Comments Add Comment

वैद्यलाई छाडेर प्रचण्डसँग हात मिलाएको समूह असन्तुष्ट

६ जेठ, काठमाडौं । एमालेसँग पार्टी एकता गर्नुअघि तत्कालीन माओवादी केन्द्रले थुप्रै पूर्व माओवादी समूहलाई पार्टीमा समाहित गरायो । प्रचण्डले बताएअनुसार सानाठूला गरी ४१/४२ समूह माओवादीमा मिसिए ।

तर, प्रचण्डले एमालेसँग एकता गर्दै नेपाल कम्युनिष्ट पार्टी बनाएपछि ती समूहमा असन्तुष्टि देखिन थालेको छ । एउटा समूहले त समानान्तर गतिविधि गर्ने बताएको छ । उचित जिम्मेवारी नपाएको भन्दै युवराज पौडेल ‘सफल’ समूहले समानान्तर गतिविधि गर्ने घोषणा गरेको हो ।

यो समूह १ मंसिरमा माओवादीमा समाहित भएको थियो । आफूलाई २०५४ सालदेखि सक्रिय राजनीतिमा रहेको बताउने पौडेल त्यसअघि वैद्य माओवादीमा थिए ।

वैद्य माओवादीबाट अलग भएर ‘नेकपा नेपालवादी समूह’ नामको छुट्टै मोर्चा बनाएका थिए । तर, एमाले र माओवादी मिलेपछि यो समूह असन्तुष्ट भएको छ ।

नेकपा गठन भएको तीन दिनपछि विज्ञप्ति जारी गर्दै सफलले नेकपाको आगामी महाधिवेशनसम्म सामानान्तर गतिविधि गर्ने घोषणा गरेका छन् । उनले भने, ‘नयाँ केन्द्रीय समितिको निर्माण गर्दा पनि हाम्रो समूहलाई सम्मानजनक स्थान दिने सम्बन्धमा भने कुनै प्रतिकृया नआएकाले नेकपा नेपालवादी समूहलाई समानान्तर केन्द्रीय समितिको रुपमा घोषणा गर्न बाध्य भएका छौं ।’

२९८ जना रहेको आफ्नो समूहलाई सम्मानजनक स्थान नदिइएको गुनासो उनले गरे । केन्द्र, जिल्ला वा क्षेत्रमा आफूहरुलाई पनि उचित स्थान दिनुपर्ने पौडेलको माग छ । त्यसोभएमा सामानान्तर गतिविधि नगर्ने उनले सर्त राखे ।

‘सम्मानजनक एकता भनेकै पद पनि हो । सुरुमा दिने भनेपनि पछि ४४१ सदस्यीय केन्द्रीय समितिमा हामीहरुलाई पारिएन,’ उनले अनलाइनखबरसँग भने, ‘केन्द्रीय समिति, राष्ट्रिय परिषद, प्रदेश र जिल्ला तहमा हामीलाई के जिम्मेवारी दिने हो, त्योबारे लिखित सहमति भयो भने नेपाल कम्युनिष्ट पार्टीसँगै सहकार्य गरेर जान तयार छौं ।’

पौडेल समूहले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकीकरणमा आंशिक रुपमा सहमति जनाएको छ । नेपाल कम्युनिस्ट पार्टीमा मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द ‘विप्लव’, नारायणमान विजुक्छे ‘रोहित’, चित्रबहादुर केसी, सीपी मैनाली, ऋषि कट्टेललगायतले नेतृत्व गरेको अन्य पार्टी वा समूहलाई पनि एकता प्रक्रियामा ल्याउन नेकपाको नेतृत्वलाई सुझाव दिएको छ ।

तत्कालीन एमाले र माओवादीबीच एकीकरणको प्रक्रिया अघि बढेपछि माओवादीबाट गोपाल किराँती, विश्वभक्त दुवाललगायतको समूह यसअघि नै अलग्गिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment