।

म बालक हुँदा जसरी ब्राजिलले विश्वकप खेलेको हेर्थें, यसपटक ठीक त्यसरी नै हेर्नेछु । उही पुरानो खेतमा बसेर हेरेजस्तै गरी । फरक त्योबेला भन्दा अहिले मेरो टीभी अलि ठूलो छ ।

त्यो समय म माटोको ओछ्यानमा सुतेर हुर्किएको हो । बुवालाई खेतको काममा मद्दत गर्न म हरेक बिहान पाँच बजे उठ्थें । खेतमा बुवालाई काम सकाएर म १० किलोमिटर टाढा रहेको स्कूलमा पढ्न जान्थें ।

बेलायत, फ्रान्स, जर्मनी, त्यहाँ पनि मानिसहरु फुटबललाई माया गर्छन् । तर उनीहरु राम्रो फुटबल समर्थक मात्रै हुन् । उनीहरु भावनात्मक हुन्छन् र खेल हेर्छन् । ब्राजिलमा त्यस्तो होइन । हामी खेल हेर्ने मात्रै होइन । खेल्छौं नै । मैले भनेको तपाइँले बुझ्नुभयो होला, मैदान बाहिर भएर पनि हामी मैदानका ११ जनासँगै खेल्छौँ

म हुर्किएको बेलाको कुराहरु पढेर धेरैलाई लाग्न सक्छ, निकै दुःखमा हुर्किएको रहेछ । तर, अहँ होइन, म जसरी हुर्किएँ, त्यहाँ अरुको अवस्था त्यो भन्दा निकै नाजुक थियो । त्यो गाउँमा अरुभन्दा हाम्रो अवस्था अलि राम्रै थियो ।

मेरो बुवाको खेतबाट तरकारीहरु लगेर बेच्ने उद्यम थियो । त्यससँगै बुवाकै रक्सीहरु बेच्ने पसल पनि थियो । त्यसैले गाउँमै हाम्रो घरमा मात्र एउटा टेलिभिजन सेट थियो । एन्टेना घुमाएर हेर्नुपर्ने ७० औँ दशकतिरको पुरानो टीभी । त्यसमा स्टिलको एउटा एन्टेना थियो । बुवाले त्यही यताउति घुमाएर च्यानलहरु टिपाउनु हुन्थ्यो ।

त्यसमा दृश्य एकदमै नराम्रो हल्लिएको आउँथ्यो तर, पनि त्यसले राम्रै काम गर्थ्यो । बादल लागेको र पानी परेको दिनमा भने त्यसको काम थिएन ।

मेरो बुवालाई फुटबल असाध्यै मन पर्ने । फुटबलका लागि उहाँमा पागलपन थियो । यसैले त्यो सानो पुरानो टीभी उहाँका लागि निकै महत्व राख्थ्यो । त्यो टीभी भएकाले उहाँ आफूलाई त्यहाँको मेयर बराबर सोच्नुहुन्थ्यो ।

मलाई त्यो टीभीमा ०९४ को विश्वकप हेरेको याद छ । विश्वकै मध्यभागमा हाम्रो घर भएजस्तै पूरा देश एक महिनाको लागि अरु सबै छाडेर फुटबलमा हुन्थ्यो । हाम्रोतिर फुटबल हेर्नका लागि त्यस्तो कुनै ठाउँ थिएन । सबैसँग टीभी पनि थिएन । यसैले हाम्रो घर सानोतिनो स्टेडियम जस्तै लाग्थ्यो ।

गाउँका सबै मान्छे हाम्रै घरमा आउँथे । साँच्चै सबै जस्तै मान्छे विश्वकप चल्दा हाम्रै घरमा हुन्थे । सोच्नुस् त, ५० जनाभन्दा बढी मान्छे त्यो सानो टीभीमा फुटबल हेरिरहेका छन् । चिच्याएका छन्, कराएका छन्, पार्टी मनाएका छन् ।

अर्को रमाइलो कुरा के भने विश्वकपका बेला ब्राजिलमा सबैजसो तन्नेरीहरु सडकमा पहेँलो, निलो र हरियो रंग लिएर खेलाडीको चित्र बनाइरहेका हुन्छन् । तपाइँले सुन्नुभएको पनि यस्तै हो । तर, हाम्रोमा चित्र बनाउनका लागि त्यस्तो सडक नै थिएन । हामी गाईको ढाडमा चित्र बनाउँथ्यौं ।

खेल हेरिरहँदा हाम्रो घरमा पार्टी चल्थ्यो । सबैसँग सानो सानो प्लास्टिकको ब्राजिलियन झण्डा हुन्थ्यो । ०९४ को विश्वकपमा यही नै हाम्रो घरमा देखिने दृश्य हो ।

जब खेल सुरु हुन्थ्यो, हामी घरमा बसेर टीभीमा हेरिरहेको होइन, मैदानमै छौं जस्तो हुन्थ्यो । बेलायत, फ्रान्स, जर्मनी, त्यहाँ पनि मानिसहरु फुटबललाई माया गर्छन् । तर उनीहरु राम्रो फुटबल समर्थक मात्रै हुन् । उनीहरु भावनात्मक हुन्छन् र खेल हेर्छन् ।

ब्राजिलमा त्यस्तो होइन । हामी खेल हेर्ने मात्रै होइन । खेल्छौं नै । मैले भनेको तपाइँले बुझ्नुभयो होला, मैदान बाहिर भएर पनि हामी मैदानका ११ जनासँगै खेल्छौँ ।

यस्तो भिन्नता मैले आफू १० वर्षको हुँदा बुझेको हुँ । जतिबेला काफु र रोमारियो खेलेको टीभीमा हेरेको थिएँ । उनीहरुले बल विपक्षीको पोस्टमा आक्रमण गर्दा हामी पनि आक्रमण गरिरहेका हुन्थ्यौँ । उनीहरुले बल रोक्दा हामी पनि रोकिरहेका हुन्थ्यौं । ‘फिङ्गर क्रस’ गरेर बसिरहेका हुन्थ्यौं । हामी असिनपसिन भएर तनावमा हुन्थ्यौँ । साँच्चै मैदानमै भए जस्तो ।

खेल हेरिरहँदा म निकै नर्भस हुन्छु । यसै बसेर हेरिरहन सक्दिन । अहिलेसम्म पनि त्यस्तै छु । यसैले त्यो बेला म खेतमा हाल्ने औषधिको पुरानो टिनहरु ल्याएर एउटामा बस्ने र अर्को बजाउने गर्थें । त्यसकै तालमा अरुहरु गीत गाउँथे ।

विश्वकप अर्को दुनियाँबाट चल्ने केही चिज जस्तो लाग्छ । त्यो चल्दा अरु सबै कुरा रोकिन्छन् । पूरा देश एक ठाउँमा आउँछ । त्यो समय सबै एकअर्कासँग अभिन्न भएर बाँचेका हुन्छन् ।

मलाई विश्वास छ, यसपटक ब्राजिलले विश्वकप जित्नेछ । हामीसँग त्यो खुबी र त्यस्ता सुपरस्टार पनि छन् । अर्को महत्वपूर्ण कुरा हाम्रा खेलाडीबीच राम्रो तालमेल छ

ब्राजिलमा उचनिचको विभेद छ । तर, विश्वकपको समय त्यस्तो विभेद रहँदैन । उपल्लो भनिने र तल्लो भनिने सबै एकै स्थानमा उस्तै परिस्थितिमा फुटबलको मजा लिन्छन् ।

एक महिनाको लागि सबै शरीरमा त्यही पहेँलो जर्सी हुन्छ । सबै जना उस्तै देखिन्छन् । यो मैले ०९४ को विश्वकपमा पहिलो पटक अनुभव गरेको कुरा हो । त्यसबेला नै मलाई लागेको थियो, म पनि रोमारियो जस्तै जीवन बाँच्छु, टीभीमा म पनि देखिन्छु, त्यही पहेंलो जर्सीमा ब्राजिलका लागि खेल्नेछु ।

म १८ वर्षको हुँदादेखि त्यो सपनामा बाँच्न पाएँ । वास्तवमै त्यो पहेँलो जर्सी लगाउन पाएँ । तर, यसपटक म देशका बाँकी समर्थकसँगै मैदान बाहिर रहेर खेल्नेछु ।

मलाई विश्वास छ, यसपटक ब्राजिलले विश्वकप जित्नेछ । हामीसँग त्यो खुबी र त्यस्ता सुपरस्टार पनि छन् । अर्को महत्वपूर्ण कुरा हाम्रा खेलाडीबीच राम्रो तालमेल छ ।

टिटे प्रशिक्षक भएदेखि उनले टिममा राम्रो माहोल बनाउन धेरै काम गरेका छन् । त्यसमा उनी सक्षम पनि भएका छन् । उनले खेलाडीलाई बुझाएका छन्, एक्लै खेलेर केही पनि हुँदैन । हामी एक टिम हौं, टिमकै रुपमा बलियो बनेर खेल्दा जित्ने छौं ।

म ब्राजिलको राष्ट्रिय टिममा १२ वर्षसम्म रहेँ । यसपटक सबै रुपमा ब्राजिलको टिम निकै बलियो लागेको छ । संगठन, संरचना, विचार र अरु सबै कुरामा पनि टिम मजबुत बनेको छ ।

टिममा पुराना र नयाँ खेलाडीको राम्रो मेलमिलाप भएको छ । जिसस र कोटिन्होजस्ता उम्दा युवा खेलाडीसँगै गएको विश्वकपमा दुःखद स्थितिको सामना गरेकाहरु पनि छन् । उनीहरु त्यो अवस्था बिर्साएर ब्राजिलमा विश्वकप ल्याउन लाग्ने छन् ।

म आफूलाई ‘भेट्रान’ खेलाडी भन्न रुचाउँदिन । तपाइँले पनि देख्नुभएको होला, मेरो मनस्थिति १३ वर्षको केटाको जस्तै छ । कसलाई थाहा छ र ! म सन् २०२२ को विश्वकपमा पनि टिममा पर्नका लागि मेहनत गरिरहेको हुन सक्छु । त्यो बेला उमेरले म ३९ वर्षको पुग्नेछु, तर मेरो यही ऊर्जाले त्यो समय म बल्ल १७ को हुनेछु ।

मैले मेरो टिमका साथीहरुलाई पटक पटक सुनाएको एउटा कुरा तपाइँलाई पनि सुनाउँछु ।

ब्राजिलले विश्वकप जितेमा, म चिच्याउने छैन । सत्य भनेको, डानि एल्भेसको मुखबाट एक शब्द पनि निस्कने छैन । म केही पनि बोल्ने छैन तर रोइरहेको हुनेछु

जब हामी बार्सिलोनाबाट सन् २०१५ को च्याम्पियन्स लिगमा थियौं, धेरै मानिसले हाम्रो क्षमतामा शंका गरेका थिए । त्यो बेला खेलाडीको रुपमा टिमका सबैमा एक-अर्काप्रति हामी सक्छौं भन्ने विश्वास भने थियो ।

जब हामीले फाइनलमा युभेन्टसलाई हरायौं, अन्तिम सिटी बज्नेवित्तिकै म सिधैँ बार्सिलोनामै रहेका ब्राजिलियन खेलाडी एर्डियानो भएको ठाउँमा दौडिएर गएँ । मैले उसलाई हेरेँ, उसले मलाई हेर्‍यो । अनि हामी चिच्याउन थाल्यौँ । साँच्चै नै चिच्याउनुबाहेक अरु के गर्ने हामीलाई थाहा थिएन । अर्कै खुशी मिलेको थियो ।

उम्… पछि टीभीमा त्यो फुटेज हेर्दा भने ‘के गरेको होला मैले’ जस्तै लागेको थियो । त्यो एकदम हाँस्यास्पद लागेको थियो । तर, हामीले त्यो समय त्यो बाहेक अर्को केही गर्न सकेनौं । त्यो यस्तो पुरानो आवेशबाट बाहिरिएको समय थियो, जुन म बुझाउनै सक्दिनँ ।

त्यो समय कस्तो लाग्छ त ? लाग्छ हामी बच्चा जस्तै हौँ । जस्तो कि एक शब्द पनि बोल्न सक्ने स्थिति छैन । मात्र चिच्याउन सकिन्छ ।

यदि यसपटक ब्राजिलले विश्वकप जितेमा, म चिच्याउने छैन । सत्य भनेको, डानि एल्भेसको मुखबाट एक शब्द पनि निस्कने छैन । म केही पनि बोल्ने छैन तर रोइरहेको हुनेछु ।

(डानि अल्भेस फ्रेन्च क्लब पीएसजीमा रहेका ब्राजिलियन खेलाडी हुन् । रसिया विश्वकप आउनै लाग्दा उनलाई लागेको चोटका कारण ब्राजिलको टोलीमा पर्न सकेनन् । यसैमा आधारित रहेर प्लेयर्स ट्रिब्युनमा उनले लेखेको लेखको भावानुवाद नेपालीमा गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment