Comments Add Comment

राष्ट्रपतिलाई साक्षी राखेर एकतामा हाम फालेका प्रचण्ड

४ जेठ, काठमाडौं । केही दिनअघिसम्म तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भन्दै थिए, पार्टी एकता त्यति सजिलो छैन ।

पटकपटक केपी शर्मा ओलीसँग वार्ता गर्दा पनि उनको शंका निवारण भएको थिएन । बरु, तत्कालीन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि बढ्दो थियो । गोप्य छलफलहरुमा उनी त्यो चुहाउथेँ ।

तर, पछिल्लो ३/४ दिनमा एकता प्रक्रियाले नाटकीय रुप लियो र बिहीबार एकता घोषणा भयो ।

अाकस्मिक एकताको खाका बुधबार मात्र तय भएको थियो । बालुवाटारमा दुई अध्यक्ष ओली र प्रचण्ड भेटेर ३ जेठ अर्थात मदन भण्डारीको निधन भएको दिनमै पार्टी एकता गर्ने तय गरेका थिए ।

तर, यसमा ओली र प्रचण्ड मात्र होइन, अरु केही नेताको पनि भूमिका रहेको स्रोतको दाबी छ । उनीहरुमध्ये एक हुन्, विष्णु पौडेल । अध्यक्षबाहेक पदाधिकारी नराख्ने भन्ने सहमति विपरीत उनलाई महासचिव बनाउनुले पनि त्यो पुष्टि गर्छ । एमालेभित्र मात्र होइन, प्रचण्डलाई समेत विश्वासमा लिएका कारण ओलीले उनलाई दोस्रो पुस्ताको नेताका रुपमा अघि सारेका हुन् ।

तर,  पार्टी एकता घोषणाको निर्णायक वातावरण बनाउन राष्ट्रपति विद्या भण्डारीको बिशेष भूमिका छ ।

स्रोतहरुका अनुसार प्रचण्ड ३१ वैशाखमा पार्टीका नेता नारायणकाजी श्रेष्ठ कहाँ पुगेका थिए । त्यहाँ पार्टी एकताबारे दुई नेताबीच ‘ब्रेकफास्ट मिटिङ’ भएको थियो ।

श्रेष्ठ एमालेसँग एकता प्रक्रियाका सूत्रधार मध्येका एक हुन् । र, उनले प्रचण्डलाई वैचारिक सैद्धान्तिक विषयमा नमिलेको छ भने भन्नुस्, नभए एकतामा ढिलाइ किन भन्ने गरेका थिए । त्यसैले यो भेटमा पनि उनले एकताको दबाव दिए ।

लगत्तै माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको स्रोतहरुको दाबी छ । राष्ट्रपति भण्डारी र प्रचण्डबीच केके कुरा भयो, धेरै बाहिर आएको छैन ।

तर, प्रचण्डले आफू निकटका सीमित नेतालाई भनेका छन्, ‘राष्ट्रपतिलाई साक्षी राखेर एकतामा हाम फालेँ ।’

प्रचण्डलाई ओली र आफूबीच भएका सत्ता हस्तान्तरणलगायतका ‘भद्र सहमति’ कार्यान्वयन हुनेमा आशंका थियो । राष्ट्रपति भण्डारीले त्यसमा तलमाथि नहुने आश्वासन दिएको हुन सक्ने नेताहरुको अनुमान छ ।

राष्ट्रपतिलाई भेटेपछि प्रचण्डले माधव नेपाललाई पनि भेटेका थिए । यो भेटमा भने प्रचण्डले नेपाललाई पनि विश्वासमा लिने प्रयास गरेको नेताहरुले बताएका छन् ।

राष्ट्रपति भएपछि भण्डारी एमालेको कुनै पदमा छैनन् । उनले उपाध्यक्ष पद पहिल्यै त्यागेकी थिइन् । तर, वाम एकतामा उनको भूमिका महत्वपूर्ण रहेको नेताहरु स्वीकार गर्छन् ।

राष्ट्रपति भए पनि दलीय मोह देखाउने मामिलामा रामवरण यादव पनि कम थिएनन् । कांग्रेसको १२ औं महाधिवेशनका क्रममा उनको सक्रियता देखिएको थियो । तत्कालीन अवस्थामा सुशील कोइरालालाई सभापति बनाउन उनले महाधिवेशन प्रतिनिधिलाई शीतल निवास बोलाएर भोट मागेका थिए ।

राष्ट्रपति भण्डारीको भूमिका पनि अहिले मात्र देखिएको भने होइन । तत्कालीन एमालेमा उनको प्रभाव अहिले पनि उत्तिकै छ । त्यो केपी ओली नेतृत्वको सरकार गठनका क्रममा मन्त्री छनोट गर्दा होस् वा मुख्य मन्त्री छनोटमा होस् ।

३ फागुनमा ओली प्रधानमन्त्री भएकै दिन थममाया थापाले उनकै कोटामा मन्त्रीको सपथ लिएकी थिइन् । प्रदेश ३ को मुख्यमन्त्री डोरमणि पौडेल बन्दा पनि भण्डारी नै निर्णायक रहिन् । मुख्यमन्त्रीकी आकांक्षी तत्कालीन एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सार्वजनिक रुपमा असन्तुष्टि जनाएकी थिइन् ।

बाम एकताका सन्दर्भमा निर्णायक भूमिका निभाउन पनि उनी स्थापित मान्यता र पदीय हैसियत क्रस गरेर अगाडी बढेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment