Comments Add Comment

खप्तडमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन

६ जेठ, काठमाडौं । सुदूर पश्चिमको प्रख्यात पर्यटकीय स्थल खप्तडमा वृहत् साहित्यिक, सांस्कृतिक एवं आध्यात्मिक सम्मेलन भएको छ ।

नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा भइरहेको उक्त महोत्सवमा भारत र नेपालका विभिन्न कवि, चिन्तक, योगी एवं धार्मिक व्यक्तित्वहरूको सभागिता थियो । कार्यक्रम वैशाख २५ गतेदेखि जेठ १ गतेसम्म चलेको थियो ।

त्रिवेणी महास्नान, कवि गोष्ठी, खेचरनाथ अनुष्ठान, ध्यान, योग, सांस्कृतिक प्रवचन, लोक संस्कृतिका अनेक झाँकीहरू प्रदर्शन गरिएको थियो ।

जेठ १ गतेदेखि १० गतेसम्म लाग्ने मेलाको पूर्वसन्ध्यामा पर्यटकीय गतिविधि बढाउन उक्त कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष पदमराज जोशी ‘प्रभात’ले बताए ।

‘पर्यटकीय क्षेत्र खप्तडको सौन्दर्य मात्र नभएर यसको धार्मिक महत्त्व उजागर हाम्रो लक्ष्य हो । यसका लागि यो पटक अलिक फरक हिसाबले खप्तड महोत्सवको आयोजना भएको हो,’ प्रभातले अनलाइनखबरसँग भने ।

भारतबाट आउने पर्यटकले धार्मिक र सांस्कृतिक अनुभूति गराउन र त्यसको प्रचार गर्न भारतका प्रसिद्ध साहित्यकार एवं त्यहाँका सञ्चारमाध्यमलाई खप्तड बोलाइएको प्रभातले जनाए । भारतबाट आस्था च्यानल र उत्तराखण्डका झण्डै एक दर्जन सञ्चारमाध्यमका प्रतिनिधि खप्तड पुगेका थिए । त्यसैगरी भारतका केही प्रतिष्ठित कवि–लेखकहरूले नेपाली लेखकहरूसँगै आफ्ना रचना सुनाए ।

खप्तडको महोत्सवमा सहभागी हुन काठमाडौंबाट युवराज नयाँघरेको नेतृत्वमा एक दर्जनभन्दा बढी साहित्यकारहरू खप्तड पुगेका थिए । काठमाडौंबाट सुदूर पश्चिम पुगेका साहित्यकार–पत्रकारहरूलाई प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले स्वागत तथा बिदाइ गरेका थिए । सुदूर पश्चिमका केही सञ्चारमाध्यमको समेत सहभागिता रहेको उक्त कार्यक्रमलाई पर्यटन मन्त्री माया भट्टले सम्बोधन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment