Comments Add Comment

६५ वर्षमा पनि यौनेच्छा हटेन, के गरूँ ?


प्रिय करुणा,

म ६८ वर्षको पुरुष हुँ । मेरा सबै सन्तान पखेटा हालेर टाढा पुगिसके । यही कारण म ६५ वर्षीय श्रीमतीसँग जीवन बिताइरहेको छु ।

मैले सुनेअनुसार उमेर ढल्कँदै जाने क्रममा यौनेच्छा पनि कम हुन्छ । मेरो हकमा भने यो कुरा सत्य भएको छैन । अहिले पनि मेरो यौनेच्छा पहिलेजस्तै छ । म वैवाहिक जीवनप्रति इमान्दार छु । यसकारण आफ्ना यौनेच्छाका विषयमा श्रीमतीसँग कुरा गर्छु । श्रीमती भने बूढेसकालमा यौनसम्पर्क राख्नु उचित नहुने बताउँछिन् । उनलाई यो उमेरमा मेरो यौनेच्छा बढ्दै गएको देख्दा आश्चर्य लाग्छ ।

म आफू पनि आफैंलाई उमेर ढल्केर पनि किन यस्तो भइरहेको छ भनेर सोध्ने गर्छु । कहिलेकाहीँ दिक्क पनि लाग्छ तर यो शरीर नै यस्तो छ त म के गर्न सक्छु ? भनेर चित्त बुझाउँदै आएको छु ।

करुणाजी, मैले श्रीमतीलाई यस विषयमा बुझाउन सकेको छैन । न त मेरा यौनआवेगबाट पार नै हुन सकेको छु । अब तपाईं भन्नुहोस्, मैले मेरी श्रीमतीलाई कसरी मेरो समस्या बुझाउने ? उनले मेरो समस्या बुझिनन् भने मैले कस्तो वैकल्पिक व्यवस्था गर्दा ठीक होला ? कसो गरे मेरी श्रीमतीसँगको यौन जीवनमा सुधार आउला ?

मिस्टर ओल्ड

मिस्टर ओल्ड, सबैभन्दा पहिले तपाईंजस्तै धेरैलाई महसुस हुने प्रश्न सोध्नु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । यो तपाईंको मात्रै होइन, धेरै ओल्डम्यानहरूको समस्या हो ।

हालसालै गरिएको एक अध्ययनमा पुरुष र महिलाको उमेर ढल्कँदै जाने क्रममा क्रमिक रूपमा यौनेच्छा घट्दै जान्छ । तर यो सबैमा समान रूपमा लागू हुन्छ भन्ने कुरा सत्य होइन । सर्वेक्षणअनुसार ७० देखि ७७ वर्षसम्मको उमेरमा २७ देखि ५० प्रतिशतले यौनेच्छामा कमी हुने गर्दछ । यसको अर्थ हो, तपाईंको यौन आवेग केही घट्नुपर्ने थियो, घटेको छैन । अथवा जुन रूपमा घट्दै जानु पर्ने हो, त्यसअनुसार घटेको छैन ।

यो समस्या बुझ्न अर्को अध्ययनलाई सहारा बनाउनु पर्ने हुन्छ । अर्को अध्ययनले तपाईंजस्ता व्यक्तिलाई राम्रो सन्देश दिएको छ । यो नियमअनुसार कुनै व्यक्तिले स्वस्थ जीवनशैली अपनाएको छ, नियमित व्यायाम वा योग गर्ने गरेको छ भने उसको यौनेच्छा र यौन सम्वन्ध दुवैमा कुनै फरक नआउने देखाएको थियो । कुनै पुरुषमा यौनेच्छा छैन भने नहुनुको पछाडि विभिन्न कारण हुन सक्छन् ।

विशेषगरी उदासीपना र चिन्ता छ भने यौन चाहना घट्दै जान्छ । अर्को अवस्था भनेको इन्डोक्राइन हार्माेनको गडबडी अथवा कुनै औषधि लगातार रूपमा लामो समयदेखि खाइहेको अवस्था छ भने पनि यौन चाहनामा कमी आउँछ । केही अध्ययनहरूले पुरुषहरूमा ५० वर्षको उमेरपछि शून्य दशमलव ४ देखि शून्य दशमलव ८ प्रतिशतले टेस्टोस्टेरोन हार्मोन घट्दै जान्छ र यौन चाहनामा कमी आउने पनि देखाएको छ । एक अर्को अध्ययनका अनुसार धेरैजसो पुरुषहरू जसले ६० नाघिसकेपछि यौन चाहना बढी हुनु भनेको राम्रो होइन, असामान्य व्यवहार हो भन्ने विश्वास गर्छन् भने पनि यौनेच्छामा ह्रास आउन सक्छ ।

उमेर ढल्कँदै गएपछि पनि यौनजन्य आनन्द लिन सकिन्छ तर उमेरमा र उमेर ढल्केपछिको यौन चाहना, गतिविधि एवं मजबुतीमा फरक हुन्छ । यसबेला यौनसाथीबीच नजिकको सम्बन्ध सबैभन्दा महत्वपूर्ण कुरा बन्नपुग्छ । तपाईंको प्रश्नमा उल्लेख भएअनुसार तपाईंकी श्रीमतीलाई तपार्इंले उमेर ढल्कँदै गए पनि यौनेच्छा व्यक्तिपिच्छे फरक हुनसक्ने कुरा बुझाउन नसकेको हो कि जस्तो लाग्यो ।

हुनसक्छ, तपाईंमा मानसिक तथा शारीरिक अवस्था तन्दुरुस्त अवस्थामा रहेको र बूढ्यौलीसँगै आफूलाई अनुकूल बनाउँदै लैजानु भएको हो कि भन्ने बुझिन्छ । अध्ययनहरूले देखाएअनुसार यस्तो अवस्थामा यौन आनन्दमा कुनै कमी आउँदैन । बूढ्यौलीमा समेत यौनेच्छामा कमी आएको छैन भने श्रीमतीसँग यौनजीवनलाई स्वस्थ र आनन्दित बनाउनसक्ने कुरा खुलेर राख्नुभयो भने तपाईहरू दुवैको जीवन थप स्वस्थ र फूर्तिलो बन्दै जाने पनि हुन्छ । यो उमेरमा हुने सेक्स वा जीवन पनि भनौं न बोनस लाइफजस्तो बन्दै गएको हुन्छ । जति बाँचिन्छ रमाइलोसँग दिनहरू बिताऔँ न भन्ने सोच विकास हुँदै गएको हुन्छ । चिन्ता नगर्दा मानसिक स्फूर्ति बढ्दै गएको हुन्छ भने मानसिक स्फूर्ति बढ्ने क्रमसँगै यौन आनन्दको उचाइ बढ्दै जान्छ । अर्थात् एक पक्षले अर्को पक्षलाई सहयोग गरिराखेको हुन्छ र जीवन रोमाञ्चकारी बन्दै गएको हुन्छ ।

त्यसैले यौन सम्पर्क र उमेरको केही सम्बन्ध छ तर मानिसहरूले यसलाई कसरी सोचिरहेका छन् भन्ने कुरा महत्वपूर्ण हो । यौन सम्पर्क र यौनजन्य गतिबिधिबाट आनन्द लिने कुरा बूढ्यौलीमा पनि सम्भव छ । फरक कुरा यत्ति हो कि मानिसहरूले बूढ्यौलीसँगै आफूलाई समायोजन गर्दै लगेका छन् कि छैनन् ? त्यसैले उमेर बढ्ने क्रमसँगै अनुभवबाट फाइदा लिन सकिने सम्भावना पनि त हुन्छ । उमेर बढ्दै जाने कुरा सामान्य हो । यससँगै सेक्सको नियमित रुटिन परिवर्तन गर्नुपर्ने हुनसक्छ । यस उमेरमा पनि श्रीमतीसँग युवाअवस्थामा जस्तै आधुनिक शैली अपनाउने, घुम्न जाने, समय समयमा उपहार दिने, रमाइलो कल्पना गर्ने, पर्याप्त समय लिएर डिनर वा मनोरञ्जन दिने ठाउँमा जाने, महत्वपूर्ण मितिहरूलाई विशेष महत्व दिँदै एकअर्कासँग बिताउने गर्दा यौन जीवनमा फरकपन आउँछ । यो उमेरसम्म पुग्दा पनि तपाईंले आफ्नी श्रीमतीलाई आफ्ना समस्याका बारेमा विस्तृत रूपमा भन्न नसकेको सुन्दा मलाई अनौठो लाग्यो । यो उमेरसम्म आइपुग्दा आफ्ना जीवनसाथीले सबै कुरा बुझ्ने भइसक्छन् । तपाईंले सायद राम्रोसँग बुझाउन सक्नुभएन ।

विशेष गरी यो उमेरमा एकअर्कालाई गरिने सम्मानमा कमी आउनु हुँदैन । हरेक समयको लेखाजोखा गर्दा धन्यवाद दिने बानीले पनि व्यक्तिगत जीवन थप रमाइलो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment