Comments Add Comment

आन्तरिक विमानस्थल बनाउन काभ्रेको नागीडाँडा उपयुक्त भएको ठहर


३ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउनका लागि काभ्रेको नागीडाँडामा विमानस्थल निर्माण गर्न उपयुक्त देखिएको छ ।

विमानस्थल निर्माणका लागि काभ्रेको ३ स्थान अवलोकन गरेपछि नागरिक उड्डयन संस्कृति तथा पर्यटन मन्त्री रबिन्द्र अधिकारीले एक प्राविधिक अध्ययन समूहको गठन गरेका थिए । काठमाडौंको नजिकै उपयुक्त स्थान छनोट गर्नको लागि गठन भएको उक्त प्राविधिक अध्ययन समूहले नागिडाँडामा उपयुक्त भएको निष्कर्ष निकालेको हो ।

काभ्रेको ठूलीचौरमा भन्दा नागीडाँडामा विमानस्थल निर्माण गर्न उपयुक्त भएको रिपोर्टमा उल्लेख गरिएको छ । साथै यसको निर्माणका लागि ५ वर्षसम्म लाग्ने देखिन्छ ।

यसको निर्माण अघि बढाउनका लागि तत्काल वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) समेत गर्न सुझाव दिएको छ ।

यो निर्माण भएसागै त्रिभुवन विमानस्थलको २० प्रतिशत ट्राफिक चाप कम हुने रिपोर्टमा उल्लेख छ । साथै हेलिकोप्टर पार्किङलाई नागीडाँडामा सार्ने हो भने त्रिभुवन विमानस्थलमा रहेको सञ्चार टावरमा २० प्रतिशत लोड कम हुनेपनि उल्लेख गरिएको छ ।

त्रिभुवन विमानस्थलबाट नागिडाडा जमिनबाट २४.६ किमी पर रहेको छ भने नर्टिकल माइलका आधारमा ८.६२ टाढा रहेको छ । यो विमानस्थल निर्माण गर्ने औपाचारिक निर्णय भएको १२ महिनापछि मात्रै निर्माणको काम अघि बढाउन सकिने रिपोर्टमा उल्लेख  छ ।

नागीडाँडामा गर्दा २० प्रतिशत मात्रै निजी जग्गा अधिग्रहण गरे पुग्ने नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु बताउँछन् । काभ्रेमा विमानस्थल निर्माणको चर्चा चलेको अहिले १६ वर्ष पुगेको छ तर, अहिलेसम्म टुंंगो लाग्न सकेकेा छैन ।

नागीडाँडामा विमानस्थल निर्माण गर्ने भनिए पनि आन्तरिक उडान गर्ने ठूला खालका विमान भने त्यहाँ ल्यान्ड गर्न सक्दैनन् । किनकी ठूला विमानका लागि १५ सय मिटरससम्मको रन-वे आवश्यक पर्छ ।

अहिले सौर्य र श्री एयरलाइन्ससँग बम्बार्डियर, नेपाल एयरलाइन्ससँग एमए-६०, बुद्ध एयरसँग बिचक्राफ्ट र एटीआर तथा यती एयरलाइन्ससँग जेटस्टि्रम र एटीआर जस्ता ठूला जहाज छन् । यि विमानले साना विमानस्थलमा उडान/अवतरण गर्न सक्दैनन् ।

अहिले त्रिभुवन विमानस्थलबाट आन्तरिक गन्तव्यमा हुने ३५ प्रतिशत उडान पहाडी विमानस्थलका लागि हुन्छन् । त्यसबाहेकको ६५ प्रतिशत उडान ट्रंक रुटमा हुन्छ ।

नागिडाँडा विमानस्थलका लागि उपयुक्त हुने साना जहाज भनेका टि्वनअटर, डोर्नियर, वाई-१२ हर्बिन र एलईटी मात्र हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment