Comments Add Comment

यी हुन् इतिहासकै लोकप्रिय १० मोबाइल फोन


पछिल्ला वर्षहरुमा मोबाइल फोनको डिजाइन तथा फिचर्सको मामिलामा निकै तीव्र रुपमा विकास तथा परिवर्तन भइरहेको छ ।

स्मार्टफोन निर्माताहरु आफ्ना प्रडक्टहरुमा अत्याधुनिक प्रविधि प्रयोग गर्न तछाड-मछाड गरिरहेका छन् । तर यति हुँदाहुँदै पनि कतिपय कम्पनीहरु आफ्ना पुराना अत्यधिक लोकप्रिय मोबाइल फोनलाई सम्झिन बाध्य छन् ।

यो वर्ष सन् २०१८ को सुरुवातमा नोकियाले आफ्नो कुनै जमानाको सर्वाधिक लोकप्रिय फोन नोकिया ८११० लाई पुनः बजारमा ल्यायो । यो केरा आकारको फोनलाई नोकियाले फोर जी स्वरुपमा ल्याएको हो ।

नोकियाको सिको गर्दै मोटोरोलाले पनि आफ्नो चर्चित मोटो रेजर फोन पुनरुत्पादन गर्ने सोँचमा रहेको बुझिएको छ ।

यी दुईसँगै मोबाइल फोनको इतिहासमा अरु पनि धेरै चर्चित फोनहरु थिए जसलाई मोबाइल फोनको सुरुवाती चरणमा प्रयोगकर्ताले निकै रुचाए । मोबाइल फोनको इतिहासमा सर्वाधिक लोकप्रिय १० फोन यी हुन्ः

१. नोकिया ८११०ः पुनः बजारमा ल्याइएको नोकिया ८११० मा VoLTE कलिंग फिचर रहेको छ र यसले फोर जी सपोर्ट गर्दछ । यो स्मार्ट फिचर अपरेटिंग सिस्टमबाट चल्दछ भने क्वालकोम २०५ डुअल कोर प्रोसेसर यसमा रहेको छ । ४ जिबी स्टोरेज, ५१२ एमबी र्‍याम  तथा १५०० मिलिएम्पियर आवरको ब्याट्रीयुक्त यो फोनमा २ मेगापिक्सेलको क्यामरा पनि छ । यसमा चर्चित स्नेक गेम इनबिल्ट छ ।

स्मरण रहोस् नोकियाको तत्कालीन ८११० मोडेल चर्चित हलिउड साइन्स फिक्सन फिल्म द म्याट्रिक्समा पनि देखाइएको थियो । नोकियाको ८११० मोबाइल् फोन सन् १९९६ मा बजारमा आएको हो । यसको किप्याड छोप्ने स्लाइडिङ कभर थियो र प्रयोग गर्नका लागि कभरलाई तल स्लाइड गर्नु पर्दथ्यो । आएको कल उठाउनका लागि पनि कभरलाई स्लाइड गर्नुपर्दथ्यो ।

२. मोटोरोला स्टार ट्याकः सन् १९९६ मा सार्वज्निक भएको यो फोन मोबाइल इतिहासकै पहिलो फ्लिप स्टाइल फोन हो । यो टूजी फोनले मोनो रिंगटोन, भाइब्रेसन अलर्ट सपोर्ट गर्दथ्यो ।

३. नोकिया ३३१०ः नोकिया विना मोबाइलको इतिहास पूरा हुँदैन । फिनल्याण्डको कम्पनी नोकियाले धेरै आइकोनिक मोबाइल फोन बनायो । त्यसमध्ये नोकिया ३३१० सर्वाधिक लोकप्रिय फोन मध्येको एक हो । ढुंगाजस्तै बलियो यो फोन सन् २००० मा बजारमा आएको हो ।

४. नोकिया ११००ः मोेबाइल फोनको इतिहासमा सबैभन्दा धेरै बिक्री हुने फोनमध्येको एक हो यो । सन् २००० मा लञ्च भएको नोकिया ११०० मा फ्लास लाइट हुनुका साथै ५० वटा टेक्स्ट मेसेज संग्रहित गर्न मिल्ने र विभिन्न खाले रिंगटोन राखिएको थियो ।

५.नोकिया ६६००ः सन् २००३ मा लञ्च भएको यो फोन नोकियाको पहिलो स्मार्टफोन हो । सिम्बियन अपरेटिंग सिस्टमबाट चल्ने नोकिया ६६०० मा ०.३ मेगापिक्सेलको भिजिए क्यामरा थियो र त्यसबाट भिडियो कल पनि गर्न सकिन्थ्यो । ६ एमबी इन्टर्नल मेमोरी भएकोमा एक्टर्नल मेमोरी थप गर्न सकिन्थ्यो ।

६.नोकिया ९२१० कम्युनिकेटरः यो नोकियाको बिजनेस क्लास स्मार्टफोन हो । यसबाट ल्यापट जस्तै मिनी किबोर्ड उपलब्ध थियो । सन् २००० मा लञ्च भएको यो फोनमा रंगीन स्क्रिन थियो । यो फोनबाट फ्याक्स पठाउन तथा प्राप्त गर्न पनि सकिन्थ्यो । साथै यसबाट इन्टरनेट तथा इमेल पनि प्रयोग गर्न सकिन्थ्यो ।

७.मोटो RAZR V3 : यो मोबाइल फोन बजारमा स्टाइल भित्राउने पहिलो फोन थियो । मोटोरोलाले सन् २००३ मा लञ्च गरेको यो फोल्डेबल फोन हो । यसको स्लिक डिजाइन, आल्मुनियम बडी तथा बाहिरी काँचको स्क्रिन निकै रुचाइएको थियो ।

८. इरिक्सन टी २८: सन् १९९९ मा रिलिज भएको यो फोन त्यस समयको सबैभन्दा पातलो मोबाइल फोन थियो । यसको तौल ८३ ग्राम मात्र थियो । यसमा डुअल ब्याण्ड जिएसएम हुनुका साथै २५० वटा नम्बरसम्म भण्डार गर्न सकिने फोनबुक थियो । साथै यसमा केही क्लासिक गेमहरु पनि थिए । यो फोनमा आफ्नो रिंगटोन त थिए नै प्रयोगकर्ता आफैले पनि रिंगटोन कम्पोज गर्न सक्दथे ।

९.ब्लाकबेरी पर्ल ८१००: यद्यपि, अहिले ब्लाकबेरीको चुरीफुरी समाप्त भैसकेको छ, तथापि कुनै समयमा ब्लाकबेरीका मोबाइल् फोनहरु बिजनेस क्लास कम्युनिकेसनको पर्यायको रुपमा थिए । सन् २००६ मा लञ्च भएको पर्ल ८१०० यसको एक उदाहरण हो । यसमा १.३ मेगापिक्सेलको क्यामरा, कलर स्क्रिन, सेक्योरिटी फिचर, स्योर टाइप किबोर्ड, नेभिगेसन फिचर आदि उपलब्ध थिए ।

१०. नोकिया एन–गेज: नोकिया कम्पनीको यो पहिलो त्यस्तो मोबाइल फोन थियो जसलाई गेमिङ कन्सोलका रुपमा पनि प्रयोग गर्न सकिन्थ्यो । यो ह्याण्डसेटको साइडपट्टि इयरपिस र माइक्रोफोन थियो । यसको नामले जस्तै यो ग्याजेटले प्रयोगकर्तालाई अवश्यपनि लामो समय इन्गेज बनाइरहन सक्थ्यो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment