Comments Add Comment

पार्टी एकता घोषणाअघि ओली र प्रचण्डले रोपे अणुवमले पनि मार्न नसक्ने विरुवा

३ जेठ, काठमाडौं । वल्खुस्थित स्वर्गीय जननेता मदन भण्डारीको शालिक अगाडि उभिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले अणु वमको चर्चा गरेलगत्तै प्रधानमन्त्री निवास बालुवाटार परिसरमा ओली र प्रचण्डले अणु वमले पनि क्षति गर्न नसक्ने विरुवा रोपेर पार्टी एकताको उदघोष गरेका छन् ।

ओलीले विभिन्न साना-साना तत्वहरु मिसिएर खतरनाक अणुवम बन्ने भन्दै नेपाल कम्युनिस्ट पार्टी त्यस्तै साना-साना तत्वहरुको सम्मिश्रण भएको बताएका थिए । त्यसलगत्तै पार्टी एकता संयोजन समिति बैठकका लागि बालुवाटार पुगेका नेताहरुले संयुक्त रुपमा जापानी प्रजातिको ‘जिन्को’ नामक विरुवा रोपेका हुन् ।

एमाले नेता डा.राजन भट्टराईका अनुसार नेताहरुले बालुवाटारमा वृक्षारोपण गरेको जिन्को प्रजातिको बनस्पतिले वर्षमा तीनपटक रंग फेर्छ । अणु वमले पनि ध्वस्त गर्न नसकेको प्रजातिका रुपमा जिन्कोलाई लिइन्छ ।

पार्टी एकीकरणको खुसियालीमा वृक्षरोपण गरिएको ओलीको सचिवालयले जनाएको छ । ओली र प्रचण्डले एक-एकवटा ‘जिन्को वाइलोवा’ नामको विरुवा रोपेर पानी हालेका थिए । सो अवसरमा अन्य नेताहरुले पनि विरुवामा पानी हालेर पार्टी एकता अणुवमहरुले पनि ध्वस्त नगर्ने गरी बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे ।

जिन्को विश्वकै पुरानो वनस्पति मानिन्छ । यो बिभिन्न औषधीहरु बनाउन पनि प्रयोग हुन्छ । यसको अस्तित्व २७० मिलियन वर्षअघि पृथ्वीमा रहेको वैज्ञानिकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment