Comments Add Comment

पोर्नस्टारलाई पैसा खुवाउने वकिललाई ट्रम्पले सट्टाभर्ना गरेको पुष्टि

३ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो यौनकान्ड लुकाउन वकिलमार्फत एक पोर्नस्टारलाई पैसा खुवाएको पुष्टि भएको छ । ट्रम्पसँग रात बिताएको दावी गर्ने पोर्नस्टारको मुख बन्द गर्न पैसा दिइएको थियो ।

अमेरिकाको ‘अफिस अफ गभर्मेन्ट इथिक्स (ओजिइ)’ ले बुधबार पत्ता लगाएअनुसार ट्रम्पले उनको अघिल्लो वित्तिय विवरणमा पोर्नस्टारलाई दिएको भुक्तानीको सट्टाभर्ना वकिललाई दिएको खुलाएका छन् ।

दस्तावेजहरुमा ट्रम्पले उनका वकिल माइकल कोहेनलाई सन् २०१६ मा एक लाख डलरदेखि दुई लाख ५० हजार डलरसम्म पैसा दिएको पाइएको छ ।

यसअघि ट्रम्पले वकिलमार्फत पोर्नस्टार स्टोर्मी डेनियल्सलाई दिएको भनिएको एक लाख तीस हजार डलरको बारेमा आफूलाई केहीपनि थाहा नभएको बताउँदै आएका थिए ।

हृवाइट हाउसले भने उक्त दस्तावेजको फुटनोटमा उसले पारदर्शिताको लागि ती कारोबारहरुलाई सूचीबद्ध गरेको जनाएको छ ।

‘अफिस अफ गभर्मेन्ट इथिक्स’ प्रमुखले एक चिठीमा कोहेनले गरेको उक्त कारोबारलाई विवरणको दायित्व खण्डमा उल्लेख गर्नुपर्ने लेखेका छन् ।

नायव महान्यायाधिवक्ता रोड रोसेन्टाइनलाई लेखेको चिठीमा ओजीईका निमित्त प्रमुखले ‘तपाईले सोध्न चाहनुभएका सबै विषय सम्बन्धी सबै खुलासा हुनेछ’ भनेका छन् ।

नायव महान्यायाधिवक्ताले डिपार्टमेन्ट अफ जस्टिस इन्भेस्टिगेसनलाई हेरिरहेका छन् जसले सन् २०१६ मा राष्ट्रपतिय निर्वाचनको बेलामा कथित रुसी हस्तक्षेपमा ट्रम्पको एआइडीहरुको साँठगाँठको थियो कि थिएन भनेर छानबिन गरिरहेको छ ।

स्टोर्मी डेनियल्सलाई दिइएको पैसाको विषय राष्ट्रपति ट्रम्पको लागि सम्भावित कानूनी समस्या हो किनभने यसलाई निर्वाचन अभियानमा अवैध मानिन्छ ।

अघिल्लो महिना एफबीआईले छापा हानेर कोहेनको कारोबार सम्बन्धी दस्तावेजहरु बरामद गरेको थियो र अहिले उनीमाथि अनुसन्धान भैरहेको छ ।

डेनियल्सको वास्तविक नाम स्टेफनी क्लिफोर्ड हो । सन् २००६ ताका क्यालिफोर्निया र नेभाडाको बिचमा पर्ने लेक ताहोइको एक होटल रुममा ट्रम्पले उनीसँग यौनसम्पर्क गरेको आरोप डेनियल्सले लगाएकी थिइन् । तर, ट्रम्पले उक्त आरोपलाई पूर्णरुपमा खण्डन गरेका थिए ।

उनले अप्रिलमा राष्ट्रपतिय निर्वाचनअघि कोहेनले डेनियल्सलाई पैसा दिएको भन्ने बारे आफु जानकार नभएको बताएका थिए ।

ट्रम्पले कोहेनलाई पैसा दिएको कुरा दुई हप्ताअघि ट्रम्पका अर्का वकिल रुडी गुईलानीले एक टेलिभिजनसँगको अन्तरवार्तामा स्वीकारेका थिए ।

गुइलानीका अनुसार ट्रम्पसँग यौनसम्बन्ध रहेको भन्ने झुटो र धम्कीपूर्ण आरोपलाई चुप गराउनको डेनियल्सलाई उक्त पैसा दिइएको थियो किनभने उनको त्यस्तो आरोपले ट्रम्पको उम्मेद्वारी नै धरापमा पर्न सक्थ्यो ।

ट्रम्पले भने भर्खरै नियुक्ति दिइएका गुइलियानीले उनका बारेमा सहि तथ्यहरु नपाएको भन्दै त्यसको खण्डन गरेका थिए ।

त्यस्तै बुधबार मात्रै सिनेट इन्टेलिजेन्स कमिटीले सन् २०१६ को निर्वाचनमा ट्रम्पलाई सघाउनको लागि रसियाले हस्तक्षेप गरेको भन्ने अमेरिकी इन्टेलिजेन्स समुदायले पत्ता लगाएको कुराको समर्थन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment