Comments Add Comment

कालले पनि बिर्सिएकी १२८ वर्षकी महिला, यस्तो छ जीवन कहानी


गिनिज बुकको औपचारिक रेकर्ड अनुसार जापानकी ११७ वर्षीया चिया मियाको विश्वकी सबैभन्दा पाको उमेरकी मानिस हुन् ।

तर दुनियाँमा यिनीभन्दा ११ वर्ष जेठी अर्की महिला गुमनाम छिन् ।

यी महिलाको उमेर १ सय २८ वर्ष भएको दाबी गरिएको छ । उनले अर्को आफ्नो १ सय २९ औँ जन्मदिन मनाउँदैछिन् ।

रुसी नागरिक कोकु इस्ताम्बुलोभाले जीवनका १२८ वर्ष व्यतीत गरिरहँदा आफूले जीवनमा एक दिनपनि खुसी र सुखको अनुभुति नगरेको बताउँछिन् ।

रुसी क्रान्ति सफल भएर अन्तिम जार शासकलाई हटाउँदा उनी २७ वर्षकी थिइन् ।

दोश्रो विश्वयुद्ध समाप्त हुँदा उनी ५५ वर्षकी थिइन् भने सोभियत संंघ टुक्रिँदा १०२ वर्षकी भैसकेकी थिइन् ।

चेनन्याकी बासिन्दा इस्ताम्बुलोभाले मासु खाँदनिन् तर दूध-दही भने मज्जाले खान्छिन् ।

आफू कसरी यति धेरै उमेरसम्म बाँचे भन्ने उनलाई थाहा छैन । तर आफ्नो लामो जीवन आफ्ना लागि सजाय जस्तै भएको उनको भनाइ  छ ।

उनी आफैंले मात्र आफू १ सय २८ वर्षको दाबी गरेकी होइनन् । बकाइदा सरकारी कागजातमा पनि उनको उमेर यहीँ छ । उनको राहदानीमा जन्ममिति १ जुन १८८९ रहेको छ ।

दोश्रो विश्वयुद्धमा आफ्नो गाउँमा जर्मन सेनाका ट्यांकरहरु कुँदिरहेको त्रासद घटना उनी अहिले पनि सम्झिन्छिन् ।

पछि रुसी शासक स्टालिनले नाजीसँग सहकार्य गरेको आरोपमा पूरै चेचेन राज्यका मानिसहरुलाई कजाखस्तान र साइबेरियामा स्थानान्तरण गरेका थिए ।

तपाइँ कसरी यतिधेरै बाँच्नुभयो भन्ने प्रश्नमा उनी आफूले बाँच्नका लागि केही नगरेको र यो सबै भगवानको देन भएको बताउँछिन् ।

मानिसहरु स्वस्थ र दीर्घजीवी रहनका लागि व्यायाम गर्ने, खेलकुद गर्ने, राम्रो राम्रो खाने गरेकोे देखेको भन्दै उनले जीवनमा आफूले त्यस्तो कहिल्यै नगरेको बताइन् । यत्रो उमेरसम्म आफूले एकदिन पनि खुसी प्राप्त नगरेको र सधैंभरि बारी खनेरै र कठीन काम गरेरै दिन गुजारेको उनको भनाइ छ ।

उमेरले १ सय २८ वर्षकी भए पनि उनी अझै आफैले खान तथा हिँडडुल गर्न सक्छिन् । तर आँखा चाहिँ कमजोर हुँदै गएका छन् ।

आफ्नो जीवनमा उनले धेरै कुरा गुमाइन् र आफूबाट जन्मिएका धेरै सन्तानहरु पनि उनको आँखा अगाडि नै मरे । उनको छोरा ६ वर्षको उमेरमै मरेको थियो भने एकजना मात्र जिवित सन्तानको रुपमा रहेकी छोरीको १ सय ४ वर्षको उमेरमा पाँच वर्षअघि मृत्यु भयो ।

वृद्धवृद्धाहरुलाई पेन्सन दिने सरकारी पेन्सन कोषका सरकारी अधिकारीहरुका अनुसार रुसमा अहिले १ सय १० वर्षभन्दा पाको उमेरका ३७ जना मानिस छन् । ती सबै रुसको ककसस क्षेत्रका बासिन्दा हुन् । त्यो क्षेत्रमा लामो आयु भएका मानिसहरुका लागि परिचित छ ।

डेलीमेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment