Comments Add Comment

डेनमार्कमा नेपाली रेस्टुरेन्ट व्यवसाय संचालन र चुनौती

युरोप, अमेरिका, अस्ट्रेलिया, जापान वा जुनसुकै देश किन नहोस्, धेरै नेपालीहरुको रोजाइको व्यवसाय रेस्टुरेन्ट नै हो । संसारका धेरै देशमा जहाँ नेपाली पुगेका छन्, त्यहाँ आफ्नो शैक्षिक योग्यताअनुसारको जागिर गर्ने नेपालीको संख्या न्यून नै छ । डेनमार्कको हकमा पनि यो लागू हुन्छ । शैक्षिक योग्यताअनुसारको काम नपाएपनि सिकेको सीप प्रयोग गर्नेहरुको संख्या भने धेरै नै छ। यसमा सबैभन्दा धेरैले गर्ने सीपमुलक काम भनेको कुक नै हो ।

यसरी केही समय अरुको रेस्टुरेन्टमा काम गरिसकेपछि केही पैसा पनि सञ्चय हुने, बजार पनि बुझिने र आत्मविश्वास पनि जाग्ने हुनाले आफ्नै व्यवसाय सुरु गर्नुपर्दा रेस्टुरेन्ट ब्यबसाय नै रोजाइमा पर्नु नौलो कुरा होइन । तर, डेनमार्कको सन्दर्भमा सबै ब्यबसाय गर्न खोज्नेहरु आफू अनुभवि हुँदाहुँदै पनि सफल हुन सक्नुभएको छैन । यसका लागि विभिन्न तथ्यहरु महत्वपूर्ण छन् जसलाइ तल बुँदागत रुपमा राख्ने प्रयास गरेको छु ।

जागिरलाई सुरक्षा, व्यवसायलाई जोखिम

कामदारहरुको ज्याला घन्टाको हिसाबले तिरिन्छ र ज्याला दरमा थोरै मात्र फरक भए पनि अरु सेवा सुविधा सबैको बराबर हुने हुनाले जागिर सानो वा ठूलो, सरकारी वा निजी कम्पनिसँग कुनै सरोकार हुँदैन । आफूले मासिक ४२० डेनिश क्रोनर तिरेको खण्डमा पूर्णरूपमा जागिर बीमा गर्न सकिन्छ जसको निश्चित सर्त पूरा गरी कम्तिमा एक वर्ष काम गरेको खण्डमा बढीमा ३ वर्ष आफू बेरोजगार हुँदा बेरोजगार भत्ता लिन सकिन्छ । जागिर छुटेको खण्डमा पनि तलबको सुरक्षा हुने तर रेस्टुरेन्ट ब्यबसाय गर्दा धेरै लगानी गर्नु पर्ने, प्रतिफलको ग्यारेन्टी नहुने र टाट पल्टेको खण्डमा पनि कुनै सुरक्षा वा क्षतिपूर्ति नहुनाले पनि धेरै लगानी गरेर जोखिम उठाउँन चाहँदैनन ।

शक्तिशाली कर्मचारी संगठन

डेनमार्कको कानून सधै श्रमजीवीको पक्षमा हुन्छ र यहाँका श्रम संगठनहरु पनि सधै कामदारको पक्षमा हुन्छन् । श्रमिकलाई कुनैपनि किसिमले शोषण गर्ने भन्ने यहाँ कल्पना पनि गर्न सकिन्न । कामदारलाई सानो भन्दा सानो अन्याय गरेको प्रमाण भएमा संगठनले व्यवसाय नै बन्द गराउन सक्छन् । यहाँको सरकार, संघ, संस्था सबै श्रमिकको पक्षमा हुन्छन् । नेपाली ब्यबसायीहरुले डेनिश कामदार राख्न धेरै महँगो पर्छ । आफुले मात्रै काम गेर रेस्टुरेन्ट संचालन गर्न असम्भब हुने अनि कामदार राख्न महँगो पर्ने हुनाले पनि रेस्टुरेन्ट ब्यबसाय लामो समय टिकाई राख्न कठिन हुन्छ ।

कर प्रणाली

डेनमार्क फिनल्याण्ड र नर्वे पछि तेस्रो रास्ट्र हो जहाँ कामदारले ३६ देखि ४६ प्रतिशतसम्म कर तिर्नुपर्छ । रेस्टुरेन्टले पनि डेनमार्कको कर प्रणालीभित्रै रहेर कर्मचारीको तलब दिनुपर्छ अनि १२ प्रतिशत बिदा खर्चलगायत पेन्सन पनि दिनुपर्छ। दैनिक बिक्रिको २५ प्रतिशत मूल्य अभिवृद्धि कर (VAT ) पनि तिर्नुपर्ने हुन्छ । ९० प्रतिशत कारोबार बैंक कार्डबाट हुने हुनाले कर छल्ने सम्भावना रहँदैन । अर्कोतर्फ़ डेनिश भाषामा निपुण नहुनाले कुन शीर्षकमा कति कर छुट हुने हो अथवा आंशिक लाग्ने हो भन्ने पनि थाहा नहुने अनि कुन शीर्षकमा साबिकभन्दा धेरै कर लाग्ने हो भन्ने कुराको पनि ज्ञान कम हुने हुनाले पनि दोहोरो करको भारमा परिन्छ र ब्यबसाय लामो समय सम्म टिकिरहन कठिन हुन्छ । तिर्नुपर्ने रकम जसरी पनि तिर्नुपर्ने अनि आफूले फिर्ता पाउनु पर्ने रकम प्रक्रिया पुरा नगरेको खण्डमा फिर्ता नहुनुले पनि ब्यबसाय संचालनमा कठिनाइ हुन्छ ।

उच्च उपयोगिता शुल्क

डेनमार्कमा नेपाली अथवा बिदेशी रेस्टुरेन्ट ब्यबसाय सफल नहुनुको मुख्य कारण उच्च उपयोगिता शुल्क पनि हो । न्युनतम पनि बीस जना पाहुनाले खाना खान सक्ने क्षमता भएको रेस्टुरेन्ट खोल्नको लागि न्युनतम मासिक १०००० क्रोनर र अरु धेरै उपयोगिता शुल्क तिर्नु पर्छ । जस्तै बिजुलीको लागि मासिक ४००० क्रोनर, पानीको लागि ५०० क्रोनर, तातो पानी र जाडोमा न्यानो बनाउनको लागि १००० क्रोनर, फोहोर ब्यबस्थापनको लागि १००० क्रोनर, बैंक कार्ड अथवा पेमेन्ट सिस्टमको लागि १५०० क्रोनर र रेस्टुरेन्ट मर्मतसंहारको लागि ५०० क्रोनर तिर्नुपर्छ ।

त्यसमा एकजना कामदारको लागि दैनिक न्युनतम ५०० क्रोनर तिर्नुभयो भने पनि मासिक १५००० क्रोनर तिर्नुपर्छ । साथै दैनिक कच्चा पदार्थ खरिदको लागि न्युनतम पनि १००० खर्च हुन्छ । त्यसैले १०००० मासिक भाडा तिर्नुपर्ने एउटा सानो रेस्टुरेन्टले पनि समग्रमा मासिक ६० हजार क्रोनर खर्च हुन्छ । यसको मतलब दैनिक खर्च मात्र २००० हुन्छ भने दैनिक २००० क्रोनर बचत गर्नको लागि न्युनतम पनि ४००० को बिक्रि हुनुपर्छ जुन एउटा सानो रेस्टुरेन्टको लागि असम्भव जस्तै हुन्छ ।

त्यसैले हेर्दा सानो काम हो भन्ने लागे पनि यसका जोखिम र कठिनाइहरु धेरै भएकोले अत्यन्त सावधानी र ध्यान पुर्याएर मात्र लगानी गर्नुपर्छ । अन्यथा धेरैले जीवनभर कमाएको रेस्टुरेन्ट व्यवसायमै गुमाएर फेरि जागिरमा फर्कनुपर्ने अवस्था पनि आउनसक्छ ।

(लेखक गाैतम डेनमार्कमा रेस्टुरेन्ट व्यवसाय गर्छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment