Comments Add Comment

बैंकको ब्याजले बढायो बीमा कम्पनीको नाफा

६ जेठ, काठमाडौं । बैंकिङ क्षेत्रमा बढेको ब्याजदरका कारण बीमा कम्पनीहरुको मुनाफा बढेको छ । तर, प्रिमियमबाट प्राप्त हुने आम्दानीमा भने अपेक्षित वृद्धि छैन ।

बीमा समितिका निर्देशक राजु रमण पौडेल बैंकमा राखेको निक्षेपबाट आएको आम्दानीका कारण पछिल्लो समय बीमा कम्पनीहरुको नाफा बढेको बताउँछन् ।

शिखर इन्स्योरेन्सका सिनियर म्यानेजर सुरज राजबाहक पनि बीमा कम्पनीको नाफामा ब्याजको हिस्सा बढ्दो रहेको बताउँछन् । उनले भने ‘नाफामा ब्याजको हिस्सा बढेको छ तर, नाफा बढ्नुको सबै कारण बैंकको ब्याज बढ्नु मात्रै पनि होइन ।’

उनका अनुसार पछिल्लो समय बीमा कम्पनीहरुले ब्यापक रुपमा शाखा बिस्तार गरेका छन् । शाखासँगै बजार पनि बढेको छ । बजार बढेसँगै बीमा शुल्क बापत आउने रकममा पनि बृद्धि भएको छ । जसको पनि नाफामा महत्वपूर्ण योगदान छ ।

बैंकिङ क्षेत्रमा रहेको तरलताका कारण बैंकहरुले ऋण प्रवाह भने बढाउन सकेका छैनन् ।

बैंकहरुले यसरी ऋण प्रवाह गर्न नसक्दा ऋणको बीमा भने अपेक्षित रुपमा बृद्धि हुन नसकेको राजवाहक बताउँछन् । तरलता अभावका कारण थप ऋण प्रवाह गर्न नसकेसँगै केही वाणिज्य बैंकको भने नाफामा समेत सीधा असर परेको छ । गत वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ब्याजबापतको आम्दानी घटेपछि ६ वटा बैंकको भने मुनाफामा नै गिरावट आएको छ ।

बीमा कम्पनीहरु योे मुनाफासँग सन्तुष्ट भने छैनन् । शिखर इन्स्यारेन्सका सिनियर म्यानेजर राजवाहक भन्छन् ‘प्रिमियम बापतको आम्दानीमा बीमा कम्पनीहरुले अपेक्षित बृद्धि गर्न सकेका छैनन्, शाखा बढेअनुसार प्रिमियममा बृद्धि हुन सकेको छैन ।’

काठमाडौं बाहिर खुलेका शाखाहरुबाट प्रिमियम संकलन बढेको छ । तर, काठमाडौंलगायत केही शहरी क्षेत्रमा अपेक्षित रुपमा प्रिमियम बढ्न सकेको छैन ।

बीमा कम्पनीले धेरै कमाए

राष्ट्रिय बीमा कम्पनीले आफ्नो नाफामा उल्लेख्य बृद्धि गरेको छ । सरकारी बीमा कम्पनीले गत वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा ७६ प्रतिशत बराबर बृद्धि गरेको छ । निर्जीबन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी नाफा नै राष्ट्रिय बीमा कम्पनीले कमाएको छ ।

गत वर्षको चैत मसान्तसम्ममा राष्ट्रिय बीमा कम्पनीको मुनाफा २६ करोड १३ लाख रुपैयाँ थियो । चालु आथिक वर्षको तेस्रो त्रैमासमा भने राष्ट्रिय बीमा कम्पनीले ४६ करोड १३ लाख मुनाफा कमाएको छ, जुन ७६ प्रतिशतले बृद्धि हो ।

राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ७ करोड ८४ लाख लगानी, कर्जा तथा अन्यबाट हुुने आय शीर्षकबाट कमाएको थियो । तर, यसपाली यस्तो आम्दानी १७ करोड २१ लाख पुगेको छ ।

अन्य आम्दानीमा ब्याज पनि पर्ने गर्छ । साथै यही शीर्षकमा कर्जा भनेर राखिएको छ जुन बीमा कम्पनीले दिएको ऋणबाट प्राप्त गर्ने आम्दानी हो । सबैभन्दा बढी मुनाफा कमाउनेमा राष्ट्रिय बीमा कम्पनी देखिए पनि नाफामा सबैभन्दा बढी भने युनाइटेड इन्स्योरेन्स कम्पनीले कमाएको देखिन्छ ।

गत वर्षको चैत मसान्तसम्ममा ४ करोड ५१ लाख कमाएको युनाइटेडले चालु आर्थिक वर्षको सोहि अवधिमा ९ करोड १९ लाख कमाएको छ । जुन गत वर्षको तुलनामा १ सय ३ प्रतिशतले बृद्धि हो ।

निर्जीवन बीमा कम्पनी


जीवन बीमातर्फ पनि सरकारी लगानी रहेको बीमा संस्थानले नै उल्लेख्य मात्रामा नाफा बृद्धि गरेको देखिन्छ ।

गत वर्षको चैतसम्म ६६ लाख कमाएको बीमा संस्थानले चालु आर्थिक वर्षको सोहि अवधिमा १ करोड ४७ लाख कमाएको छ । जुन १ सय २२ प्रतिशतले बृद्धि हो ।

नाफाको आधारमा हेर्ने हो भने सबैभन्दा बढी नेपाल लाइफ इन्स्यारेन्सले कमाएको छ । यसले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४३ करोड ५७ लाख कमाएको थियो ।

गत आर्थिक वर्षको सोहि अवधिमा भने नेपाल लाइफले ४० करोड ९६ लाख कमाएको थियो । तर यो गत वर्षको तुलनामा झन्डै ६ प्रतिशतले मात्रै बृद्धि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment