Comments Add Comment

दक्षिणमा बन्द भयो भाजपाको ढोका, २०१९ मा कसरी आउला मोदी सरकार ?

६ जेठ, काठमाडौं । कर्नाटकमा बीएस यदुरप्पाले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएपछि दक्षिण भारतमा भारतीय जनता पार्टी (भाजपा)को ढोका बन्द भएको छ । सुबेमा कांग्रेस जनता दल सेक्युलर (जेडीएस)सँग मिलेर भाजपाको सरकार गिराउन सफल भयो । अब कांग्रेस र जेडीएस मिलेर सरकार बनाउँदैछन् ।

बहुमत पुर्‍याउन नसक्ने भएपछि मुख्यमन्त्रीको शपथ लिएको तीन दिनमै भाजपाका बीएस यदुरप्पाले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

कर्नाटकको सत्ताको कमाण्ड जेडीएसका एचडी कुमारास्वामीको हातमा हुनेछ । कर्नाटकको राजनीतिक घटनाक्रमबाट विपक्षीको बलियो हुने देखिएको छ । अब केन्द्रमा नरेन्द्र मोदीविरुद्ध विपक्षी एकजुट भएर महागठबन्धन बनाउन सक्ने अनुमान छ । यदि यस्तो भयो भने सन् २०१९ को आम चुनावमा भाजपालाई कडा चुनौतिको सामना गर्नुपर्ने छ ।

सवाल यो पनि छ कि विपक्षको सामना मोदीले कसरी गर्नेछन् र के अब भारतमा सन् २०१९ मा फेरि मोदी सरकार आउला ?

केन्द्रमा मोदी सरकारविरुद्ध विपक्षलाई एकजुट बनाउने प्रयास कांग्रेसले पहिलेदेखि नै गरिरहेको छ तर उ सफल भइसकेको छैन । दोस्रोतर्फ देशमा गैर कांग्रेस र गैर भाजपाको गठबन्धन बनाउने कोशिस पनि भइरहेको छ । यस्तो अवस्थामा कर्नाटक चुनावको नतिजापछि विपक्षी दलको तर्फबाट जसरी कांग्रेस र जेडीएस एकठाउँ उभिने अवस्था आएको छ यसबाट नयाँ राजनीतिक समीकरण बन्ने संकेत देखिएको छ ।

कर्नाटकमा कांग्रेस-जेडिएस एकजुट भइसकेका छन् । यदि दुवै दल मिलेर सन् २०१९ को लोकसभा चुनावमा उत्रिए भने फेरि कर्नाटकमा भाजपाका लागि सन् २०१४ को जस्तै चुनावी नतिजा दोहोर्‍याउन मुस्किल हुने छ । विधानसभा चुनावको नतिजासँग तुलना गर्ने हो भने लोकसभा चुनावमा फेरि राज्यको २८ लोकसभा सिटमध्ये २२ सिटमा कांग्रेस-जेडीएसले कब्जा गर्नेछन् । यस्तै भाजपा केबल ६ सिटमा सीमित हुनेछ । यसरी भाजपालाई सन् २०१४ को तुलनामा ११ सिट गुमाउनुपर्ने छ ।

यदि कर्नाटकको जस्तै विपक्षी दलहरु उत्तरप्रदेश, बिहार, पश्चिम बंगाल, तमिलनाडु, आन्ध्र प्रदेशसहित अन्य राज्यमा पनि एकजुट भएमा भाजपालाई सत्तामा पुग्न मुस्किल पर्ने छ ।

उत्तरप्रदेशमा पहिले नै सपा र बसपा मिलिसकेका छन् । यस्तो अवस्थामा कांग्रेस पनि साथमा हुनेछ र भाजपालाई फेरि अप्ठेरो पर्ने छ । विपक्षीलाई साथमा लिएर सबैभन्दा धेरै फाइदा लिने दाउमा कांग्रेस छ ।

यदि सन् २०१४ को लोकसभा चुनावमा उत्तर प्रदेशको सिटमा विश्लेषण गर्ने र भोटको प्रतिशत मिलाउने हो भने सपा र बसपालाई ८० मध्ये ५७ सिट जित्ने देखिन्छ । अर्थात् यदि सपा र बसपा मिलेर चुनाव लडे भने भाजपाले केबल २३ सिट पाउने देखिन्छ । हालै गोरखपुर र फूलपुरमा भएका उपचुनावमा यो कुरा देखिइसकेको छ । यस्तो अवस्थामा आगामी लोकसभा चुनावमा सपा र बसपा मिलेर चुनाव लड्ने तय भए भाजपालाई खतराको घण्टी हुनसक्छ ।

यसैप्रकारले बिहार, झारखण्ड, पश्चिम बंगाल र महाराष्ट्रमा पनि विपक्षी गठबन्धन भाजपाका लागि आगामी लोकसभा चुनावमा चुनौती बन्नेछ । महाराष्ट्रमा एनसीपी र कांग्रेस गठबन्धनको भाजपासँग प्रतिस्पर्धा हुनेछ । झारखण्डमा झारखण्ड मुक्तिमोर्चा र कांग्रेसबीच गठबन्धन बनेकाले भाजपालाई अप्ठेरो पर्नसक्छ ।

यतिमात्रै होइन, तमिलनाडु, तेलंगना र आन्ध्र प्रदेशमा पनि भाजपाविरुद्ध गठबन्धनले मोदीलाई दोस्रो कार्यकाल प्रधानमन्त्री बन्ने बाटो अवरोध गर्नसक्नेछ । सन् २०१९ मा हुने लोकसभा चुनावअघि यी राज्यहरुका क्षेत्रीय दलबीच बढ्दो निकटता निश्चितरुपमा महागठबन्धनलाई मजबुत गर्ने देखिएको छ ।

यसबाहेक तलंगनाका मुख्यमन्त्री चन्द्रशेखर राव र पश्चिम बंगालको मुख्यमन्त्री ममता बनर्जीले पूरै शक्तिका साथ भाजपाविरुद्ध विपक्षी दलहरुलाई एकजुट बनाउने कोशिसमा लागेका छन् । विपक्षी दलहरुको गठबन्धन देख्दा यति त भन्न सकिन्छ कि भाजपाको लागि शुभ संकेत छैन ।

कर्नाटकमा भाजपालाई रोक्ने कांग्रेसको रणनीति सफल भइसकेको छ । वर्तमान राजनीतिक घटनाक्रमलाई हेर्ने हो भने आगामी लोकसभा चुनाव निकै रोमान्चक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment