Comments Add Comment

प्रचण्डलाई साक्षी राखेर गरिएको त्यो भविष्यवाणी !

नेपालका राजनीतिमा ‘एन्टी करेन्ट’ जान सक्ने नेता नै सफल भएका छन्


पार्टी एकीकरणको भोलिपल्ट जेठ ४ गते नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को पदभार ग्रहणका क्रममा म पनि पेरिसडाँडा पुगेको थिएँ । मैले त्यहाँका सबै दृष्य हेरिरहँदा दुई वर्ष अघिको आफ्नै भविष्यवाणी नोस्टाल्जिया बनेर घुम्यो । कहिलेकहिँ के सोचेर बोलिन्छ, तर घटनाक्रमले सपना जस्ता लाग्ने बोली पनि व्यवहारमा परिणत हुँदा रहेछन् ।

२०७३ सालको साउन महिनातिर हो, काभ्रेको नालामा शहीद भिमसेन दाहाल र रामेश्वरको स्मृतिमा कार्यक्रम थियो । तत्कालिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रमुख अतिथि र म विशेष अतिथि थियौं कार्यक्रममा । त्यतिबेला प्रचण्ड केपी ओलीको सरकार ढाल्ने अन्तिम चलखेलमै हुनुहुँदोरहेछ ।

प्रचण्डलाई साँगामा गरेको त्यो आग्रह

तत्कालिन एमाले–माओवादी सत्ता गठबन्धनमा खटपट त वैशाखदेखि नै शुरु भइसकेको थियो । मैले प्रचण्डभन्दा ठीक अगाडि बोल्ने अवसर पाएकाले सत्ता गठबन्धन टुटाएर कांग्रेससँग नजान उहाँलाई आग्रह गरेँ, जुन स्वभाविक पनि थियो ।

आज त्यो स्मरण गर्नुभन्दा पनि त्यो भाषणको अन्तिमतिरको करिव ५ मिनेटको अडियो रेकर्ड आज फेरि सुनेँ, त्यो भाषणमा मैले जे बोलेको थिएँ आज ओली र प्रचण्ड त्यहि ठाउँमा आइपुग्नु सुखद परिघटना त हुँदै हो, त्योभन्दा बढी मलाई गर्वानुभूति पनि भएको छ । पेरिसडाँडामा प्रचण्डलाई भेट्दा मैले उहाँलाई दुई वर्षअघि गरेको आग्रह पूरा भएको अनुभूति भियो ।

प्रचण्डलाई मैले दुई वर्षअघि यसो भनेको रहेछुः

यो देशको स्वाभिमान र राष्ट्रिय स्वाधीनताको झण्डा उँचो राखेर आज संविधान जारी भएको छ । जनताले रोजेको संविधान आएको छ । अब यसको कार्यान्वयन मुख्य अभिभारा हो । यसको कार्यान्वयन कसरी गर्दा रहेछौं हेरौला नि भनेर किनारामा बसेर लोकतन्त्रको रक्षा हुन सक्दैन ।

अब हिंसाले नेपालको राजनीतिको नेतृत्व गर्दैन । अब कसका विरुद्ध लड्ने ? अब लडाइँ पुष्पकमल दाहाल, केपी ओली र शेरबहादुर देउवाविरुद्ध हुने भयो । त्यसो भए कसकाविरुद्ध लड्ने अब ?

म कमरेड पुष्पकमल दाहाललाई यहि मन्चबाट भन्छु–अब आँट गर्नुस् । बिगतमा मैले राजनीतिक टिप्पणी, विश्लेषणमा उहाँका नीतिको आलोचना गरेँ । तर इतिहासमा हामीले बिर्सन हुँदैन, पञ्चायतको निरकुशतन्त्र चलेका बेला एन्टी करेन्ट मुभमा जाने ताकत दुईजना नेताले देखाए । गणेशमान सिंह र मदन भण्डारीले एन्टी करेन्ट जाने हिम्मत गरेकै कारण पञ्चायत ढल्यो, राजतन्त्र इतिहासमै कमजोर बन्यो ।

आज पनि करिस्मेटिक नेतृत्व नेपाली राजनीतिमा छ । इतिहासले प्रतिभावान नेता आफैं जन्माउँदैन । त्यस्तो नेता समय र परिस्थितिले जन्माउँछ, संघर्षको मैदानले जन्माउँछ, आवश्यकताले जन्माउँछ ।

स्वाधीनताको रक्षा गर्ने, जनताको प्रगतिको दिशा दिने नेतृत्वको ताकत र क्षमता प्रचण्ड र केपी ओलीसँग छ । म कमरेड प्रचण्ड तपाईंलाई आग्रह गर्न चाहन्छु–अब माओवादी केन्द्र होइन, कम्युनिस्ट केन्द्रको निर्णय गर्नुस् । माओवादी केन्द्रको होइन, कम्युनिस्ट केन्द्रको अध्यक्ष बन्नुस् ।

अब किन एमाले राख्ने ? अब किन माओवादी केन्द्र राख्ने ? वैद्य, विप्लव र बाबुराम किन राख्नुुहुन्छ ? इतिहासले तपाईंलाई दायित्व सुम्पिएको छ । त्यो ताकत छ तपाईंसँग । तपाईं एन्टी करेन्ट जानसक्ने क्षमता भएको मान्छे हो ।

इतिहासको यो सच्चाइ हो कि वमपन्थीको जनमत ५४ प्रतिशत हुने, सिटमा ठूलो अरु हुने कहिलेसम्म ? किन खोल्नुहुन्छ राजनीतिका नाङ्ले पसल । बन्द गर्नुस्, अब कम्युनिस्ट आन्दोलनका नाङ्ले पसल । खोल्नुस् अब एउटै कम्युनिस्ट पार्टीको केन्द्र ।

आज हामी बिना बन्दुक लड्दैछौं । जसले नाकाबन्दीलाई नाकाबन्दी भन्न सक्दैन त्यसले स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न सक्दैन । चारताराको एकतारा झरिसक्यो, अझै पनि हामी विभाजित भएर उसैलाई शासन सत्ता चलाउन दिइरहने हो ? नत्र तपाईं दुईजना हिम्मत गर्नुस्, एउटै कम्युनिष्ट केन्द्र सम्भव छ ।

एन्टी करेन्ट जान हिम्मत क–कसले गरे ?

मैले सुर्खेत पुगेर पनि दुई वर्षअघि प्रचण्डलाई मैले गरेको आग्रह स्मरण गरेँ । सुब्बा कृष्णलाल अधिकारीले ‘मकैको खेती’ लेखेर ‘एन्टी करेन्ट’ जाने हिम्मत देखाएका थिए । उनी जेलमै मारिए राणाहरुबाट । तर, आजपनि उनी नेपाली साहित्यमा बिर्सन नसकिने पात्र हुन् ।

वास्तवमा नेपालको इतिहासमा एन्टी करेन्ट जाने नेताको पंक्तिमा वीपी कोइराला र पुष्पलालपछि गणेशमान सिंह र मदन भण्डारीलाई लिन सकिन्छ । मदन भण्डारीले जनताको बहुदलीय जनवादमार्फत कम्युनिस्ट आन्दोलनलाई जोगाएका हुन् । कम्युनिस्ट आन्दोलनमा त्यो एन्टीकरेन्ट मुभ नै थियो ।

यो पुस्तामा ओली र प्रचण्डमा त्यो सामर्थ्य थियो, आखिर देखाएर छाडे । इतिहासमा यो सामान्य परिघटना होइन । एमाले–माओवादी एकीकरण हुन्छन् भन्ने कसैले सोचेको पनि थिएन । तर, एन्टी करेन्ट जान सक्ने र निर्णय लिन सक्ने क्षमता नेतामा भएपछि सम्भव हुँदोरहेछ । सायद ओली र प्रचण्ड नभएका भए यो हुने थिएन होला ।

कम्युनिष्ट पार्टी र मुलुकको लोकतान्त्रिक कमाण्ड

अब कम्युनिष्ट आन्दोलन समाजवादको राजमार्गमा अघि बढ्यो । अब यसलाई कसरी अघि बढाउने भन्ने कुरा ड्राइभिङ सिटमा बसेका नेताहरुले होशियारी अपनाउनुपर्छ । हुन त अध्यक्ष ओलीले जेट चलाउन दुईटा पाइलट चाहिन्छ भनेर जेटरुपी विशाल कम्युनिष्ट पार्टीको उडान कुशल ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरिसक्नुभएको छ ।

कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणको श्रेय मदन भण्डारीलाई जान्छ । त्यसयता हामी जो जहाँ गएपनि अन्ततः त्यहि राजमार्गमा आइपुगेका छौं । हामीले कम्युनिष्ट पार्टीलाई पूरानै नोकरशाही ढंगले हाँक्न खोज्यौं भने सोभियत संघ कसरी विघटन भयो त्यहि हालतमा पुगिन्छ ।

इतिहासबाट पाठ सिकेर मुलुक र पार्टी दुवैलाई लोकतान्त्रिक तरिकाबाट कमाण्ड गर्ने जिम्मेवारी हाम्रा नेताले पाएका छन् । पार्टी सञ्चालनको शैलीका सन्दर्भमा मुख्य नेतृत्वमाथि चुनौति छन् । हामी अलग–अलग अभ्यासबाट पार्टी चलाएको अनुभवका आधारमा लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउनेतर्फ जानुपर्छ ।

अब देशले कोर्ष परिवर्तन गरेको छ । ७० वर्षदेखि कुनै न कुनै रुपमा कांग्रेसको वरिपरि घुमेको राजनीतिले अब नयाँ कोर्ष अँगालेको छ । कांग्रेस अब बैधानिक रुपमा प्रतिपक्ष भए पनि कम्युनिष्ट पार्टीको प्रतिस्पर्धामा आउने शक्ति रहेन । एकप्रकारले अब कांग्रेसको उपादेयता जनताले देखेनन् ।

अब नेपालको कमाण्ड कम्युनिष्ट पार्टीले नै गर्ने हो । तर, कम्युनिष्ट पार्टीले परम्परागत नोकरशाही शैलीमा होइन लोकतान्त्रिक कमाण्ड गर्ने हो । कांग्रेसका मित्रहरुको चिन्ता कम्युनिष्ट पार्टीले निरंकुश शासन व्यवस्था चलाउँछ कि भन्ने डर देखियो । हिजो सुर्खेतमा पनि त्यहाँका मेयरले त्यस्तै चिन्ता व्यक्त गरेपछि मैले जवाफ दिनुपर्‍याे ।

कांग्रेस किन आत्तिने ?

कांग्रेस आत्तिनु पर्दैन । कांग्रेसले अब नेपालको नेतृत्व गर्न सक्दैन तर, हामी विपक्षलाई दमन गर्ने वा दपेट्ने नीतिमा छैनौं । अर्को कुरा हामीलाई गाइड गर्ने भनेको संविधानले हो । संविधानमा ‘समाजवाद उन्मुख’ भन्ने शब्द कांग्रेस पनि सहमत भएर राखिएको हो ।

जुन कम्युनिष्ट पार्टीको उद्देश्य नै नेपालमा समाजवाद स्थापना गर्ने छ, त्यो पार्टीले निरंकुशताको कल्पना गर्न सक्दैन । हामी त अझ बढी लोकतान्त्रिक अभ्यासको मैदान बनाउँछौं । हाम्रो प्रधानमन्त्री तथा अध्यक्षले भन्नुभएको छ, नेपालमा सबैभन्दा ठूलो लोकतान्त्रिक शक्ति नेपाल कम्युनिष्ट पार्टी हो ।

हामीले लोकतन्त्रका आधारभूत मूल्य मान्यता स्वीकारेका होइनौं, ती मूल्य मान्यताका लागि संघर्ष गरेर हामीले स्थापित गरेका हौं । आवधिक निर्वाचन, मानवअधिकार, प्रेस स्वतन्त्रता, मौलिक हक जस्ता कुरामा हामी सम्झौता गर्दैनौं किनकी यी अधिकार हामीले लडेर स्थापित गरेका हौं । कसैले ल्याइदिएर हामीले स्वीकार गरेको होइन ।

मुख्य कुरा अब नेपालमा कम्युनिष्ट पार्टी नामका नाङ्ले पसलहरु बन्द हुन्छन् । एउटै शक्तिसाली कम्युनिष्ट केन्द्रले नेपाल र नेपाली जनताको नेतृत्व गर्नेछ । ‘समृृद्ध नेपाल र सुखी नेपाली’ भन्ने हाम्रो नारा कम्युनिष्ट पार्टीको नेतृत्वमा कार्यान्वयन हुनेछ । यो एकतालाई जनता र कार्यकर्ताले अनुमोदन गरेकाले यसको स्थायीत्वमा कसैले प्रश्न नउठाए हुन्छ ।

सञ्चार तथा सूचनाप्रविधि राज्यमन्त्री बास्कोटा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment