तत्कालीन नेकपा एमालेमा दुई कार्यकाल महासचिव भएका ईश्वर पोखरेलले पार्टी एकता हुँदा साविकको पद जोगाउन सकेनन् । उनलाई पछि पार्दै विष्णु पौडेल महासचिव भएका छन् ।
यद्यपि नेपाल कम्युनिस्ट पार्टीको ९ सदस्यीय हाइकमाण्डमा पोखरेल सातौं वरियतामा छन् । कतिपयले पोखरेलले ‘भाका टिप्न नसकेका’ कारण अध्यक्ष केपी ओलीले पौडेललाई रोजेको बताउने गरेका छन् । पार्टी एकता प्रक्रियाबारे रक्षामन्त्री समेत रहेका पोखरेलसँग अनलाइनखबरले गरेको कुराकानी :
पार्टी एकता हुन्छ भने सबैले त्याग गर्न तयार हुनुपर्छ भन्नुहुन्थ्यो, त्याग गर्ने भाग चाहिँ तपाईको मा नै परेछ होइन ?
मैले पार्टी एकता हुनुअघिका अन्तर्वार्ताहरुमा भन्ने गरेको थिएँ, यो एकता आजको राष्ट्रिय आवश्यकता, जनताको चाहना हो । कम्युनिस्ट आन्दोलनमा लामो समय लागेका कार्यकर्ताको चाहना हो । हामीले यसलाई पूरा गर्न दुवै पार्टीमा संलग्न नेता कार्यकर्ताले त्याग गर्नको लागि तयार हुनुपर्छ भनेको हो ।
एकता हुने मूल्यमा म जुनसुकै पदमा रहन र जस्तोसुकै त्याग गर्न तयार छु भनेको थिएँ । मैले कुनै देखाउन वा सुनाउन होइन अन्तरहृदयबाट भनेको कुरा थियो त्यो ।
म आज के खुसी छु भने पार्टी एकता भयो । यो ठूलो कुरा हो, म कहाँ पुगे भन्ने ठूलो कुरा होइन ।
एमालेको दुईपटक निर्वाचित भएको महासचिव थिएँ । एमालेको विधान अनुसार तेस्रो पटक हुने अवस्था पनि थिएन ।
अहिले पार्टी एकता भएको अवस्थामा त्यहिँ रहनुपर्छ भन्ने आग्रह थिएन । एकता सफल बनाउन हर कोहीले त्याग गर्नुपर्छ भन्ने कुरा थियो । यसमा त्याग गरेको सन्दर्भमा मलाई कुनै अन्यथा लागेको छैन ।
यसै पनि पार्टीको आवश्यकताका लागि त्याग गर्नुपर्छ भन्ने संस्कारबाट हुर्केर आएका मान्छे हौं । विशाल पार्टी बनेको छ, संगठनात्मक व्यवस्थापन गर्न र सबै कुरा दैनिक सञ्चालन गर्न पृथक खालको एउटा जिम्मेवारी आवश्यकता देखियो । पार्टी अध्यक्षले यसो गरौं भन्ने सोचेरै प्रस्ताव राख्नुभयो, त्यसलाई हामीले समर्थन गरेका छौं ।
महासचिव नै राख्ने र तत्कालिन एमालेले नै पाउने भएपछि तपाईको दावी रहेन कि सक्नुभएन ?
पार्टी संगठनमा उसको योगदान, सुझबुझ, योग्यता सक्रियताले नेतृत्व स्थापित हुने हो । पार्टी अध्यक्षले सोचेरै गर्नुभएको कुरा हो, यसलाई अनावश्यक गिजोल्न जरुरी छैन ।
मलाई त्यस्तो केही लागेको छैन । म अहिले पनि पार्टी सञ्चालनको लिडिङ टिमको सदस्यका रुपमा छु । नीति निर्माण र निर्णय गर्ने काम त्यहिँबाट हुने हो ।
दैनिक काम गर्ने, संगठन सचिवालय व्यवस्थापन गर्ने कुरामा धेरै घोटिएर लाग्नुपर्छ । म राज्य सञ्चालनको ठाउँमा पनि छु । दैनिक रुपमा मिहिन ढंगले संगठन र पार्टी सञ्चालनको काममा लाग्न पनि नभ्याइने रहेछ ।
यो सबै आवश्यकता विचार गरेर पार्टी अध्यक्षले पार्टी एकता संयोजन समितिमा प्रस्ताव राख्नुभएपछि हामीले सकारात्मक रुपमा लिएका छौं ।
शुरुमा त महासचिव पद नराख्ने भनिएको थियो होइन ?
शुरुमा दुईटा अध्यक्ष राख्ने अरु पदाधिकारी नराख्ने भनेर अन्तरिम विधान बनेको हो । तर, पछि दुई अध्यक्षले छलफल गर्दै जाँदा त्यो आवश्यकता ठान्नुभयो र संयोजन समितिमा आयो । हामीले अनुमोदन गर्यौं ।
तत्कालिन एमालेको उपमहासचिव विष्णु पौडेल महासचिव भइरहँदा तपाई नेताहरुको रोजाइमा नपरेको अर्थमा बुझ्न सकिन्छ ?
नेताहरुको रोजाइ पनि हो । विष्णु पौडेल एमालेमा उपमहासचिव हुनुहुन्थ्यो, पार्टीको संगठन हेर्ने जिम्मेवारी तोकिएको थियो उहाँलाई । विष्णु पौडेल एमालेमा संगठन बुझेको र पार्टी सञ्चालन गर्ने क्षमता भएको थोरै नेतामा पर्नुहुन्छ । संगठन निर्माण सञ्चालन गर्ने कुरामा महत्वपूर्ण क्षमता राख्ने साथी हो ।
विष्णु पौडेललाई मैले मूल्यांकन गर्दा म के ठान्छु भने पार्टीको संगठनात्मक मामिलामा योग्यतापूर्वक सञ्चालन गर्ने क्षमता भएको मान्छे हो । म कुनैबेला लुम्बिनीमा इञ्चार्ज हुँदा उहाँ जिल्ला कमिटी सचिव हुनुहुुन्थ्यो । मैले त्यो बेला नजिकबाट उहाँको क्षमता हेरेको छु । उहाँ जनआन्दोलन लगत्तै महाकालीमा इन्चार्ज भएर काम गर्नुभयो । त्यहाँ पनि राम्रो काम भयो ।
संगठनको मामिलामा एमालेभित्र भरोसा गर्ने अग्रपंक्तिको नेताका रुपमा विष्णु पौडेललाई बुझेको छु । त्यसैले उहाँलाई मैले महासचिव भएको बेला पनि भरोसा गरेर संगठनको जिम्मा दिएको हो ।
महाधिवेशनबाट बन्ने अध्यक्षमा त प्रचण्ड माधव नेपाल जस्ता नेताहरुको दाबेदारी हुनेछ, तपाईको रोलक्रम अब घट्दै गयो होइन ?
म एमालेमा हुँदा पनि पार्टी एकता संयोजन समितिमा थिएँ । एमालेमा मेरो रोलक्रम जस्तो ढंगको वैधानिक व्यवस्था थियो त्यो माथि नै थियो । अहिले पनि तल परेको छैन, त्यो भन्दा माथि नै छु । त्यसबेला पनि आठ/नौ कति थियो, अहिले सात नम्बरै छु ।
आउने महाधिवेशनमा के बन्छु भनेर पहिले नै हिसाब किताब गरेर बस्ने कुरा मैले कहिल्यै सोचिन । नेतृत्वमा आउने भनेको परिस्थितिले निर्धारण गर्छ । आवश्यकताले निर्धारण गर्छ र देशभरीका कार्यकर्ताले डिमान्ड गरेको मान्छे नेता हो ।
मलाई अहिले नै यो चाहिन्छ भनेर अहिल्यै हिसाब किताब गर्ने कुरा कम्युनिस्ट स्पिरिट होइन ।
महाधिवेशनमा मलाई यो चाहिन्छ भनेर कुनै नेता हिँड्छ भने त्यो गलत हो । हामी के हुन्छौं भन्ने कुरा त्यसबेलाको परिस्थितिले के भन्छ त्यस आधारमा हुन्छ ।
तर, फर्स्ट म्यानभन्दा तल बस्नै नसक्ने प्रचण्डको स्वभाव, अनि फर्स्ट म्यानबाट १० वर्षदेखि तल पर्नुपरेका माधव नेपालको सक्रियतालाई नजरअन्दाज गर्न सकिन्छ ?
यसलाई मैले कुनै तनावको विषय मानेको छैन । महाधिवेशन आउला, विचार र मुद्दामा बहस होला । महाधिवेशनको प्रक्रियाबाट टुंगिने कुरालाई अहिलेनै ग्यारेन्टी गर्ने वा महाधिवेशनलाई टार्गेट गरेर कुनै नेताले आफूलाई चलायमान बनाउँछ भने म त्यतो अभ्यास आचारणप्रति लज्जाबोध मात्र गर्न सक्छु ।
एकता महाधिवेशनपछिको अध्यक्ष ग्यारेन्टी नगरी पार्टी एकता भयो होला र ?
तपाईले भन्न खोजेको कुरा मैले बुझेँ । दुवै अध्यक्षले एक आपसमा समझदारी गरेका होलान् भन्ने तपाईको संकेत होला ।
दुवै अध्यक्षले पार्टीमा कसरी नेतृत्व चयन हुन्छ भन्ने बुझ्नु भएको छ, पार्टीमा नेतृत्व निर्माण कसरी हुन्छ भन्ने बुझ्नुभएको छ । कम्युनिस्ट पार्टीको घोषणपत्रमा हामीले प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने कुरा गरेका छौं ।
महाधिवेशनको सर्वोच्चतालाई चुनौती दिने गरी कुनै नेताले महाधिवेशनको बारेमा अहिले नै ग्यारेन्टी गर्ने, महाधिवेशनमा तिमी यो हुने फलानो यो हुने भनेर कुनै पनि नेताले गर्नुहुन्छ भन्ने म पत्याउनै सक्दिन । उहाँहरुले कम्युनिस्ट पार्टीको संगठनात्मक अभ्यास बुझ्नुभएको छ । यहाँ भाग लगाएर हुन्छ ? महाधिवेशनको सर्वोच्चतालाई चुनौती दिएर अहिले कसैले सम्झौता गर्न सक्दैन ।
तर, सरकार गठनदेखि कम्युनिस्ट पार्टीको कार्यविभाजनसम्म आउँदा तपाई केपी शर्मा ओलीको पहिलो रोजाइमा पर्न नसकेको त सत्य हो नि ?
म त अध्यक्षको रोजाइमै परेर मन्त्री भएको छु । उहाँको रोजाइ नपरेको भए म मन्त्री नै हुन्नथेँ ।
महाधिवेशनको बारेमा अहिले नै ग्यारेन्टी गर्ने, महाधिवेशनमा तिमी यो हुने फलानो यो हुने भनेर कुनै पनि नेताले गर्नुहुन्छ भन्ने म पत्याउनै सक्दिन ।
तर, रोजेको मन्त्रालय त पाउनु भएन नि ?
मैले तपाईलाई पहिले पनि भनेको थिएँ, हामीबीच अहिलेको अवस्थामा के गर्नु उचित हुन्छ भन्ने कुरामा सल्लाह परामर्श गरैरै भएको हो यसमा अन्यथा छैन ।
दोस्रो कुरा म अहिले मन्त्री छु । संगठनात्मक क्षेत्रमा निश्चित टिम बसेर काम गर्नुपर्ने भएको थियो । संगठनात्मक अस्तव्यस्तता हुन दिनु हुँदैन । आजको अवस्थामा एकीकृत पार्टीको संगठनलाई व्यवस्थित गर्ने कुरा, अरु व्यवस्थापकीय काम गर्ने कुरा कसैले लिड रोल दिनु जरुरी हुन्छ । मन्त्री भएको मान्छे दैनिक संगठनको काम गर्न अप्ठ्यारो हुन्छ भन्ने अध्यक्षले ठान्नुभयो । यसलाई मैले अन्यथा लिनु पर्दैन ।
अब दोस्रो पुस्ताको नेतृत्वका रुपमा विष्णु पौडेललाई स्थापित गर्न खोजिएको त हो नि ?
कसैलाई स्थापित गराउने नगराउने चर्चा मैले पनि सुन्छु । म स्थापित हुन्छु कि हुन्न आफ्नै कर्मले हो । कुनै नेताले लगेर राखिदिएर हुने होइन । पार्टी संगठनमा उसको योगदान, सुझबुझ, योग्यता सक्रियताले नेतृत्व स्थापित हुने हो । पार्टी अध्यक्षले सोचेरै गर्नुभएको कुरा हो, यसलाई अनावश्यक गिजोल्न जरुरी छैन ।
यो पार्टीको भविष्य चाहिँ कस्तो देख्नुहुन्छ ?
जुन उचाइमा सम्भावनाहरु हुन्छन्, त्यही उचाइमा चुनौती पनि हुन्छन् । जोखिमपूर्ण चुनौतीहरु पनि छन् । जोखिमपूर्ण चुनौती सामना गर्ने सामर्थ्य आर्जन गर्नुपर्छ ।
जोखिम कहाँबाट छ ?
होइन जोखिम त द्वन्द्वात्मक ढंगले हेर्नुपर्छ…
होइन मैले द्वन्द्वात्मक भौतिकवादको बारेमा कुरा गर्न चाहेको छैन, प्रचण्ड जस्तो कुनै न कुनै नयाँ प्रयोग गर्ने र छलाङ हान्ने नेता छन्, एमाले अलि संस्थागत ढंगले चल्छ कसरी तालमेल मिल्छ होला ?
हामी एक हुन्छौं भनिरहँदा हिजोका हामी अलग अलगका राम्रा कुराबाट सिक्छौं भनेको पनि हो । हामी एक हुन्छौं भनिरहँदा अलग धारबाट आएकाहरुका राम्रा कुरा सिक्छौं ।
हिजोको एमालेको धारबाट आउनेहरुले माओवादी धारका राम्रा कुरा सिक्नुपर्छ । माओवादी धाराबाट आउने साथीहरुले एमाले धाराका राम्रा अभ्यासबाट सिक्नुपर्छ । पार्टी भनेको पार्टी हो, यसमा वान मे शो हुन सक्दैन । हिजो क कसले कहाँ के गर्यौं अलग कुरा हो, तर नेकपामा त्यो चल्दैन ।
तपाईहरुले जनताको बहुदलीय जनवाद चाहिँ अब छाड्नुुभयो होइन ?
त्यो होइन, यसरी नबुझौं । अहिले हाम्रो जारी भएको घोषणापत्रमा हामीले प्रष्ट भनेका छौं । माओवादी आफ्नो धारबाट आयो, एमाले आफ्नो धारबाट आयो । अलगअलग धारबाट आएका दुई पार्टी मिलेर नयाँ पार्टी बनाए । नयाँ पार्टी कस्ता प्रतिबद्धता लिएर आएको छ भने संविधानको सर्वोच्चता, मानवअधिकार, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, बहुमतको सरकार अल्पमतको प्रतिपक्ष मानेर हिँड्छ भनेपछि कुरा प्रष्ट भएन र ?
दुईटा पार्टी एक हुँदाको अन्तरतत्व यही हो । समाजवाद उन्मुख जनताको जनवाद कस्ता अन्तरवस्तु बोकेर हिँडेको छ भन्ने प्रष्ट छ । हिजोको हामी एमालेले भनेको बहुदलीय जनवाद भनेको त्यही हो । अहिले हामीले समाजवाद उन्मुख भनेर सूत्रीकरण गरेका छौं । यसमा छोड्यो, समात्यो भन्ने विषय नै भएन ।
महाधिवेशनको सर्वोच्चतालाई अहिले नै केही भन्न सकिन्न, बहसहरु होलान् । एमालेले अवलम्बन गरेको जबज, माओवादीले अवलम्बन गरेको माओवाद र एक्काइसौं शताब्दीको जनवादलाई बहस परिमार्जन गर्दै लैजाने र अन्तिम टुंगो महाधिवेशनबाट लगाउने भनिएको छ ।