सोमबार, ७ जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

हुण्डीले यसरी फैलाउँदैछ छायाँ अर्थतन्त्र

Suzuki
राम प्रसाद रेग्मी

साढे ३३ किलो सुन तस्करी काण्डसँग जोडेर करोडौं रुपैयाँ मूल्य बराबरको सुन चोरी-पैठारी भएर नेपाल आउने विषय छरपष्ट भएको छ । विभिन्न समयमा अवैध हतियार र लागुऔषध पनि बरामद हुने गरेका छन् । यस्ता अवैध कारोबारसँगै वैध कारोबारमा पनि भन्सारबाट न्यून विजकीकरणमार्फत् वस्तु भित्रिरहेका र त्यसबाट अपेक्षित राजश्व असुल नभएको कुरा छर्लङ्गै छ ।

नेपालबाट पूँजी पलायन भएर विदेश जाने, त्यहाँ काम गरेर आर्जन गरेको सम्पत्ति पनि वैधानिक बाटोबाट नेपाल नआउने र विदेशी मुद्राको सरकारी खाता (विप्रेषण खाता) सदैव घाटामा रहेको कुरा पनि हामीले लामो समयदेखि सुन्दै आएका छौं ।

आखिर यो कसरी हुन्छ ? तस्करीका सुनदेखि अवैध हातहतियार र लागुपदार्थको मूल्यको भुक्तानी विदेशमा कसरी हुन्छ ? नेपालका उद्योग/व्यापार सधैं घाटामा गएको देखिने तर तिनै औद्योगिक घरानाका विदेशमा ठूला उद्योग/कम्पनी संचालनमा रहने, यो कसरी संभव छ ?

व्यवसायीले गर्ने न्यून बिजकीकरण र नाफाका लागि सरकारी निकायले गर्ने अधिक बिजकीकरणको भुक्तानी र हिसाब मिलान कसरी हुन्छ ? प्राकृतिक स्रोतसाधन (जंगल, जडीबुटी, गिट्टी, ढुंगा, बालुवा आदि) को भुक्तानी कसरी प्राप्त हुन्छ ? विदेशी कामदारले पठाएको पैसा फोन गर्न नपाउँदै घरमै नगदमा भुक्तानी प्राप्त हुने रकमको अभिलेख र विदेशी मुद्रा सरकारी खातामा किन आउँदैन ? यी तमाम प्रश्नको जवाफ एउटै छ-नेपालमा दिनानुदिन हुण्डीको कारोबार फस्टाइरहेको छ ।

हुण्डी के हो ? यसबारेमा अनेक व्याख्या सुनिन्छ । हुण्डीमा बैंकको प्रयोग हुँदैन र नेपाली रुपैयाँमा कारोबार भएको रकमलाई कसरी हुण्डी भन्ने ? सहकारीबाट निकालेको रकम कसरी हुण्डी हुन्छ ? हाम्रा कानून व्यवसायी र न्यायिक निकायले पनि यसैगरी प्रश्न गर्छन् ।

अनि हाम्रा कानूनले पनि स्पष्ट रुपमा हुण्डीको परिभाषा नगरेको र वि.सं. २०१९ सालमा तत्कालिन परिस्थितिअनुसार निर्माण भएको विदेशी विनिमय (नियमित गर्ने) ऐन- २०१९ अनुसार हुण्डीसम्बन्धी अपराधलाई पनि जबर्जस्ती अनुसन्धान र अभियोजन गर्ने गरिएको वर्तमान परिस्थितिमा यसको फाइदा उठाउँदै सम्पूर्ण छायाँ अर्थतन्त्र (स्याडो इकोनोमी) हुण्डीकै माध्यमबाट फस्टाएको पाइन्छ ।

चुहावटका कारण मुलुकलाई प्राप्त हुनुपर्ने राजस्व प्राप्त नहुनुमा पनि हुण्डीले नै सहयोग पुर्‍याइरहेको देखिन्छ । तसर्थ हुण्डीको स्पष्ट अवधारणा बुझ्न केही उदाहरण हेर्नु उपयुक्त हुन्छ ।

  • कोरीयामा काम गर्ने कुनै कामदारले नेपालमा आफन्तलाई पैसा पठाइदिएको जानकारी दिन फोन गर्छ । त्यसका लागि उसले कुनै सम्पर्क नम्बर वा कोड दिन्छ । त्यसको ५ मिनेट नभइ उक्त सम्पर्क नम्बर वा कोडबाट नेपालमा भुक्तानी प्राप्त हुन्छ । भुक्तानी नगद चेक वा बैंक खातामा जे पनि हुन सक्छ ।
  • अष्ट्रेलियामा पढ्ने विद्यार्थीलाई रकम पठाउन अभिभावकले यहाँ कुनै मान्छेसँग सम्पर्क गरी रकम हस्तान्तरण गर्छ । त्यसको केही क्षणमै त्यहाँ रकम भुक्तानी हुन्छ ।
  • हङकङमा बसाइँ सरेको पूर्वलाहुरेले घर बेचेको पैसा नेपालमा कसैलाई भुक्तानी गर्नासाथ त्यहाँको बैंक खातामा जम्मा भएको पाउँछ ।
  • मलेसियामा काम गर्ने कर्मचारीले आफूले भुक्तानी लिनुपर्ने तलब भुक्तानी लिनु पर्ने समय आउन नपाउँदै यहाँ कुनै अर्कै व्यक्तिले नेपाली मुद्रामा घरमै भुक्तानी गरिदिन्छ ।

यी हुण्डीको कारोबार गर्ने तरिकाका एक-दुई वटा उदाहरणमात्र हुन् । यस्ता धेरै प्रक्रिया र माध्यम हुन सक्छन् । तर, यथार्थ नेपालभित्र हुण्डीको कारोबार नेपाली रुपैयाँमा नै हुन्छ र यसमा नेपालकै बैंक र सहकारी आदिको सहयोग हुन्छ ।

हुण्डीमा विदेशबाट नेपाल आउनुपर्ने रकम नेपाल आएको र नेपालबाट विदेश जानुपर्ने रकम विदेश गएको दुवै हुन्छ । तर, यी सबै कारोबार राष्ट्रिय तथ्यांक वा राज्यको जानकारीभन्दा बाहिर हुन्छ । राज्यलाई प्राप्त हुनुपर्ने विदेशी मुद्रा छायाँ अर्थतन्त्र वा गलत क्रियाकलापमा प्रयोग हुन्छ र यसबाट अवैध गतिविधि, आर्थिक अपराध र अन्य अपराधिक गतिविधिले प्रोत्साहन पाउँछन् ।

तस्करी भएर आउने त्यति ठूलो परिमाणको सुनको भुक्तानी विदेशमा यही हुण्डीको माध्यमबाट बाहेक अन्य कुनै तरिकाले हुनै सक्दैन र सुन जस्तो वस्तु भुक्तानी नभइ आउने कल्पना पनि त गर्न सकिँदैन ।

जे जस्तो भएपनि नेपालबाट बाहिर रकम पठाउन वा बाहिरबाट आएको रकम भुक्तानी गर्न यहाँका बैंकहरू नै प्रयोग हुन्छन् । हिजोआज सहकारी संस्था यस्ता कार्यमा बढी प्रयोग हुन थालेका देखिन्छन्

के हो हुण्डी, के हुन्छ घाटा ?

एक ठाउँबाट अर्को ठाउँमा घरायसी किसिमबाट पैसा पठाउने र ल्याउने कार्यलाई हुण्डी भनेर बुझ्नु उपयुक्त हुन्छ । रकम पठाउन र ल्याउन अप्रत्यक्ष रुपमा बैंकहरूको प्रयोग भएको हुन सक्दछ । तर प्रयोजन, कारण र हुण्डी हो या होइन बैंकसमेतलाई थाहा नहुन सक्छ । हुण्डी आन्तरिक र वैदेशिक दुवै हुन सक्छ । तर, हाम्रो टाउको दुखाइको विषय भने वैदेशिक हुण्डी हो ।

यस्तो वैदेशिक हुण्डीका कारण बाहृय मुलुकबाट देशमा आउनुपर्ने जति परिमाणमा विदेशी मुद्रा आउँदैन र राष्ट्रिय अर्थतन्त्रमा अभिलेखको रुपमा पनि देखिँदैन । विप्रेषण खाता घाटामा रहन्छ । अर्कातिर देशबाट गैरकानूनी रुपमा राष्ट्रिय सम्पत्ति वा पूँजी पलायन भएर विदेश जान्छ । कतिपय अवस्थामा यही विदेश गएको रकम वैदेशिक लगानीको रुपमा फेरि अर्को बाटोबाट नेपाल भित्रिएर सम्पत्ति शुद्धीकरणको माध्यम पनि बन्न सक्दछ ।

यसरी प्रयोग हुन्छन् बैंक र सहकारी

जे जस्तो भएपनि नेपालबाट बाहिर रकम पठाउन वा बाहिरबाट आएको रकम भुक्तानी गर्न यहाँका  बैंकहरू नै प्रयोग हुन्छन् । हिजोआज सहकारी संस्था यस्ता कार्यमा बढी प्रयोग हुन थालेका देखिन्छन् । जे होस् हुण्डीको भुक्तानी नेपाली रुपैयाँमा नै गर्नुपर्ने र नेपाली रुपैयाँमा प्राप्त भएको रकम बैंक वा सहकारीमै जम्मा गर्नुपर्ने हुँदा चेक वा रकम जुनसुकै रुपमा भएपनि यहाँका बैंक वा सहकारीको पूर्ण सहयोग हुन्छ ।

तर कतिपय अवस्थामा त्यस्ता निकायले हुण्डी हो या होइन भन्ने पहिचान गर्न नसकेको वा थाहा नभएको भने हुन सक्दछ । यसमा भुक्तानी दिने रकम कुृनै रुपमा बैंक वा सहकारीबाटै निकालिन्छ र बैंक वा सहकारीमै नेपाली रुपैयाँमै जम्मा भएको हुन्छ ।

अवैध गतिविधिमा यसरी प्रयोग हुन्छ हुण्डी

नेपालमा आउने हुण्डीको रकम प्रायः हाम्रा विदेशी मुलुकमा काम गर्न गएका कामदारको पारीश्रमिक नै हो । जुन रकममा प्राप्त हुने विदेशी मुद्रा नेपालको बैंकिङ प्रक्रियामा नआई उतै रहने र सो रकमबाट तस्करी गरेर चोरी-पैठारी गरेका मालसामानको मूल्य भुक्तानीमा प्रयोग गरिन्छ ।

त्यसैगरी अवैद्य हातहतियारको भुक्तानी, लागुपदार्थको भुक्तानी, नेपालबाट पूँजी पलायन गरी विदेश पठाउनुपर्ने रकमको भुक्तानी र सम्पत्ति शुद्धीकरणका लागि विदेशी लगानीका रुपमा नेपालका व्यापार व्यवसायमा हुने लगानीमा समेत प्रयोग भएको पाइन्छ । यसका अलावा न्यून बिजकीकरण गरी भन्सारमा कम मूल्य घोषणा गरेर ल्याइने सामानको यथार्थ मूल्य भुक्तानी गर्न र नेपालका व्यवसायी घराना वा भ्रष्टाचारीहरूले अवैध रुपमा गरेको आर्जनलाई विदेश पठाउन समेत प्रयोग गरिन्छ ।

हुण्डी कार्यलाई सहयोग पुर्‍याउने अन्य तरिका र प्रक्रिया पनि छन् । भन्सारमा हुने न्यून बिजकीकरणमा हामी सबैको ध्यान गएको देखिन्छ । यो पनि पैठारी भएर आउने सामानमा मात्र हामी हेर्छौं ।

निकासीमा यसरी हुन्छ न्यून बिजकीकरण

विदेशमा गरिने निकासीमा न्यून बिजकीकरण गर्दा त्यसको भुक्तानीवापत देशमा आउनुपर्ने रकम कम आउने र न्यून मूल्य बरावरको विदेशी मुद्रा केही विदेशमै रहने हुन्छ ।

आवश्यक वा यथार्थभन्दा बढी मूल्यांकन गरेर निकासी गर्दा विदेशको गैरकानूनी आर्जनलाई बैध बाटोबाट नेपाल भित्र्याएर सम्पत्ति शद्धीकरण गर्न वा हुण्डी गरेर नेपालमा भित्र्याउनुपर्ने रकम भित्र्याउन सकिन्छ ।

त्यस्तै भन्सार महसुल कम लाग्ने वा लाग्दै नलाग्ने सामानमा धेरै मूल्यांकन (अधिक बिजकीकरण) गरी नेपालमा पैठारी गर्दा बैध बाटोबाट विदेशमा हुण्डीको रकम पठाउने सकिने अवस्था रहन्छ ।

त्यस्तै, सरकारी निकायहरूले पैठारी गर्ने सामानमा अधिक बिजकीकरण गरी बढी रकम विदेश पठाएर विदेशबाट कमिसन आदिसमेत लिने गरेको समेत देखिन्छ ।

हुण्डीमा यसरी प्रयोग हुन्छ प्रविधि

हुण्डी कारोबार विदेशी विनिमयको अपचलनमात्र हैन देशको आर्थिक अपराधलाई बढावा दिने, छायाँ अर्थतन्त्रको विकास गर्ने, समग्र राजस्व अपचलनको माध्यम हुने र अन्य चोरी, तस्करी जस्ता अपराधिक क्रियाकलापको वृद्धि गर्ने आधारसमेत भएर रहेको पाइन्छ । तर, यति ठूलो अपराधलाई नियन्त्रण गर्ने सम्बन्धमा हाल नेपालमा स्पष्ट कानूनी व्यवस्थासमेत छैन

विभिन्न प्रक्रियाबाट नेपालबाट विदेशमा रकम पठाउने र विदेशबाट नेपालमा रकम भित्र्याइने गरिन्छ । यस कार्यमा एउटै समूह वा सम्पर्क कायम भएका समूह नेपाल र विदेशमा बसेका हुन्छन् । यसमा आधुनिक सूचना प्रविधिको प्रयोग गरिन्छ ।

हुण्डी कार्यमा हाल प्रायः मोबाइलबाट प्रयोग गरिने भाइबर, ह्वाट्सएप, वीच्याट जस्ता प्रविधि पनि व्यापक मात्रामा प्रयोग गरिएका भेटिन्छन् । यी प्रविधि प्रयोग गरी एक देशबाट अर्को देशमा भएको व्यक्तिलाई सूचना आदान-प्रदान गर्ने र त्यही सूचनाबमोजिम अर्को व्यक्तिले आफ्नो खाताबाट रकम निकालेर ग्राहकलाई भुक्तानी दिने वा ग्राहकको बैंक खातामा जम्मा गर्ने कार्य गरिन्छन् ।

चोखा छैनन् मनी ट्रान्सफर पनि

व्यक्ति-व्यक्तिको सम्पर्कबाट नेपाली मुद्रा नै प्रयोग गरी हुण्डी कारोबार संचालन गरिन्छ । कतिपय अवस्थामा ‘मनी ट्रान्सफर’ गर्न अनुमति पाएका बैंक तथा मनी ट्रान्सफर कम्पनीहरूको सहयोगमा पनि हुण्डी भएको देखिन्छ । यस्ता कम्पनीहरूले आफ्ना एजेन्टलाई मनी ट्रान्सफर कार्यका लागि विभिन्न ‘पिनकोड’ दिने गर्दछन् । यस्ता पिनकोड राष्ट्रिय कारोबार र अन्तर्राष्ट्रिय कारोबारका लागि अलग अलग हुन्छन् । यस्ता कम्पनीका एजेन्ट वा प्रतिनिधिहरूले पाएका पिनकोड दुरुपयोग गरेर पनि हुण्डी संचालन भएको हुन्छ, जुन सामान्य निगरानीमा पत्ता लगाउन सकिन्छ तर त्यस्ता कम्पनीहरूले यसतर्फ त्यति चासो दिएको देखिँदैन ।

यसमा विदेशको कुनै आफन्त वा सम्पर्कमा रहेको व्यक्तिलाई आन्तरिक कारोबार गर्ने पिनकोड दिएमा उसले विदेशबाट नेपालमा पठाएको रकम नेपालकै एक भूभागबाट अर्को ठाउँ गएको वा आन्तरिक कारोबार भएको देखिन्छ र यसबाट विदेशमा संकलन गरेको विदेशी मुद्रा अपचलन हुन्छ  र यसरी संकलन गरेको विदेशी मुद्रासमेत हुण्डीमा प्रयोग हुन्छ ।

जसरी गरियोस् हुण्डी कारोबार विदेशी विनिमयको अपचलनमात्र हैन देशको आर्थिक अपराधलाई बढावा दिने, छायाँ अर्थतन्त्रको विकास गर्ने, समग्र राजस्व अपचलनको माध्यम हुने र अन्य चोरी, तस्करी जस्ता अपराधिक क्रियाकलापको वृद्धि गर्ने आधारसमेत भएर रहेको पाइन्छ ।

तर, यति ठूलो अपराधलाई नियन्त्रण गर्ने सम्बन्धमा हाल नेपालमा स्पष्ट कानूनी व्यवस्थासमेत छैन । तसर्थ यस्तो राष्ट्रिय अर्थतन्त्र नै धाराशायी बनाउने र अपराधिक गतिविधिहरु बढाउने हुण्डीजस्तो अपराधलाई नियन्त्रण गर्न सक्दो चाँडो निम्न कार्य गर्नु उपयुक्त देखिन्छ ।

  • हुण्डीको स्पष्ट परिभाषासहित विदेशी विनिमय (नियमित गर्ने) ऐन- २०१९ लाई प्रतिस्थापन गरी स्पष्ट र प्रभावकारी दण्ड सजाय र नियन्त्रणात्मक उपाय सहितको कानूनी व्यवस्था गर्नुपर्ने ।
  • विदेशमा काम गर्न जाने कामदारलाई रोजगारी अनुमतीकै समयदेखि वैधानिक बाटोबाट रकम भित्र्याउन कागज गराएर मात्र वैदेशिक रोजगारीमा पठाउने । विदेशमा प्राप्त गरेको रकम बैंकिङ माध्यमबाट ल्याउँदा तिर्नुपर्ने शुल्क आदि कल्याणकारी कोषबाट भुक्तानी गर्ने व्यवस्था गर्ने र संभव भएमा थप प्रोत्साहनका लागि सहुलियनसमेतको व्यवस्था गर्नुपर्ने ।
  • तस्करी, लागुपदार्थ ओसारपसार र अवैध हातहतियार जस्ता अवैध गतिविधिमा निगरानी तथा नियन्त्रण गर्ने र यस्ता कार्यको अनुसन्धान र अभियोजनमा विदेशी विनिमय अपचलनको समेत अनुसन्धान गरी कारवाही गर्ने व्यवस्था गर्नुपर्ने ।
  • भन्सारमा यथार्थपरक कारोबार मूल्य निर्धारण गर्ने परिपाटी विकास गरी निकासी/पैठारी दुवैमा न्यून बिजकीकरणसँगै अधिक विजकीकरण समेत नियन्त्रण गर्ने कानूनी व्यवस्था गरी कारवाही गर्नुपर्ने ।
  • विदेशमा वसाइँ सर्ने, व्यापार/व्यवसाय गर्ने र वैदेशिक लगानीको नाममा निजी उद्योग/व्यवसायमा पूँजी भित्र्याउने प्रति विशेष निगरानी गरी पूँजी पलायन र सम्पत्ति शुद्धीकरणमासमेत विशेष निगरानी बढाउनुपर्ने ।

अन्त्यमा

हुण्डी र हुण्डी कारोबार गैरकानूनी र ठूलो अपराध हो । यसले मुलुकको अर्थतन्त्र धरासायी बनाउनुका साथै छायाँ अर्थतन्त्र र गैरकानूनी क्रियाकलामा बढोत्तरी गराउने र राजस्व चुहावटमासमेत प्रोत्साहन पुर्‍याउने हुँदा यसको नियन्त्रणका लागि उपयुक्त कानूनी व्यवस्था गरी अग्रसरताका साथ लाग्नु सम्बन्धित निकायहरूका लागि ढिलो भइसकेको देखिन्छ । 

(लेखक रेग्मी राजस्व अनुसन्धान विभागका निर्देशक हुन् ।)

२०७५ जेठ ३ गते १०:४९ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this