Comments Add Comment

एमाले-माओवादी एकतामा कांग्रेसको नजर : ‘हेपाहा प्रवृत्ति’ बढ्ने डर


३ जेठ, काठमाडौं । नेपाली कांग्रेसले दुई कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतापछि सरकार, पार्टी र सिंगो राज्यसत्ता आफूप्रति अनुदार हुने विश्लेषण गरेको छ । जसलाई उनीहरु ‘हेपाह प्रवृत्ति’को संज्ञा दिएका छन् ।

उसो त एमाले र माओवादी यति छिट्टै मिल्लान भनेर कांग्रेस नेतृत्वले सोचेका थिएनन् । त्यसअर्थमा यो एकता घोषणा कांग्रेसका लागि ‘सरप्राइज’ पनि हो ।

सत्तारुढ एमाले र माओवादी केन्द्रले बिहीबार पार्टी एकताको घोषणा गर्दै एकीकृत पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

एमाले र माओवादीको पार्टी एकता गर्ने सहमति नयाँ होइन । दुई दलले गठबन्धन नै बनाएर चुनाव लडेका थिए र त्यसबेला नै पार्टी एकता गर्ने सहमति भएको थियो ।

सत्ता जहिले पनि जसको पनि पेल्ने, मिच्ने खालको हुन्छ । त्यसमाथि दुई कम्युनिष्ट पार्टी । प्रधानमन्त्री ओलीको काम गर्ने शैली पेल्ने खालको नै देखिन्छ- मिनेन्द्र रिजाल

तर, पटकपटक मिति तोक्दा पनि एकता घोषणा हुन सकेको थिएन । बरु दूरी बढेको थियो । त्यसैले कांग्रेसको ठूलो पङ्ती खासगरी नेतृत्वलाई एमाले र माओवादी मिल्दैनन् भन्ने थियो । माओवादी नेताहरुले पनि त्यस्तो सन्देश पठाइरहेको थियो । तर, दुई दलले एकता घोषणा गरे । ‘यो कांग्रेसका लागि ‘सरप्राइज’ हो’ एक नेताले भने ।

यद्यपि प्रवक्ता विश्वप्रकाश शर्माले सफल एकताका लागि कांग्रेसको तर्फबाट शुभकामना दिएका छन् ।

नेता मिनेन्द्र रिजालले पनि वाम गठबन्धनले निर्वाचनमा गरेको एउटा प्रतिवद्धता पूरा भएको बताए । साथै उनी कम्युनिष्ट आन्दोलन हिंसात्मक विद्रोहबाट संसदीय राजनीतिमा आउनु आफूहरुका लागि पनि खुसीको कुरा भएको बताउँछन् ।

हेपाहा प्रवृत्ति बढ्ने डर

तर, कांग्रेसमा खुसी भन्दा आशंका बढी छ कि अब सिंगो राज्यसत्ता आफूप्रति एकदमै अनुदार हुनेछ ।

नेताहरुका अनुसार वाम गठबन्धनको बहुमत आएसँगै धेरथोर यो डर थियो नै तर, आज विहानबाट प्रत्येकलाई लागेको छ । एक नेता भन्छन्, ‘यो सही नहुनसक्छ । तर, सिंगो राज्यसत्ता नै अनुदार भएर जान्छ, हरेक क्षेत्रमा पेल्दै जान्छ ।’

उनीहरुको ‘कांग्रेस प्रतिस्पर्धी रहेन, सहयोगी मात्र’ भन्ने केपी ओलीको पछिल्लो अभिव्यक्तिलाई त्यसको संकेत मानेका छन् । यो हेपाहा टिप्पणी भएको भन्दै एक नेताले भने, ‘आफ्नो पार्टी मिलेको बेला हाम्राबारे टिप्पणी गर्न आवश्यक थिएन । फेरि उहाँ एमाले अध्यक्ष मात्र होइन, प्रधानमन्त्री पनि हो ।’

कम्युनिष्टहरु विभाजित छन्, जनमत पनि विभाजित छ । त्यसको बीचबाट हामी आइरहेका छौं, यसरी नै चल्छ भन्ने मनोविज्ञानबाट कांग्रेस मुक्त भएको छ- विश्वप्रकाश शर्मा

त्यसमा सहमत देखिएका कांग्रेस नेता रिजालले पनि दुई कम्युनिष्ट पार्टी मिलेपछि शासन सञ्चालन कसरी गर्छन् हेर्नुपर्ने बताउँछन् । ‘सत्ता जहिले पनि जसको पनि पेल्ने, मिच्ने खालको हुन्छ । त्यसमाथि दुई कम्युनिष्ट पार्टी । प्रधानमन्त्री ओलीको काम गर्ने शैली पेल्ने खालको नै देखिन्छ’ उनले भनेका छन् ।

उनका अनुसार लोकतन्त्रको आधारभूत मूल्य र मान्यताप्रति प्रतिवद्ध रहेर काम गरे यो एकता नेपालको कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिक अवतरण हुनेछ । ‘त्यो सबैका लागि र देशका लागि खुसीको कुरा हुन्छ’ रिजाल भन्छन्, ‘होइन, हिजोको झापा विद्रोह वा सशस्त्र विद्रोहका पूरा नभएको एजेण्डा पुरा गर्नु छ भन्ने सोच भयो भने स्वभाविक छ, संसदमा यति ठूलो उपस्थिति र काम गर्ने शैलीले लोकतन्त्रका आधारभूत मूल्य र मान्यताप्रति प्रतिवद्ध रहन्छु भन्दाभन्दै नरहने खतरा बढेर जान्छ । त्यसप्रति हामी सचेत छौं ।’

एकताअघि नै लोकतान्त्रिक प्रतिवद्धता भन्दा सत्ताको तागतको ध्वनि बढी आउन थालेको उनले सुनाए । ‘मैले भनेको नमान्नेलाई पेल्नुपर्छ, यसकारण कि जनताको मत मसँग छ, पेल्ने मत पाएको छु भन्ने उहाँहरुको ब्याख्या रहृयो भने स्वभाविक रुपमा अभिनायकवादी बाटोमा जानुहुन्छ । यो सबैका लागि दुःखद हुनेछ’ रिजालले भने ।

आन्तरिक राजनीतिमा ठूलो हेरफेर

एमाले माओवादी मिल्दा कांग्रेसको एउटा पंक्तिले आन्तरिक राजनीतिमा ठूलो फेरबदल आउने अपेक्षा गरेको छ । कांग्रेसमा रुपान्तरणको पक्षमा मत राख्दै आएका एक नेता भन्छन्, ठूलो पंक्तिलाई अहिले जे भइरहेको छ, त्यतिको भरमा जित्न सकिँदैन भन्ने भाव आउँछ र यसले पार्टीमा ठूलो परिर्वतन ल्याउँछ ।’

किनभने देउवाले अहिलेसम्म एमाले र माओवादी मिल्दैनन्, मिल्न सक्दैनन् भन्दै आएका थिए । यसले कुनै पनि कांग्रेस माओवादीको सरकार बन्न सक्छ, देउवा प्रधानमन्त्री हुनसक्छन् भन्ने देखाउँथ्यो र देउवा बलियो भइरहन्थे ।

तर, बिहीबार दुई पार्टीको एकता घोषणा भएसँगै अब ५ वर्षका लागि सरकारको ढोका बन्द मात्र भएको छैन, यथास्थितिमा ५ वर्षपछि हुने आम चुनावमा कम्युनिष्ट पार्टीसँग प्रतिस्पर्धा गर्न सकिन्न भन्ने मत बलियो हुनेछ ।

कांग्रेस प्रवक्ता शर्माले भने, ‘कम्युनिष्टहरु विभाजित छन्, जनमत पनि विभाजित छ । त्यसको बीचबाट हामी आइरहेका छौं, यसरी नै चल्छ भन्ने मनोविज्ञानबाट कांग्रेस मुक्त भएको छ । अब कांग्रेसले रुपान्तरणको यात्रा तय गर्दै कम्युनिष्टहरुको एकताकै बीचमा आफू विजयी हुनुहुन्छ भन्ने दबाव बढ्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment