Comments Add Comment

एमाले-माओवादी एकताबारे अन्य दलको टिप्पणीः कोदोमा तोरी मिलाए जस्तो

४ जेठ, काठमाडौं । शक्तिशाली ‘नेपाल कम्युनिस्ट पार्टी’ बनाएपछि नेताहरुले साना कम्युनिष्ट पार्टीहरुलाई पनि एकता प्रक्रियामा आउन आहृवान गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले त एकता घोषणासभाबाटै ‘के साना पसल थापेर बस्नुहुन्छ, आउनुस्’ भनेर आग्रह गरे ।

तर, साना कम्युनिष्ट घटकहरुले आफूहरुलाई बेवास्ता गरेको गुनासो गरेका छन् । केहीले एमाले र माओवादीले जनतालाई धोका दिएको टिप्पणी गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी गठनपछि यस्तो छ नेताहरुको प्रतिक्रिया-

हामीलाई बेवास्ता गरियो
सीपी मैनाली, महासचिव, नेकपा (माले)

२०७४ असोज १७ गते एमाले-माओवादीले वाम गठबन्धन घोषणा गर्दै पार्टी एकता गर्ने सहमति गरेका थिए । बांगो-टिंगो बाटो हिँडेरै किन नहोस्, आपसी सौदाबाजी गरेर पूर्वसहमति अनुसार एकता गरेका छन् । प्रतिबद्धता अनुसार भएको एकतालाई मैले सकारात्मक रुपमा लिएको छु ।

देशको समृद्धि, सुशासन र विकासलाई अघि बढाउने भन्दै एकीकृत पार्टी नेकपा जन्मेको छ । यो प्रतिबद्धना जनाएअनुसारकै दल बन्छ या फरक ? त्यो भने हेर्न बाँकी छ । यो मार्क्सवादी या बुर्जुवा समाजवादी जस्तो पार्टी बने पनि यो एकताले देशलाई स्थिर सरकार दिएर आर्थिक विकास गरोस् भन्ने हाम्रो कामना छ । यो काम गर्न सक्यो भने एकता फलदायी ठहर्छ ।

वाम ध्रुवीकरण भइरहँदा साथीहरुले तपाईंहरु किन बाहिर ? भनेर प्रश्न उठाइरहनु भएको छ । तर एमाले-माओवादीले शुरुदेखि नै हामीलाई बेवास्ता गर्दै आएका छन् । चुनावका बेला अन्य साना दलहरुसँग एमाले-माओवादीले सहकार्य गरे तर हामीलाई ललकारे । हामीसँग १-२ सिटमा तालमेल गर्न समेत तयार भएनन् ।

योभन्दा पनि महत्त्वपूर्ण कुरा समाजको विश्लेषण, परिवर्तनको चरित्र निर्धारण, पहिचान, समानता, समावेशीकरण, समावेशी प्रतिनिधित्वलगायत मुद्दामा हाम्रा गम्भीर मतभेदहरु छन् । यसर्थ राजनीतिक वैचारिक मतभिन्नता र स्वार्थको राजनीतिले गर्दा उनीहरुसँग हाम्रो औपचारिक सम्बन्ध छैन ।

देशलाई स्थिरता, विकास र समृद्धि दिने घोषणा एकीकृत पार्टीले गरेका छन् । यो पार्टीको पहिलो चुनौती देशलाई समृद्धि दिने नै हुनेछ ।

एकीकृत पार्टी भएकाले यहाँ फरक विचार र दृष्टिकोण भएका नेता छन् । एकीकृत पार्टीका नेता तथा कार्यकर्ताको कार्यशैली र चालचलन पनि मिल्दैन । सोच र संस्कारमा पनि भिन्नता छ । यसलाई एकरुपता दिने कुरा पनि म चुनौतीपूर्ण नै ठान्छु ।

दुई पार्टी एकतापूर्व चर्को गुटबन्दीको शिकार बन्दै आएका थिए । एकीकृत पार्टी पनि यसबाट अछुतो बन्ने देखिँदैन । यसको व्यवस्थापनमा कस्तो कुशलता देखाइन्छ, यसमै नवगठित नेकपा पार्टी सफल या विफल हुनेमा निर्भर हुनेछ ।

मार्क्सवादी समाजवाद र बुर्जुवा समाजवाद विपरीत कुरा हुन् । नाम र काममा आकाश पातालको भिन्नता छ । यो अन्तरविरोध निमटारा लगाउनु नयाँ पार्टीका लागि चानचुने हुनेछैन ।

एकता कोदोमा तोरी मिलाएजस्तो
अशोक राई, वरिष्ठ उपाध्यक्ष, संघीय समाजवादी फोरम

विचार, दृष्टिकोण, सिद्धान्त एउटै भए पनि एमाले-माओवादीले आफूलाई जबरजस्ती अलग पार्टी देखाउँदै आएका थिए । तर हिजोबाट दुई पार्टी एकीकृत भएपछि त्यस्ताखाले बाध्यता हटेको छ । यो राम्रो कुरा हो । म उहाँहरुलाई शुभकामना दिन चाहन्छु ।

यो एकताबाट दुई पार्टीका नेता-कार्यकर्तामा उत्साह ल्याएको होला, तर जनताले खासै केही अपेक्षा गरेका छैनन् । कोदो र तोरी हेर्दा उस्तै-उस्तै हुन्छ, तर मिसाएपछि त्यो निरर्थक हुन्छ । न त्यसबाट तेल आउँछ, न पिठो । एमाले-माओवादी एकता पनि यस्तै बन्ने खतरा छ । यसलाई प्रतिकूल हुनबाट जोगाएर अघि बढ्न नयाँ पार्टीले विशेष ध्यान दिनुपर्छ ।

दुई पार्टीको एकताको घोषणा त भयो तर भावनात्मक र संगठनात्मक एकता हुन बाँकी छ । मलाई एकीकृत पार्टीको सबैभन्दा पेचिलो विषय यही हो जस्तो लाग्छ । यसलाई सही रुपमा व्यवस्थापन गर्न सक्नुमा नै नवगठित पार्टीको भविष्य निर्भर रहनेछ ।

एमाले-माओवादीले एकतापछि अन्य पार्टीहरुलाई पनि यसमा सहभागी हुन अपिल गरेका छन् । तर संघीय समाजवादी फोरम यसमा समेटिने कुनै सम्भावना छैन । हाम्रो बाटो मिल्दैन, मुद्दा मिल्दैन । तथापि, राष्ट्र निर्माणको शिलशिलामा जोसुकैसँग सहकार्य गरेर अघि बढ्न संघीय समाजवादी फोरम तयार छ ।

जिम्मेवारी अब हाम्रो काँधमा
हरिभक्त कँडेल, प्रवक्ता, नेकपा क्रान्तिकारी माओवादी

देशमा दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद र विस्तारवाद तथा साम्राज्यवादद्वारा हुँदै आएको उत्पीडनको अन्त्य गरी नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्दै समाजवाद र साम्यवादको दिशामा अघि बढ्नका लागि अनेकौं जनआन्दोलन, सशस्त्र जनसंघर्ष र दशवर्षे जनयुद्ध भए । परिवर्तनका यी सबै महान प्रक्रियामा जनताका हजारौं छोराछोरीले सहादत प्राप्त गरे, हजारौं वेपत्ता पारिए, कैयौं योद्धाहरु घाइते/अपाङ्ग बनाइए । परन्तु, आन्दोलन तथा जनयुद्धकै मूल नेतृत्व प्रचण्ड मण्डलीले वर्गीय तथा राष्ट्रिय आत्मसमर्पणवादको बाटो पकडी परिवर्तनको महान प्रक्रियामाथि धोका, विश्वासघात र गद्दारी गर्न पुग्यो ।

फलतः पश्चगामी राज्यसत्ता र उही पुरानै संसदीय व्यवस्थाको सेरोफेरोको गोलचक्करमा आज देश फस्न पुगेको छ, मालेमावादको आधारभूत मान्यता विपरीत सम्झौता र सत्ताको लेनदेन गरी जनताको वलिदानको अबमूल्यन हुन पुगेको छ ।

त्यसैको पछिल्लो कडीको रुपमा माओवादी केन्द्र-एमालेले एकताको तथाकथित नाटक मञ्चन गरेका छन् । मालेमावाद र जनयुद्धको विचार, आदर्श र मूल्य मान्यतालाई परित्याग गरिसकेको माके औपचारिक रुपमा दक्षिणपन्थी संशोधनवाद तथा अवसरवाद हुँदै संसदीय मूल प्रवाहको एमालेको प्रतिक्रियावादीधारमा समाहित हुन पुगेको छ ।

प्रतिक्रियावादी बाटो पकडीसकेको दक्षिणपन्थी संशोधनवादीहरुको गठजोडबाट उत्पन्न परिस्थितिको गम्भीरतापूर्वक समीक्षा गर्दै क्रान्तिकारी आन्दोलनलाई अघि बढाउने जिम्मेवारी अब हाम्रो काँधमा आइपुगेको छ । आजको यस घडीमा मालेमावादप्रति निष्ठावान क्रान्तिकारीहरु, घाइते, अपाङ्ग, बेपत्ता, सहिद परिवार र पूर्वजनमुक्ति सेनालगायत सम्पूर्ण परिवर्तनकामी जनसमुदायलाई क्रान्तिकारी धारमा ध्रुवीकृत हुन अपील गर्दछौं ।

यो पनि पढ्नुहोस् 

एमाले-माओवादी एकतामा कांग्रेसको नजर : ‘हेपाहा प्रवृत्ति’ बढ्ने डर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment