Comments Add Comment

वैदेशिक रोजगारीका सिन्डिकेटधारी पक्राउ पर्न सुरु, भीएलएनका अध्यक्ष श्रेष्ठ समातिए


६ जेठ, काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा सिन्डिकेट लाद्ने व्यवसायीलाई पनि पक्राउ गर्न थालेको छ । मलेसिया जाने कामदारमाथि भीएलएन र वानस्टप सेन्टरका नाममा अतिरिक्त आर्थिक भार थपेर अवैध धन्दा चलाइरहेका राम श्रेष्ठ पक्राउ परेका छन् ।

भीएलएनको कार्यालयमा छापा हानेर  प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । कार्यालयबाट ल्यापटप र कागजात पनि बरामद गरिएको छ ।

वाइड स्पेस म्यानपावरका सञ्चालक श्रेष्ठ हारभेष्ट मुन ट्राभलका सञ्चालक पनि हुन् । सरकारबाट अनुमति नै नलिई मलेसियन सरकारका उच्च अधिकारीसँग मिलेमतो गरी मलेसिया जाने कामदारबाट भीएलएनको नाममा ३२ सय र वानस्टप सेन्टरको नाममा करबाहेक २८ सय रुपैयाँ अशुल्ने काममा उनको श्रेष्ठको भूमिका भएको आरोप छ ।

श्रेष्ठले भिसा स्ट्याम्पिङका लागि भीएलएन खडा गरेर ३२ सय रुपैयाँ असुल्दै आएका थिए । उनको यो धन्दा २०७० कात्तिकदेखि चलिरहेको थियो । ७ सय रुपैयाँमा हुने कामका लागि उनले ३२ सय असुल्दा कामदार मर्कामा परेका थिए ।

उनले पनि २०७३ असोजबाट वान स्टप सेन्टरका नाममा पनि कामदारमाथि आर्थिक भार थपे । महाराजगञ्जमा राहदानी संकलन गरी सानेपा पुर्‍याउँदा २८ सय रुपैयाँ लिने अर्को धन्दा उनले चलाएका थिए ।

भीएलएनले अहिलेसम्म करिब एक अर्ब ९३ करोड रुपैयाँ अवैध असुली गरेको छ । वान स्टप सेन्टरका नामा झण्डै ५७ करोड रुपैयाँ ठगिएको छ ।

श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले पदबहाली गरेलगत्तै वैदेशिक रोजगारीका नाममा लादिएको सिन्डिकेट तोड्ने घोषणा गरेका थिए । उनले मलेसियामा नयाँ सरकार बनेलगत्तै कुटनीतिक रुपमा यस्ता गैरकानुनी धन्दा बन्द गराउन पहल गरेका थिए ।

त्यसको प्रतिक्रया स्वरुप सिन्डिकेटधारी व्यवसायीले  विदेश जाने कामदारको मेडिकल परीक्षण रोकिदिएका छन् । श्रम मन्त्रालयले अवैधानिक धन्दा चलाउने यस्ता व्यवसायीलाई पक्राउ गरेर कारवाही गर्न सिफारिस गर्दै फाइल गृह मन्त्रालयमा पठाएको थियो ।

त्यसमा अनुसन्धान गरेर प्रहरीले भिएलएनका राम श्रेष्ठसहित सिएसजीका गोविन्द थपलिया र वायोमेट्रिकका कैलाश खड्कालार्इ पक्राउ गर्न लागेको प्रहरी उच्च स्रोतले बतायो ।

माइग्राम नामको संस्थाले पनि विगत दुई वर्षदेखि नेपाली कामदारबाट स्वास्थ्य परीक्षणका नाममा प्रतिकामदार ३२ सय रुपैयाँ शुल्क उठाउँदै आएको छ । वायोमेट्रिकका नाममा अर्को ४५ सय रुपैयाँ बुझाउनुपर्छ ।

दुई वर्ष अघिदेखि आपराधिक गतिविधिमा संलग्न भए-नभएको परीक्षण गर्ने नाममा जिएससी भन्ने संस्था खडा गरेर (आईएससी)का नाममा प्रतिकामदार थप ३ हजार २ सय रुपैयाँ थप शुल्कको भार पनि थोपरिँदै आएको छ ।

कामदारले मलेसिया जान झण्डै  १७ हजार रुपैयाँ  विभिन्न अवैध संघसंस्थाहरूलाई बुझाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment