Comments Add Comment

के अझै बढ्ला अमेरिकी डलरको भाउ ?

३ जेठ, काठमाडौं । केहि दिन यता नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ उच्च मात्रामा बढ्दै गएको छ । अमेरिकन मुद्राको तुलनामा भारतीय मुद्राको भाउ घटेपछि यसको सीधा असर नेपाली मुद्रामा पनि परेको हो ।

भारतीय मुद्रासँग कायम भएको स्थिर बिनिमय दर (पेग्ड) का कारण नेपाली  मुद्राको भाउ खस्किदै गएको हो । बुधबार नेपाल राष्ट्र बैंकले  प्रतिअमेरिकी डलर १०९ रुपैयाँ २२ पैसा बिक्रीदर र १ सय ८.६२ पैसा खरिद दर तोकेको छ ।

भारतीय अर्थतन्त्रको तुलनामा अमेरिकी अर्थतन्त्र मजबुत हुँदै गएपछि पछिल्लो समय डलरको भाउ बढ्दै गएको हो । साथै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण पनि अमेरिकी डलरको भाउलाई बढाएको छ ।

यसअघि २०७२ सालमा अमेरिकी डलरको भाउ १०९ रुपैयाँ ४८ पैसासम्म पुगेको थियो । अहिले फेरि डलरको भाउ उच्च बिन्दु नजिक आइपुगेको छ ।

पुस मध्यतिर  १०२ रुपैयाँ बिक्रीदर रहेको डलर माघ मध्यतिरदेखि बढ्न सुरु गरेको हो । १८ माघमा प्रतिडलर १ सय ४ रुपैयाँ कायम रहेको डलरको भाउ २२ वैशाखमा १०७ पुगेको थियो । बुधबार १०८.६२ रुपैयाँ पुगेको छ ।

२०१६ जनवरीमा पनि यसको भाउ आकासिएको थियो । त्यसबेला राष्ट्र बैंकले बिक्रीदर प्रतिअमेरिकी डलर १०९.१४ र  खरिद दर १०८.५४ रुपैयाँ कायम गरेको थियो ।

अमेरिकी अर्थतन्त्र मजबुत बन्दा भारतीय मुद्रा कमजोर

भारतको तुलनामा अमेरिकाको आर्थिक वृद्धि उच्च हुँदा भारतीय मुद्राको तुलनामा डलरको भाउ बढेको राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।

पछिल्लो समय अमेरिकी सरकारले कर्पोरेट कर घटाएको छ । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि  कर्पोरेट कर ३५ बाट २१ प्रतिशतमा झारिएको छ । कर घटेसँगै विदेशमा लगानी गरेका अमेरिकी व्यवसायीहरु स्वदेशमा फर्किएका छन् ।

भारतमा लगानी गरिरहेका कैयन अमेरिकी लगानीकर्ताहरु समेत कर्पोरेट कर घटेसँगै अमेरीका फर्किएका छन् । भारतको सम्पत्ति बेचेर अमेरिका फर्कने क्रम बढेसँगै यसले भारतीय अर्थतन्त्रलाई केही नकारात्मक असर पारेको छ ।

अमेरिकाले पूर्वाधारमा लगानी बढाएको छ र यसमा निजी लगानीकर्ताको लगानी पनि बढेको छ । लगानी वृद्धिले अमेरिकी अर्थतन्त्र झनै मजबुत बनाएको छ । हालै मात्रै अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको एक रिपोर्टमा पनि अमेरिकाको आर्थिक बृद्धिदर राम्रो भएको उल्लेख गरिएको छ ।

गत डिसेम्बरमा अमेरिकाको आर्थिक बृद्धि २.५ प्रतिशतले हुने अनुमान गरिएको थियो । तर, अहिले २.७ प्रतिशतले पुग्ने आंकलन गरिएको छ । त्यस्तै बेरोजगारी दर पनि ४.१ प्रतिशत मात्रै छ । जुन सन् २००० यताकै न्यून हो । देशको अर्थतन्त्र बलियो बनेसँगै अमेरिकी मुद्राको भाउ पनि बढेको छ ।

अमेरिकी मुद्राको भाउ बढ्नुको अर्को कारण हो, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल मूल्य ।

अहिले कच्चा तेलको भाउ बढेको छ र यसको सीधा असर भने भारतीय अर्थतन्त्रमा परेको छ । किनकी भारत तेल आयात गर्ने राष्ट्र हो । उसले आयातित तेलको भुक्तान डलरमा गर्ने गर्छ  । डलरको भाउ बढेका कारण भारतमा आयातित वस्तुको बिल बढिरहेको छ । भारतले तेलसँगै अन्य आयातित बस्तुको भुक्तान डलरमा गर्ने गर्छ । अहिले भारतको सोधानान्तर स्थिति त्यति राम्रो छैन, जसका कारण अमेरिकी डलरको तुलनामा भारतीय मुद्राको भाउ घटिरहेको छ ।

कच्चा तेलको मूल्य बढेसँगै अन्तर्राष्ट्रिय बजारमा डलरको माग झनै बढेको छ । यसले पनि डलरको मूल्य बढाउन सहयोग पुर्‍याएको राष्ट्र बैंक, अनुसन्धान विभागका कार्यकारी निर्देशक थापा बताउँछन् ।

डलरको भाउ बढ्दा नेपालमा पनि आयातित सामानको मूल्य बढ्छ ।

तर, डलरको भाउ बढ्दा नेपाललाई नकारात्मक असर मात्रै होइन, सकारात्मक प्रभाव पनि पार्छ  । विदेशमा रहेका नेपाली कामदारहरुले रेमिट्यान्स डलरमा पठाउँछन् । डलरको भाउ बढ्दा रेमिट्यान्समा पनि केहि बृद्धि हुन्छ । त्यस्तै डलरको भाउ बढेसँगै पर्यटन क्षेत्र पनि राम्रो हुनेछ । नेपालमा आउने विदेशी पर्यटकले डलर बोकेर आउँछन् र खर्च गरेर जान्छन् ।

कच्चा तेलको मूल्यमा निर्भर हुनेछ डलरको भाउ

राष्ट्र बैंकको बिदेशी बिनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगाना अब डलरको भाउ बढ्ने वा घट्ने भन्ने कच्चा तेलको मूल्यमा भर पर्ने बताउँछन् ।

केहि दिन यतादेखि निरन्तर बढीरहेको कच्चा तेलको भाउ बुधबार भने केहि स्थिर देखिएको छ । ढुंगाना भन्छन्, ‘तेलको भाउ स्थिर देखिएका कारण तत्काल भाउ नबढ्ने देखिएपनि घट्ने सम्भावना भने छैन ।’

विश्व बजारमा अधिकांश ठाउँमा डलरबाटै कारोबार हुनेगर्छ । जसका कारण यसको माग कम हुने स्थिति छैन । माग कम नहुनु भनेको पनि मूल्य स्थिर रहनु हो ।

कच्चा तेलको भाउ अहिले ४ वर्ष यताकै उच्च भएको छ । अन्तर्राष्ट्रिय बजारमा अहिले कच्चा तेलको भाउ प्रतिब्यारेल ७७.७९ पुगेको छ । तेल उत्पादकहरुको छाता संगठन ओपेकले कच्चा तेलको उत्पादन घटाएसँगै यसको भाउ बढेको हो ।

सन् २०१५ मा तेलको भाउ प्रतिब्यारेल ५० डलरभन्दा तल ओर्लिएको थियो । यसरी तेलको भाउ घटेपछि तेल उत्पादक राष्ट्रहरुको अर्थतन्त्र नै जोखिममा पर्‍यो ।

यसपछि अर्थतन्त्र बचाउन ओपेकमा संलग्न राष्ट्रहरु र रसिया २०१६ मा तेलको भाउ घटाउन सहमत भए । ०१६ मा यस्तो सम्झौता भएपनि २०१७ को जुलाईबाट मात्रै कच्चा तेलको भाउ बढ्न सुरु गर्‍यो । यसपछि भने कच्चा तेलको भाउ निरन्तर बढिरहेको छ र डलरको मूल्य पनि आकासिँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment