Comments Add Comment

‘फुटबलबाट टाढिँदा मृत्युको आभास हुन्छ’

बुफोनको द्विविधाः सन्यास कि नयाँ भूमिका ?


४ जेठ, काठमाडौं । शनिबार हेलस भेरोनाविरुद्धको खेल भेट्रान गोलकिपर जियानलुइजी बुफोनको युभेन्टसबाट अन्तिम खेल हो ।

इटाली आउँदो रसिया विश्वकपमा छनोट हुन नसकेपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका उनले सिजनको अन्त्यसँगै सबैखाले फुटबलबाट सन्यास लिने बताएका थिए ।
तर, सन्यास फिर्ता लिँदै उनले भने, ‘मेरो आवश्यकता परेको समय बोलाइएमा म नफर्किन सक्दिनँ । म ६० वर्ष पुग्दा पनि गोलकिपर चाहियो भनेर मलाई बोलाए भने उपस्थित हुनेछु । किनभने, मभित्र राष्ट्रभक्ति छ ।’

जीवन नै खेलमा समर्पित गरेका खेलाडीलाई खेलबाट टाढिन सहज छैन । बुफोनले आफू फुटबलबाट टाढिनु मृत्युको पहिलो आभास भएको बताएका छन् । ‘जसले फुटबलरकै रुपमा मात्र जीवन बाँचेको छ । उसलाई खेल्न छाड्नु भनेको पहिलो मृत्यु पाएको जस्तो हुन्छ,’ उनी भन्छन् ।

यसैले बुफोनलाई अब के गर्ने भन्ने द्विविधा परेको छ ।

फुटबलबाट टाढा रहने मनस्थिति बनाएका उनालाई विभिन्न अवसरहरु आइरहेकाले पनि टाढिन भने मन छैन ।

‘१५ दिनअघि नै म पूर्व खेलाडी भइसकेको थिएँ । त्यो बेला मैले सन्यास लिने पक्का जस्तै थियो । तर, अहिले म केही कुरामा पनि निश्चित छैन,’ बिहीबार पत्रकार सम्मेलनमा उनले भने, ‘तर, शनिबार युभेन्टसमा मेरो अन्तिम खेल हो ।’

४० वर्षका उनले अब अगाडि के गर्ने भन्ने आउँदो हप्ता सुनाउने छन् । फुटबलमै मैदान र मैदानबाहिर रहेर गर्न सकिने विभिन्न अवसरहरु आइरहेको उनले बताएका छन् ।

इंग्लिस क्लब लिभरपुल र म्यानचेस्टर सिटीबाट पनि उनका लागि विभिन्न अफर आइरहेको बताइएको छ । यस्तोमा बुफोनले यसै गर्छन् भन्ने थाहा पाउन अझै एक हप्ता लाग्ने छ । उनले केही दिन सोचेर आˆनो स्वभावअनुरुप आत्माबाट निर्णय लिने बताएका छन् ।

उपाधि विजेता बुफोन

बुफोनले १९ नोभेम्बर १९९५ मा १७ वर्षको उमेरमा पार्मा क्लबबाट सिरी ए डेब्यू गरेका थिए । इटाली राष्ट्रिय टिममा उनी १९९७ बाट खेलिरहेका छन् ।

यो सिजन बुफोनले युभेन्टसलाई लगातार सातौँ पटक सिरी ए उपाधि जिताए । साथै लगातार चौथो पटक कोपा इटालीयाको उपाधि दिलाए । उनले करिअरकै अन्तिम खेल सिरी ए मा आउँदो शनिबार भेरोनासँग खेल्नेछन् ।

विश्व फुटबलको इतिहासमा सबैभन्दा महंगा गोलरक्षक बुफोन -सन् २००१ मा पार्माबाट ५२ मिलियन युरोमा युभेन्टस आएर कीर्तिमान बनाएका, त्यो अहिलेसम्म तोडिएको छैन) इटालीका महंगा खेलाडी पनि हुन् ।

क्लब तथा राष्ट्रिय टिमबाट गरी १०५१ खेल खेलेका बुफोन ‘सिरी ए’ तथा इटालीबाट सबैभन्दा धेरै खेलमा गोल नखाने गोलरक्षक हुन् । उनले ९ पटक सिरि ए, ५ पटक कोपा इटालीया, १ युइएफए कप र १ विश्वकप जितेका छन् ।

विश्वकपमा निराश इटाली

सन् १९३४, १९३८, १९८२ र २००६ को विश्वकप विजेता इटाली आउँदो विश्वकपमा जान नसकेपछि बुफोनलाई त्यो पीडाबाट निस्कन कठीन देखिएको थियो । विश्वकप छनोटका लागि युरोपियन क्षेत्रको प्ले-अफअन्तर्गत दोस्रो लेगमा स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएपछि इटालीको विश्वकप खेल्ने सम्भावना सकिएको हो ।

स्वीडेनसँगको पहिलो लेगमा १-० ले पराजित भएको इटाली दोश्रो लेगमा बराबरीमा रोकियो । इटाली सन् १९५८ पछि (६० वर्षमा) पहिलोपल्ट विश्वकपमा छनौट हुन असफल भएको हो ।

सन् १९३० को पहिलो विश्वकप खेल्न अस्वीकार गरेको इटाली १९५८ बाहेकका सबै संस्करणमा छनौट हुँदै आएको थियो । चार पटकको विश्वकप विजेता इटाली १९७० र १९९४ मा उपविजेता बनेको थियो ।
१२ वर्षपछि विश्वकपमा पुनरागमन गर्दै बुफोनको टिम इटालीलाई स्वीडेनले निराश पारिदियो । सन् १९५८ को उपविजेता स्वीडेनले पछिल्लो पटक सन् २००६ को विश्वकप खेलेको थियो । जतिबेला इटाली नै विश्व विजेता बनेको थियो ।

हारको पीडामा बुफोन

विश्वकप छनोटमा हारको सबैभन्दा ठूलो पीडा विश्व फुटबलमा आˆनो उत्कृष्ट खेल कौशल तथा व्यक्तित्वको परिचय बनाएका इटालीका कप्तान तथा गोलरक्षक बुफोनलाई नै पर्‍यो । बुफोनका लागि छनोटको अन्तिम खेल निकै निराशाजनक बन्यो ।

रसिया विश्वकपमा इटाली छनोट हुन नसकेर निराश बनेका बुफोनले सिजनको अन्त्यसँगै फुटबलबाट सन्यास लिने बताएका थिए ।

इटालीको राष्ट्रिय टिमबाट डेब्यु गरेदेखि उनले देखाएको खेल र उत्साह उनको उचाईभन्दा धेरै अग्लो थियो । तर, यसपटक ६ फिट ३ इन्च अग्ला बुफोनले आˆनो कप्तानीमा विश्वकप फुटबलको यात्रा तय गराउने सपना पूरा गर्न सकेनन् । यसले अन्तिम खेलमा दिएको निराशाको गहिराई निकै भयानक बन्यो ।

उनले सन् २०११ को फेब्रुअरीदेखि इटालीको कप्तानको जिम्मेवारी सम्हालेका थिए । टिमको महत्वपूर्ण खेलाडीको रुपमा सन् २००६ मा इटालीलाई विश्वकपको उपाधि दिलाएका बुफोन आˆनो कप्तानीमा टिमलाई रुसमा हुने आउँदो विश्वकपमा छनोट गराउन चाहन्थे ।

अन्तिम खेलपछि आँसु थाम्न नसकेका ४० वर्षे बुफोनले विश्वकपमा छनौट हुन नसकेकोमा इटालीयन फुटबललाई माया गर्ने सबैसँग माफी मागेका थिए । २१ वर्षको राष्ट्रिय टिमको करिअरमा १७६ खेल खेलेका बुफोनले चारपटकको विश्वविजेता इटालीको यसपटकको असफलताले सबै कुरा भने नरित्याउने बताए ।

‘इटालीयन फुटबलको भविष्य निकै राम्रो छ, किनकी हामीसँग हाम्रो इतिहास छ, खुबी छ, त्यो भन्दा पनि ठूलो कुरा, नराम्रो परिवेशबाट बाहिर निस्कन सक्ने क्षमता र धैर्यता हामीसँग छ ।’

‘फुटबलबिना म बेकाम’


जेरार्ड पिकेसँग प्लेयर्स टि्रब्युनमा दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘फुटबलबिना त म बेकामको मान्छे हुन्छु । फुटबलले नै मलाई राम्रो मान्छे बनाएको हो । यसैले अभ्यास गरेर, तालिम लिएर सायद म प्रशिक्षकको रुपमा फुटबलमा रहने छु । यसमा त्यस्तो हतार छैन । पहिले त राम्ररी बुझ्ने छु ।’

बुफोनलाई उनका साथी खेलाडी, प्रशिक्षक तथा फुटबल पण्डितले मात्रै नभएर फुटबल रुचाउने विश्वका सबैले उत्कृष्ट गोलरक्षकका रुपमा लिन्छन् । उनले क्लब र राष्ट्रिय टिमका खेलमा आफूलाई धेरै अघिदेखि नै यो सम्बोधनको लागि लायक बनाएका हुन् ।

इटालीयन सिरी ‘ए’ क्लब युभेन्ट्सका कप्तान बुफोन बल रोक्न सक्ने उत्कृष्ट क्षमताका लागि परिचित छन् । त्योभन्दा पनि ड्रेसिङ रुमको वातावरण राम्रो बनाउने व्यक्तिका रुपमा उनी अझ बढी सम्मानित छन् । उनको क्षमता बल रोक्ने मात्रै होइन, डिफेन्सको उत्कृष्ट व्यवस्थापन गर्न सक्नु पनि हो ।

२१ वर्षअघि रुससँगको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका बुफोनको अन्तर्राष्ट्रिय फुटबल जीवन रुस विश्वकपका लागि छनौट हुन नसकेर टुंगिदा विश्वभरका फुटबल समर्थक खिन्न छन् ।

परिवार नै खेलमा


बुफोनको परिवार नै खेलमा संलग्न छ । उनको आमा मारिया स्टेला इटालियन डिसकस थ्रो र सटपुटकी खेलाडी हुन् । १७ वर्षसम्म उनको खेल कीर्तिमान इटालीभर छाएको थियो ।

उनका बुवा एड्रियानो जुनियर सटपुटका च्याम्पियन हुन् । उनी भारत्तोलनका पनि खेलाडी हुन् । उनका दिदीहरु गुन्डालिना र भेरोनिका भलिबल खेलाडी हुन् ।

फुटबल सुरु गर्दा बुफोन मिडफिल्डर थिए । क्यामरुनका गोलकिपर थोमस टोमी कोनो धेरै मनपर्ने हुँदा उनले पनि गोलकिपिङ सुरु गरेका थिए । यसैले उनले आफ्नो छोराको नाम नै लुइस थोमस राखे ।

उनको कान्छा छोरा डेभिड लीको नाम अमेरिकन रक गायक डेभिड लि रोथको नाममा राखेका हुन् । दुवै छोरा उनको पहिलो श्रीमती चेक रिपब्लिककी मोडल एलेना सेरेदोभाबाट भएको हो । उनको अहिलेकी श्रीमती इरिया देमिकोबाट पनि एउटा छोरा भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment